तिमी साथ नहुँदा,
नियास्रोको कर्द
मुटुबीच बर्सिंदा,
यता मेरो आँखामा पहिरो गयो,
मन दुर्घटित भयो …
दुखेको हो,
तर अविश्वास दुखेको होइन,
विश्वासभित्र पनि
अलिकति दुख्ने ठाउँ हुँदो रहेछ…
त्यहि दुखेको हो,
त्यहीं दुखेको हो,
अहम् अलिकति झुकेको हो …
तिमी उहीं छौ, म त्यहीं छु …
आधारमा आगो लागेको होइन,
अनौठो रहर जागेको होइन …
परेलीमा मूल फूटेर सिरानी भिजेको हो,
सन्सार भिजेको होइन…
मष्तिस्कको हल्का ज्वरोले
मन जलेको हो,
मुटु बलेको होइन …
यादको भूमरीमा
निद्रा गलेको हो,
रात ढलेको होइन …
हो साथी,
तिमी साथ नहुँदा
नियास्रोको कर्द
मुटुबीच बर्सिंदा,
यता मेरो आँखामा पहिरो गयो,
मन दुर्घटित भयो …
(स्रोत : Satakosahitya)