कुनै घटना बीस घन्टामा बिर्सिइन्छन्, कुनै बीस दिनमा । कुनै घटना यस्ता जब्बर भइदिन्छन् कि, बीस वर्षपछि पनि ती फर्की फर्की सम्झनामा आउँछन् र च्वास्स घोचेर मर्माहत बनाइदिन्छन् । मेरो हृदयको अन्तरकुन्तरमा पनि त्यस्तो घटना लुकी बसेको छ जुन ठाउँ–कुठाउँ फ्याट्ट आइदिन्छ र चस्काएर जान्छ ।
‘दासढुङ्गादेखि अदालतसम्म’– नाटकको शीर्षक यही थियो । शीर्षक सुन्दै मेरो शरीरमा काँडा उम्रिएका थिए । नाटकमा मैले एमाले नेता मदन भण्डारीकी जीवनसंगिनी विद्या भएर अभिनय गर्ने पक्का भयो । जमिनबाट पाँच सात मिटरमाथि उड्न थालेकी थिएँ । सुटुक्क ऐनामा आफ्नो अनुहार पनि नियाल्न थालेँ । गधालाई आफ्नो स्वर असाध्यै मन परेझैं मलाई पनि आफ्नो अनुहार धपक्क बलेकोजस्तो लाग्न थाल्यो । पहिला नाटक, त्यसपछि सिनेमा, अब मेरो अभिनय यात्रा जोडदार ढंगले अघि बढ्ने भयो र नेपालका नामुद हिरोइनहरूले मेरो डाहा गर्न थाल्ने भए भन्ने भावनाले मलाई स्वर्गीय आनन्द दिन थाल्यो ।
एसएलसी सकेर फुर्सदमा थिएँ । मेरो फुर्तीफार्ती बेग्लै थियो । साइकलमा बुधबारेबाट होक्से र होक्सेबाट बुधबारेतिर सरर बत्तिन्थें । यत्तिकैमा अलिक टाढाका काका साइनो पर्नेले यस्तो सुन्दर प्रस्ताव ल्याएका थिए । ‘एउटा नाटकमा मेन रोल गर्ने केटी मान्छे चाहिएको छ, कमरेड विद्या भण्डारीको रोल । लामो नाक र ठिक्कको जिउडाल भएकी केटीको खोजी भइराखेको छ । खेल्ने हो कान्छी ? म कुरा गरिदिन्छु ।’
मलाई असमन्जसमा परेको देखेर काकाले भन्नुभयो, ‘तँ स्कुलमा नाटक खेल्छेस् । गीत गाउँछेस् । यत्तिका मान्छेले सकिहाल्छन् नि । के सोचिराखेकी ? नाम हुन्छ, दाम पनि राम्रै मिल्छ ।’
‘खेल्छु । घरमा कुरा गर्दिनू ।’ मैले उत्साहित हुँदै भनें ।
‘पर्या छैन जानु । छोरी मान्छे भएर नाटक न साटक,’ आमाले यसो भनेपछि मेरो मन खिस्रिक्क भयो । गर्वले फुलेर विकाशे घिरौंलो जत्रो भएको नाक मलजल नपाएर ठिँगुरिएको भिन्डीजस्तो भयो । मेरो मुहार भुईंभुईंसम्म लत्रेको देखेपछि आमाको मन अलिकति पग्लियो ।
‘बिहान गर बेलुका आइपुग्ने ठाउँमा हो भने जा । नत्र पर्दै पर्दैन ।’
‘पीर मान्नु पर्दैन भाउजू, त्यहाँ म पनि हुन्छु । यो एक्लै हुन्न । फेरि थोरबहुत खर्च पनि पाउँछे । यसै बरालिनुभन्दा टाइमपास पनि हुन्छ यसको । मेरो जिम्मा भो ल,’ काकाले आमालाई आश्वस्त पार्नुभयो ।
त्यसका दुई दिनपछि काकाले उक्त नाटकका निर्माता र निर्देशक पौडेल थर भएका भलाद्मीजस्ता देखिने प्राणीलाई लिएर आउनुभयो । लामो केरकार र गन्थनपछि आमा पनि राजी हुनुभो । भन्नुभयो, ‘जा न त राम्रै हो भने । काका पनि छन् । ’
