~नारायण तिवारी~
तीस वर्ष भयो होला उसले यो माटोमा नटेकेको । जीवन हिँडिरहेको छ । यो समयको अन्तरलाई मेटाउन । उसको बाल्यकाल यसै माटोमा लडिबुडी गर्दै बित्यो । कति सजिलै बिर्सन सकेको होला आफ्नो माटो । जीवन स्मृतिमा डुब्छ र हिँडिरहेको छ । एक्लै छ अहिले हिँडिरहेको ऊ गाउँ जान । माटोको माया त हृदयमा सधैँ बोक्यो । अरूले जस्तै उसले पनि भन्यो, मेरो यो सीतागञ्ज मलाई औधी प्यारो । सीतागञ्जको माटो मलाई प्यारो । भलै, सीतागञ्जको माटोमा धान नफलोस् । तर, सीतागञ्जको माटो मलाई सबैभन्दा धेरै प्यारो ।
त्यसो त माटोको पनि के दोष जब बनाउनेले नहर बनाइदिएनन् । नहर बनाए पनि पानी नहरमा बाढी आउँदा छोडे, सुख्खालाग्दा छैन पानी । अनि के फलोस् यो प्यारो माटोमा अन्न ।
जीवन साठी वर्षको उत्तरार्धमा छ । तीस वर्ष करिबदेखि उसले पाइला पनि टेकेन यस गाउँमा । यसै गाउँमा उसले प्राथमिक शिक्षा पूरा गरेको थियो । त्यसपछि नजिकको सहरमा एउटा स–सानो झोपडी घर बनाएर उनीहरूका बाले पढ्न विराटनगर पु¥याएका थिए । ऊ मात्र थिएन उसका दाजु, भाइ र एक बहिनी त्यहाँ पढ्न बसे ।
एकडेढ घण्टाको पैदल बाटो, टाढा होइन विराटनगरबाट सीतागञ्ज । ऊ जाँदैछ । उबेला पनि पीच थिएन । अहिले पनि छैन । उबडखाबड बाटो–केही माटो भरिएर ढिस्को बनेको छ । ठाउँठाउँमा केशलिया खोलाले बगाएर खाल्टो छ । ठाउँठाउँमा केशलिया खोलाको पाँकले पुरिएर अग्लो ढिस्को छ ।
केशलिया खोलामा पुग्यो । देख्यो खोलामा मानिसहरू । डिलमा लाश जल्दैछ । ऊ बेला पनि जल्थ्यो लास । हजुरआमा खस्नुहुँदा यसै केशलिया खोलामा जलाइएको थियो । ऊ सम्झिन्छ ।
केशलिया खोलामा पुलमाथि उभिएर ऊ लासतर्फ हेर्दैछ । सोच्दैहोला–यो उत्तरार्ध हो उसको जीवनको अहिलेको अवस्था । अब कति होला बाँच्नु । डढ्ने त यसैगरी हो । लिएर जानु केही छैन । खाली हात आइयो । खाली हात जानु छ ।
जीवनको तीस—तीस वर्ष पछिको यो माटोप्रेम सायद यस्तै ‘खाली हाते’ सोचको परिणाम होला । यस अघि त के फुर्सद होस् र सोचोस् । जागीर, पैसा, कुर्सी, छोरा–छोरी, पढाई लेखाई, उनीहरूको बिहेदान—यसैमा कटे हुन् यी बीचका तीस–तीस वर्ष । हो, तीस वर्षकै उमेरमा उसको बिहे भयो । बिहे, विराटनगरमा उतिबेला बनिसकेको, फुसको घरबाट एक खुड्किलो उक्लिसकेको, पिताजीद्वारा रूपान्तरण गरिसकिएको टालीको घरबाट भयो । त्यतिबेला सपरिवारको वास विराटनगरमा हुन थालिसकेको थियो । सीतागञ्जमा अब केवल बा बस्नुहुन्थ्यो । कहिले यता विराटनगर, कहिले उता सीतागञ्ज गरिरहनुहुन्थ्यो बा । पछि त कन्हैयाकै भरमा छोडेर बा पनि ढुक्कले लालाबालाकासाथ विराटनगर नै बस्न थाल्नुभयो ।
