म मेरो एकपाखे पूर्व फर्केको घरको बरन्डामा बसेर उदाउँदो सूर्यको प्रतीक्षा गरिरहेकी छु तर किन हो मेरा आँखा अगाडि काला बादलहरूले रजाइँ गर्न लागेका छन् । म बसेको काठको बेन्च पनि मजस्तै जीर्ण भइसकेको छ । समय, हुरी-बतास र घाम-जूनको प्रहारबाट थकित देखिन्छ । तर काठले बनेको हुनाले आफ्नो उपस्थिति र कठोरताको परिचय दिन म बसेको बेन्च सक्षम छ । मेरो शरीर त हाडमासुले बनेको छ तर मनचाहिँ सायद स्पन्जले बनेको होला नत्र मेरो मनले हाडमासुले थाम्नै नसक्दा पनि किन वेदना र पीर थामिरहेको छ – स्पन्ज त हो जति हिर्काए पनि, जति भकुरे पनि, जति लतारे पनि केही नहुने । बेन्चको जस्तो मात्रै पनि परिचय मेरो किन छैन – के मेरो मन नै स्पन्ज भएर हो त ?
म उदाउँदो सूर्यका पहिला जीवनशक्ति बोकेका किरणहरूलाई मेरा अनुहारका र पाखुराको नीलडामहरू देखाउन खोजिरहेकी छु । ओजयुक्त किरणहरूले सायद मेरा शरीरका नीलडामहरूमा नम्रताको मलम लगाइदिऊन् । ती देखिने नीलडामहरूमै मात्र भए पनि स्नेहको परत चढोस्, मलाई माया गर्ने सूर्यले यो त पक्कै गर्नेछ । थाहा छ मलाई, मलाई मात्र हैन सूर्य मजस्ता सबैलाई उत्तिकै माया गर्छ । तर म स्नेहकी धेरै भोकी भएकीले सूर्यले मलाई नै बढी माया गरेजस्तो लाग्छ । नदेखिने ठाउँका नीलडामहरूलाई पो म के गरूँ ? मेरा चाकका त्रि्राका, पेटका र स्तनका नीलडामहरू कसलाई देखाऊँ- जूनलाई देखाउन खोजूँ मेरो दृष्टि कमजोर छ भनेर नहेरिदेला, सूर्यलाई देखाऊँ यो सभ्य भनाउँदो समाजमा म मेरा वस्त्र फुकाल्न सक्तिनँ । नीलडामहरूले साह्रै पिरोल्न थाले । शरीरमा भएका नीलडाम त नीलडाम मात्र हुन् तर शरीरमा नीलडाम पर्दा मनमा पर्ने खाडलहरूलाई म के गरूँ ?
हिजै रातिको त घटना हो । दिनभरि काममा अल्झिँदा पट्यार लागेर आइरह्यो । हरेक उपाय र पसिनाले किनेका इँटका टुक्राहरूमा तीतामीठा जीवनका क्षणहरूको सिमेन्ट लगाएर बनाएको यो घर बेच्नुपर्ने भएको छ । हालका दिनहरूमा हामी दुईले देखेका सपनाहरूलाई सम्झने सम्म पनि फुर्सत छैन । त्यही घर किन्ने सिलसिलामा पल्लो टोलबाट एकजना परिचित दाइ आउनुभएको थियो । सायद वहाँका कुनै आफन्तलाई घरजग्गा चाहिएको थियो । हाम्रो झुप्रो भएको जग्गा एक कट्ठा छ र दाम अलिक राम्रो पाए आर्थिक रूपमा केही भरथेग हुन्थ्यो कि भनेर भनिसकेकी थिएँ । जीवन टुक्राहरू जोडेर बनाएको घर आखिर बेच्नै परेपछि दुईदिन त मुखमा राम्रो चामलको माड परोस् भन्ने आस बोकेर वहाँलाई घरजग्गाको दाम तीन लाख बीस हजार भनिदिएकी थिएँ । र यदि त्यत्तिमै बेचाउन सक्नुभयो भने तपाईँलाई पाँच हजार सहयोगस्वरूप दिउँला पनि भनेकी थिएँ । वहाँ त्यही दाम-कामको कुरा गर्न आउनुभएको थियो । तीन बजेको थियो होला सायद । मेरा सहोदर दाजुजस्ता स्नेही ती दाइलाई भित्रै खाटमा बसाएर चियाखाजा खुवाएकी थिएँ । दाइ जानुभयो र त्यसपछि लागेँ म हाम्रो बगैँचाकी एकमात्र फूल, हाम्री छोरी कुमुदिनीलाई स्याहार्न । भतिजी र म भएर बेलुकाको खाना बनायौँ, खायौँ, धन्दावात्रा सकिओरी आराम गर्न लाग्यौँ । नेपाल टिभीबाट आठ बजेको समाचार आयो । खोइ कुन्नि किन मलाई दिनभरिका घटनाक्रमहरूले अनौठोपन लादिरहेका थिए ।