भोलिपल्टैदेखि एक घन्टा साइकल पेलेर शनिश्चरे जाने क्रम सुरु भयो । एउटा एकतले घरको ठूलो कोठा भाडामा लिएर रिहर्सल गर्ने बन्दोबस्त मिलाइएको थियो । नाटकमा पन्ध्रजनाको टोली थियो । सबैले मलाई फुक्र्याउँथे, ‘तिम्रो भूमिका मस्ट इम्पोर्टेन्ट हो । नाटकको सफलता तिम्रो काँधमा छ ।’ यो सुन्दा मलाई मेरो काँध बलियो लाग्न थालेको थियो ।
त्यसअघि मैले बीपी जयन्तीको उपलक्ष्यमा गाउँमा र स्कुलमा गरेर दुइटा नाटकमा खेलेकी थिएँ । त्यसपछि मलाई सबैले कांग्रेसी केटी भनेर चिन्न थालेका थिए । मलाई पनि बीपी बाबुुको फोटो देख्यो कि जय नेपाल भन्न मन लाग्ने भइसकेको थियो । केही नबुझे पनि सुम्निमा दोहर्याईतेहेर्याई पढिसकेकी थिएँ ।
तर, यो त शीर्षक सुन्दै कम्युनिस्टहरूले तयार पारेको नाटक भन्ने थाहा हुन्थ्यो । मेरो रहर थियो सबै पार्टीले गर्ने नाटकमा खेल्ने । मान्छेलाई पनि अलमल होस् न यो कुन पार्टीकी हो ? नेपालमा छयालीस सालपछि कोही पनि गैरपार्टीवादी हुनै सक्दैनथ्यो । तर म के पार्टीकी थिएँ म स्वयंलाई पनि थाहा थिएन ।
पहिलो सो बुधबारे बजारस्थित दुर्गा टाकिजमा देखाउने निधो भयो । आफ्नै गाउँठाउँमा तामझामका साथ नाटक देखाइँदै थियो । यसले मलाई थप रोमाञ्चित बनाएको थियो । मेरो खुसी कुनै खातापातामा हिसाब राख्नै नसकिने गरी बेहिसाब भएको थियो । उकालो बाटोमा बेस्मारी साइकल कुदाएको थकान, यतिका दिन बगाएको पसिनाको नदी र पन्ध्र दिन रिहर्सल गर्दाको सास्ती मैले जम्मै बिर्सिसकेकी थिएँ । सारा मान्छेका अघि नाटक देखाउने उत्सुकता र परिकल्पनामै म डुबिरहें । जति डुब्थें, आफ्नो जीवन उति रंगीन, उति अर्थपूर्ण र उति उत्साहपूर्ण लाग्थ्यो । मेरा पाइलामुनि सधैं बादल हुन्थ्यो र म सधैं आकाशमा उडिरहेकी हुन्थें ।
नाटकको पहिलो सोमा धेरै मान्छे जम्मा पार्न घरघरमा टिकट बेच्तै पनि हिँडियो । आफ्नो क्षेत्र भएको हुनाले निर्देशकले हामीलाई नै टिकट बेच्ने जिम्मा दिएका थिए । मेरो साथमा बुधबारेका अरू दुईजना बहिनी र एकजना दाजु पनि थिए । टिकट बेच्न थाल्दाचाहिँ आधा उत्साह चिनी नहालेको बरफझैं ठन्डा भइदिन्थ्यो ।
‘पैसो तिरेर पुनि कसैले नाटक हेर्छ ?’ कसैले भन्थे । कसैकसैले त हाम्रो टिकट देख्नासाथ ड्याम्म ढोका लगाइहाल्थे ।
त्यस्तो बेलामा मन निबुवाजस्तै अमिलो न अमिलो हुन्थ्यो । तर पनि म आफ्नो काममा दत्तचित्त भएर लागें । हरेस खाइनँ ।
