तिसौँ वसन्त पनि पार नगर्दै वैधव्य जीवन अँगाल्न बाध्य निरक्षरी मालतीले दुखजिलो गरेर भए पनि एक्लो छोरालाई एस.एल.सि.पछि काठमाडौँमा राखेर एम.ए.समेत गराइन् । गाउँमा उनको मुक्तकण्ठले प्रशंसा भयो । उदाहरणीय बनिन् । छोराले पनि क्रमशः प्रगति गर्दै गयो । उपसचिव भयो । हाकिम हँुदै जिल्ला चहा-यो । धनसम्पत्ति कमायो ।
मालती बुढी हुँदै गइन् । प्वाँख बस्दै गयो । छोराले आमालाई माया गरेन । अविवेकी भएर निस्क्यो मोरो । गच्छेअनुसार पालन पोषण गर्न पनि छाड्यो । स्थिति यहाँसम्म भयो कि एकपेट अघाउन्जी खान पनि रहर हुन थाल्योे उनलाई । दुख र वेदनाको पोखरीमा चुर्लुम्म डुबेकी मालतीलाई क्रूर समयले झन् थप्पड हान्यो । क्यान्सर जस्तो घातक रोगले समात्यो । उनले धेरै दुख पाइन् । छोरा बुहारी र नाति नातिनाहरूले वास्तै गरेनन् । विशेषतः छोरा कर्तव्यहीन भयो । पशुवत् व्यवहार देखायो । जन्म दिने आमाको महत्त्व र गरिमा बुझेन । छिमेकीले अस्पताल पु¥याए । अन्ततोगत्वा दुःखैदुःखमा मालतीको इहलीला समाप्त भयो ।
उत्तरार्धमा पुगेका जिन्दगीहरूको कथाभित्रको व्यथा यस्तै कहाली लाग्दो छ । कोख भरिलो हुँदा आमा बन्ने सौभाग्यमा उमङ्गिएकी एउटी ममतामयी नारीले मालती जस्ती आमाको नियति भोग्नुपर्ने कल्पना कसरी गर्न सक्थिन् र ! बिचरा ! आफ्नो ऊर्जाशील समयलाई केवल सन्तानको खुसी र भलाइमा समर्पण गर्ने तिनै आमाबाबु आज सोही सन्तानको हेलाहोचो र तिरस्कारको गोलीले रन्थनिँदै अनि ऊर्जाहीन शरीरका उस्तै स्मृतिचेतभित्र गुम्ँिसदै आफ्नै मनसँग र आफ्नै छायासँग जबर्जस्ती जिउन विवश छन् । त्यही विवशताभित्र थिल्थिलिएर मनमनै भन्दा हुन्— तिमीलाई लामो जिन्दगीको पहिलो पाइला हिँड्न हामीले सिकायाँै, साथ दियौँ तर आज तिमीले हाम्रा अन्तिम पाइलामा पनि साथ दिन सकेनौ । धिक्कार छ तिमीलाई !
बिडम्बना ! कस्तो आस्थाहीनता र भावनाशून्य वर्तमान ! वृद्ध पुस्ता मस्र्याङ्दीको भेलले पाखा लगाएको बेवारिसे मुढो बनेर तिरस्कारिएको पाउँछौँ आज हामी । दोहोरो रुवाइमा जिउन बाध्य छन् वृद्ध आमाबाबु । हिजो सन्तानले नखाँदा रुने उनीहरू आज सन्तानले खाना नदिँदा रोइरहेका छन् । आखिर यस्तो कृतघ्न स्थितिको भोगाइ किन मौलाउँदो छ हाम्रो समाजमा ? वास्तवमा पितामाताप्रतिको अनास्था आपैmप्रति भोलिको धोका होइन र ? ‘डोको फिर्ता ल्याउनू है बा’ भन्ने उखानको यथार्थ मर्म हामीले वर्तमान पुस्तालाई बुझाउन नसकेर नै त होला नि ।
सन्तानको विवेकमा ज्यान सुम्पनुपर्ने स्थिति छ नेपाली बुढाबुढीको । आर्थिक रूपमा सरकारी संरक्षण छैन । आजभोलि बरु उच्च उमेरका बुढाबुढीलाई केही सुविधा छ भन्नुप¥यो । बाबुआमाको महत्त्व नबुझ्ने कर्तव्यहीन सन्तान भएमा मालतीकै नियति भोग्न बाध्य हुनुपर्ने अवस्था छ हाम्रा बुढाबुढीहरूको ।
साक्षरता प्रतिशत कम भएको समाजमा चेतनशील व्यक्ति पनि कम हुने नै भए । चेतना कम भएपछि आपूm पनि बुढो भइन्छ भन्ने शाश्वत सत्यको मर्म बुझ्न कठिन हुन जान्छ । आमा र बाबुको गरिमा नबुझ्न सक्छन् । गरिमा नबुझ्नेले व्यवहार कस्तो गर्लान् ? त्यसै भएर पो हो कि मिति सकिएको वस्तुका रूपमा बुढाबुढीहरूलाई हेर्नेको जमात बढ्दो छ हाम्रो समाजमा ।
मालतीको छोरा र त्यस्तै कुपात्रहरूको धज्जी उडाउँथ्यौँ हामी । बुढाबुढीहरूकै बारेमा छलफल गथ्र्यौं । देश परदेशका प्रसङ्ग पनि जोडिन्थ्यो । यसै क्रममा कतिपयले भन्ने गर्थे— “सम्पन्न देशहरूमा अथवा अमेरिका तथा युरोपमा बढ्दो पारिवारिक व्यक्तिवादिता र एकल परिवारमा रमाउने स्वार्थी चिन्तनले गर्दा बुढाबुढीहरूको जीवन सुखद छैन, कष्टपूर्ण छ । उनीहरू दुखी छन्” । कता कता आशय लुकेको हुन्थ्यो– ‘हाम्रो समाज विवेकी छ, हाम्रै बुढाबुढीहरू खुसी, सुखी छन्’ ।
अमेरिका आगमनसँगै यस जिज्ञासाले निरन्तर लखेटिरह्यो मलाई । दिलको अग्रभागमा यसैसँग सम्बन्धित प्रश्नहरू तेर्सिरहन्थ्यो— के अमेरिकी युवा युवतीहरूले जीवनमा एक पटक बुढाबुढी हुनुपर्छ भन्ने यथार्थको बोध गरी त्यसप्रति संवेदनशील र विवेकशील हुन नसकेकै हो त ? के तन्नेरी उमेरको हाँकोडाँकोमा निर्माण गरेको नियम कानुनले अन्ततोगत्वा वृद्धावस्थामा आफ्नै संरक्षण गर्न नसकेको हो त ? आफैले बाँधेको नियमरूपी टाईको गाँठो वृद्धावस्थामा सुर्केनीमा परिणत भएकै हो त ? वृद्धवृद्धाका आँसुले अमेरिकी सम्पन्नता निथु्रक्कै भिजेको छ त ? कृत्रिम हाँसोको जलपभित्र मात्र सीमित छन् त बुढाबुढीहरू ?
