यो चौथो भ्यालेन्टाइन्स डे थियो,मेरो भेट्ने प्रस्तावलाई मायाले अस्विकार गरेकी। उस्का रेडिमेड जवाफ वा भनुँ बहानाका कारण मैले दोहोराएर बिन्ती बिसाउन सक्दिनथेँ। तर यो पटक आफ्नो मुटुलाई मुख सम्म ल्याएर दोहोर्याई , तेहेर्याई फोन गरेँ, भेट्न आउ न केवल एक पटक भनेँ तर चौथो पटक देखि फोन उठेन। अचम्म लाग्थ्यो माया संग म प्रती मेरो प्रेम,समर्पण,शब्द अनि मेरो आग्रह प्रती एक रत्ती पनि माया नभएको देखेर। अन्तिम मेसेज लेखेँ “म कुर्नेछु, त्यही जहाँ हामि कलेज सकेर घुम्न जान्थ्यौँ ”
भ्यालेन्टाइन्स डे २०१२ –
धुप जलेको र मान्छेको शरीर बलेको मिश्रित गन्ध घरी-घरी हावाको झोक्काले बोकेर ल्याउने पशुपतिको डाँडा। म कुरिरहेथेँ मायालाई। किन ? कसरी? कस्तो ? प्रेम गर्थेँ थाहा थिएन। तर उ प्रती केही भावना थियो-प्रेम भावना। म यत्ती जान्दथें, उस्को माया लाग्थ्यो, उस्लाई पाउने चाह थियो। मेरो प्रेम उस्को जिवनमा असरल्ल छरिदिएर सबै खुसी अनि सुख दिन चाहन्थेँ। म कल्पनामा लिप्त थिएँ। घरी घरी एक जोडि बाँदर बाँदर्नी आउथे,जिस्काउथे र जान्थे। लाग्थ्यो बादँर खुसी छ म भन्दा धेरै। उस्ले आफुले रोजेको सुन्दरिलाई प्रेम गर्न पाएको छ, आफ्नो भन्न पाएको छ। बिना कुनै रोक,सम्झौता,बन्धन आफ्नो नजिक राख्न पाएको छ। लाग्यो माया मेरि भैदिए उस्लाई सधै खुसी राख्छु, चाहे बाँदरले झै अरुको खोसेर,झगडा गरेर,चिथोरेर किन नहोस्।
एक्कासी अगाडि उभिएको बूढो अनि हल्का चाउरिएको अनुहारको बोलिले घच्घचायो। सोध्यो,’बाबु कसैलाई कुर्दै छौ?’ अपरिचित स्वरको प्रश्नले एकछिन अलमल्ल परेँ। बस्ने ठाउँ छोडी दिदै भनेँ,”अँ मेरो प्रेमलाई कुर्दै छु,मेरि मायालाई कुर्दैछु।” बुढा थिए ती बा तर जोस,उमंग,रहर भने जवान र फुर्तिलो। उनको हातमा भएको चाइनिज टर्च,घडी,ब्याट्री,पेटि देखेर अनुमान गरेँ, उनी व्यापारी रहेछन्। घुम्दै-व्यापार गर्ने। म उनी सङ्ग चाडै खुल्न सकेँ या उनी म सङ्ग, जे होस् मैले मेरो कुरा खोल्न थालें। मेरो प्रेमको कुरा मेरो पर्खाइको कुरा। बा मेरो कुरा सुन्दा सुन्दै एक्कासी मरिमरि हास्न थाले।
अचानक बागमतिको किनारमा एउटा श्वास फेर्न बिर्सिएको जीवन अन्त्यष्टीको संकेत गर्दै, शङ्ख बज्न थाल्यो। हामी दुबैको ध्यान त्यतै गयो। केवल एउटा लास एकशुरले धुवाँ बनेर उड्दै थियो माथी सम्म,निकै माथी। एकछिनको मौनतालाई चिर्दै बोल्ने पालो बाको थ्यो। भने : “मैले पनि तिमिले जस्तै प्रेम गरेथेँ मेरि कलालाई। अनि त्यही प्रेमले सिकायो जिवनको अर्को एउटा कला,प्रेमिका आफू सङ्गै नभए नि प्रेम गर्ने,गरि रहने कला। प्रेमलाई जिउने आधार बनाउन जानेँ। सिकेँ, प्रेम कोमल फुल होईन अनि घोच्ने काँडा पनि। तर ती दुई बिछ फुल्ने विवशता पक्कै हो।” हातको सामान भुइँमा राखेर फेरी उनि अटुट रुपमा बोल्दै गए “म क्षेत्रीको छोरो,उ राइकी छोरी-जात मिलेन। म २० वर्षको,उ २५ वर्षको-उमेर मिलेन। मिल्यो त केवल मन र भगाएँ। होइन भाग्यौँ,विवाह गर्यौँ। तर परिवार अनि समाजले स्विकारेन।” बा एक्कैछिन् अडिए, लामो स्वास फेरे अनि फेरी सुनाउन थाले “गाउँ छोड्यौँ,तराई झर्यौँ। हामी सङ्ग केही थिएन। थियो त केवल एक अर्काको साथ,विश्वास,भरोसा र गरि खाने जाँगर। दिन बित्दै थियो। म परिपक्व हुँदै थिएं। कलालाई अझ बढी प्रेम गर्दै थिएँ। मेरो जिवनमा कला सङ्गै अर्को एउटा उमंग थपियो। हाम्री छोरी जन्मिन।