~द्वारिका नेपाल~
१. विषयप्रवेश :
“कल्पना गर एन्जल ! तिम्रो र मेरो बिहे भैसक्यो, हामी एउटै घरमा छौँ । तिमी र म बूढा÷बूढी हौँ । जब तिमी राति अबेर भान्छाको काम सकेर बेडमा आइपुग्छौ, त्यो बेलासम्म म एक निद्रा निदाइसकेको हुनेछु । तिमी लुगा फेर्छौ अनि बेडमा बसेर कपालको क्लिप फुकाउँछौ, अनि हातका चुरा फुकाउँछौ । एक–एक गर्दै शरीरमा लगाएका सबै थोक फुकालेर सुत्छौ । तिमी मसँगै टाँसिएर सुतेकी भए पनि म थाहा पाउँदिनँ । तिमी मलाई बिउँझाउने प्रयासमा हुन्छौ । पहिले मेरो कपाल चलाइदिन्छौ, अनि मेरा निधारमा म्वाइँ खान्छौ अनि ओठमा । यति हुँदासम्म पनि म बिउँझिदिनँ । तर, तिम्ले मलाई बिउँझाउन जरूरी छ ।” यो संवाद कथाकार निरुपा प्रसूनको कथासङ्ग्रह ‘तिम्रो लोग्ने र म’भित्र रहेको ‘अन्तिम आश’ कथाको हो । कथाकार प्रसूनको यो कथासङ्ग्रह यी र यस्तै प्रस
ङ्ग तथा संवादहरुले भरिएको छ । निरुपा प्रसून मेरो सम्पर्कमा आएको नाम पटक्कै होइन । तर, मैले नचिन्दैमा कसैको परिचय साँघुरो भने पक्कै हुँदैन । यस्तै आफ्नो परिचय फराकिलो बनाउँदै अघि बढिरहेकी कथाकारको नाम हो, निरुपा प्रसून । साहित्य सङ्गम, चितवनले निबन्धकार जनकराज सापकोटालाई सम्मान गर्ने कार्यक्रमको सन्दर्भमा चितवनमा कथाकार प्रसूनसँग भेट भएको हो । यसै बेला उनले समीक्षाका लागि मेरो हातैमा थमाएको ‘तिम्रो लोग्ने र म’ कथासङ्ग्रह सामान्य तर आकर्षक कलेवरमा तयार भएको छ । बाहिरी सजावट सामान्य लाग्ने यो सङ्ग्रहभित्र असामान्य लाग्ने विषयवस्तुदेखि दैनन्दिन घटनाहरु समावेश भएका छन् । सङ्ग्रहले गाउँलाई भन्दा सहरलाई बढी प्राथमिकता दिएको छ । सहरी परिवेशमा आधारित कथाहरुमा सहरको जीवनशैलीलाईं पर्याप्त फोकस गरिएको छ ।
२. विषयवस्तु :
कथासङ्ग्रहभित्र तेह्रवटा कथाहरु छन् । ड्यानियल बुरेल, वरिपरि, आधाआधी, रामलाल, मेरो प्रेमी !, भोज, तिम्रो लोग्ने र म, एउटा पुरानो कथा, आइमाई, एक हरफ जिन्दगी, भाइरस, उर्वशी र अन्तिम आश यसभित्र सङ्गृहीत कथाहरु हुन् । यीमध्ये ‘आधाआधी’ कथासङ्ग्रहभित्रको सबैभन्दा लामो आयाम समेटेको कथा हो, जसले पृष्ठ १८ देखि ५६ सम्म ३९ पृष्ठ ओगटेको छ भने सबैभन्दा छोटो कथा ‘एउटा पुरानो कथा’ हो, जसले पृष्ठ ८० देखि ८४ सम्म जम्मा ५ पृष्ठ ओगटेको छ । यी कथाहरुमा माया, प्रेम, विकृति, विसङ्गति, आर्थिक समस्या र त्यसले निम्त्याएको बेइमानी, विपरीत लिङ्गीप्रतिको आकर्षण, यौनप्राप्तिको चाहना, कुण्ठा, नारीमनको चिरफार, सन्तानप्रतिको माया, जिम्मेवारी, सङ्घर्षजस्ता प्रवृत्ति मुख्य रुपमा आएका छन् भने राष्ट्रप्रेम, देशभक्ति, प्रकृतिप्रेम, संस्कृतिप्रेम आदि प्रवृत्ति गौण रुपमा देखिएका छन् । खासगरी लेखिका महिला भएकोले हुनसक्छ, कथाका अधिकांश प्रमुख पात्रहरु महिला नै छन् ।