पचपन्न वर्ष भएपछि प्रौढमा दरिन सकिने अमेरिकी समाजमा सामान्यतया बल र तागत छउन्जेल बुढाबुढीहरू आफ्नै प्रत्यक्ष व्यवस्थापनभित्रको घरमा बस्दा रहेछन् । त्यसपछि कन्डोमेनियममा बस्न सक्छन् जहाँ आफ्नै पृथक घरको भन्दा रेखदेख वा व्यवस्थापनमा बढी सजिलो हुन्छ । अशक्तता बढ्दै आएपछि सिनियर लिभिङ होम (वृद्धाश्रम) र ज्यादै गलेका, रोगी वा अन्त्य पर्खिएकाहरूलाई चाहिँ हस्पिक केयर आदिमा राख्ने वा बस्ने प्रचलन रहेछ ।
जसको आफ्नै घरमा पारिवारिक रेखदेख र हेरचाहको अवस्था छ त्यसले तथा सम्पन्न र सम्भ्रान्त परिवार जसले आफ्नै घरमा हेरालुहरूको उचित व्यवस्थासहितको आवश्यक साधनस्रोत उपलब्ध गराउन सक्छन्, तिनीहरूले आफ्ना बाबुआमा वा वृद्धवृद्धालाई आफ्नै घरमा पालेको पनि देखियो । तर बहुसङ्ख्यक वृद्धवृद्धाहरू वृद्धाश्रम (सिनियर लिभिङ होम) मा नै बसेका हँुदा रहेछन् ।
वास्तवमा ज्यादै व्यस्त अमेरिकी समाजमा पेसा वा कामबेगर घरमा निष्क्रिय वा घरायसी धन्दामा मात्र सीमित रही बस्ने व्यक्तिहरू छैनन् भने पनि हुन्छ । सन्तानको दिनभरिको अनुपस्थितिमा वृद्धवृद्धाहरू मात्र एक्लै घरमा बस्ने भन्ने कुरामा छोराछोरी र स्वयं उनीहरू नै त्यति सहमत नहुन सक्छन् । त्यसैले पनि होला सायद, वृद्धवृद्धाकै चाहना र मागको फलस्वरूप वृद्धाश्रमको अत्यधिक प्रचलन बढेको ।
वृद्धाश्रम भन्नेबित्तिकै हाम्रो मन मस्तिष्कमा पशुपतिनाथ मन्दिरको परिसरमा वा अन्य कतै रहेको वृद्धवृद्धाहरूको आश्रम जहाँ छोराबुहारी वा सन्तानबाट अपहेलित वा पालन पोषण र रेखदेख गर्ने सन्तान नभएका वा दुःखी, गरिबहरू रहने गर्छन्, तिनैको चित्र नाच्न थाल्छ । ¥याल र सिँगानमा भिजेका, सरसफाइभित्र समेटिन नसकेका, अस्वाभाविक दाह्रीजुँगा र कपाल पालेका, कुपोषणले चुसेको ख्याउटे, दुब्लो र पातलो शरीर आदि हाम्रा वृद्धाश्रम निवासीको व्यक्तित्वमा समेटिने अन्य स्मृतिचित्र हुन् । ती स्मृतिचित्रले स्पष्ट पार्छन्— यी वृद्धवृद्धाका हृदयमा गहिरो गरी खिल परेको वेदनाको घाउ टन्किरहेको छ । पिर र बेथाले उनीहरूलाई चिथोरिरहेको मात्र छैन, सन्तान र आफन्तको तिरस्कारको रनाहमा छट्पछाइरहेका छन् यिनीहरू ।
अमेरिकी वृद्धाश्रम र हामीले भोगेको वृद्धाश्रममा आकाश र पातालको अन्तर देखेँ मैले । केही अपवादहरूलाई छाडेर भन्नुपर्दा वृद्धवृद्धाहरूले अमेरिकी वृद्धाश्रममा पाँचतारे वा कम्तीमा तारे होटल समानको जीवन स्तर व्यतीत गर्दा रहेछन् । यस सम्बन्धी थप जानकारीबाट अमेरिकी वृद्धवृद्धाका बारेमा हामीले सुनिआएका हल्लाहरू वास्तविकताको नजिक नभएको मात्र नभई स्वयंको लाज ढाक्न चलाइएका हल्ला रहेछन् भन्ने निष्कर्ष पनि निकालेँ मैले ।
सामाजिक सुरक्षाकोषबाट प्राप्त हुने आय नै अमेरिकी बुढाबुढीहरूको मुख्य आयस्रोत रहेछ । हरेक व्यक्तिले आफ्नो जीवनमा गरेको कामको आम्दानीबाट निश्चित रकम सामाजिक सुरक्षाकोषमा अनिवार्य बचत गर्नुपर्ने र त्यसकै परिमाणको आधारमा उक्त व्यक्तिको निश्चित उमेरको हदपछि सामाजिक सुरक्षाकोषबाट भत्ता प्राप्त हुने कानुनी प्रावधानले गर्दा हरेक अमेरिकीले धेरथोर रकम मासिक रूपमा प्राप्त गर्दा रहेछन् । जागिरबाट निवृत्त भएका कतिपयको पेन्सन त्यसमा थपिन सक्छ । बैंक ब्यालेन्स, लगानीको आय आदि अन्य स्रोतहरू हँुदा रहेछन् ।