नौ बज्नै लागेको हुँदो हो । अचानक मेरा घरमा कसैले सपनामा पनि नसोचेको र नचिताएको कुरा भयो । हातमा काँचो बा“सको भाटो लिएका मेरा प्रियले फुत्त खाटमुनिबाट निस्केर मेरा जीउमा जथाभावी भाटो बर्साउन थाले । उनको हात र मुख दुवै चलिरहेका थिए । हातमा भएको भाटाले मेरो नश्वर शरीरमा नीलडामहरू पैदा गरिरहेका थिए भने मुखबाट फोहोराझैँ छुटेको अपशब्द र अपमानको भेलले मेरो अन्तरमनलाई डुबाइसकेको थियो । सम्पूर्ण नारीको अस्तित्व बोकेकी ‘म’मा दुईतर्फो प्रहार यस्तो गहिरो परिरहेको थियो कि उनी कतिबेला आएर भाटोसहित खाटमुनि लुक्न भ्याए भन्ने कुरा सोच्नै सकिएन । आफूलाई धरतीमा मानवीय रूप दिने आमाबाबुको यस्तो व्यवहार देखेर हाम्रो बगैँचामा फुलेकी कुमुदिनीका आँखाहरूबाट दुःखले खहरेको रूप लिइसकेको थियो । अचानक भाटो मेरो कञ्चटमा पर्यो । म ढलेँ ।
म बसेको बेन्चमा भएको काँटीले मेरा हातमा चस्स घोचेर आफ्नो उपस्थिति जनाइहाल्यो । दाहिने हात काँटीमा परेछ । यसो फर्केर दक्षिणतिर हेर्न मुन्टो बटारेँ तर दाहिने कञ्चट असहनीय पीडा भयो । जसोतसो दृष्टि पुर्याएँ, छिमेकीका घरमा । मेरा लागि त यो छिमेकी, कटुवालको जोडी, देवतासमान साबित भएको छ । मेरा आपत्-विपत्मा कटुवाल्नीले देखाएको आफ्नोपन र सौहार्दताप्रति म जीवनभर ऋणी रहनेछु । हिजो पनि त मलाई होस फर्किँदा तिनै कटुवाल्नी दिदीलाई पुकारिरहेकी रहेछु । कटुवाल्नी दिदी उठ्नुभयो, गाँउभरि हल्ला भयो, र मान्छे भेला भए । हामी बसेका ठाउँमा शिक्षित नागरिकहरूको बसोबास छ । म आफैँ स्तम्भित छु र आउने मानिसहरूका आँखामा आर्श्चर्यको ज्वालामुखी देखिरहेको छु । उनीहरूलाई पनि यो घटना त्यस्तै लागेको हुनसक्छ । मेरो र रोसनको प्रेमविवाहपछिको जोडीले यस ठाउँमा आदर्श जोडीको मान र सम्मान पाइरहेको रहेछ भन्ने कुरा तब मात्रै मलाई थाहा भयो जब मैले उनीहरूका मुहारमा आदर्श भत्किँदाको वेदना देखेँ । अचानक म तर्सिएँ किनकि म नाङ्गिइसकेकी थिएँ । मेरो घरको चारवटा पर्खालभित्र भएको कुरा सार्वजनिक भइसकेको थियो । हाम्रो इज्जत माटामा मिलिसकेको थियो ।
मैले दाहिने हात उठाएर अघि काँटी लागेको ठाउँमा हेरेँ, काँटीले छेडेर झन्डै रगत निकालिदिएछ । रगत ! खुन, रातो र वीरताको प्रतीक ? के साँच्चै रगत वीरताको प्रतीक नै हो त ? हो भने कसको ? आफूमाथि प्रहार भएको जे पनि सहेर बस्ने मेरो ? कि मलाई मरणासन्न हुने गरी भाटा बर्साउने मेरा प्रियको ?