कन्हैयालाई सम्झिँदा भावुक भयो ऊ । ट्याङ्ग्रा खोला पुगेपछि झस्कियो । हो, यही ट्याङ्ग्रा खोलामा कन्हैयाले उसलाई पौडी खेल्न सिकाएको थियो । हलो जोतिसकेपछि राँगालाई धुन, पखाल्न, नुहाइदिन, कन्हैया जब ट्याङ्ग्रा खोलातर्फ पाइला बढाउँथ्यो, पछि–पछि जीवनका पाइलाहरू बढी हाल्दथे । उसले पौडी खेल्न सिक्दा ट्याङ्ग्रा खोलाको पानी कतिपल्ट घुुटुक्–घुटुक् पा¥यो पा¥यो–त्यसको एकिन छैन । कन्हैया डराउँथ्यो–‘ठूलो मालिकले अब मार्नुहुन्छ ।’
जीवन भन्दथ्यो–“मैले भनेँ भने पो मार्नुहुन्छ ।”
ट्याङ्ग्रा खोलाबाट संसारीमाईथान देख्यो जीवनले । यो संसारीमाईथानमा वर्षको एकपटक बोका चढाउने र तिहीँ बसेर बोकाको मासु पकाइखाने–त्यो सुस्वादु मासुभात अहिले पनि सम्झिँदा उसको मुखमा पानी उम्रिन्छ । घरघरबाट चामल, तेल, नुन, पैसा उठाएर गरिने त्यो वर्षको एकदिनको उही ट्याङ्ग्रा खोलाको किनारमा रहेको संसारीमाईथानमा सारा गाउँका मानिसहरू भेला भएर गरिने पुजा—भोज, क्या रमाइलो ।
विस्तारै उसका पाइला अघि बढे । भालदासको बगैँचाको नामोनिसान देखेन । मनमा चसक्क गड्यो–यही भालदासको आँप बगैँचामा सारा गाउँका केटाकेटीहरू आएर ‘डोल बगैँचा’ खेल्दथे । आँपको सिजनमा हुरी वतास चल्यो कि झरेको आँप टिप्न केटाकेटी दौडिहाल्दथे । ऊ पनि दौडियो । झरेको आँप टिप्न रोक थिएन । तर, कोही—कोही छुक्छुकेले लामो हात पारेर आँपको गाछीमा चढेर वा लम्केर समेत आँप टिप्ने कोसिस गर्थे । ऊ सम्झिन्छ– एकपटक रामुदाइले त्यसरी आँप टिप्दा आँप रूँग्न बसेको मानिसले लखेटेको । उनीहरू दौडेको दौडियै…। कहाँ सक्दथ्यो भेट्न यी फड्दुवाल केटाकेटीलाई, त्यो बूढो–बूढो रूँग्न बसेको माझी बूढोले । माझी बूढो दौडन नसकेपछि, झट्टी हान्दथ्यो । केटाकेटीहरू टाढा पुगेर उभिन्थे र हाँस्दथे । जीवनको ओठ मुस्कुरायो ।
बाटोमा एकजना पनि कोही चिनेको भेटिएनन् । अब गोल्छाको कामत आइपुगेको छ । बाटो पनि फेरिएछ । जीवन देख्छ–गोल्छाको कामत पूर्व त ठूलो बगैँचा छ । त्यहाँ आँप, लिच्ची, कटहरका रूखहरू छन् ।
गोल्छाको कामत घर पनि ठूलो पक्का घरमा तब्दीली भएछ । तर, सतारहरू बस्ने घर करिब–करिब उस्तै…। टहरो, पहिले–पहिलेजस्तै । के अहिले पनि उही नाङ्गै हिँड्ने सतारहरू छन् ? लाज छोप्न लगाएको अलिकति वस्त्र बाहेक उनीहरूलाई सधैँ, जहिले पनि नाङ्गै देखेको थियो जीवनले । जीवनका आँखाले यताउति खोजे–तर त्यस्ता नाङ्गा कामदारहरू उसले अहिले देखेन ।
यही गोल्छा कामतघरको बाटो हुँदै पुगिने थियो उसको साविक घर । उसलाई थाहा थियो साविक घरमा अब कोही छैनन् । तर, झण्डै सत्तर, पचहत्तर वर्ष पुगिसकेको कन्हैया अहिले तिहीँ साविक घरमै हुनुपर्छ । ऊ सोच्दै पाइला अघि सार्छ । ऊ जति–जति अघि बढ्छ, त्यति–त्यति उसलाई अनौठो लाग्छ । टाढा–टाढा आँखाले उसको साविक घर खोजिरहेछ । तर…तर…यो ठाउँको माटो नै नौलोजस्तो । उसको जहाँ घर थियो त्यहाँ त नहर कुदिरहेको छ । खोइ पैनी ? खोइ पिपलको बोट ? पटुवा गोर्न बनाइएको पोखरी खोइ….?