धेरै आम्दानी हुनेका लागि समस्या नै भएन तर जसको आय अमेरिकी वृद्धवृद्धाको जीवन स्तर निर्वाह गर्न चाहिने सरकारले तोकेको न्यूनतम मापदण्डभन्दा कम छ, त्यस्तालाई पनि सरकारबाट केही आर्थिक सहायता दिने प्रावधान हुनाले वृद्धावस्थामा कुनै पनि अमेरिकी सामान्यतया भरपेट खाने समस्याबाट चिन्तित भएको पाइएन ।
अमेरिकी प्रौढहरूको उत्कृष्ट व्यवस्थापनको आँखीझ्यालबाट चियाइरहँदा दुधमाथि झिँगा देखिए झैँ एकाध होमलेस तथा मगन्ते गरिबहरू पनि नदेखिने होईनन् । त्यस्ताले पनि भोकै बस्न नपरोस् भनी रासन कार्डलगायतका अन्य सरकारी तथा गैरसरकारी कार्यक्रमहरू सञ्चालनमा रहेका देखिए ।
केही हदसम्म मानसिक सन्तुलन गुमाएका, कुलतमा फसेका र सामाजिक अनुशासनमा बाँधिन नमान्ने बिन्दास, अल्छी, मस्तानाहरू प्रायः यो मगन्ते तथा होमलेस कोटीभित्र पर्दा रहेछन् ।
वृद्धाश्रमको स्तर र तह त विभिन्न हुने नै भए । जोसँग आफ्नो आम्दानीको स्रोत ठुलो छ, तिनीहरू सोही स्तरको ठाउँमा र जसको कम छ तिनीहरू त्यही स्तरका ठाउँमा बस्ने गर्दा रहेछन् ।
वृद्धवृद्धाहरू बस्ने केही आश्रमहरूमा पुग्ने मौका मिलाएँ मैले । वृद्धाश्रम देख्नेबित्तिकै मेरो मनभरि वृद्धाश्रम हाँस्यो, तनभरि उदायो वृद्धाश्रम ।
वृद्धवृद्धाहरूको दिल कति उज्यालो छ ? पारिवारिक मायामोह कस्तो छ ? सन्तानसँगको सहबास र सहभोजनबाट पृथक् वा एक्लो हुँदाको पीडा के कस्तो छ ? त्यो त उनै जानून् तर भौतिक रूपमा उनीहरूको बसाइ, खानाको स्तर, सफाइ, हेरचाह, स्याहारसुसार, सेवा, सहयोग आदि–इत्यादिलाई हेर्दा र आफ्नो देशका प्रौढहरूको अकथित दुखी अवस्था सम्झँदा म अवाक् भएँ । वास्तवमा ईष्र्या तथा आरिस लाग्ने किसिमको थियो अमेरिकी वृद्धाश्रमको व्यवस्थापन र सुख सुविधा । मैले त्यहाँ जे देखेँ त्योभन्दा अझ उच्च स्तरको सुविधाको कल्पना तत्क्षणमा गर्न समर्थ भइनँ म । त्यस उच्च व्यवस्थापनको सौन्दर्यले वशीभूत नहुने कमै हुन्छन् होला ।
वृद्धाश्रमहरूको उच्च र सम्भ्रान्त रहनसहन देख्दा चाहेर पनि म मुस्कराउन सकिनँ । त्यो वैभवपूर्ण अवस्थाले हामी नेपालीको अभाव, गरिबी र विपन्नतालाई गिज्याइरहे जस्तो मात्र लागेन, हाम्रा प्रौढहरूका ‘खुइय’ सुस्केराको दुःखी रन्को यतै कतै गुन्जिरहे जस्तो भान हुन गयो । सँगसँगै ह्वात्तै अनेक दृश्यहरू दिमागमा कुद्न थाले । स्मृतिपटलमा डाँडाघरे हजुरबाको कुपोषणले चुसेको खबटे अनुहार उपस्थित भयो । सन्तानबाट अपहेलित पल्लो गाउँका धनिरामले अँगेनामा पानी तताइरहेको कालो ताप्के देखेँ जसमा भुलक्क पानी हुनेबित्तिकै कोदोको पिठो ओडाल्न तत्पर थिए उनी । मेचीदेखि महाकालीसम्मका श्रद्धेय जेष्ठ नागरिकहरूको कारुणिक रूप बिजुलीको गतिमा अनायासै स्मृतिमा उदायो । अनि कसरी सक्नु मैले मुस्कुराउन ? अनि कसरी सक्नु मेरो हृदयले हाँस्न ?
