~श्याम रिमाल~
मेरो चस्मा अहिले टेबुलमै बसिरहेको छ। आँखा कमजोर छ, तर कोठामा बस्दा लगाइरहन अप्ठ्यारो। चस्मा ‘चेन्जेबल’ छ र अलिअलि घाम पनि छेक्छ। गगल्स लगाउनेसँग मेरो तुलना हुनै सक्दैन। गगल्स लगाउनेहरू आफ्नो कुटिल आँखा अरूले नदेखून् भन्ने ठान्दा हुन्। नत्र किन त कुनै सेमिनार हल वा बैठक कोठामा पनि गगल्स लगाएर मानिसहरू गजधम्म बस्छन्? गगल्सले आफ्नो व्यक्तित्व उठाउने पनि ठान्दा हुन् ती। म भने कालो चस्मा लगाएर ती हामीलाई घुरेर बसिरहेको अनुमान गर्छु।
हामीजस्ता मानिसलाई चस्मा लगाउनु र नलगाउनुले केही फरक पर्दैन– ठूलाबडाका अघिल्तिर। त्यसमा पनि पावरदार चस्माको के इज्जत हुनू? मलाई ठूलो चस्मासँग पनि डर लाग्छ। बरु गान्धी चस्माले अंग्रेज पल्टायो। लेखनाथको चस्माले ‘सत्यसन्देश’ दियो।
चस्मामा शक्ति छ र सत्ता छ। शक्ति र सत्ता हुनेले तपाईं प्रायः चस्मा नै लगाएको देख्नुहुनेछ। राजा त्रिभुवन, महेन्द्र, वीरेन्द, ज्ञानेन्द्र, युवराज धीरेन्द्र, दीपेन्द्र, पारस तथा नेपालका प्रायः हरेक प्रधानमन्त्री राजनीतिज्ञले चस्मा लगाए, लगाउँदै छन्। यो चस्माको शक्ति हो कि सत्ताले दिएको व्यक्तित्व हो, भन्न सकिन्न। दमदार चस्मा लगाउनेसँग जम्काभेट भयो भने हच्किनु नै पर्ने हुन्छ। अझ ठूलाबडाका अगाडि कमजोर भनिनेले कालो चस्मा लगाउन नहुने उर्दी लाग्छ। लाहुरेहरू भरिया अगाडि–पछाडि लगाएर चुरोट तान्दै चस्मा र घडी ढल्काएर बाटो हिँड्दा घर घरबाट हेर्नेको धुइरो लाग्थ्यो जमानामा।
चस्माले दृष्टि शक्ति त बढाउला तर वस्तुलाई ओझेलमा पनि पारिदिन्छ। चस्माले मलाई धेरैजसो धोका दिएको छ। कहिले नजिकको मान्छे नदेख्ने कहिले टाढाको। नजिकको पावर लगाउँदा टाढाको नदेख्ने, टाढाको लगाउँदा नजिकको। कहिलेकाहीँ यसलाई त्यसै फालिदिऊँ जस्तो पनि लाग्छ। चस्मा नलगाउँदा बरु सजिलो छ। नाकको डाँडीमा ग्लास अड्याएर कानमा घुसार्दा निकै अप्ठ्उारो लाग्ने। नलगाए आँखा धमिलो हुने त छँदै छ, आँखाबाट तुरुरु आँसु नै बहन्छ।
बाल्यकालमा हजुरबाको चस्मा लगाउन मन लाग्थ्यो तर आँखा नै तिरिमिरी झ्याइँ पार्थ्याे। पछि बुवाको लगाउँदा पनि रिँगटा लाग्ने भयो। स्कुलमा चस्मा लगाउनेहरू कतिपय लाजले पानीपानी हुन्थे। तै चारआँखे भनिएन बालककालमा किनकि मैले त तीस नाघेपछि नै चस्मा लगाउन थालेको हुँ। चस्मा लगाउनेहरू बूढो मानिने चलन थियो त्यसबखत। गगल्स वा रेब्यान त तन्नेरीकै वर्चस्व भइहाल्यो। चस्मा मन नपर्ने त त्यति बेला नै हो तर अहिले आफैंले लगाउनुपर्दा झन्झट बेहोर्नुबाहेक केही काम भएन। कति स्याहार गर्नुपर्ने भने कतै झर्ला कि कतै कुल्चिएला कि कतै फुकालेर राख्दा बिर्सिएला कि अथवा कसैले लगिदेला कि। चिया खाँदा पनि त्यसको बाफ छुटेर ग्लास नै छोपिदिन्छ।