गाउँले जम्मा भएको देखेपछि मेरा प्रिय केही दच्किए, भाटो फ्याँके र मलाई भित्र तानेर लगे । म भयभीत नै थिएँ, तर भाटो फ्याँकेका हुनाले फेरि ममा त्यो बर्सँदैन भन्ने लागेर डराउँदै भित्र पसेँ । उनले दैलो लगाए र एउटा खाटमा ड्याम्म पल्टिए । म अर्को खाटमा किंकर्तव्यविमूढ बसिरहेँ र सुनिरहेँ बाहिरबाट भलाद्मीहरूले गर्नुभएका टीकाटिप्पणीहरू । कसैले मेरो सहनशीलतालाई प्रशंसा गरिरहनुभएको थियो भने कसैले उनको लाछीपनलाई दुत्कारिरहनुभएको थियो । यस्ताउस्ता भन्दाभन्दै रात निकै भएकाले छिमेकीहरू आफ्ना-आफ्ना ठेगानतर्फलाग्न थाल्नुभयो । बाहिरको भीड हट्यो भन्ने लागेपछि पहिलो पल्ट मेरा प्रियले मुख खोले- “तैँले मलाई बदनाम गरिस् !”
मलाई पनि झ्वाट्ट मुख फर्काऊँजस्तो लाग्यो “तिमीले मलाई गरेको चाहिँ के नि ?”
तर मेरा वाक्य फुटेनन् । मेरो शरीर र मनको जिर्णताले त्यसो गर्न दिएन । कहाँकहाँ, कताकता मेरो र उनको बीचमा खाडल बन्न लागेको आभास मैले पाएँ । केही छिनपछि उनी जुरुक्क उठे । म तर्सिएँ । तर अचानक उनले तन्ना पल्टाए खाटमुनि भएको ब्याग ताने । ब्यागभित्रबाट मलाई मनपर्ने रङको चुरा, लिपस्टिक र नेलपालिस निकाले र भुइँमा राखेर खुट्टाले कच्याककुचुक पारे । मेरो हृदयको सागरमा फेरि छाल उठे, आँखामा आए र उँधो सागरतिरै अविरल बहन थाले । मैले रोक्नै सकिनँ । यी छालहरू कसरी उठे किन उठे र किन फेरि सागरतिरै बग्दै छन् मैले केही निक्र्यौल गर्न सकिनँ । मेरा प्रियका आगो बर्साइहेका आँखाहरूले भने- “मलाई भोक लाग्यो ।”
कुन्नि कुन शक्तिले हो मलाई उठायो र भान्सातर्फ ठेल्यो । मेरा हातहरू स्वचालित मेसिनजस्तै भात र गुन्द्रुक पकाउनमा तल्लीन भए । उनलाई भात ख्वाइसकेपछि भाँडा माझ्दै गर्दा मलाई लाग्यो म विचारहीनता र विवेकहीनताको पराकाष्ठामा त पुगिरहेकी छैन ? यी पनि अचम्मका छन्, दिउँसो तीन बजे नै आएर खाटमुनि लुकेर बसेछन् । ती दाइ आउँदा लुकिसकेका रहेछन् । हाम्रा कुराकानी सबै सुनेछन् । तर आर्श्चर्य ! ममाथि भाटा बर्साउन किन यिनले छ घण्टा कुर्नुपर्यो ? भाँडा माझिसकेर भित्र आउँदा उनी एउटा