यो केवल परायाको सम्पन्नता देखेर उत्पन्न स्वाभाविक हर्षमा आफ्नो गरिबी र अव्यवस्था परावर्तन हुन जाँदा सृजित स्वयंप्रतिको माया हो, अनुराग हो । पूजनीय जेष्ठ नागरिकहरूप्रति छताछुल्लिएको सम्मान हो । प्यारो जन्मभूमिप्रतिको अगाध श्रद्धा, सुगन्ध र प्रेममा लत्पतिएको चिन्ता हो, न कि अमेरिकी पौरख र वैभवप्रतिको विद्रोही भावना ।
वास्तवमा वृद्धावासको अवलोकनबाट मात्र पनि वृद्धप्रतिको कर्तव्य, अमेरिकी पौरख र सम्पन्नताको नापो लिन सकिने लख काटेँ । मनमा लाग्यो— स्वर्ग कस्तो होला एकिन छैन ममा, सायद पृथ्वीको स्वर्ग यसैलाई भन्न मिल्ने पो हो कि ?
प्रौढहरूको उमेरअनुसार समूह छुट्याइएका छन् । हरेक सप्ताह खानालगायत कार्यक्रमको समय तालिका प्रकाशित छ । कोही व्यायाम शालामा व्यस्त छन् त कोही कम्प्युटर कोठामा । स्वास्थ्य परीक्षणमा र नाचगानमा रमाएको समूह एकातर्फ छ भने एरोबिक कक्षामा अर्को समूह । उनीहरूलाई योग र पौडीलगायतका विभिन्न आमोद–प्रमोदमा रमाएका देख्न पाएँ मैले ।
कतिपय प्रौढहरूमा मस्त तन्नेरीहरूको ऊर्जालाई निस्तेज पार्न सक्ने जोस र जाँगर देखिन्थ्यो । केही गलेका र अशक्त वृद्धवृद्धाहरूलाई चाहिँ विशेष हेरचाह सेक्सनमा राखिएको थियो । त्यस्ताहरूलाई डाक्टर, नर्स, आयाहरूको प्रत्यक्ष निगरानी र विशेष सुविधा हुँदो रहेछ ।
‘पपकर्न मुभी’ कार्यक्रममा पपकर्न खाँदै एउटा हलमा सिनेमा हेरिरहेका वृद्धहरूको समूह पनि देखेँ । एउटी सहयोगी महिलाले शिष्ट र नरम स्वरमा ‘वेकअप (बिउँझ), तिमीले खानै बिस्र्यौ जस्तो छ नि’ भनिन् । सिनेमा हेर्दाहेर्दै एउटा वृद्ध मेचमा निदाएका रहेछन् । उनैसँगको संवाद थियो त्यो । त्यसको समाप्तिपछि ‘कफी सोसल’ कार्यक्रमको तयारी गर्दै थिए सम्बन्धित व्यक्तिहरू, जहाँ कफी पिउँदै आपसी भलाकुसारी र सामाजिक गफगाफमा व्यस्त गराइँदो रहेछ उनीहरूलाई ।
एउटा ठुलो बैठककक्ष देखेँ । त्यहाँ एक जोडी बुढाबुढीका बिचमा ४÷५ जनाको समूह आपसमा अङ्कमाल गर्दै फुलका बुकीहरू बुढीआमालाई दिँदै थिए । बुढी निकै प्रफुल्ल देखिन्थिन् । उनको जन्मदिन रहेछ । छोराबुहारी र आफ्ना परिवारका सदस्यहरू उनलाई बधाई दिन आएका रहेछन् ।
कोठाहरूमा तथा बगैँचाका बिचमा पनि बुढाबुढीहरूलाई भेटघाट गर्न आउने इष्टमित्र तथा परिवारहरूको समूह समूह भेटिन्थ्यो । भेटघाटपछिको अन्त्यमा मायाका खातिर अँगालोमा बाँधिई अश्रुधारा बहाएका दृश्यले वातावरणलाई नै भावुक र कोमल बनाएको पनि देखिन्थ्यो । बिछोड र बिदाइको दृश्यको प्रभावमा हृदय हुँडलिन जान्छ र खल्लो अनुभूति हुन्छ मलाई पनि । यसरी चाडपर्व, जन्मतिथि, सन्चोबिसन्चो आदिमा परिवार तथा आफन्तहरू भेटघाट गर्न आइरहने वा माया पोख्ने प्रचलन रहेछ त्यहाँ ।
आश्रमका बुढाबुढीहरूलाई एकसरो सरसरती नियालेँ । बिउ राखेको आलु जस्तो चाउरी परेको अनुहार नै किन नहोस्, त्यसमा कान्ति थियो । उज्यालो बिहानी भैmँ खुसीको रङ पोतिएको देखिन्थ्यो तिनको अनुहारमा । उनीहरू सन्तुष्ट जस्ता देखिन्थे ।
वास्तवमा बुढाबुढीले जीवनको लामो अनुभव मात्र सँगालेका हुँदैनन्, त्यसबाट खारिएका पनि हुन्छन् । उनीहरू अनुभवले परिपक्व बनेका हुन्छन् । दुःखसुखको घामपानीले उजेलिएका हुन्छन् । लोभै लाग्छ त नि मलाई उनीहरूको अनुभवको । उनीहरूको उच्च अनुभवबाट आर्जित ज्ञान र सिपको मधुरस पिउन पाए आफ्ना व्यवहारहरूलाई अभैm परिष्कृत बनाउन सक्थेँ जस्तो लाग्छ । त्यस्तो हुन सके विवेक र बुद्धिमा सान लाग्न सक्थ्यो कि । अज्ञानताको कालो बादल अलि पर हटेर जान्थ्यो कि !
