~द्वारिका नेपाल~
घामले हिमालमा
सिंदूर छर्न नपाउँदै
घामले आँगनमा
पाइला टेक्न नपाउँदै
चराहरुले उषाको प्रशंसामा
गीत गाउन नपाउँदै
हरेक बिहान जाग्छ
एउटा सपना
हरेक बिहान जुरूक्क उठ्छ
एक जोर दौरासुरूवाल
अर्थात् साइँलो दाइ
चिनिएको नाम साइँलो दमाई
अनि ऊसँगै उठ्छन्
रातभरि सपना देखेर थाकेका
एक जोर बूढा आँखा
अनि बिउँझिन्छ
भित्तामा झुन्ड्याइएको सहनाइ ।
मुख पनि राम्ररी नपखाल्दै
सहनाइले डोहो¥याएको
बाटो लम्किन्छ साइँलो दाइ
उसका प्रत्येक पाइलामा
स्वास्नीको च्यातिएको फरिया
अल्झिन आइपुग्छ
छोराछोरीको स्कुलको फिस
च्वास्स घोच्न आइपुग्छ
आफ्नै दमको ओखती
ढिस्को बनेर ठोक्किन्छ ।
बरू साइँलोले
भुल्न सक्छ जिम्मेवारी
तर उसले बोकेको सहनाइ
जिम्मेवार बन्नैपर्छ
आजै बिहानको छाक टार्नुछ सहनाइले
साइँलो दाइको घाँटीले
सहनाइमा प्राण भरेर
आफ्नो मात्र होइन
स्वास्नी र छोराछोरीको पनि
श्वास फेरिदिनुछ
घाँटीका नसा बेस्सरी फुलाएर
सहनाइमा जीवन दिनुछ
र, खुसी बनाउनुछ जजमानहरुलाई ।
उसको सहनाइमा लुकेर
पशुपति शर्मा सुसेल्दै छ
‘काम पाइएन डिग्री पास गरेर
भैँसी पालेँ गाउँतिर झरेर
चिन्ता छैन क्यै
मलाई अमेरिका यै…’
बमबहादुर कार्कीको पानको पात
रेखा शाहको सिमसिमे पानीमा
कुमार बस्नेत, ज्ञानु राणा,
राम थापा, बद्रि पंगेनी
ओहो ! कति हो कति
सबै कलाकारलाई लुकाएर
राखेको छ सहनाइमा
ठाउँअनुसार झिक्छ
र, एकाबिहानै
जजमानको आँगनमा
कलाकारिताको बिस्कुन
फिँजाउँछ साइँला दाइ ।
चहार्नुछ आँगनआँगन
पोख्नुछ कलाकारिता दैलोदैलोमा
अनि साट्नुछ कलाकारिता
हरेक घरका दुई घोगा मकैसँग
आफ्नै जिन्दगीजस्तो अपूरो–अपूरो
आफ्नै भविष्यजस्तो
हार नमिलेका मकैका घोगा
छोडाउन व्यस्त बन्दै सोचिरहेछ ऊ
यही मकैलाई जस्तै दुःखलाई पनि
मिलमा लगेर पिस्न पाए
घरमा ढिँडो पर्खिरहेका छोराछोरीसँगै
स्वास्नी र उसको पनि
सुखको दिन आउने थियो ।
हतार छ उसलाई
घर पुग्नका लागि
हतार छ उसलाई
सिल्बरको कराइमा
ढिँडो पकाउनका लागि
हतार छ उसलाई
छोराछोरी स्कुल पठाउनका लागि
हतार छ उसलाई
सन्तानका आँखामा
मीठो सपना देख्नका लागि
हतार छ उसलाई
पुर्खाबाट पाएको सहनाइ
सन्ततिलाई हस्तान्तरण गर्नका लागि
हतार छ उसलाई
जिम्मेवारीमा पालो लगाउनका लागि ।
dwarikanepal32@gmail.com
(स्रोत : Echitwanpost)