अन्तत: नाटक प्रदर्शन गर्ने दिन आइहाल्यो । बिहानदेखि नर्भस हुन थालेँ । ओठ–मुख सुक्न थाले । तर जसोतसो मञ्चमा उत्रिएँ । यसो आफ्नो भागको संवाद बोल्नुअघि दर्शकतिर आँखा डुलाएँ । दर्शक पचासजना पनि थिएनन् । तर पनि मैले आफ्नो भूमिका राम्ररी निर्वाह गरें ।
‘खै तिमेरुले टिकट पनि खासै बेच्न सकेनौं । अब अरू सो के गरी देखाउनु ? दरो घाटा भो ।’
कत्रो उत्साह थियो हामीभित्र तर तीन सो गर्ने भनिएको नाटक एक सोमै सकियो । हामीभित्रको उत्साह पहिला मनतातो भयो, त्यसपछि सेलायो ।
——–
केही दिनपछि इलामको मंगलबारेमा नाटक देखाउने फिक्स भयो । हाम्रो चिसिएको उत्साह फेरि मनतातो भयो । पन्ध्रजनाको टोली तामझामका साथ मंगलबारेतिर लाग्यो । बुधबारेमा फ्लप भएको नाटक मंगलबारेमा भने सुपरहिट भयो । तीनै सोमा दर्शक खचाखच थिए । टिकट बेच्न घर घर जानु पनि परेन । सबै दंग भयौं । नाटक सकिएपछि कतिजना दर्शक भनेर आउँथे र गजब प्रशंसा गर्थे । होटलवाला साहु–साहुनीले मलाई छोरी बनाए । उनीहरूका छोराको हाल सालै बिहे भएको रहेछ । उनले पनि मलाई बहिनी बनाए र भने, ‘यो पालि तिहारमा टीको लाउन म बुइनीका घरैमा आउँछु ।’
सात दिनजति त्यहाँ बसेपछि एक दिन निर्देशक महोदयले भने, ‘अब तिमीहरू आआफ्ना घर जाओ । तिमीहरूलाई दिनुपर्ने पैसा म उतै आएर हिसाब गरौंला । अहिले म यहाँको हिसाब मिलाएर आउँछु ।’ यत्रो दिन काम गरेर हातमा सुको नपर्दा म हिस्स परें । तर पछि देलान् भन्ने सोचेर चित्त बुझाई फर्कें ।
नाटकका निर्माता चारजना थिए । तीमध्यै एकजना महिला हुनुहुन्थ्यो । म प्राय: उहाँकै साथमा हुन्थें । हाम्रो समूहमा सुरुंगा घर भएकी एक परियार थरकी बहिनी पनि थिइन् । उनीे असाध्यै राम्रो नाच्थिन् । ती बहिनी पनि मसँगै हुन्थिन् । इलामबाट फर्केपछि वीरगन्जमा कार्यक्रम गर्ने तय भयो ।
‘खै, नाटक खेलेर कति कमाइस् ?’ आमाले सोध्नुहुन्थ्यो बेलाबेलामा । त्यसैले वीरगन्ज जानुअघि भने निर्देशकसित मैले आफूले पाउनुपर्ने पैसाको हिसाब खोजें । निर्देशकज्यू चिल्लो घसेर कुरा गर्न साह्रै सिपालु थिए । उनले मेरा हातमा तीन–चार सय रुपैयाँ राखिदिँदै भने, ‘जति रकम उठ्यो त्योभन्दा दोब्बर त खर्च भयो । अहिले यति राख । वीरगन्जबाट फर्केपछि सबै पाउँछ्यौ ।’
पैसाभन्दा अभिनयको भोकले मलाई नाटकमा तानेको थियो । नाम र इज्जतको मोहले डोर्याएको थियो । पैसा नपाए पनि म जान राजी भएँ । दुई बजे बिर्तामोडमा भेला हुने कुरा गरेर हामी छुट्टियौं । तोकिएको दिन र समयअगावै म बिर्तामोड पुगेर पर्खिन लागें । अरू साथीहरू पनि निर्धारित ठाउँमै भेला भए ।