त्यसपछि मिहिनेत गर्नु पर्छ भन्ने,अझ धेरै धेरै गर्नु पर्छ भन्ने चेत थपियो।’ बा ले फुलेको दारीमा हातले मुसार्दै आकाशतिर हेर्दै भने “तर एकदिन म पनि तिमी जस्तै,थोरै आश अनि थोरै आफ्नो प्रेम प्रतिको विश्वास बोकेर पर्खन बाध्य भएँ। सायद मेरि कला अनि छोरीको लागि मेरो पसिनाको कमाई कम थियो। उनिहरुलाई राम्रो लाउने,मीठो खाने रहर थियो। राम्रो छतमुनी रमाउने चाह थियो। मैले केही पुर्याउन सकिनँ।” यति भन्दा उनको आँखा टिलपिल भएको प्रष्ट देझ्दै थिएँ म, उनले थपे “त्यसैले उ भागी छोरी च्यापेर,काठमाडौ आउने झिल्के ड्राइभर सङ्ग। झिल्के ड्राईभर मेरो साथी सङ्ग। उ भागेर काठमाडौ आइ भन्ने सुने पछि म पनि आए,उस्लाई खोज्न।” भुइँ तिर हेर्दै उनले भने “यी चाइनिज सामान सङ्गै कुनै दिन उस्लाई भेट्नेछु भन्ने आशलाई हातमा झुण्डाएर यहाँको गल्ली गल्ली डुल्न थालेको वर्षौ भो तर अहँ भेटिनँ। सायद मेरो आशा पनि चाइनिज थ्यो। म कलालाई अझै उत्तिकै माया गर्छु जति पहिले गर्थेँ। म बुझ्छु उस्को बाध्यता। उस्लाई भेट्ने आशा मेरो दैनिकिको आधार हो। म उस्लाई सम्झेरै खुसी हुन्छु। उस्को यादले दुखी हुनै दिदैन।”बाका आँखा रसाए, ओठलाई रुन्चे पारामा तन्काए।
बाको कुराले मलाई मेरो माया प्रतिको प्रेमको शिखरमा बाटो देखाउदै,डोर्याउदै,हात छोड्दै,माथी उक्लदै,तल झर्दै गर्न लगायो। सोच्न बाध्य भएँ। बुझेँ,प्रेम त नजिक नभएरै,नपाएरै,नछोएरै,नदेखेरै पनि त हुदोरहेछ। प्रेम गरे पछि आफ्नै हुनुपर्छ,सङ्गै हुनुपर्छ भन्ने भ्रम नरहदो रहेछ। तर म किन मायाको निम्ति मरिहत्ते गर्दैछु। किन उस्लाई पाउने चाहहरु कुस्ती खेल्छन्, मन भित्र। माया हो या आकर्षण। म आफै भित्र प्रश्नोत्तर गर्न थालेँ।
साझ ढल्किदैथ्यो। दुई बिचको सन्नटालाई चिर्दै बा बोले, “हिड भाइ चिया खान।” मौन स्वीकृति जनाउदै म उठेँ।
ओरालो झर्दैथ्यौँ। अचानक हाम्रो अगाडि अपरिचित,मौन अनि एकदम निरीह अनुहार उभियो। चुप थियौँ। स्तब्धतालाई भङ्ग गर्दै बोल्यो, “कला अब रहिन,उसैको श्रद्धाञ्जली गर्न आएको” सायद झिल्के ड्राइभर थियो उ। बाको अनुहार निलो भयो,आँखाहरुमा कलाको निम्ति प्रेम छचल्कियो। बागमतिको पुल माथीबाट नियाल्न थाले जलिरहेका दाउराहरु। सायद खरानिमा खोज्दै थिए होलान् बा आफ्नी कलाको आकृती। मेरा हातबाट गुलाबका एक एक पत्ता झर्न थाले,ठिक बाको खुट्टा छेउमा। म केही बोल्न नसक्ने भएँ। भनेँ, “म गएँ बा।”
आफ्नो दिमागको क्यानभासमा बाकी कलाको अनुहार कोर्दै सरासर हिड्दै थिएँ। पशुपती परिसरबाट बाहिरिएं। अचानक ओठमा हासो,खुसी अनि विश्वासका साथ आफ्नो हात कुनै लोग्ने मान्छेको कम्मरमा बेस्सरी बाधेकि मायालाई देखेँ, बाइकमा। म टक्क अडिएँ, ठिक आफू उभिएकै ठाउँमा। बाइक मलाई एक्लो छोडेर पर पुग्यो। कती पर देखि राख्न सकिनँ। मन मस्तिष्कमा माया भन्दा बढी बालाई सम्झिएँ। सम्झिएँ त्यो अनुहार जस्को उत्साह सायद विगतको यादका बगैचामा डुल्न गएको थियो। र बा निरस हाँसो फुत्काएर मलाई प्रेमको परिभाषा सुनाउदै थे।
(स्रोत : रचनाकारको ब्लगबाट सभार )