चसक्क मुटु दुख्छ । त्यत्रो टाढाबाट आयो । यो उत्तरार्धमा काठमाडौँको जीवनबाट भागेर आफ्नो माटोको समिपमा आयो । तर…तर…खोई उसको त्यो माटो….? जहाँ बाल्यकालमा लडिबुडी ग¥यो । जहाँ जन्मियो, जहाँ हुर्कियो–खोइ त्यहाँ आफ्नो मेरो माटो ? ऊ आकुल–व्याकुल हुँदै सोच्दछ ।
हावा सिरिरिरी चल्दै थियो । यो हावा त उही छ, उस्तै छ–ऊ नहरमाथि झण्डै–झण्डै उसकै घर भएको साविक माटोमाथि अनुमानत, थचक्क बस्दछ । अब के गर्ने ? त्यस गाउँमा उसको मात्रै होइन–कसैको पनि घर छैन । टाढा देख्छ–गम्हरिया होली । त्यहाँ बुटानहरू छन् । एउटा ठिङ्रिङ्ग फुसको झोपडी घर पनि देख्छ त्यहाँ । अरू टाढा–ढाढा त धेरै घरहरू छन्, देखिन्छन् तर उसलाई त्यस ‘अरू’ घरहरूको मोह छैन…।
ऊ बसिरहेको ठाउँबाट उठ्छ । उसका पाइला सुस्तरी अघि बढ्छन् । ऊ थाकेको छ । मानसिक रूपमा र शारिरिक रूपमा— दुवै । ऊ देख्छ— त्यस घरका आँगनमा केही केटाकेटी खेल्दैछन् । आँगनमा एकछेऊमा टुक्रुक्क बसेको एकजना बूढो मानिस छ । ऊ नजिक पुग्छ । अनुहार नियाल्छ— कन्हैया…। अचानक ऊ हर्षित हुन्छ ।
“कन्हैया होइन तिमी ?” उसको स्वर हर्षले कम्पित छ ।
त्यो बूढो मान्छेले जीवनको आँखामा हेर्छ र निरस जवाफ ओकल्छ— “बाबु त कहिले मरिसक्यो ।”
अब फेरि उसलाई अर्को झट्का लाग्छ । “तपाईँ जीवन दाजु होइन ? कहिले आउनुभयो काठमान्डुबाट ?”
त्यतिबेरमा घरभित्रबाट एउटी स्वास्नीमान्छे बाहिर निस्किसकेकी छे । र, उसले जीवनलाई बस्न मुढा अघि बढाइदिएकी छे ।
जीवन मुढा तानेर बस्छ । उसले टाउकामा हात पु¥याउँछ । त्यहाँ चिट्–चिट् पसिना आएको छ । जीवन हातले पसिना पुछ्छ ।
“मैले त तिमीलाई देखिन पनि होला । विराटनगर पढ्नलाई बसेदेखी नै म यस ठाउँमा त्यति आइन । काठमाडौँ बसेको, जागिर खान सुरू गरेको बेलादेखी त म फर्केर पनि यता आएको छैन ।”
फेरि, रोकिएर बोल्यो— “हिजै आएको थिएँ काठमाडौँबाट । खासमा मेरो केही काम थिएन । जागिरबाट पनि रिटायर भइसकेको छु । आफू जन्मेको ठाउँ आउन मन लागेर आएको हुँ…।”
एकछिन् चकमन्नता छाउँछ । कोही बोल्दैनन् । जीवनको मस्तिष्क र हृदय दुवै उद्वेलित छन् । आखिर जीवन नै मौनता तोड्दछ— “म त तिमीलाई नै कन्हैया ठानेको । अनुहार तिम्रो बाबुको र तिम्रो उस्तै छ, धेरै मिल्छ । के नाम अरे तिम्रो ?”
उसले जीवनको आँखामा आँखा गाडेर हेर्छ मानौँ त्यहाँ ‘विद्रोह’ छ— ‘हाम्रो नाम तपाईँ ठूला मानिसहरूले कहाँ सम्झिन्छ ।’ मानौँ ऊ भनिरहेको छ । तर, प्रकटमा ऊ संयमित बोल्छ— “परमोद हो म ।”
“कति वर्ष उमेर हो तिम्रो ?”
“पैँतालिस वर्ष ।” यसपल्ट ऊ आँखा तर्दैन । सायद प्रमोदले ठान्दछ, आँखा तर्नुको कुनै अर्थ छैन ।
“पैँतालिस वर्षमै बूढो ? हेर त म ६० वर्ष पुगिसकेँ । मेरो एउटै दाँत झरेका छैनन् । तिम्रो दाँत फुक्लिसक्यो । कपाल सबै सेतै फुलेका छन्…।”
“म के गर्नु त ? तपाईँहेरू राम्रो खान, राम्रो लाउन पाउँछ, हामीहेरू भोक्भोकै सुत्नु पर्छ । त्यो पनि बाँचिराखेको छु…।”
जीवनलाई आफ्नो गल्तीको एहसास हुन्छ । उसले यो कुरा नबुझेको कहाँ हो र ? यी गरिब मानिसहरू खानै नपाएर असमयमै बूढो हुन्छन्, असमयमै मर्दछन् । यस्तोमा ७०, ७५ वर्षको कन्हैया बाँचिराखेको कल्पना गर्नु पनि उसको ठूलो भूल थियो — महा भूल !
