कविता : मेरो हजुरबुवा – एकदेव आले

~आरती भण्डारी~

मानुङकोट, म उक्लेकी छैन
अर्चलबोट, म पुगेकी छैन
तपाई जन्मेको घरको धुरीखाँबो अझै छ, छैन ?
आजसम्म मलाई नै थाहा छैन
यहाँहरु कसैलाई थाहा छ ?

तपाई बाँच्नु भएको भए
अहिले ९१ वर्ष पुग्नु हुँदोरहेछ
मैले पनि भेट्न पाउनेरहेछु
मैले पनि देख्न पाउनेरहेछु
प्रत्येक दशैंमा हजुरबुवा भन्दै
टीका थापी प्रणाम गर्न पाउने रहेछु
आशिर्वाद थाप्न पाउने रहेछु

यतिबेला दमौलीमा जाडो बढ्दैछ
यतिकुरा मलाई पनि थाहा छ
मानुङकोटमा सबेरै घाम पर्छ
दमौली बजारमा डम्म कुइरो बस्छ
तर मलाई यो कुरा थाहा छैन ?
मानुङकोटको अर्चलबोटमा विचारको घाम पर्छ या पर्दैन ?
विकास खोज्दै त्यहाँका मान्छे बसाई सर्छ या सर्दैन ?

माफ गर्नुहोला,
तपाईलाई हामीले बसाई सारेका छौं
ठीक गर्‍यौँ या गरेनौं,
दमौली बजारको पश्चिमी छेउमा
पोखरा–काठमाडौँ राजमार्गको किनारमा
स्वतन्त्रता सेनानी तपाईं – एकदेव आलेलाई
अर्धकदको शालिक बनाएर
दुनियाँले देख्ने गरी कैद गरेका छौँ

तपाईंका बारे मैले थोरै मात्र सुनेकी छु
तपाईंका बारे मैले थोरै मात्र पढेकी छु
तपाईं सामन्त–जमिन्दारहरुको जग्गा कब्जा गरी कित्ता काटेर
गरीब, भूमिहीन, सुकुम्बासी किसानहरुलाई बाँड्नु हुन्थ्यो रे
किसानहरुलाई दु:ख दिने जाली तमसुकहरु च्यात्नु हुन्थ्यो रे
‘जमिन कसको जोत्नेको, घर कसको पोत्नेको’ भन्दै नारा घन्काउनु हुन्थ्यो रे
‘बेनीपाटन जोत्नेलाई हलो, किसान संघ जनतालाई छ भलो’ भन्दै गीत रन्काउनु हुन्थ्यो रे

यतिबेला हामीहरु भने
संविधान बनाउने नाममा
आफनै घरभित्र, आफ्नै दलभित्र, आफ्नै समाजभित्र
तेरो मान्छे र मरो मान्छे, तेरो जात र मेरो जात, तेरो धर्म र मेरो धर्म भन्दै
कित्ता काट्नमै व्यस्त छौं, अभ्यस्त छौं
क्रान्तिको गीत गाउँन त हामीले धेरै पहिले छाडिसक्यौं
मेलमिलापको गीत गाउन पनि हामीले भुली सक्यौं
लोकतन्त्रको नाममा ,
झगडा गर्न नै व्यस्त छौं, विवाद गर्न नै मस्त छौं हामी

तपाईं एक देशभक्त स्वतन्त्रता सेनानी
अथक योद्धा क्रान्तिकारी
किसानहररुको प्रिय नेता एकदेव आले
तपाईं हामी माझ हुनुहुन्न
उमेरले म तपाईकी नातिनी
तपाईंलाई होइन, आजका हाम्रा नेताहरुलाई
यतिबेला एउटा प्रश्न सोध्न मन लागेको छ
हजुरको यो नातिनी कै पालामा
जनताको, जनताद्वारा, जनताका लागि
संबिधान बन्छ कि बन्दैन ?
त्यो संबिधान बिहानको घाम झैं उदाउँछ कि उदाउँदैन ?
र त्यसको उज्यालो मेरो हजुरबुवा जन्मेको मानुङको त्यो डाँडामा पर्छ कि पर्दैन ?

(क्रान्तिकारी योद्धा एकदेव आलेको स्मरणमा)

(स्रोत : Nepalpati)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.