३. अन्तर्वस्तु :
“तिमी के फूर्ति गर्छौ ? तिम्रो पचास हजार शब्दको एउटा उपन्यासभन्दा मेरो पाँच सय शब्दको कविता शाश्वत् र कालजयी छ । बजारमा सबभन्दा धेरै बिक्ने त परिवार नियोजनका अस्थायी साधन हुन् । के ती सामान बिक्यो भनेर फूर्ति गर्ने ?” (पृष्ठ ७३, ‘भोज’ कथा) वर्तमानका लेखकहरुमा देखिने अहङ्कारमाथि व्यङ्ग्य प्रहार गरिएको यो संवाद साँच्चै ओजिलो छ । यो र यस्तै कयौँ संवादहरुले भरिएको ‘तिम्रो लोग्ने र म’ कथासङ्ग्रह निकै गहकिलो पुस्तक बनेको छ ।
३.१. कथाभित्रको संसार :
पहिलो कथा ‘ड्यानियल बुरेल’ले प्रेमलाई व्यवसाय बनाएर ठग्ने प्रवृत्तिको पर्दाफास गरिएको छ । नेपालकी निम्न वर्गीय नारी पात्र अर्काको घरमा काम गर्न बसेर विदेशी नागरिकसँग साँचो प्रेम गर्छे । तर, उसको विदेशी प्रेमी यस्ता सोझासाझा नेपाली नारीहरुलाई मानवीय संवेदनाका आधारमा ब्ल्याक मेलिङ गर्दै दुःखले जोडेको सम्पत्ति हत्याउन सफल बनेको छ । वास्तवमा कथाको विदेशी पुरूष पात्रको चरित्रले विदेशका कयौँ मानिसहरुले सम्पन्नताको नाममा नेपालजस्तो अल्पविकसित देशका हृदयका धनीहरुलाई ठगी खाने स्रोत बनाएको यथार्थलाई सार्वजनिक गरेको छ । ‘वरिपरि’ सङ्ग्रहभित्रको दोस्रो कथा हो । यस कथाले केही साहित्यकारहरुभित्र लुकेको वास्तविक चरित्रलाई उदाङ्गो पार्न खोजेको छ । केही पत्रिकाका सञ्चालकहरुले महिला लेखकहरुलाई लेख लेखाउने बहानामा यौनशोषण गर्ने गरेको रहस्य यो कथाले खोतलेको छ । साथै, पुरूष साहित्यकारहरु पनि महिला लेखकहरुलाई मौका पाउनासाथ यौनतृप्तिका लागि प्रस्ताव राख्न पछि नपर्ने गरेको भित्री कुरा कथाले खोतलेको छ । कथामा नारी लेखकले पुरूषको दादागिरीसँग पौँठेजोरी खेल्ने आँट गरेको र नारीमा पुरूषसँग सङ्घर्ष गरेर बाँच्नसक्ने आत्मबल प्राप्त भइसकेको कुरालाई कलात्मक ढङ्गबाट समेटिएको छ । ‘आधाआधी’ सङ्ग्रहभित्रको सबैभन्दा लामो कथा हो । यसमा यौनमनोविज्ञानलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । खासगरी, समलिङ्गीहरुमा देखिने यौनमनोविज्ञानको चित्रणमा कथा सफल देखिन्छ । समलिङ्गीहरुमाथि थोरै साहित्यिक रचना भइरहेको समयमा लेखिएको यो कथाले समलिङ्गी महिलाभित्र रहने पौरूषीय यौनेच्छा, त्यसको प्राप्तिका लागि गरिने अनेकौँ प्रयत्न, महिलाहरुसँग महिलाले नै पुरूषले झैँ गर्ने कामोत्तेजनाको प्रदर्शन, कामोत्तेजना शान्त पार्न नपाउँदा देखिने असन्तुष्टि आदिको वर्णन साँच्चै प्रशंसनीय छ । सङ्ग्रहभित्रका अन्य कथाहरुमध्ये यो विशेष देखिन्छ । ‘रामलाल’ सङ्ग्रहभित्रको चौँथो कथा हो । गरिबीले सीमान्तकृत मानिसलाई कुकर्मतिर डोहो¥याउने गरेको कथा यसभित्र छ । कसैका लागि अपराध रहर नभएर बाध्यता हो । मानिस रहरले अपराधी बन्दैन, चोरी गर्दैन, तर जीवन नै