यतिबेला ऊ अरू प्रमोदलाई चलाउन चाहँदैन । उसको भावना गरिब–गुरुवाहरूप्रति कहिल्यै गलत थिएन । बरु उसले कन्हैयाले हाम्रो घरमा बसेर आफ्नो जिन्दगी विताएको छ, उसलाई अलिकति भए पनि जमिन दिनुपर्छ भनेर सधैँ आफ्नो बा सित भनेको सम्झिन्छ । डराइडराई सोध्दछ—“तिम्रो बुवालाई त पाँचकट्ठा जमिन दिने कुरा थियो नि ?”
“तपाईँ बुवाले मेरो बाबुलाई पाँचकट्ठा जमिन दिन खोज्नुभएको थियो । तर, मेरो बाबुको नागरिकता थिएन ।” प्रमोद अलिकति खुल्दछ ।
“अनि ?”
“अनि के, सबै जमिन बिर्जु साहुलाई बेच्दिनु भयो । उसलाई जमिन बेच्दा तपाईँको बुवाले पाँचकट्ठा जमिनको दाम लिनु भएन अरे । जहिले कन्हैयाको नागरिकता बन्छ, तहिले उसलाई जग्गा पास गरिदिनु भन्नु भएछ अरे । तपाईँको बुवाले भनेको । मेरो बाबु नागरिकता नबनाई म¥यो । तपाईँहरू सबै काठमान्डु बस्न थाल्नुभयो । अहिले बिर्जु साहु भन्छ मैले सबै पैसा दिएको । पाँचकट्ठा म तँलाई कसरी दिन्छु…!”
“अनि, अहिले त तिम्रो नागरिकता छ होइन ?”
“अस्तिनैको आन्दोलनपछि त मेरो मात्रै होइन, इन्डियामा बसेको मान्छेको पनि नागरिकता बनायो । मेरो किन नबन्ने । मेरो त देश नै यही छ ।”
“अनि यो घरजग्गा….?” उसले बसिरहेको घरजग्गातर्फ इसारा ग¥यो ।
“यो ऐलानी छ…। अब यही एउटा आशा छ, यो ऐलानी जग्गा कहिले मेरो नाममा आउँछ । म हेर्दैछु…।” प्रमोदको भाषा चुनौतिपूर्ण छ ।
सारा दुनियाँले नागरिकता बनायो । को नेपाली, को गैर नेपाली सब एक समान भए । उताका मान्छे भटाभट यता जग्गाजमिन किन्दैछन् । कन्हैया त यसै देशको नागरिक, अनागरिक भएरै म¥यो । अब उसको छोरोले नागरिकता बनाएको छ । उसको छोरो पनि बूढो भइसकेको छ । जसलाई यो देश, यो माटो बाहेक अन्त केही थाहा छैन । के अब पनि ऊ एकटुक्रा जमिन विना नै मर्नेछ, उसको बाबुलेजस्तै ऊ सुकुम्बासी मर्नेछ ? जीवनभित्र यी विचारहरूले हुण्डरी मच्चाए ।
ऊ भारी मनले उठ्यो । जान्छु पनि भनेन ।
प्रमोदले जीवनलाई रोक्दा पनि रोकेन । ‘नजानुहोस्’ भन्दा पनि भनेन । जे सोध्यो त्यो बाहेक केही बोल्दा पनि बोलेन ।
जीवनलाई लाग्यो— प्रमोद यो उसको ‘माटो’को स्थानमा रूपान्तरित भएको छ । उसको प्यारो ‘माटो’ कति प्रताडित छ । आखिर उसको गाउँ, उसको ठाउँ, माटो, हावापानी भन्नु नै प्रमोद हो ।
ऊ अब कहाँ जान हिँडयो, थाहा छैन । तर, उसले स्पष्ट देख्यो— कन्हैयाको काँधमा ऊ उफ्रिरहेको छ, खेलिरहेको छ, लडिबुडी गरिरहेको छ, रमाइरहेको छ ।
कन्हैया नै त हो उसको प्यारो माटो, स्थान, गाउँ ।
र, यो माटोले अहिले कन्हैयाबाट प्रमोदको आत्मामा प्रवेश गरेको छ ।
जीवन बाटोमा उभिएर सोच्दैछ…।
नारायण तिवारी कथाको माध्यमबाट सामाजिक कुरीतिविरुद्ध तिखो प्रहार गर्ने कथाकार हुन् । तिवारीका आधा दर्जनबढी कथासंग्रह प्रकाशित भईसकेका छन् ।
२०११ पुस २९ गते सुनसरीको सीताजञ्जस्थित अमाही बेल्हा–७ मा जन्मिएका तिवारी हाल विराटनगर–७, ममतामार्गमा बस्दै आएका छन् ।
(स्रोत : Nepalpati )