कथा : बखतेले आमा मार्‍यो

~उपेन्द्र सुब्बा~Upendra Subba_1

‘बखते लखपति भयो रे’ भन्ने कुरा पहिलोचोटि गाउँले कसैले पत्याएन। तर एक दिनमै सबै गाउँलेको कानसम्म हल्ला पुग्यो।’ठूलो सहरमा ठूलो अवसर, वर्ष दिनमै करोडपति, छिनमा फेरि रोडपति’ बखते लखपति भयो होला भनेर पत्याउने पहिलो मान्छे देवेन्द्र सर भए।

देवेन्द्र सर गाउँको प्रावि मास्टर। उनले भनेपछि मान्छेले अलिलिक हो कि जस्तो माने।महिना नबित्दै थप हल्ला आयो ‘कहाँ लखपति मात्र हो र ? करोडपति भएको छ रे। घर, गाडी, नोकरचाकरसँग पो बस्छ रे काठमाण्डूमा । बिहे गरेर, एउटा छोरा पनि छ रे।’

दस वर्षसम्म गुमनाम कोही कसैको सोधखोज, चासोभन्दा परको बखतेले गाउँमा राम्रै चर्चा पायो । कोचाहिँ नजिकको नातेदार, कोभन्दा को नजिकको साथी भन्ने होडबाजी नै चल्यो।

सबभन्दा अगाडि बखतेको कान्छा बाजे लालसिं देखा पर्‍यो। डम्म खाँडीको फेटा कुँथेको, पटुकीमा तेस्र्रो खुकुरी भिरेको, चिउँडोको दुईचार दाह्री मुसार्दै दोहोर्‍याई तेहर्‍याई गाउँमा एउटै कुरा गरी हिँड्थ्यो, ‘मैले नाम राखिदिएको बखते।

३० सालमा मन्त्री पद्मसुन्दर लावतीले हाम्रो छरवाँखोला जबरजस्ती खानेपानी लग्यो यासकमा। हाम्ले विरोध गर्‍यौं। विरोध गर्ने सप्पैलाई चन्द्रगढी जेल चलान गर्‍यो। हँ, त्यो बखत मेरो नाति जन्मेको भएर मैले बखते नाम राखिदिएको हुँ।’

लालसिंको कुरा पत्याउने कोही भएनन्। तर बूढोमान्छेको अगाडि कसैले मुख खोलेनन्। बूढोको कुरामा गाउँलेले मुसमुस हाँसिदिए । यतिमा ऊ मक्ख पर्थ्‍यो। कुरा खत्मा गएर हाँस्नु एउटा कुरा, कुरीकुरी हुँदा पनि मान्छे हाँस्छ भन्ने कुरा बूढोले फुमै राखेन।

बखतेको बडिआमा पनि कम थिइनँ। कपाल सेतै फुलेकी, गोलो अनुहार, सानो चिउँडो, मुन्द्री झुन्डिनलाई मात्र पुग्दो नाक। त्यही सानो नाकको प्वालमा चोर औला घुसाएर सिँगानको पाप्रा उप्काउँदै, फाल्दै घर आउने हरेक मान्छेलाई बखतेको जन्मेको कथा सुनाउने गर्थिन्, ‘त्यसको आमाको पेटदेखि मैले तानी झारेको।

बज्याको टाउको आउनुपर्नेमा खुट्टा अघि लाएर मरेछ। म नभाको भा, आमाछोरा दुवै मर्थे।’कुरा सही थियो र उनको कुरामा भने गाउँले कोही हाँसेनन्।

गाउँलेसँग पनि बखतेसँग सम्बन्धित थुप्रै किस्सा थिए। सुनाउँन सब हतारमा हुन्थे तर जोकोहीको कुरा सुनिदिने धैर्य गाउँलेमा पिट्टिकै थिएन ।

बखतेको बाउ बैदारे। बैदार जागिर खाएर बैदारे भनिएको भने होइन। भारतीय सेनाका हवल्दार पेन्सनर, हर्कबहादुरकोमा गोठला बस्दा कमाएको नाम हो । हल्दारेको गोठालो बैदारे।

हल्दार हर्कबहादुर साइनोले दाजु पर्थ्‍यो। हल्दार हर्कबहादुरका पाँच बहिनी छोरीमात्र थिए। वंशको लागि भनेर जेठी हुँदै उनले झन्डै बीस वर्ष कान्छी आफ्नै भदैनी बिहे गर्‍यो। भदैनी भित्र्याएको महिना दिन नपुग्दै हल्दार हर्कबहादुर स्वर्गवासी भए।

भदैनीबाट कुनै जायजन्म भएन। केहीपछि उनी माइत फर्किन् । माइत फर्केको दोस्रो सालमा गाउँलेले वसाँगु मेलाबाट जबरजस्ती बैदारेकोमा तानी ल्याए। यसरी, हल्दानी कान्छी बैदारनी भइन्।

हल्दारनीलाई बैदारनी बनाउन कल्ले पाखुरामा समायो, कल्ले छातीमा लात्ती खायो, कल्ले साडी सम्हाल्यो, बा, कल्ले कति दुःख गर्‍यो, आदिको पनि खुब कुरा भयो।

