उठिदे वीर नेपाली उर्लंदै गड्गडाउँदै
दीनता हीनता सारा बढार्दै सग्बगाउँदै
जिर्ण जर्जर निःसार विचार डग्मगाइदे
नयाँ आँट नयाँ छाँट नयाँ जोश जगाइदे
तेरै उमंग उत्साह खोजेको छ हिमाल ले
तेरै निर्माण उद्योग पर्खेको छ मधेश ले
तेरै जीवन्त इच्छा मा पहाड चल्मलाउँछन्
मेची काली सबै तेरै आशा मा सल्बलाउँछन्
के गर्छस् तर्कना धेरै तर्क ले मात्र हुन्छ के ?
के झिक्छस् नौ थरी नारा नारा ले मात्र दिन्छ के ?
हेर् एता क्यै न ली शंका कड्की मुड्की बजाइदे
फुट्दछन् पहरा पाखा राष्ट्र बन्द छ एत्ति ले
सुनिस् नेपाल मा चर्को युद्धबाजा बजी सक्यो
राष्ट्रनिर्माण को नौले महाक्रान्ति चली सक्यो
घोरिन्छस् किन रे उठ् आ तैंलाई केहि गर्नु छ
तेरै घर सिँगार्नु छ तेरै कल्याण गर्नु छ
तँ के हैनस् तँ आफै ले तैंलाई चिन्न बाँकि छ
तँ मा के छैन तैंले पो थाहा पाउन बाँकि छ
तँ उठ् त राष्ट्र को रूप भोली नै भइसक्छ के
तँ हिँड् त राष्ट्र मच्चिन्छ कस्तो अद्भुत वेग ले
तँ बोल् कि एसरी गर्जी सारा आकाश घन्कियोस्
तँ बाल् कि एसरी आगो विश्व ब्रहृमाण्ड दन्कियोस्
तँलाई डर के ? तेरा पाखुरा लाख लाख छन्
तेरै विजय का गाथा ताजा छन् साफ साफ छन्
पर्ख हे गण्डकी कोशी कर्णाली थुनिदिन्छु मँ
तेरो पानी यहीं मेरै माटा मा शोषिदिन्छू मँ
तिमी पानी कहाँ हौ र ? तेल हौ बत्ति बाल्नु छ
तिमी चीसा कहाँ छौ र ? तिम्रो आगो निकाल्नु छ
बोलिदे ए सगर्माथा ! माछापुच्छ्रे ! कराइदे
नव निर्माण को नारा घोक्दै झयाली पिटाइदे
घन्क मन्दिर का शंख ढोल डम्मरु मादल
आओ गर्जेर चड्केर पानी र्छर्केर बादल !
अब नेपाल नेपालै बनी छोड्द छ छोड्दछ
अब नेपाल ले भोक रोग तोड्दछ तोड्दछ
अब नेपाल मा मूल फुटिछोड्छ विकास को
अब ज्योति उकासिन्छ यहाँ आफ्नै प्रकाश को
टंगाल, काठमाण्डू
(स्रोत : Satakosahitya)