खाटमा पल्टेर निदाइसकेछन्, भतिजी भुइँमै गलैँचामा घुर्न लागिसकिछ र कुमुदिनी अर्को खाटमा घोप्टो परेर सुतिसकिछ । छेउमा गएर हेरेँ । रुवाइले हाम्री चार वर्षिय कुमुदिनीका आँखाहरू सुन्निएका थिए । आँसुको भन्डार सिरानेमा रित्याइछ बिचरीले । म उसकै छेउमा पल्टिएँ र मेरो स्पन्जजस्तो ज्याद्रो मन रसाएर फेरि त्यही सिरानी भिजाउन थाल्यो ।
ओहो सूर्य त उदाएर केही माथि उक्लिसकेछ । मेरा नीलडामहरूमा केही मलम त पक्कै लगाएजस्तो लाग्यो । अगाडिपट्टिरहेको सिसौको सानो बिरुवाका हाँगाबिँगा र पातहरूबाट छिरेर सूर्यका किरणहरू अन्तरकुन्तरमा छिर्ने प्रयास गर्दै थिए । मलाई अचम्म लाग्छ, कहिलेकाहीँ श्रद्धाभावले ओतप्रोत हुन्छु सूर्यप्रति । कसरी निस्वार्थ माया गर्न सकेको होला ! करोडौँ वर्षेखि करोडौँ माइल टाढाबाट फिर्ता पाउने रत्तिभर आशा नराखी मायाको उज्यालो खन्याएकोखन्यायै ! खन्याएकोखन्यायै ।
भतिजीले नीलो जामा धोएर सुकाउन ल्याउँदा पो झसङ्ग भएँछु । देखेँ- भतिजीले नीलो जामा तारमा सुकाई । त्यसको छाया मेरो अनुहारमा पर्यो र सूर्यका किरणहरू केही क्षणका लागि मबाट टाढिए । म एकटक भतिजीले सुकाएको जामा हेरिरहेँ ।
ठीक यस्तै नीलो त थियो मेरो जामा । भोजपुरको नेपालेडाँडाको सन्त मा.वि.को सात कक्षामा पढ्दा म त्यस्तै जामा लगाउँथेँ । सेतो र्सट पनि लगाउँथेँ । त्यही स्कुलमा मेरा छिमेकी रोसन पनि कक्षा आठमा पढ्थे । मलाई राम्ररी थाहा छ एकपल्ट दसैँको बेला थियो । स्कुलको दसैँ बिदा हुनै लागेको थियो । रोसन मेरा छिमेकी भएकाले हामी सँगै खेलका-बढेका थियौँ । दिनका प्रायजस्तो फुर्सदका क्षणहरू हामी सँगै बिताउँथ्यौ“ । त्यस दिन हामी उफ्रँदैउफ्रँदै स्कुलदेखि तलतिरको डाडाँमा लिङ्गेपिङ हालेको हेर्न गएका थियौँ । डाँडाको छेउपट्टिरहेको होचो झिँगनीको तेर्सो परेको हाँगामा म बसेँ खुट्टा हल्लाउँदै । रोसन भुइँमा बसेर मेरा पैतालामा काउकुती लगाउन थाले । म हाँसेको देखेर रोसनले भनेको थियो- “शुभी † तँ हाँस्दा तेरा गालामा खाल्डा पर्छन् र तँ साँच्चैकी राम्री देखिन्छेस् । तँलाई खाल्डी भन्छु है त !”