म चस्मा लगाउँछु र मानिसहरूलाई पढ्छु। तिनको मनोभावना पत्ता लगाउन खोज्छु। मानिसहरूको आँखाले के हेर्न र जान्न खोजेका छन्, थाहा पाउन खोज्छु। अन्तर्दृष्टि खोल्छु, हृदयको आँखा खोल्छु। कतिपय मलाई कुटिल नजर लगाउँछन्, कतिपय घृणा गर्न खोज्छन्, कतिपय हात मिलाउन खोज्छन् र एकैछिन पनि आँखा नजुधाई अन्तै दृष्टि फ्याँक्छन्। मेरो आँखा र चस्माले तिनलाई चिनिहाल्छ। तिनलाई मप्रति रिस र ईर्ष्या छ जो कामभन्दा हाकिमकहाँ बढी समय बिताउँछन्। कतिपयलाई मेरो अनुहार मन पर्दैन किनकि तिनलाई मेरो इमानदारीबारे राम्ररी थाहा छ। ती मेरा चस्मासँग पनि डराउँछन् किनकि मेरो चस्मा सफा छ र आँखाले स्पष्ट देखिरहेको छ।
म चस्मा त्यति लगाउन खोज्दिन। मेरो धमिलिएको दृष्टि म चस्मा नलगाएरै पुनःस्थापना गर्न चाहन्छु। चस्मा नलगाई कम्म्युटरमा काम गर्न गाह्रो भइसकेको छ तर पुस्तक पढ्न र लेख्न मलाई मेरै नांगो आँखा चाहिन्छ। चस्मा दोषी बनिदिन्छ मेरो किताबी ज्ञान आर्जन र लेखनका लागि।
सबै चस्मे वा चस्मावाल वा चस्माधारी मेरा वर्गीय मित्र होइनन्, न सबै नांगा आँखाहरू शत्रु हुन् । संसारलाई सदैव द्वन्द्वात्मक भौतिकवादी चस्माले नियाल्न खोज्दा मेरा केही मित्र मलाई जडसूत्रवादी भनिदिन्छन्। र, संसारलाई नयाँ चस्माले हेर्न खोज्दा उत्तरआधुनिकतावादी भनिदिन्छन्। उत्तरआधुनिकता मार्क्सवादको विरोधी भनिन्छ क्यारे। नयाँ चस्मा पनि लगाउनुहुन्न पुरानो पनि हुन्न, किनकि मेरा सबैथरी मित्र छन् जोसँग मैले मिलेर बस्नुछ।
म चस्माको सौखिन पनि होइन, र अति हिफाजत गरेर राख्ने मानिस पनि होइन। थोत्रै भए पनि फेरीफेरी हिँडिरहने पनि होइन। चस्मासँग न मेरो कुनै सम्झनलायक घटना छ न कुनै किस्सा नै। बरु कहिलेकाहीँ बस, माइक्रोबसमा धकेलाधकेल हुँदा ग्लासको छेउ फुटेको छ वा फ्रेम दुन्नेको वा कुच्चिएको छ। ग्लासको छेउ फुटेकै चस्मा लगाएर हिँडिरहेको छु आजसम्म। चेन्जेबल ग्लास भएकाले घाम आँखामा पर्नबाट त जोगिन्छ तर कहिलेकाहीँ नजिककै वस्तु वा मानिस देख्न गाह्रो पर्छ।
साउनमा आँखा फुटेको गोरुले सधैं हरियो देख्छ रे। सुकेका पहेँला घाँस नखाने गाईबस्तुलाई हरियो चस्मा लगाइदिए मजाले घाँस खाने ठट्टा पनि गर्छन् मानिसहरू। मानिसलाई पनि त्यस्तै चस्मा लगाइदिनुपर्छ जसले तिनको गुमेको विवेक फिर्ता ल्याओस्। त्यस्तो चस्मा बनेको होला र के संसारमा? बरु लगाएपछि आफूले देख्न चाहेको मान्छे सबै नांगो देखिने चस्मा बेच्दै हिँडिरहेका छन् धनगढीतिर केही फटाहाहरूले। कथाकार किशोर पहाडीले यस्तै कथा ‘मधुपर्क’मा लेखेर एकपल्ट उधुम मच्चाएका थिए। हाम्रै धीरेन्द्र शाहसँग त्यस्तो चस्मा थियो भन्ने पनि सुनिन्छ। अहिले ती थि्रडीमात्र होइन एटडी चस्मा लगाएर चलचित्र हेर्नेको धुइरो पनि देखिन्छ सिनेमा हलमा।
