~घमण्डबहादुर कार्की~
भिन्नताका भुमरीभित्र गाँठैगाँठाहरु
मेरो देशको मरणान्त सभालय
असरल्ल छरिएका कुरुप बहस
दिवास्वप्नाको मध्यनिद्राबाट उठेर
क्षितिज उघ्रिएको बेला
स्वर्णिम लोकतन्त्रको पारिलो घाममा
खाडी र अरब तातो हावामा जलिरहेका
वयस्क वसन्तका आँकुराहरु
सुनौलो सूर्योदयमा समागम
आफ्नै आँगनको ओथारोमा
हुनेछन् पुनरागमन ।
पाखाभरि फुलेका छर्राहरु
चारतिर फर्केको एउटा चौतारी
निकटतामा एकाकार नहुँदा
अँगेनाको चिसो खरानीभित्र
भयका ताता गोलीहरुको कसौँडी
गणतन्त्रको चम्किलो बटुकाबाट
अपेक्षा र उन्नतिका
किरण पोखिन खोज पनि
स्वाधीनतामा फक्रेका कुसुमकलीकाहरु
ऊँट र भेँडासित जीवन साट्नेहरु
आमाको न्यानो काख सुमसुम्याउन
टुप्लुकिने छन्
क्षितिज उघ्रिएको बेला ।
सहिदका बलात्कारी जिजीविषाहरु
छचल्किएका आँखा
सार्वभौमिकताभित्रको सम्पन्नताले
अनिश्चिताको तुँवालो हटाउँदै
फर्केर मरूभूमिबाट
फूलैफूल फुलेको देशमा
कचमचिएका कचेरा कोट्याउँदै
कच्चिएका हृदयविदारक सपनाहरु
खण्डहर गामबेँसी उर्वरिलो पार्न
ओठमा गुलाबी मुस्कान भर्दै
कयौँ नरनारीहरु
क्षितिज उघ्रिएको बेला
जन्मभूमि स्वर्गभूमि बनाउन
एकमुठ्ठी माटो समात्दै
संघीयताको फूललाई
राष्ट्रियताको मालामा उन्न
आइपुग्ने छन्
निमुखा उध्रिएका पेटहरु
समृद्ध नेपालको अभिभारा समाल्न ।
(स्रोत : Echitwanpost)