मेरा लागि विशाल वटवृक्ष समान हुन् वृद्धवृद्धाहरू । तिनको शीतल छायामा उभिन पाउँदा आनन्द र शान्ति प्राप्त हुन्छ मलाई । उनीहरूका हरेक शब्द मेरा लागि मार्गदर्शक हुन पुग्छन् । प्रत्येक वाणीमा आशीर्वादको न्यानो सुगन्ध अनुभूत गर्छु म । त्यसैले त वृद्धवृद्धाहरूलाई देख्नेबित्तिकै अन्तर्हृदयदेखि नै मर्यादा र स्नेहले शिर झुक्छ मेरो । उनीहरूप्रति आस्थाको सगरमाथा अग्लिरहन्छ दिलमा । पाउमा सदा श्रद्धाको पाती चढाइरहन मन लाग्छ मलाई । मेरो हृदयका पूज्य प्रतिमूर्ति हुन् उनीहरू । ती प्रतिमूर्तिको संस्मरण मात्रले पनि शक्ति र श्रद्धाभाव सञ्चारित हुन्छ ममा । म आँफु ढकमक्क फुलेको गुलाफ जस्तो अनुभव गर्न पुग्छु ।
आश्रमका वृद्धवृद्धाहरूको भावभङ्गिमाभित्र मैले आफ्नै मातापिताका स्पष्ट छायाछवि देखेँ । उहाँहरुको आदर्श तस्बिर अगाडि उभिए जस्तो लाग्यो । मातापितासँगका अन्तिम दिनहरूका दृश्यहरू मेरो आँखामा नाच्न थाले । त्रियासी वर्ष जिउनुभएका पिताजीको वृद्धावस्था सामान्य नै थियो तर चौरासीमा बित्नुभन्दा चार वर्ष पहिलेदेखि डिमेन्सियाले थला पा¥यो आमालाई । स्मरण शक्तिले काम गर्न छाड्यो । अबोध बालिका जस्तै हुनुभयो ।
अन्तिम अवस्थासम्म पनि एउटै छानामुनि उहाँहरूको आत्मीय अँगालोमा बाँधिइरहने मौका मिल्यो, साथ पाइरह्यौँ । उहाँहरूकै प्रत्यक्ष संरक्षकत्वमा र उहाँहरूकै काखमा निरन्तर लडिबुडी गर्ने सौभाग्य पायाँै हामी बुढाबुढीले । आफ्नो जीवनको थोरै अंश वृद्ध पितामाताको सेवामा अर्पण गर्ने अनुकूल समय मिलेको सम्झनाले दिल मुस्कुराउँछ मेरो, अन्तरात्मा उज्यालो हुन्छ । अशक्त अवस्थामा प्रत्यक्ष टहलचाकडी, सेवासुश्रूषा र स्याहारसम्भार गर्ने पवित्र अवसर जुरेकोमा गौरव अनुभव मात्र गरेको छैनँ मैले, जन्मनुको एक मात्र सार्थकता पनि ठानेको छु । उहाँहरूको पन्ध्रौँ तथा अन्तिम सन्तान हुन पाएकोमा गरिमायुक्त भावको मुस्कुराहटले हृदय उज्यालो भइरहेछ मेरो ।
अलिकति आफ्नै पारिवारिक पुस्तकका पानाहरू पल्टाउन मन लाग्यो मलाई । लगातार आठ वटी पुत्रीहरू जन्मँदासम्म पनि पुत्र जन्माउने चाहना समाप्त भएन मातापिताको तर क्रूर समयले थप्पड हानिरह्यो पितामातालाई । तथापि उहाँहरूको गहिरो तृष्णा र अटल विश्वासउपर अविवेकी समयको जोर चलेन । अन्ततोगत्वा निष्ठुरी समयले हार खायो र चार पुत्रहरू जन्मिन करै लाग्यो ।
कति महाभारत प¥यो होला सन्तान हुर्काउन उहाँहरूलाई ? आकासैले थिचिए भैmँ भयो होला । गाह्रो र अप्ठेरो दुवै निरन्तर फेर्ने सास सरह भए होलान् । कर्णले दुर्योधनलाई छाड्न नसके जस्तै दुख र समस्याले उहाँहरूलाई छाडेनन् होला । ती दिनहरूको कल्पना मात्रले पनि म निसासिन्छु, अत्तालिन्छु र त्यो अतीतको स्थिति श्रुतिअनुभूतिले मलाई घोक्त्र्mयाइरहे भैmँ लाग्छ । ङ्याकिरहे भैmँ लाग्छ ।
पितामातालाई तेल मालिस गर्दा होस् वा नुहाइधुवाइ गराएर भोजन खुवाउँदा होस् अथवा मलमूत्र व्यवस्थापन गर्दा होस्, ती सुअवसरलाई हामी श्रीमान्श्रीमतीले महातीर्थस्थलको परिक्रमा रूपमा लिएका छौँ । त्यस कार्यमा संलग्न हाम्रा बाहुहरूमा हर्दम उहाँहरूकै सुगन्ध प्रवाहित भैरहेछ । बाँच्नुको प्रेरणा स्रोतका रूपमा त्यही सुगन्धलाई लिइरहेका छौँ हामीले । मेरा ती कर्मको सम्पूर्ण श्रेय तिनै आमालाई जान्छ जसको सहस्र धारा दुधको पोषणबाट त्यो सेवा सम्भव भएको थियो । आखिर उनकै शरीरबाट छुट्टिएको एक अङ्ग नै हँु म । त्यसको सम्पूर्ण जस उनै बाबुआमालाई जान्छ जसको बिज र डिम्ब मिलनको एउटा सानो अंश हुँ, प्रतिफल हँु म ।
