~सीताराम बराल~
दलमाथि जुन नेताको पकड हुन्छ, दलीय राजनीतिमा त्यसैको धेरै चर्चा हुँदो रहेछ । त्यसैले होला, इतिहासमा नेपाली कांग्रेसका चार रथी भनेर बीपी कोइराला, जनरल सुवर्ण शमशेर, सूर्यप्रसाद उपाध्याय र गणेशमान सिंहको चर्चा गरिए पनि महत्व र चर्चाचाहिँ बीपी कोइरालाले नै पाउने गरेका छन् । त्यसैले बीपीको तुलनामा गणेशमान, सुवर्ण र सूर्यप्रसादबारे विरलै पुस्तक निस्केका छन् ।
यज्ञनाथ आचार्यद्वारा लिखित सुवर्ण शमशेर राणा र अप्रकाशित दस्तावेज (बिसं २०१७–२०३४) पुस्तकले जनरल सुवर्णबारे लेखिएका पुस्तकहरूको अभावलाई केही हदसम्म भएपनि पुर्ने प्रयास गरेको छ । बीपी कोइरालाको निर्वाचित सरकारलाई राजा महेन्द्रले १ पुष २०१७ मा कू गरेपछि २४ कात्तिक २०३४ सम्मको सुवर्ण शमशेरको राजनीतिक गतिविधि समेट्नु पुस्तकको अभिष्ट रहेको देखिन्छ । यति हुँदाहुँदै पनि जनरल सुवर्णको राजनीतिक जीवनका सुरुआती बेलाका रोचक झलक पनि समेट्ने जमर्काे छ ।
जस्तो, जुद्ध शमशेरका पालामा सी क्लासका राणालाई काठमाडौँ निकाला हिरण्य शमशेर आफ्ना छोरा सुवर्ण सहित कलकत्तातिर लागेको त धेरैलाई थाहा छ । तर, ०७ सालको क्रान्तिताका मुक्ति सेना र २०१७ पछि निर्वासनमा रहँदा सयौँ कांग्रेस नेता–कार्यकर्ताको जीवनजोहो गर्ने अथाह सम्पत्ति सुवर्णले कसरी जुटाउन सके होलान् भन्ने कुरा धेरैलाई थाहा छैन ।
पुस्तकमा उल्लेख भएअनुसार सुवर्णको कलकत्ता बसोबास सुरु हुँदै गर्दा त्यहीँ बसोबास गर्दै आएका अंग्रेजले आफ्नो सम्पत्ति बेच्दै स्वदेश फर्कन थालेका रहेछन् । नेपाल छाड्ने क्रममा आफूसँग भएको सम्पत्ति लिएर गएका सुवर्णले अंग्रेजले छाड्न चाहेका घरजग्गालगायतका सम्पत्ति निकै सस्तोमा किनेका रहेछन् । त्यही अचल सम्पत्तिबाट उनीहरूले अंग्रेजका महंगा घरजग्गा निकै सस्तो दाममा सुवर्णको परिवारले किन्यो ।
त्यसरी जोडिएको सम्पत्ति नै नेपालको प्रजातान्त्रिक आन्दोलनका लागि सहयोगी सिद्ध भयो । राणा शासन अन्त्यका लागि आफ्नै अग्रसरतामा गठन गरिएको मुक्ति सेनाका भरणपोषण र हातहतियारका लागि सुवर्णले आफ्नो ढुकुटी खोले । उनको ढुकुटी २४ कार्तिक २०३४ मा मृत्युपर्यन्त कांग्रेसका लागि खुल्ला रह्यो ।
पुस्तकको रोचक र महत्वपूर्ण खण्ड चाहिँ सुवर्ण शमशेरसँग सम्बन्धित दस्तावेज र चिठीपत्रहरूको संग्रह हो । पञ्चायती व्यवस्था स्थापनापछि अधिकांश समय कलकत्तामा रहेर उतैबाट नेपाली कांग्रेसको राजनीति सञ्चालन गर्ने सुवर्ण शमशेर नेपालबारे कसरी अपडेट हुन्थे भन्ने कुरा पुस्तकको अनुसूची खण्डमा राखिएका पत्रले दिन्छन् ।