नचल्ने भएपछि मर्नुभन्दा बहुलाउनु निको भनेझैँ मानिस जे गर्न पनि तयार हुने रहस्य कथाभित्रको कथ्य हो । त्यसैगरी ‘मेरो प्रेम’ कथासङ्ग्रहको पाँचौँ कथा हो । कथामा टिनएज भनेर चिनिने उमेरका युवतीहरु सजिलै आकर्षक पुरूषको बनावटी मायामा फस्ने गरेको सत्य प्रस्ट्याइएको छ । साथै, कयौँ पुरूषहरु पनि एकैपटक अनेकौँ युवतीहरुसँग प्रेमसम्बन्धमा रहेको सहरी प्रचलन पनि कथामा देखाइएको छ । एउटै घरका दिदीबहिनीसँग प्रेम गर्न सफल पुरूष पात्रले आफ्नो स्वार्थ पूरा हुने दिदीसँग विवाह गरिसक्दा पनि बहिनीलाई प्रेमकै नाममा अझै झुलाइरहेको घटना कथाको विषयवस्तु हो । प्रेमका नाममा गरिने धोकाबाजी र कयौँ युवकमा देखिने द्वैध चरित्र नै कथाको मुख्य विषय हो । विभिन्न साहित्यिक विधाहरुका लेखकहरुमा देखिने दम्भमाथि छैटाँै कथा ‘भोज’ले राम्रो व्यङ्ग्य गरेको छ । खासगरी, झोले साहित्यकारहरु आत्मनिर्भरतामा भन्दा खुराफाती, चाप्लुसी, चाकरीमा विश्वास गर्छन् । यस्ता स्रष्टा आफ्नो कमाइभन्दा सित्तैमा भोज खान पाइने स्थान र खुवाउने व्यक्तिको सूची बनाएर ठाउँ खोज्दै हिँड्ने र आफ्नै भजन गाएर अरुमाथि त्यसै खनिन खोज्ने स्वभावका हुने गरेको कथ्य कथाभित्र छ । सङ्ग्रहकै शीर्षक बनेको कथा ‘तिम्रो लोग्ने र म’ अपेक्षाकृत केही फितलो छ । पत्रात्मक शैलीमा लेखिएको यो कथाको विषयवस्तु पनि प्रेमकै सेरोफेरोमा घुमेको छ । कुनै नारीको लोग्नेलाई अर्कै नारी ‘म’ पात्रले गरेको एकोहोरो प्रेम कथाको कथ्य हो । कसैको लोग्नेको प्रेमिल कुराको पछि लागेर एकोहोरो प्रेम गर्न लागेकी म पात्रले अन्ततः प्रेममा हार खाएकी छ । विवाहित पुरूषको चाहना अर्की नारी हो, तर कर्तव्य घरकी श्रीमती हो भन्ने यथार्थ कथामा सटीक तथ्य बनेको छ । सबैभन्दा छोटो ‘एउटा पुरानो कथा’ सङ्ग्रहको आठौँ कथा हो । यसमा दैहिक प्रेमभन्दा आत्मिक प्रेम बढी विश्वासिलो र भरपर्दो हुने देखाइएको छ । ‘आइमाई’ कथामा नारीप्रति पुरूषहरुले राख्ने दृष्टिकोण परिवर्तन गर्ने प्रयास गरिएको छ । कथामा नारी भोग्या मात्र हुन् भन्ने धारणा बोकेका कयौँ पुरूषहरुको अहङ्कारको शिशमहलमा नारीको चारित्रिक पवित्रताको पत्थर प्रहार भएको छ । सबै नारीलाई एउटै नजरले हेर्नेहरुले अब दृष्टिकोण परिवर्तन गर्नुपर्ने भइसकेको कुरामा कथाले जोड दिएको छ । दसौँ कथा ‘एक हरफ जिन्दगी’मा नारीमा हुने मातृत्व भाव सशक्त रुपमा आएको छ । कसैको प्रेममा अन्धो भएर आफ्नो शरीर सुम्पिएपछि र आफू आमा बन्ने निश्चित भएपछि मात्र कथाकी नारी पात्रमा नारी हुनुको बोध भएको छ । प्रारम्भमा आफ्नै भाइप्रति अनुदार देखिएकी कथाकी नारी पात्र भाइ घर फर्किएपछि मात्र ऊप्रति सहानुभूति देखाउँछे । पुरूषको भोगवादी चरित्रको शिकार बने पनि परिवारसँग सङ्घर्ष गरेरै शिशुलाई