त्यस बेलुका घरमा आएर मैले पहिलो पटक गहिरिएर आफ्ना गालाहरू ऐनामा हेरेँ । अलिकति मुस्काएँ र देखेँ साँच्चै मेरा ओठका दुईपट्ट डिम्पल पर्दा रहेछन् । रोसनको कुरा सम्झेर मेरो अनुहार लाजले रातो भयो । ‘खाल्डी’ भन्ने शब्द अत्यन्तै प्यारो लाग्यो । सायद यही हाम्रो प्रेमको पहिलो अनुभूति थियो ममा ।
त्यसपछि त रोसनसँग समय बिताउन मात्र मन लाग्न थाल्यो । एक छिन उनलाई नदेख्दा म छट्पटिन थालेँ । पे्रममय संसारमा नेपालेडाँडा, बालुवा, अरुणको पुल, चेवावेंसी, तुम्लिङटार गर्दा गर्दै हामी कहिले युवा-युवती भैसकेछौँ थाहापत्तै रहेन । पढ्नमा गहिरो अभिरुचि भए पनि हामी एसएलसीभन्दा माथि पढ्न सकेनौँ । औपचारिक शिक्षाको अन्त्य भए पनि पढ्ने बानीले फाल्टु पुस्तकहरू प्रशस्त पढायो । सन्त मा.वि.मा भएको पुस्तकालयको राम्रो उपयोग गरेका थियौँ हामीले । एसएलसीपछि पनि पढ्ने खालका विद्यार्थी भएकाले सरहरूले हामीलाई पुस्तकहरू पढ्न दिएर पछिसम्म हौसला बढाइरहनुहुन्थ्यो । रोसनलाई अझ अङ्ग्रेजी किताबहरू पढ्ने राम्रो बानी बसिसकेको थियो ।
रोसनले एकपल्ट चिनियाँ पृष्ठभूमिमा पर्ल एस बकले लेखेको नोबेल पुरस्कारप्राप्त कृति ‘द गुड अर्थ’ पढेर, एउटा घटनाको वर्णनगर्दा मेरा आँखाबाट तुरुक्क आँसु चुहिएका थिए र त्यो घटना थियो- त्यस परिवारमा अनिकाल लागेर आफ्नै घरमा पालेको गोरु काटी खाएको ।
बेन्चमा बसेकी म आँसु टप्प चुहिँदा वर्तमानमा फर्किएँ । देखेँ सूर्य सिसौको रूखको टुप्पामा पुगिसकेको रहेछ । मैले मुन्टो अररिएजस्तो भएर अर्कातिर नजर घुमाएँ र देखेँ नीलो रङ्को प्लास्टिकको चप्पल र त्यसैको छेउमा आफ्नो अस्तित्वमा दुःख मनाइरहेको सेक्सपियरको दुःखान्त नाटक ‘रोमियो र जुलियट’ । रोमियो र जुलियट हामी दुईको अत्यन्त प्यारो पुस्तक थियो । मैले यसलाई साह्रै जतन गरेर राखेकी थिएँ । तर हिजो रातिको आँधीलाई बिचराले थाम्न सकेनछ । आफ्ना अस्तित्वका पानाहरूलाई तितरबितर पार्दै शहीद भएछ । मलाई लाग्यो हाम्रो दाम्पत्यजीवनको पनि सायद यही हालत हुन्छ होला । दुःखान्त, मतलब ट्रयाजिक । तर रोसन जहिले पनि दाबी गर्थे- “शुभी तेरो मेरो प्रेम भनेको रोमियो-जुलियटकै जस्तो हो, खाली एउटा मात्र फरक हुनेछ, के हो थाहा छ तँलाई ?”