दुई बज्यो, तीन बज्यो, चार पनि बज्यो । निर्देशक आएनन् । हामी एउटा किराना पसलअगाडि टाढाटाढासम्म नजर डुलाउँदै बसिरह्यौं । अहँ, पौडेल सर आएनन् । हामी दुई तीनजना केटीले त्यसरी कसैलाई छटपटाउँदै पर्खेको देखेपछि पसले र छेउछाउका मान्छेले सोधीखोजी गर्न थाले । हामीले वास्तविकता बतायौं । पौडेल सर त आएनन् तर उनले अर्का निर्मातालाई पठाएर हामीलाई वीरगन्ज लाने व्यवस्था मिलाएछन् । एघारजनाको टोली ती निर्मातासँगै वीरगन्जतिर लाग्यौं । त्यतिबेला झमक्कै साँझ परेको थियो । अरू छुटेका एक दुईजनालाई लिएर पौडेल सर भोलि आउने भन्ने सुन्यौं ।
भोलिपल्ट बिहान चारै बजे हामी वीरगन्ज पुग्यौं । त्यो दिनभरिमा पनि पौडेल सर आइपुगेनन् । भोलिपल्ट साँझ मात्र पुगे । भएछ के भने, हामी तीन चारजना केटीलाई त्यसरी पर्खेको देखेका मानिसहरूले चेलीबेटी बेचबिखनको आशंका गरेर पौडेल सर र अरू दुईजनालाई पुलिसको जिम्मा लगाइदिएछन् । रातभर हिरासतमै राखेछन् । भोलिपल्ट बिहान वीरगन्जमा हुने कार्यक्रमका संयोजकलाई फोन गरेर भनसुन गरी छुटेछन् ।
वीरगन्जको त्यो ठूलो सिनेमाहलमा दुई सो नाटक देखायांै । मान्छे खचाखच थिए । टिकट धेरै बिक्री भएको थियो । हामीले फेरि आफ्नो पारिश्रमिक माग्यौं । तर यसपटक पनि पौडेल सरले आफ्ना शब्दजालले हामीलाई लपक्क बेर्न सफल भए । हामी बाटा खर्च लिएर झापा फर्कियौं ।
घर पुग्दा आमाको अनुहार चुहिनै लागेको बादलजस्तो देखें । दाजु पनि मुर्मुरिँदै टाँडमाथि चढ्नुभयो । घर छोडेर टाढा गएकोमा असह्य भएको होला भन्ने लागेको थियो । तर होइन रहेछ । दाजुले यति लामो चिठी मतिर फाल्दै भन्नुभयो, ‘अबदेखि नाटक साटकमा हिँडिस् भने खुट्टा भाँच्दिन्छु ।’
म हतारहतार चिठी पढ्न थालेँ । त्यो चिठी मंगलबारेका साहुजीको थियो, जसले मलाई छोरी बनाएका थिए । चिठीमा लेखिएको थियो–‘एक महिनाभित्रमा होटेलको बिल चुक्ता नगरे पुलिस लिएर आउँछु ।’
निर्देशक पौडेल सर होटलको बिल नतिरी भागेका रहेछन् । उनी ठाउँपिच्छे फरकफरक नाम बताउँथे । ठाउँ, ठेगाना पनि ढाँटेका रहेछन् । ढाँट्नु, छल्नु, भुल्याउन, उल्याउनु ती निर्देशकको जन्मसिद्ध गुण रहेछ । निर्देशक फेला नपरेपछि नाटकको हिरोइन भएको नाताले उनले मलाई त्यो चिठी पठाएका रहेछन् । मलाई अब भने नदुुखेको कपाल डोरी बाँधेर दुखाएको जस्तो लाग्न थाल्यो ।
राति टुकीको मधुरो उज्यालोमा आधा रातसम्म बसेर मैले होटल साहुजीको चिठीको लामो प्रत्युत्तर लेखेँ । मेरो चिठीको सार थियो, ‘हे मेरा ढुंगेल बा, म पनि तपाईंजस्तै पौडेल सरको चिप्लो बोलीको राजमार्गमा लड्दैउठ्दै हिँडिरहेकी छु । निजले मेरो पारिश्रमिक पनि पचाइसक्नुभएको छ । म पनि उहाँको खोजीमा छु ।’