जन्म दिन युवतीले गरेको आँट प्रशंसनीय देखिन्छ । एघारौँ कथा ‘भाइरस’ सहरमा बेरोजगार भएर जीवन बिताइरहेका युवाहरुको बेइमानीमा केन्द्रित छ । प्रेमको गुलियो जेरी चखाएर युवतीलाई फसाउन र उनीहरुसँग तन र धनको आनन्द लिन लागिपरेका यस्ता युवाहरु अहिले सहरमा छापछापती पाइने गरेको कथाले जनाएको छ । बाह्रौँ कथा ‘उर्वशी’मा सहरको सङ्घर्ष देखाइएको छ । सबैबाट त्यक्त नारी आफ्ना सन्तानको पालनपोषणका लागि कुनै उपाय नदेखेपछि नगरबधू बन्न बाध्य भएको कथ्य कथामा प्रस्तुत गरिएको छ । सङ्ग्रहको अन्तिम कथा ‘अन्तिम आश’ले युवतीभित्र रहने प्रेमको भोक देखाएको छ । जीवनभरिका लागि भरलाग्दो सहारा खोजिरहेकी एउटी युवती लोग्नेमान्छेहरुका लागि समय बिताउने साधन बन्न चाहन्न । अनेकौँ नारीहरुलाई आफ्नो शिकार बनाइसकेको एउटा पुरूषसमेत कथाकी मुख्य पात्र एन्जलको अगाडि निरीह बनेको छ । तर, एन्जल आफूले के खोजेको हो थाहा पाउँदिन । अन्योलैअन्योलमा उसको दिनरात बितिरहेको छ ।
४. प्राप्ति र सीमा :
कथासङ्ग्रहमा चौधवटा कथा समावेश भएकोमा अधिकांश प्रेम विषयमा केन्द्रित छ । प्रेमका विविध रुपलाई कथाकारले कथाहरुमा पस्केकी छन् । कथाकार मनु ब्राजाकीको ‘तिम्री स्वास्नी र म’ कथासङ्ग्रहको जवाफजस्तो लाग्ने यो सङ्ग्रहमा त्यस्तो कुनै सङ्केत पाइँदैन । समाज र मनोविज्ञानबीचको सम्बन्ध सुन्दर ढङ्गबाट केलाइएको यो सङ्ग्रहमा खासगरी नारी मनोविज्ञानको अन्तरकुन्तर छिचोल्ने प्रयास भएको छ । त्यसै गरेर पुरूष मनोविज्ञानलाई पनि केलाउने प्रयास भएको छ । सहरी वातावरण, त्यसले युवापुस्तामा पारेको प्रभाव, बाँच्नका लागि गर्नुपर्ने सङ्घर्ष, युवतीहरुको मनको विश्लेषण, नयाँ पुस्तामा रहेको यौनप्रतिको दृष्टिकोणजस्ता कुरालाई कथाले मिहिन ढङ्गबाट प्रस्तुत गरेको छ । कथाको भाषा प्रयोगमा विशेष ध्यान पु¥याएको देखिन्छ, तथापि कतैकतै राखिएको संवाद नभएको भए हुन्थ्यो कि भन्ने लाग्छ । कथाको विषयमा नवीनता छ, तर अधिकांश कथा प्रेमकै वरिवरि घुमेका छन् । जे होस्, यौनका विषयलाई खुल्लमखुल्ला प्रस्तुत गर्न सक्नु कथाकारको साहस हो, प्राप्ति हो ।
५. उपसंहार :
समग्रमा ‘तिम्रो लोग्ने र म’ कथासङ्ग्रह कथाकार निरुपा प्रसूनको उल्लेखनीय कृति हो । कथा पारखीहरुका लागि नयाँ स्वादका लाग्ने यी कथाहरु वर्तमानमा उपन्यासको बाढीले कसैलाई दिक्क बनाइरहेको भए हाजमोला बन्ने छन् । नवीन विषयवस्तु, नवीन शैली, नवीन शिल्प, सशक्त प्रस्तुति, मौलिक दृष्टिकोण आदिका कारण सङ्ग्रह सङ्ग्रहणीय छ । अन्त्यमा, आगामी दिन कथाकार प्रसूनको नेपाली आख्यानमा भएको यो लगानी अझ बढ्दै जाओस् । आख्यानप्रेमीहरुले प्रसूनबाट अझ उत्कृष्ट सिर्जनाहरु पाइरहून् भन्ने साहित्यिक उन्नयनको कामना !
(स्रोत : चितवन पोष्ट दैनिक)