म अबोध बन्थेँ – “अहँ ।”
उनी भन्थे “खाल्डी ! के थाहा पाउँथिस् त ! हाम्रो प्रेम दुःखान्त हैन सुखान्त हुन्छ क्या ! बुझिस् खाल्डी !” खोइ समय पनि ! अहिले लाग्छ दुःखान्तभन्दा पर्तिरको केही दुःख हुन्छ भने त्यो मलाई नै आइपरेको छ ।
कति राम्रो हगि रोमियो-जुलियट ! लैला-मजनूको विषयमा त मैले पनि पढेकी थिएँ तर रोमियो जुलियटको वर्णनले गर्दा म मन्त्रमुग्ध हुन्थेँ । मलाई राम्ररी थाहा छ एकपल्ट उनले दिङ्ला बजारबाट मलाई अत्यन्तै मनपर्ने नीलो रङका चप्पलहरू ल्याइदिएका थिए । मेरा घरमा राख्दा मान्छेले (परिवारले) थाहा पाउलान् भनेर उनी आफैँ राख्थे र हामी दुई सुटुक्क डुल्न निस्कँदा बोकेर ल्याउँथे । तिनै नीला चप्पल लगाएर म र उनी एक दिन बालुवा झर्यौँ । गफ अन्तहीन हुन्थे हाम्रा । हामी अरुणको पुलमा जालीबाट खुट्टा बाहिर निकालेर बसेका थियौँ । मैले त्यही नीलो चप्पल लगाएकी थिएँ । उनले रोमियो जुलियटबाट जुलियटको भनाइ पढ्दै थिएः योन्ड लाइट इज नट डे लाइट…… अचानक मैले उनलाई च्याप्प समातेँ । हामीले हेर्यौँ, उनले मलाई उपहार ल्याइदिएको एउटा चप्पल झरेर झ्वाम्म अरुणको पानीमा विलीन भयो । मेरो मनमा चिसो पस्यो ! कतै हाम्रा सपनाहरूको आधा अन्त्य त भएको हैन ।
काठको बेन्चमा बस्दाबस्दा मेरो दाहिने खुट्टो निदाइसकेछ । दृष्टि फेरेँ र देखेँ सूर्य निकै माथि पुगिसकेछ । अगाडि देखेँ छोरी उठेर मतिर आउँदै रहिछ । कुमुदिनीलाई देख्नासाथ मेरो ममताको सागर पुनः उर्लियो । छोरीलाई च्याप्प समातेर अँगालामा बाँध्दै ममताको छाया दिन लागें । यही छोरी जन्मेपछि त हो नि हाम्रो दाम्पत्य जीवनमा उनले ग्रहण लगाउन थालेका । त्यसभन्दा अघि हामीले परिवारको सहमतिविपरित भागेर बिहे गर्यौँ । उनले सानोतिनो जागिर गरे । मैले गृहविज्ञान पढेकीले अलिअलि सिलाइबुनाइको काम गर्न थालेँ । हाम्री प्यारी छोरी भई । छोरीको जन्मपछि मेरा माइतीले मलाई लाने भए । देखेँ रोसनको मुहार कालो भयो ।
भने “शुभी तँ माइत नजाँदा हुँदैन ?”
“हामीलाई माफी दिएर आमा लिन आउनुभएको छ कसरी नजानु ?”
“त्यसो भए एकदुई दिनलाई म पनि जान्छु नि, हुन्न ?”
मैले सहमति जनाएँ “हुन्छ” ।
हामी सँगै गयौँ नेपालेडाँडा । अहा ! कति रमाइलो ! हाम्रो जन्मथलो ! रोसन र मेरा प्रेम फुलेको ठाउँ । तर ठाउँको रमाइलो लिन नपाउँदै, मैले आफ्नो प्रेममय जीवनमा कहिल्यै नचिताएको कुरा देखेँ । रोसन आँखाबाट आगो उगेल्दै आमासँग चिच्याइरहेको थियो-
“शुभीको लुगा किन खोलेको तपाईँहरूले ? राम्रो हुन्न बुझ्नुभो ?”