त्यसको केही दिनपछि सुरुंगाकी परियार थरकी बहिनीको चिठी आयो । चिठी के भन्नु, एक भारी गुनासोको पोको आयो ।
‘दिदी, एक दिन पौडेल सरसित भेट्दा मेरो पारिश्रमिक पनि कमरेड विद्या भण्डारीलाई दिएको छु भन्नुहुन्थ्यो । हो भने, प्लिज, म गरिब केटीको पैसा पठाइदिनुस् ।’
यति साह्रो भएपछि मैले सहनै सकिनँ । म पौडेल सरलाई भेट्न गएँ । उनी हामीले रिहर्सल गर्ने गरेको कोठामै बस्थे । पुरानो साइकल पेलेर मेरुदण्डको खोल्सामा पसिनाको धारो बगाउँदै त्यहाँ पुग्दा त कोठाको ढोकामा आधा किलोको ताल्चा झुन्ड्याइएको रहेछ ।
अब भने म नाटकको ह्याङओभरबाट मुक्त भएँ । मलाई लाग्यो, त्यो मेरो क्षेत्र होइन । म आफ्नै दैनिकीमा फर्कें ।
केही महिनापछि एक दिन आमा अचानक बिरामी हुनुभयो । शनिबारको दिन थियो । होक्सेबाट शनिश्चरेको गाडी लाग्थ्यो । आमालाई लिएर म शंकर डाक्टरलाई देखाउन भनी हिँडें । आमालाई चेकअप गराएर फर्कंदा सम्झें, यही मौकामा काकाको पसलमा निस्कन्छु । के थाहा पौडेल सरले काकाका हातमा पैसा छाडिदिनु पो भएको छ कि ? त्यसो भएको भए त गज्जबै हुन्छ भन्ठान्दै म काकाको पसलमा पुगेँ । पसलमा काकालाई देखेर हर्षित भएँ ।
त्यही बेला पाखुरा सुर्कँदै एकजना दिदी काकाको पसलतिर बढिन् । ती तिनै दिदी थिइन्, जसले शनिश्चरेमा रिहर्सलको बेला पन्ध्र दिन भात खुवाएकी थिइन् । बिचरीको पनि पैसा तिरिएको रहेनछ । हे फसाद ! म हत्तपत्तभित्र लुकें । उनी बाहिर भनिरहेकी थिइन् , ‘तेरिमा नकचरा नकचरीहरू, म गरिपको खार भाग्ने ? बल्ल आज एउटीलाई भा पुनि भेटें । बाहिर मात्तै निस्कोस् त, तेस्को जान्दो गरिनछु भने ।’
ती दिदीको आवाजबाट उनी रुँदैछिन् कि ध्वाँस दिँदैछिन् छुट्याउन मुस्किल थियो ।
दुलो पसेको मुसो निस्कन्छ र झम्टिउँला भनी पर्खेको बिरालोझैं ती दिदी त्यहाँ निकैबेर कुरिन् । तर मभित्र सास दबाएर बसिरहें । एकछिनपछि ती फतफताउँदै बाटो लागिन् । अनि म पनि केही नभएझै शान्त मुद्रामा बाहिर निस्केँ र फटाफट बाटो लागेँ । मैले निकैबेर अपमानित एवं सकसपूर्ण समय कटाएँ त्यहाँ । तर मलाई नाटक खेल्न उक्साउने ती काकाले मेरो पक्षमा एक शब्द बोलेनन् । मानौं उनलाई यसबारे केही थाहै थिएन ।
बाटामा निस्कँदा आमा पिलपिल रुँदै पर्खिरहेको देखें । मलाई एउटी सन्तान भएर बिरामी आमालाई रुवाएकोमा ज्यादै ग्लानि भयो । आमाले त केही भन्नुभएन, बरु मैले नै भनें, ‘अब नाटक खेल्दिनँ आमा । कस्सम । विद्याकसम !’
प्रकाशित: भाद्र २७, २०७२
(स्रोत : Kosheli – Kantipur)