“टपरी,अब के गर्छस्?”
उस्ले फोन गरेर बोलायो पछि,म हतार हतार भेट्न गएको थेँ । मेरो पहिलो प्रश्नको उत्तर नदिएरै उ चुपचाप निहुरेर बसि रह्यो।उत्तरको आशा थिएन । हतार हतार अर्को प्रश्न गरेँ, ”किन गरिस् यस्तो?”
यो पटक उ बोल्यो।
“त्यो सङ्ग बिहे गर्न काठमाडौमा घर चाहिने रे,सधै खैरेको पैसामा खाएर-पढेर बसेरै कहाँबाट आउथ्यो र घर?”
मलाई त्यस्को उत्तर सुनेर झनक्क रिस उठ्यो तर बरा एक्लो भएर साथ सहयोगको लागि बोलाएको थ्यो मलाई।मैले नै रिस देखाए नराम्रो मान्ला भन्ने लाग्यो।
सोधे,”आधा पेट भर्न,काम पाउन मुस्किल काठमाडौमा,सिङ्गै घर ठडाउने सपना देखेर होस्टलबाट भागिस्?फ्रीमा पढ्न पाथिस् यार,कम्तिमा पढाइ सक्काको भए केही उपाय निस्किन्थ्यो कि?”
सायद उस्ले मेरो प्रश्नको जवाफ दिन आवश्यक ठानेन।एक्छिन चुप लागेर भन्यो,”म गाउँ जादैछु,हेर्छु कस्तो छ पुर्ख्यौली घर बारिको हालत।थोरै छ तर नि बेचेर आउछुँ।सायद फर्केर गौरिलाई भगाउछुँ।”
अनाथ आश्रममा पालिएको साजन अनि धनी परिवारमा हुर्किएकी गौरी-यि दुईको गहिरो संबन्ध देखेर छक्क नपर्ने कमै थे।प्रेम उदाहरणिय थ्यो।जात,वर्ग केही नमिले पनि मन मिल्यो।एक अर्काको साथ अनि विश्वास कहिल्यै नछोड्ने प्रण गरेका थे।
दुई जनाले एक अर्कालाई नङ र मासु सरह ठान्थे।तर साजन राम्रो पढ्ने,मिहिनेत गर्ने,लगनशिल भए पनि सिर्फ काठमाडौमा घर,गाडी,टन्न बैंक ब्यालेन्स नहुनुकै कारण गौरिको कथित धनी परिवारले उस्लाई ज्वाइँ स्विकार्न सकेन।त्यही धनी परिवारकी छोरिको प्रेमले साजनलाई पनि धन कमाउने सपना देखाउन थाल्यो।
धेर-थोर पुर्ख्यौलि सम्पती बेचेर काठमाडौमा केही काममा लगानी गर्ने अनि पैसा कमाएर गौरिको बुबाको मन जित्ने अठोट गर्यो र गयो गाउँ।
धेरै महिना सम्म साजन र मेरो सम्पर्क भएन।गाउँबाट फर्क्यो पछि फोन गर्ला भन्ने सोचेँको थेँ तर अचानक उस्लाई एकदिन चक्रपथमा भेटेँ।
निकै बेहाल बनाएको रहेछ आफ्नो हुलियाको।कपाल लामो,लुगा फोहोर,सोल मात्र बाकी भएको जुत्ता।झोला चाहिँ अलि गह्रौ देखिन्थ्यो,धेरै पढ्थ्यो सायद किताबै बोकेको थ्यो होला।पढेर क्लास सधै टप गर्ने भएकोले हामी उस्लाई टपरी भनेर बोलाउथ्यौँ।
मलाई देखेर हास्यो,जबरजस्ती।मन नलागी नलागी हास्दा देखिएको दाँतले मन्जन,ब्रस नदेखेको जुगौ भाकोझै थ्यो।
उ केही नबोली अलमल्ल पर्यो।मैले नै एकै स्वासमा सोधे,”कता हराएको,अनि कहिले फर्केको गाउँबाट,के भयो घर जग्गाको काम?”
उस्ले मन गरेन केही कुरा खोल्न तर मैले नै जिद्दि गरेँ।
एकछिन पछि भन्न थाल्यो,”मलाई सानैमा अनाथ आश्रमले पढाउन ल्याएको थाहा पाएर मेरो कोहि आफन्तले ती सम्पती हकदाबी गरि आफ्नो नाममा सारेर बेचेछन्।पहिले हाम्रो झुपडी भएको जग्गामा ठूलो घर बन्दैछ।अनि म फर्केर आएँ।
म छक्क परेँ।भनेँ,”कानुनी तरिकाबाट ती सम्पती तिम्रो साबित गर्न मिल्ला नि।”
उस्ले फेरि त्यही जबर्जस्ती मुस्कान दिदै भन्यो,”अनिता म चिन्दिनँ मेरो जग्गा आफ्नो बनाएर बेच्ने आफन्तलाई।तर त्यो जग्गा किनेर ठूलो घर बनाउन लागि परेका काठमाडौको नामि व्यवसायी चाहिँ गौरिको ड्याडी हुन्।गाउँमा उन्ले भाषण दिदा भन्दै थे,उन्को ठूलो योजना छ रे।त्यो बनाउदै गरेको घरमा एउटा विदेशी संस्था सङ्ग मिलेर अनाथ आश्रम खोल्ने।थुप्रै अनाथ बच्चालाई प्रेम,जिन्दगी,शिक्षा अनि सुन्दर भविष्य दिने।”
(स्रोत : Swechha Raut’s Blog)