मातापिताका अन्तिम सासमा जलबुँदले मुख सिञ्चन गर्दा ममा उर्लिएको पीडा र वेदनामय भावना अवर्णनीय थिए । हाल सम्झिल्याउँदा आँखाबाट अनायासै आँसुका थोपा तप्किन्छन् र लेखिरहेको नोटमा पर्छन् । आँसुले नोटबुकका अक्षरहरू जसरी फुलेर मधुरा बनेका छन् त्यसै गरी मेरो हृदय व्यथित भएर धमिलिएको छ ।
म मेरा हर भूमिकाहरूमा मातापिता खोज्न थाल्छु । दःुखबाट उन्मुक्तिका लागि होस् वा सुखको उत्सवमा । प्रथमतः म उहाँहरूलाई नै स्मरण गर्न पुग्छु । भौतिक रूपले उहाँहरू हुनुहुन्न मसँग । त्यसैले टुहुरो र अनाथ भएको छु तथापि भावनात्मक रूपले त्यस्तो ठान्दिनँ म । मेरो हृदयका धमनीहरूमा हर्दम स्पन्दित हुनुहुन्छ उहाँहरू ।
यो संसारमा आमाबाबुभन्दा महान्, उच्च र सम्मानित कसैलाई देख्दैन मेरो मन । अझ आमा शब्दको महिमाको गहिराइ झन् अनन्त छ, व्यापक छ । अलिकति यो शब्दसँग खेल्न मात्र होइन, यसै मेसोमा थोरै पूजा गर्नु कर्तव्य सम्झेँ मैले ।
आमा शब्द यति वन्दनीय, गरिमामय र हृदयस्पर्शी छ कि महान् साहित्यिक स्रष्टाले पनि यसको बहुआयामिकतालाई भाषामा समेट्ने सामथ्र्य राख्दैन । हरेकको हृदयमा हुने मातृभावको भावनात्मक वर्चस्व र उचाइलाई यथार्थ मापन गरी हुबहु उतार्न सक्ने शक्ति संसारको कुनै कलममा पनि छैन भन्ने मेरो ठहर छ । आमा यस्तो बिम्व, प्रतीक र चरित्र हो जसको माया र महानतालाई लिपिको त कुरै छाडौँ, ध्वनि वा सङ्केत तथा शारीरिक अभिव्यक्तिबाट समेत पूर्ण परिभाषित गर्न सकिँदैन । आमा शब्दले समेट्ने स्नेह, ममता र कर्तव्य आदिको कुनै परिधि नै छैन । यसको गाम्भीर्य, ओज र आयतन यति व्यापक छ कि लाग्छ यो ब्रह्माण्डभन्दा ठुलो र फराकिलो छ । संसारमा कुनै त्यस्तो वस्तु नै छैन जसको तुलना आमासँग हुन सकोस् । अतुलनीय छन् आमा । त्यसैले जसले आमा बुझेको छ त्यसले शब्दबाट पूर्णब्याख्या गर्ने धृष्टता नै गर्दैन र जो तम्सन्छ उसले आमाको गरिमा बुझेकै छैन ।
निचोडमा मेरो हृदय निःसङ्कोच हर्दम गुन्गुनाइरहन्छ— ‘वास्तवमा मानिसको काल्पनिक तथा अदृश्य भगवानभन्दा उच्च छिन् आमा । भन्न सकिन्छ यथार्थमा भगवान नै आमा हुन्’ । यसै प्रसङ्गमा संसारका सम्पूर्ण आमाहरूको पाउमा श्रद्धाको पुष्प अर्पण गर्दै सम्मान प्रकट गर्न चाहन्छ मरो मन । अर्कोतर्पm यस्ता गरिमामय आमाबाबुप्रति कर्तव्य निर्वाह नगर्ने सन्तानलाई धिक्कार्न मन लाग्छ । अहो ! म त आफ्नै गन्थनमा पो बहकिन पुगेछु ।
अमेरिकीहरूको औसत आयु क्रमशः बढ्दै जानाले प्रौढ नागरिकको सङ्ख्या यसै त बढ्दो छ, त्यसमाथि झन् ‘बेबी वुमर’को कारणले त्यो सङ्ख्या ह्वात्तै थपिन जाँदो छ । दोस्रो विश्वयुद्धपछि सन् १९६४ सम्ममा युरोपका केही देशहरू तथा विशेषतः अमेरिकामा बच्चा जन्मदर ह्वात्तै बढेकाले त्यस अवस्थालाई बेबी वुमर भनिएको हो । सो अवधिमा जन्मिएकाहरू अब वृद्ध हुँदै जाने क्रम सुरु भएको छ ।
एकातर्फ यसरी वृद्धवृद्धाहरू बढ्नाले कामबाट निवृत्त हुने वा बसी बसी खानेहरूको खङ्ख्या अकासिँदो छ भने अर्कोतर्फ श्रमिकको अभाववृद्धि हुन जाने छ । अमेरिकी आर्थिक तथा सामाजिक परिवेशलाई यसले ठुलो प्रभाव पार्ने निश्चितै छ । त्यसैले होला, वृद्धाश्रम र नर्सिङ होमको सङ्ख्या अत्यधिक थप गर्नुपर्ने अवस्थादेखि वृद्धवृद्धा सम्बन्धी विषयवस्तु तथा सामग्रीको उद्योग स्थापनामा विस्तार भैरहेको तथ्याङ्क बाहिर आइरहेका पाइन्छन् ।
मैले वृद्धाश्रमको अवलोकन गरिरहँद त्यहाँ कार्यरत कर्मचारीहरू वा सेवाप्रदायकहरू अनुशासित, रसिला र सरल देखिन्थे । उनीहरू कर्तव्यनिष्ठ थिए । तालिमप्राप्त थिए । हृदयदेखि नै सेवा गर्थे । अलिकति तलमाथि हुनेबित्तिकै जागिरबाट अनिवार्य हात धुनुपर्ने कडा निगरानीले पनि होला, उनीहरू हरदम सजग र सतर्क देखिन्थे । कर्मचारी वा सेवाप्रदायकको छनांंैट गर्दा मानवता, प्रेम र सेवाभावलाई प्राथमिकता दिइँदो रहेछ । यस्तै भावनाले ओतप्रोत भएका स्वयंसेवकहरू पोसिलो सेवा पस्कँदा रहेछन् वृद्धवृद्धाहरूमा ।
