~रूपेश श्रेष्ठ~
एउटा सनकी भुईंचालोले
बेस्मारी हल्लाएपछि
बल्ल आँगनमा झर्नु भो बा ।
आँगनमा झरिसक्दा
बा’को सातो पनि झर्यो
झाँको पनि झर्यो
अनि झरे घरका भित्ताहरु,
झ्याल ढोकाका खापा-चौकोसहरु
खाँबा र दलिनहरु
झिंगटीको छानो र टुँडालहरु !
गर्ल्यामगुर्लुम्मऽऽऽ घर ढल्दा
एक भकारी धानसँगै
एक पाथी मकैको बीउ पुरियो
पुरिए एक थान खुशी
र आमाको सन्दुकभित्र निस्सासिएको
सपनाको एक गाँठो बीउ ।
बा… कान्लामाथि थचक्क बसेर
भत्किएको घर नापिरहनुहुन्छ आँखैले
बित्तामा, अम्मलमा, कुरेतमा
उचाइ, लम्बाइ, चौडाइ
कोरिरहनुहुन्छ हावामा
भत्किएको घरको अग्लो नक्सा
औंला भाँच्दै गनिरहनुहुन्छ
चार… पाँच… छ…
आठ… नौ… दशाऽऽऽऽ
घरिघरि अझै हल्लिरहन्छ भुईं
हल्लिरहन्छन् बिजुलीका खम्बा
कर्यारककुरुक्क गर्दै अझै समथर बन्छ घर
ईंटामाटो छरिन्छन्,
अलिकति घर धूलोमा बुङ्गऽऽ उड्छ
बा’ले हावामै कोरेको घरको नक्सा
झ्याप्प छोप्छ धूलोले
अनि बा भन्नुहुन्छ
“छोरा, घर त गयो !”
खत्री बाजे बा’लाई थपथपाउँछन्
“धन्न ज्यान जोगियो माइला…”
पुरे काका सुस्तरी सुझाउँछन्
“चिन्ता न’ले मास्टर, सब ठीक हुन्छ !”
जोशी दाइ परबाट उक्साउँछन्
“ठीकै छ काका, अब नयाँ घर बनाउनुपर्छ |”
इन्जिनियर साब आँगनमै टाँस्छन्
‘पूर्ण क्षतिग्रस्त’को रातो स्टीकर ।
‘चिन्ताग्रस्त’ आँखाले
मेरै उमेरको ‘क्षतिग्रस्त’ घरलाई हेर्नुहुन्छ बा
अनि मलाई भन्नुहुन्छ
‘छोरा, घर त गयो!’
विराना मान्छेहरु आइरहन्छन्
फोटो खिचिरहन्छन्
बा’ले लुकाउन खोजेको अनुहारको
र भुईंचालोले लुकाइदिएको घरको।
चोकका सग्ला नयाँ घरका भित्ताहरुमा
टाँसेर हिंडे केही सरकारी मान्छे
छाप्राका नौला डिजाइन चित्र
पत्रिका’ भाइले फ्याँकेर हिंडेको अखबार भन्छ
“सरकारले कर्कट पाता दिन्छ |”
रेडियो सुन्न बत्ती छैन
भन्छन्, “बाँसको कटेरो बनाउनू”, भन्छ रे रेडियो
बा’लाई वास्ताब्यास्ता छैन
बा’सँग अर्को बन्दोबस्ती पनि छैन
बाँकी रहलपहल छ
मनको बाँधले रोकेको आँसुको अलकति भेल
अनि घर ढल्दा उडेको धूलो लागेको
सातो उडेको अनुहार
त्यहि अनुहारमा नबुझिने प्रश्न छापेर
बा भन्नुहुन्छ, “छोरा, घर त गयो !”
रूपेश श्रेष्ठ
प्रकाशित मिति: शनिबार, जेठ ९, २०७२ २०:५३:३६
(स्रोत : Setopati)