परशुनारायण चौधरी, सुन्दरराज चालिसे, काशीनाथ गौतम, शशी शमशेर लगायतले कलकत्तामा रहेका सुवर्णलाई नेपालको आन्तरिक स्थितिबारे मिहिन रूपमा पत्रमार्फत निरन्तर जानकारी गराइरहेका भेटिन्छन् । ती पत्रले के बताउँछन् भने, दरवारभित्रको आन्तरिक खटपटलाई उपयोग गर्दै चौधरी, गौतम र चालिसेले सूचना संकलन गर्थे र सुवर्णलाई अपडेट गराउँथे । दरवारका सचिवद्वय रञ्जनराज खनाल र नारायणप्रसाद श्रेष्ठसँग नजिक रहेर उनीहरूले राजा वीरेन्द्रको मुड बुझेर सुवर्णलाई जानकारी गराउँदा रहेछन् ।
उनीहरू कतिसम्म मिहिन जानकारी सुवर्णलाई दिन्थे भन्ने कुरा चालिसेले एक अमेरिकी राजदूतबारे पत्रमा उल्लेख गरेको पंक्तिबाट स्पष्ट हुन्छ । जस्तो, २९ वैशाख २०३४ को पत्रमा चालिसेले लेखेका छन्, ‘नयाँ आउन लागेको अमेरिकी राजूतको नाम हो डगलास हेग, जो कलकत्तामा दुई वर्ष राजनीतिक प्रतिनिधि भइ बसेको, साथै मलाया, ग्रीस, टर्की, अमेविया र अफ्रिकामा बसेको मानिस हो । नेपालमा पनि बसी सकेको र अखण्ड शमशेरको घरमा बसी उक्त घर किन्न लगाउने मानिस हो । अमेरिका फर्केपछि आतंककारी व्यूरोको प्रमुख भइ काम गरेको खुंखार रहेछ । एउटा औंला डुँडे पनि छ रे ।’
सुवर्ण जीवित रहँदासम्म नेपाली कांग्रेस कलकत्ता (सुवर्ण) र बनारस (बीपी) गरी दुई लाइनमा विभाजित थियो । यो आन्तरिक संघर्षको परावर्तन (रिफ्लेक्सन) पनि पुस्तकमा समेटिएका पत्रमा देखिन्छन् । कतिपय पत्रमा बीपी र उनका दाहिने हात गिरिजाप्रसाद कोइरालाप्रति प्रहार गरिएका छन् । जस्तो, एउटा पत्रमा चौधरीले भनेका छन्, ‘गिरिजाप्रसादको थरि–थरिका वक्तव्य चालू नै छ । उनको वक्तव्य दिने तरिकाबाट स्पष्ट हुन्छ कि उनीहरू हामीबाट अलग्गै छन् र उनीहरूलाई हाम्रो कुनै वास्ता छैन । सुन्दछु, उनीहरू पटना वा कहीँ आफ्नो पार्टी कन्फरेन्स पनि गर्दैछन् ।’
किताबमा तथ्यगत त्रुटि पनि भेटिन्छन् । जस्तो, नेपाली कांग्रेसबाट निस्काशनमा परेपछि १ असार २०१० राजाबाट प्रधानमन्त्री बनाइएका मातृकाप्रसाद कोइरालालाई राष्ट्रिय प्रजा पार्टीका नेता भन्नुको साटो राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता भनिएको छ । पुस्तकको अनुच्छेद खण्डमा प्रकाशित कतिपय पत्रलगायतका सामाग्री पुस्तकको नामसँग मेल खाने खालका पनि छैनन् । तैपनि, नेपाली राजनीतिका अध्येताका लागि पुस्तक संकलन योग्य छ, खास गरी अनुसूचीमा राखिएका पत्रका कारणले । नेपालको वामपन्थी आन्दोलन कति पाखण्डपूर्ण रहेछ भनेर बुझ्न पनि पुस्तक सहयोगी छ ।
सुवर्ण शमशेर र अप्रकासित दस्तावेज (विसं २०१७–२०३४)
स्रष्टा : डा यज्ञराज आचार्य
प्रकाशक : हेमाद्रि शमशेर राणा
पृष्ठ : १७६
मूल्य : २ सय ५० रुपियाँ
प्रकाशित: कार्तिक १०, २०७२
(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक )