~स्नेह सायमी~
सबैले काम नलाग्ने भनेर फालेको
फोहोरको जंगलमा
म खोजिरहेछुं
खाली शिसी
खिया लागेको फलाम
प्लास्टिकका टुक्रा
अर्थात मेरो बर्तमान
म खोजि रहेछु
भोक मेट्न
जुठो भोजका परिकार
स्कुल जान !
कसैले फालेको स्कुल युनिफर्म र टाई
पाइसकेको छु
अगाडिका पन्ना च्यातिएका पुस्तक
र लेख्न बाँकि पुराना कापीहरु ,
बिर्को नभएका ,
थोरै मसी हुँदै फ्याँकिएका कलम
पेन्सिल कटरले टाँसेर
लेख्न मिल्ने शिसाकलमका टुक्राहरु
पनि बटुलिसकेको छु
‘पढेर ठुलो मान्छे भएस’
भन्ने तपाइको आशिर्बचन
तपाइको सपना
आमा !
म त्यो सपनाको बाटो तिरनै लागिरहेको छु
की
तिम्रो चिहान माथि
म मेरो नाम लेख्न सकूँ
र
म भन्न सकूँ
आमा !
म अब ज्ञानी भैसकें
तिम्रो इच्छा पुरा गरिसकें
अर्थात्
म स्कुल गैसकें !!
(स्रोत : Nepalpati)