मलाई आश्चर्य लाग्यो, कुरा के भएको थियो भने अगि दिउँसो घाममा राखेर मेरो पिठिउँमा आमाले तेल लगाइदिनुभएको थियो । सुत्केरी जीउमा तेलमालिस त गर्नैपर्छ । त्यही बेलुका रोसनले मलाई अर्काको छेउमा किन लुगा खोलिस् भनेर दुई झापट कसेका थिए र मेरा जीवनमा नीलडामहरूको आगमनको सूत्रपात भएको थियो ।
अरे, अँगालामा च्यापेकी छोरी त झन्डै निदाइछ । बिहान निकै छिप्पिइसकेछ । मैले यताउति हेरेँ – गाउँमा जीवनका लक्षणहरू रातको विश्रामपछि पुनर्जागृत भैसकेछन् । म उठेँ, झ्यालबाट चियाएर हेरेँ । रोसन सुतिरहेका थिए । रोसनले बजारेका भाटाले लगाएका नीलडामहरू चर्किरहे । यो नीलडामहरूको सिलसिला चार वर्षभयो निरन्तर चलिरहेको छ । यसपालिको चाहिँ अहिलेसम्मकै दर्दनाक थियो । हाम्रो चारवर्षे तरहराको बसाइ अब अन्त्य हुनै लागेको छ । हामीले यो ठाउँलाई छोडेर काठमाडौँ जानुपर्ने भएको छ । बितेका चार वर्षरूमा धेरैपल्ट मलाई रोसनले शङ्काकै आधारमा नीलडामहरू दिएका छन् । त्यसैले मलाई रूङ्न उनले आर्थिक अवस्था कमजोर नै भए पनि भतिजी ल्याएर राखेका छन् । उनी कामको सिलसिलामा काठमाडौँ गएको पनि दुई वर्षभयो । काठमाडौँबाट आँउदैपिच्छे भाटा बर्साउँछन् ।
उनी भन्छन् “कतिजनासँग सल्किइस् ? क-कसलाई सुताइस् ए ! भन् त ………. ।”
के मैले रोसनकी पत्नी भएर अर्को व्यक्तिसँग बोल्नै नहुने ? अझ पुरुषलाई त देख्नै नहुने । म आफैँ बुझ्न सक्दिनँ ! किन ? रोसनको व्यवहार देखेर कटुवालसर र कार्कीदाइ त मसँग बोल्दै बोल्नुहुन्नथ्यो । वहाँहरूसँग बोलेको देखेर रोसनले मलाई दुईपल्ट भाटा बर्साइसकेका थिए ।
मलाई लाग्यो मेरो स्पन्जजस्तो मन पनि भित्रबाट जीर्ण भैसकेको छ । मैले मेरा घरका खस्रा भित्ताहरूलाई छामेँ । रोसनले कमाएको पैसाले इँटा किनेका थियौँ र मैले ज्यालामा लुगा सिएर कमाएको पैसाले सिमेन्ट किनेका थियौँ । हामी दुईको प्रेमले सिमेन्ट बालुवा मुछेर हाम्रै मायाका इँटाहरू जोडेर यो सानो घर बनाएका थियौँ पाँच वर्षपहिले ।
यो सिमेन्ट इँटाको भित्ताले मलाई असाध्यै माया गर्यो । उसले मेरा लागि आँसु चुहाउन सकेन तर उसको मायाको राप मैले अनुभूति गरिरहेकी थिएँ । जसरी म उसलाई छाड्नुपर्दा दुःखी थिएँ त्यसैगरि ऊ पनि भित्रभित्रै, पिल्सिइरहेको थियो । भित्तो मलाई भनिरहेको थियो- “अब कहाँ जान्छेस् शुभी, यतिन्जेल मैले तँलाई घामछाया, हुरीबतास, आपत्विपत्बाट जोगाएँ, तेरो रोसनको भाटाबाट पनि कतिपल्ट बचाएँ । शुभी ! मलाई माया नमार् है ।” मेरो मनले हाहाकार गर्यो । म घरको भित्तालाई छाम्दै वरिपरि हिँड्न थालेँ । मलाई लाग्यो मेरो सजग अस्तित्वको यो अन्तिम क्षण हो ।
२०६२ असार ५
(स्रोत : Kumud Adhikari’s Blog)