~सरोज जीसी~
अभि सुवेदीको सामान्य कुरालाई सैद्धान्तिकीकरण गर्ने सीप अब्बल छ । माइकल दी सर्तुले हिँडाइलाई यसै गरी सैद्धान्तिक रूप दिएका थिए । खास गरी ‘वकिङ् इन द सिटी’ निबन्धमा । काठमाडौँलाई धेरैपटक हिँडेरै सर्जरी गरेका सुवेदीको फ्लानरको डायरीले एउटा फिरन्ते, लोफर र ड्यान्डीका अहिलेसम्म नगनिएका दिनचर्या र अनुभवलाई सौन्दर्य र सैद्धान्तिक आयाम दिएको छ ।
‘फ्लानर’को साहित्यिक र काव्यिक स्याहारसुसार फ्रान्सेली कवि चाल्र्स बदलेयरबाट भएको हो, द पेन्टर अफ मोडर्न लाइफमा । सरल भाषामा फ्लानर भनेको एउटा फिरन्ते, घुमन्ते, लोफर र साथै लोइटरर पनि हो । तर, फ्लानर धेरै प्रकारका हुन सक्छन् । सुवेदीको फ्लानर साहित्यिक परसोना, अवलोकनकर्ता, दार्शनिक, घुमन्ते–फिरन्ते र अन्य पनि हो ।
यो फ्लानरले तेह्रथुमका टोपी अभि सरलाई काठमाडौँमा हिँडेका, देखेका, सुनेका अनुभवलाई सैद्धान्तिक दृष्टिकोण दिई पाठकलाई शयर गराएको छ । पुस्तकको फ्लानर पुरानो काठमाडौँलाई आधुनिक राजधानीसँग जोड्ने सेतु हो । त्यस्तै सिद्धिचरण श्रेष्ठ, बालकृष्ण समदेखि तुलसी दिवस, सौगात मल्ल र त्यसपछिको पुस्तालाई जोड्ने फ्लानरसँग मठ, मन्दिर, राजनीति, साहित्य, इतिहास, ग्रीक मिथकका पात्र, भूगोल, हिन्दु मिथकका आकाश, पाताल आदिका बारेमा केही न केही टुक्रे अनुभव छन् ।
सहर कथैकथाले भरिएको छ । ती कथा बडो दार्शनिक छन् । ती कथाका पात्र निबन्धकारका आँखामा मठमन्दिरमा दर्शन त छँदै छ, काठमाडौँमा थुप्रिएका फोहरका जुर्रो र सहिदको सहादतले उठाएको स्वाभिमानको जुर्रोबीचको सम्बन्धमा पनि दर्शन र काव्य छ । फोहर वास्तविक हो र सांकेतिक पनि । पहिलो जुर्रोले पछिल्लो जुर्रोको खिल्ली उडाएको छ ।
त्यस्तै ‘वाग्मती महायात्रा’ पनि यो विम्बात्मक फोहरबाट अछुतो छैन । फ्लानरलाई वाग्मती पाठजस्तो लाग्छ, पढिरहने, घोत्लिरहने, जसबाट अनगिन्ती निष्कर्ष र अर्थ निस्किन्छन् । वाग्मती सहरले मानिसलाई कालिक चेतना र मिथकसँग जोड्छ । तर, वाग्मतीलाई मिथक र पुराणमा मात्रै सुन्ने र देख्ने अनि वास्तविक दुर्गन्धित वाग्मतीलाई नदेख्नेप्रति फ्लानर रूष्ट छ ।
फ्लानर राजनीति र इतिहासको गम्भीर अवलोकनकर्ता र आलोचक हो । उदाहरणका लागि : ‘अनशन एक रंगमञ्च’मा डा गोविन्द केसीको अनशनमा ऊ जैविक राजनीति देख्छ । इटालीका दार्शनिक गियोर्गियो आगम्बेनको दर्शन–मानिसको शरीर र राजनीतिको सम्बन्धको चरितार्थ देख्छ । केसीको स्वास्थ्यसँगै देशको स्वास्थ्य बिग्रेको जिकिर गर्छ ।
समसामयिक राजनीतिप्रति टेढो आँखाले हेर्छ र ‘मृगमरिचा’ मा भन्छ, वर्तमान राजनीति विपन्न र गरिबलाई देखाउने ‘मृगमरिचा’ अर्थात् युटोपिया भएको छ । राजनीति विपन्न चेतनामाथि गरिएको राज हो, सपना र आश्वासनको खेल । ऊ भन्छ, ‘ख्याउटे नै भए पनि शक्तिको सपनाका खेती गर्नेहरू सबैले आफ्नो सपना र आफ्नै ऐंठनबाहेक अरूको कुरा चाख दिन छोडे ।’
इतिहास सोझो लेखिन्छ, त्यसैले फ्लानर यसलाई कर्के आँखाले हेर्छ । समाज परिवर्तनलाई बीपी कोइरालाले निम्त्याएको क्रान्तिको बीउ कालान्तरमा धेरै राजनीतिक दलले अँगाले पनि त्यसको सामाजिक शाश्वतता र महत्त्वबोध क्रान्तिको म्युजियममै अन्तरघुलन भएको देख्छ । खण्डीकृत इतिहासको अध्ययनकर्ता फ्लानर भन्छ– नेपालमा कालक्रमको व्याख्या नै समस्यामा पर्न थालेको छ । इतिहासको व्याख्या मात्र होइन, प्रयोग गर्नेहरूका भ्रम, वा भिजनको खडेरी देख्दा उसलाई लाग्छ, देशको दीर्घकालीन अस्मिता अहिलेको अवस्थामा नरहन सक्छ ।
छैटाँै इन्द्रिय प्रयोग गरेर लेखिएका जस्ता लाग्ने फ्लानरका निबन्धको चूरो कुरो खुट्याउन वा कलम–कटाक्ष खोज्न पाठकलाई, लेखककै शब्दमा भन्दा पिनास पर्छ । पर्फर्मेन्स र रंगमञ्चका विम्बले निबन्धकारका भित्री कुरालाई सतहभन्दा धेरै तल लुकाउँछन्, त्यसको वस्तुत: विचारको एपिसेन्टर भेटाउन रंगमञ्चका ज्ञान नहुने पाठकलाई हम्मेहम्मे पर्छ ।
त्यसो त सबै प्रसंग पिनास पार्ने कहाँ छन् र † अंग्रेजी केन्द्रीय विभागमा अध्यक्ष हुँदाको स्मरण, गोबर र अग्निको विवरण, ‘बोराको अतीतमा मीतको सम्झना’का रोचक प्रसंग र फ्लानरका नयाँ कोइनेजजस्तै, देब्रे ढल्कुवाले त्यो पिनासबाट मुक्तिको हाँसोको गुदगुदी पनि लगाउँछन् । यद्यपि, चिया कर्नरमा ‘समय–रेखा’ र ‘वर्डज एन्ड इकोज’का पाठकको गुनासो सुन्छु– यी निबन्धलाई कसैले सरलीकरण गरिदिए कस्तो हुन्थ्यो होला ?
फ्लानरको डायरी
स्रष्टा : अभि सुवेदी
प्रकाशक : बीएन पुस्तक संसार
पृष्ठ : २६८
मूल्य : २९९ रुपियाँ
प्रकाशित: भाद्र २४, २०७२
(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक )