~यशोदा तिम्सिना~
धेरै वर्षअघि
डेराको एउटा कोठामा सँगै बसेर पढेको
यार
केही पछि बेपत्ता भो ।
कोही भन्थे, मुग्लान भासियो
कोही भन्थे, गाउँ फर्कियो
तर, सत्य/तथ्य पत्ता लागेन ।
म चासो राख्थेँ बरोबर उसका बारेमा
कहिलेकाहीँ डेरा भाडा तिर्न नसकेर
घरबेटीले थर्काउँदा
छोराछोरीको स्कुल फि समयमा नबुझाउँदा
श्रीमतीका सानातिना माग पूरा गर्न नसक्दा
नोस्टाल्जिक हुन्थेँ
धेरै पढेर अथाह कमाउने उसको र मेरो
सपना, गाडी, बंगला, रूपसी श्रीमती
यस्ता रुमानी हुन्थे हाम्रा कुरा ।
नाम र दाम सरावरी कमाएपछि
घरबार गरौंँला
नभए एक्लै मरौँला, यसै भन्थ्यो ऊ
अभावै अभावका बीच डेराको जीवन
जीउनु भनेको नर्कको बास हो
खुसीले एक्लै मरिएछ भने
त्यो सीधै स्वर्ग जाने बाटो हो
उसले मलाई अर्ती दिन्थ्यो ।
बिहानै उसलाई स्मरण गर्दा
श्रीमतीले चिया सेलायो भनेपछि
स्वाभाविक हुन्थेँ म र बिर्सन्थेँ उसलाई
क्षणभरमा ।
आज चियाको चुस्कीसँगै
हेरिरहेको अखबारमा नजर पर्यो
त्यही यार बितेको
१३औँ दिनको श्रद्धाञ्जलि छापिएको रहेछ ।
असमयमा
अकल्पनीय निधन
र, अपूरणीय क्षति…
यस्तै केही लेखिएको थियो ।
शोकाकूल परिवारका तर्फबाट
माता, पिता, दाजु, भाउजू
भाइ–भतिजा मात्रैको नाम थियो ।
साँच्ची स्वर्ग जाने लोभमा उसले
घरबार गरेनछ
आफ्ना पखेटा आफैँले काटेनछ
आकाशमा कावा खाँदै पत्ता लगाएको
यही होला स्वर्ग जाने उसको बाटो ।
प्रकाशित: मंसिर १७, २०७२
(स्रोत : नेपाल साप्ताहिक)