आश्रममा तोकिएको मापदण्डबमोजिम व्यवस्था भएको छ कि छैन भनेर बारम्बारको सरकारी निगरानी हुँदो रहेछ । यस्तो निगरानीले ज्यादै ठुलो प्रभाव पार्दो रहेछ । त्यसैले आफ्नो सन्तान सेवाको तुलनामा वृद्धाश्रमबाट बुढाबुढीप्रति गरिएका स्नेह, श्रद्धा र सद्भावनाहरू बिलिनो, खल्लो, निस्लो, पातलो, स्वाँगे, चेपारे अनि अपुग हुन्छ कि भनी शङ्का गरिहाल्नुपर्ने रहेनछ । बरु सेवा भावना, कर्तव्यबोध र मानवता प्रेमको अद्वितीय नमुना प्रस्तुत भए जस्तो लाग्यो मलाई ।
हामी वृद्धाश्रमकै सेरोफेरोभित्रको एउटा बेन्चमा बसिरहेथ्याँै । दुई वटा स्वचालित ह्विलचियर सररर गुडाउँदै एक जोडी वृद्धवृद्धा हामीनजिकको अर्को बेन्चमा बस्न आइपुगे । अन्दाजी ८५÷८६ वर्षजति देखिने यिनका फुल्न बाँकी केश थिएनन् । बुढ्यौलीले शरीरलाई पुरै गाँजिसकेको देखिन्थ्यो । सल्काइला शरीर, भरोस लाग्दा व्यक्तित्व । तर रोगले गालेर नै होला सायद, आफ्नै आश्रमको वरिपरि पनि ह्विलचियरको सहारामा घुमेका ।
मेरो मन यी दुईको अतीत खोतल्न उद्यत हुन्छ । यी जोडीको विवाहपूर्वको ‘डेटिङ’को कल्पना गर्छु । कतिऔँ डेटिङपछि सँगै बस्न थाले होलान् र कहिले विवाह गरे होलान् ? यी दुईको पहिलो र अन्तिम विवाह यो नै होला कि वा कतिऔँ डिभोर्सपछिको विवाह होला यो ? हाल त यति राम्रा र उज्याला देखिन्छन् भने उमेरमा कति सुन्दर थिए होलान् ?
मानिसको जीवन पनि अचम्म लाग्दो छ हकि ? के मस्त यौवनमा यस्तो अवस्थाको कल्पना गर्थे होलान् ? जीवन र जगत्प्रतिको बुझाइ कस्तो थियो होला यिनको ? जीवनको उत्तरार्धमा आइपुग्दा मृत्युप्रतिको त्रास कम हुँदै जाँदो हो वा बढ्दै जाँदो हो ? यी दुईलाई देखुन्जेल यस्तै यस्तै कल्पनाले घर गरिरह्यो मनमा । दुवैका हात कामिरहेका थिए । पार्किन्सनले गाँजेको होला सायद । म यस्तै सोच्दै थिएँ, ह्विलचियरबाट झरेर हामीनजिकैको बेन्चमा बस्न आइपुगे उनीहरू । उनीहरूको भलाकुसारी सुनिरह्यौँ हामीले । एउटै प्रश्न छिन छिनमा सोधिरहने बुढीको अवस्था देख्दा डिमेन्सियाले पनि छोप्दै ल्याएको जस्तो लाग्यो ।
भौतिक रूपमा त यिनीहरूलाई सन्तोष भएकै देखियो तर परिवारसँग बिछोड भई यसरी बस्नुपर्दाको मानसिक तनावले कत्तिको निचोरेको होला भन्ने जिज्ञासा मनमा उठिरह्यो । हाम्रो पूर्वीय समाजको जस्तो तिनचार पुस्ता एउटै संयुक्त परिवारमा बस्न नपाउँदाको असन्तुष्टि पनि होला कि ? नाति–नातिना खेलाउँदै सन्तान सुखको पराकाष्ठामा डुबुल्की मार्न नपाउँदाको नमिठास कति होला वा नहोला ? ‘सन्तानको काख अरूको लाख’ उखानको मर्मविपरीत आफ्नै सन्तानहरूको प्रत्यक्ष टहल, चाकडी अनि सेवा–सुश्रूषामा रम्न नपाउँदाको अनुभूति कस्तो होला ? यी र यस्तै प्रश्नहरूको उचित उत्तर प्राप्त गर्ने अभिलाषाले मलाई सधैँँ अँगालो हालिरहन्थ्यो ।
समाजको बनोट, सामाजिक धारणा अनि मान्यता आ–आफ्नो सभ्यता र संस्कारअनुसार स्थापित भएका हुन्छन् । पूर्वीय समाजको चलन, चाँजो र सभ्यतासँगै अमेरिकी संस्कार र संस्कृतिलाई जोडेर सोहीअनुसारका नतिजाको कल्पना गर्नु व्यर्थको विश्लेषण हुन जान्छ ।
अमेरिकी जीवन पद्धतिलाई यसो बुझौँत— सामान्यतया १२÷१४ वर्षको उमेरदेखि जीवन साथीको प्रारम्भिक खोजीअन्तर्गत ‘डेटिङ’मा सम्मिलित भई १८÷१९ वर्ष पुगेपछि केटा वा केटीसाथी लिई आफ्नै व्यवस्थापनमा बेग्लै घरसंसार बसाउनुपर्ने र त्यसो गर्न नसक्नेलाई हुतिहाराको अलिखित पगरी गुथाइदिने समाजमा हजुरबा र नातिको संयुक्त बसाइको कोरा कल्पना कहिले साकार हुने ?
