शासक महोदय !
तिम्ले ‘गौनसे’बाट मलाई अर्जुन बनायौ
‘ज्युब्यु’बाट मेरो गाउलाई जुभिङ बनायौ !
‘खालिङ’ बोल्दा स्कुलमा लट्ठी बजार्यौ र
घोकायौ भाइरस बाह्रखरी
खुवायौ संस्कृतका विकृत वन्दनाहरु
पिलायौ नैतिक शिक्षाको विष
चिनायौ तिम्रा चमत्कारी भगवानहरु
र हरेक फारममा मलाई लेख्न लगायौ-
‘हिन्दू धर्म !’
मेरो वंशको छालाजस्तो फेङगा उतारेर
दौरा–सुरुवालले नङ्ग्यायौ
जब हर बिहान निन्द्रामै शङ्खसँग
‘हर हर हर महादेव !’
राष्ट्रिय रेडियोले फुकेपछि
रिसायो मेरो ‘रिसिया’
र मलाई मेरो संगीतबाट च्युत बनायौ !
मेरो दाउरालाई राष्ट्रिय फूलको बोट बनायौ
मेरो पसिनाको बाली
निकुञ्जको मिर्गलाई दसैं भयो
दसैं राष्ट्रिय चाड भएपछि र
आफू अरास्ट्रिय भएपछि रिसायो मेरो साकेला
र मलाई मेरो ढोल र झ्याम्टाबाट अछूत बनायौ !
पित्रीको प्रसादलाई राष्ट्रिय जनावर बनाएपछि
रिसायो मेरो पित्री
र मलाई मेरो पित्रिबाट समेत विच्छेद बनायौ !
अन्तत: तिमी मलाई
विधानत: अवैधानिक बनाउन चाहन्छौ
तिमीलाई मन नपरेको यो चिम्से र थेप्चे आकृतिलाई
अराष्ट्रिय बनाएर धपाउन चाहन्छौ
आतंककारी बनाएर गोली ठोक्न चाहन्छौ
म माटोलाई नै माटोविहीन बनाउन खोज्दैछौ !?
सुन !
जति च्युत हुनु भइसकें
तर आफ्नै माटोको भर्पाइमा ल्याप्चे लाउने
आत्मघाती र क्रितघ्न हुन सक्दिनँ म !
कि
यही माटोबाट उत्खनन गर्नु छ-
तिम्ले गाडेका मेरा हर ‘चिनो’हरु !
पूर्ति गर्नु छ-
तिम्ले गरेका हर क्षतिहरु !
तिम्लाई पनि तिम्रो सत्ताबाट च्युत बनाउन
तिम्रो दम्भलाई धुलो चटाउन
शासक महोदय !
अब म
विद्रोही हुन तयार छु !
अरास्ट्रिय हुन तयार छु !
आतङ्ककारी हुन तयार छु !
(स्रोत : Esamata)