मेरो आँखाको दृष्टि मैले फिर्ता ल्याउनुछ। फेरि डा रुइतकहाँ जानुछ र जाँच गराउनुछ, जसले मलाई यसअघि चस्माको सिफारिस गरेका थिए। चस्मा त एकपल्ट फेरिसकेँ तर पनि अझै चिलाउँछ, धमिलिन्छ र दुखिरहन्छ। कहिले चिप्रा लाग्छ कहिले आँसु चुहिन्छ।
अहिले यो निबन्ध लेख्दालेख्दै आज बिहानदेखि नै मेरो चस्मा हराएको छ। चस्मा खोजेको खोज्यै छु। चस्मा, घडी, मोबाइल टेलिफोन, रुमाल, काइँयो, कलम, पर्स, नोटकपी साना चिज भएकाले हराएको हरायै गर्छ। अरू त भइहाले, चस्मा नै हराएपछि त आँखै हराइगो नि। धमिलो आँखाले कम्प्युटरमा काम गर्दै छु। चस्मा सम्भि्करहेछु र बेलाबेला ध्यान चस्मा खोज्नमै लगाएको छु। एकपल्ट एक परियोजनाका सिलसिलामा दोलखा जाँदा बाटामा पर्ने सिन्धुपाल्चोकको सिम्लेमा खाजा खान बस्दा टेबुलमा फुकालेको चस्मा ठाउँको ठाउँ हरायो। आफूलाई चस्माको मूल्यभन्दा आँखाको मूल्य थियो। धेरैबेर हल्लीखल्ली भयो। पछि अर्कै टेबुलमा दारु आदि खान बसेको अर्काे समूहलाई डराई–डराई सोध्ने आँट गरियो। आखिर एक जनाले आफ्नो दारु खाने साथीकै होला भनी सुरक्षित राखिदिएको रहेछ। एक घटना हो यो। चस्माको मूल्य यहाँ पनि पाइयो। अर्काे समूहले साथीका लागि राखिदिनुमा चस्माको महत्व देखिन्थ्यो भने आफू चस्मा हराउने हुस्सु बनेकामा चिन्ता थियो।
अहिले बुवा चस्मा लगाउनुहुन्छ तर हराएको हरायै, फुटेको फुट्यै। छोरीको चस्मा पनि बिग्रिएको छ। उसको पनि बनाउन भ्याएको छैन। बाबुआमाले दिएको सग्ला आँखा छाडेर चस्मा लगाउनुपर्ने यो कस्तो बाध्यता? प्रकृति छाडेर अन्ततिर लाग्दा मान्छेले दृष्टि, विवेक, धर्म, इमान, जमान, तन, मन सब गुमाउँदो रहेछ। हरियो सागपात, गोलभेँडा, पहेँलो फर्सीजस्ता भिटामिन ए खान छाडियो होला, ग्रहण लागेको सूर्य हेरियो होला, आँखा राम्ररी सफा गरिएन होला, धुलो धुवाँबाट बचिएन होला। हरियो परियो पनि खानु कसरी जबकि ९० प्रतिशत जैविक हालिन्छ बारीमा। उल्टो अनेक रोगको सिकार हुनुपर्छ कलकलाउँदो सागपातले। व्यास, वाल्मीकि वा अष्टावक्रले चस्मा लगाउनुपरेन। सबभन्दा पढैया वा लेखन्ते रजनीशको पनि चस्मा देखिएन। आँखाको स्याहार गर्न नजान्दा पावरवाला चस्माको झन्झट बेहोर्छ मान्छे। बोक्रे भलाद्मी बन्न या नक्कली व्यक्तित्व देखाउन कालो वा रंगीन चस्मा लगाउनेसँग कोही तर्सनुपर्दैन। बरु अन्तर्दृष्टिले हामीलाई भित्रसम्म नियालिरहेकाहरूसँग जोगिनुपर्छ सतर्क भएर। अर्र्काको चस्मा लगाएर अर्कैको दृष्टिले व्यक्ति, समाज वा देशलाई हेर्नेहरू पनि खतरनाक हुन्छन्। यहाँ अर्काको चस्मा लगाएर अर्कालाई हेर्नेहरूको कमी छैन। तिनको विवेक हुँदैन।
मेरै चस्माको कुरा गर्दा पनि मैले चस्मा लगाएर खासै केही गहिरो ज्ञान पाएजस्तो लाग्दैन। मानिसको दृष्टि चस्माले फेरिने पनि होइन होला? दुनियाँलाई खराब देख्नुअघि आफ्नो चस्मा सफा राख्नुपर्छ भन्ने पनि पढेको छु।
08 Nov 2014
(स्रोत : Nagariknews )