एउटा बाबु वा आमालाई सन्तानको प्रत्यक्ष सेवा, टहल–चाकडीबेगर छोरानातिसँगको बिछोडमा वृद्धाश्रममा बस्नुपर्दा हामी पूर्वीय समाजकाले कल्पना गरे जस्तो पीडादायी अनुभूति रत्तिभर यस अर्थमा नहुन सक्छ कि उनीहरूबाट पनि तन्नेरी हुँदा आफ्ना बाबुआमाप्रति यस्तै व्यवहार भएको थियो ।
यो परिपाटी त कुनै एक व्यक्तिको चाहनाबाट मात्र सृजित नभई संस्कार, परम्परा र पद्धति भइसक्यो । हामी एउटा कुनै धर्मावलम्बीलाई अर्को धर्मावलम्बीहरूको पर्व नमनाउँदाको जसरी खल्लो अनुभूति हुँदैन त्यसैगरी अमेरिकी प्रौढहरूमा माथिका प्रश्नहरूको पूर्वीय समाजअनुकूलको जवाफ नहुँदैमा उनीहरू दुःखी छन्, पीडित छन्, परिवारबाट अपहेलित छन् भन्ने निष्कर्ष निकाल्न मिल्दैन भन्ने कुरा अमेरिकी समाजको सामान्य अवलोकन र प्रौढहरूको मनोविज्ञान बुझ्दा मैले अनुभव गरेँ ।
वास्तवमा वृद्धवृद्धाहरूको यस किसिमको सामूहिक बसाइ बहुपक्षीय हिसाबले लाभदायक र उपयोगी देखँे मैले । एक त समवयका अवकाशप्राप्त व्यक्तिहरूसँग सामूहिक रूपमा दिन बिताउन पाउँदा वृद्धवृद्धा सुखी र खुसी हुने । दोस्रो, व्यक्तिगत घरमा भन्दा सोही प्रयोजनार्थ स्थापित संस्थाहरूसँग जीवन यापनका विविध साधनस्रोत र उपयुक्त सामग्रीको पर्याप्तता हुने हुँदा त्यसको भरपुर उपभोग गर्न पाउने । अर्को घर घरमा प्रतिबुढाबुढी हेरालुको व्यवस्थामा लाग्न जाने श्रमभन्दा सामूहिक बसाइको व्यवस्थापनमा लाग्न जाने मानवीय श्रम न्यून भए पुग्ने । यसरी बचत हुन गएको श्रमशक्तिलाई देश निर्माणमा उपयोग गरेको देखियो अमेरिकाले ।
वृद्धाश्रमको मुख्य प्रवेशद्वारबाट छिर्नेबित्तिकै सूचना बोर्डमा ‘आज यो हलमा यो राज्यको प्रख्यात सङ्गीतज्ञ तथा गायकहरूबाट वृद्धवृद्धाको आमोदप्रमोदका लागि दुई घन्टाको कार्यक्रम प्रस्तुत हुने छ’ भन्ने सूचना देखेँ मैले । यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विविध प्रस्तुतिहरूको अवलोकनका कारण उनीहरू ज्यादै खुसी देखिन्थे ।
उच्च स्तरको स्वस्थकर सन्तुलित भोजन र उचित विश्राम, आवश्यक टहल–चाकडी अनि सेवा–सुश्रूषाको आदरपूर्ण व्यवस्थापनमा अमेरिकी वृद्धवृद्धाहरूले जीवन यापन गरेको अनुभूति गरेँ मैले । अर्कोतर्फ आ–आफ्नो देशको परम्परा, संस्कृति र संस्कारले निर्देशित पृष्ठभूमिमा रहेर नै सन्तानहरूले पितामाता तथा प्रौढ नागरिकहरूप्रति व्यवहार गरेका हुन्छन् । अन्य कोही कसैसँगको सामाजिक व्यवहार नमिल्दैमा सन्तानहरू कर्तव्यबाट च्युत भएका वा बुढाबुढीले दुःख पाएका भनिहाल्न मिल्छ जस्तो लाग्दैन मलाई ।
अस्तु ।
—राजेन्द्रप्रसाद अर्याल
मे २०१२
हाल – म्याडिसन, विस्कन्सिन,अमेरिका ।
aryalrajendra3@gmail.com
(स्रोत : रचनाकार स्वयंले पठाउनुभएको । )