बखतेलाई गाउँमा ‘सार्की’ पनि भन्थे। सार्की कान्छाको छोरा । बखतेको दुई दाजु र दुई दिदी जन्मेका हुन् तर सानोमै खसे । यो पनि मर्छ कि भन्ने डरले सार्की कान्छाले जन्माएको बनाए।

सुत्केरी खान्की खानेमा माङ्धाने कान्छा पनि एक थिए। उ बेलाको नाटकीय घटना बडो रोचक ढंगले माङ्धाने कान्छा सुुनाउँथ्यो, ‘म चैं सुुँडेनी भएको थिएँ, हकि ! हाम्रो सार्की कान्छा चैं टाँडमाथि बेथाले छटपट्टिरहेको है, बखते चैं भकारीमा थियो।

अब जन्मने बेला भयो है भनेपछि भकारीमुनि दुलोबाट झार्नुपर्ने। तल थाप्ने चैं सिमसारे। मुलाङ सिमासारेले राम्रो थापेनछ नानी त भुुइँमा प्यात्तै झ¥यो हाओ, मरो होला भनेको धन्न केही भएन। त्यसपछि, सुत्केरी खान्की खाइयो।

एक घ्याम्पा कोदाको जाँड, एउटा खसी, तीन पाथी चामल हाओ, खाई सिध्याउन पूरा तीन दिन लाग्यो।’ यति भनेर अन्तिममा जहिले माङ्धाने कान्छा थुुक घुटुक्क निल्थ्यो।

जे होस्, बखते करोडपति भएकोमा गाउँलेहरू खुसी थिए। उप्रति गर्व गर्थे । ‘वारिपारि गाउँमा को छ करोडपति ? हाम्रो गाउँमा बखते छ ।’ फुुर्सदमा यस्तै गफ लाउँथे।

‘बखते गाउँ आउँदै छ रे’ भन्ने अर्को हल्ला चल्यो। गाउँलेहरू खुसीले पागल भए। गाउँलेहरू त्यो रात सुुत्न सकेनन् । घरघरमा बखतेको कुुरा गरेर उज्यालो पारे।

करोडपति बखते गाउँ आउँदैछ भनेपछि गाउँले छोरीचेलीहरूले थोक्ला तयार पारे। कसैले लामिबा तयार पारे, कसैले भात्ती पकाए, कसैले भाले र कटुुवा रक्सी पारे । छोरीचेली सबैले बखतेसँग एक तोला सुन आशा गरे।

‘करोडपति बखतेको लागि नाथे एक तोला सुन के हो र?’ यस्तै सोचे ।
कान्छाबाजे लालसिंले झन भुइँ हेरेर हिँड्नै बिर्सियो। एक्लै हुँदा पनि हाँस्दै, के के बोल्दै हिँड्थ्यो।

‘अब, करोडपति नाति गाउँ आउँदै छ, कोट ल्याइदिने हो कि जुत्ता ल्याइदिने हो, घडी त नल्याइदिए हुन्थ्यो, आफ्नो त समय सकिइसक्यो, घडीको के काम ? ‘बाटोमा भेटेकालाई पनि एकछिन रोकेर मनको कुरा सुनाउँथ्यो।

‘जीवनमा एउटा मखमलको चोलो नलाई मर्ने भएँ। बज्याले ल्याइदिए त मर्दा स्वार्ग जान्थेँ।’ बडीआमाले खासै ठूलो आश गरेको थिएन।

घाँसदाउरा गर्दा कटुसको पातमा लामपाते सुर्ती बेरेर खाने बालसखीहरू पुरानो दिन याद गर्दै चुरोट ल्याउँछ र खाऊँला भन्ने भन्ने आशमा थिए। एउटै तरुनीको दुईतिर हात समाएर रातभर पालम गाउने दौंतरीहरू पुसेमेलाको जाडो सम्झँदै देशी रम ल्याउँछ र खाऊँला भन्ने ताकमा थिए।

यस्तै आशमा गाउँलेले आफ्नो आँखा बाटोमा बिछ्याएर बखतेलाई पर्खे। बखते आउने दिन निधो थिएन। नत्र गाउँलेले स्वागत गेट बनाउने सल्लाह पनि गरेका हुन्। नौमती बाजाले स्वागत गर्ने भन्ने पनि कुरो चलेको थियो।

यी सब गर्न नसके पनि गाउँलेले मिलेर बखतेको पुरानो घर लिप्पोत गरे। उनको आँगन, घर वरपर सरसफाइ गरे।बखते सानो छँदा नै बैदारे मास छर्न गएका हुन् । घरमा बैदारनी एक्लै बस्थिन्।

त्यसो त बैदारनीको साथी दुई माउ कुखुरा थिए। छोरोजस्तो पालेको एउटा कुकुर पनि थियो। र, सालले सत्तरी पुगेकी बैदारनी पनि बखते घर आउने खबरले खुसी थिइन्।

फरक यति थियो, गाउँलेमा खुुसीसँगै हाँसो थियो, उनको खुसीसँग आँसु थियो। गाउँलेले जस्तो उनले छोरोले केही ल्याइदेलान् भन्ने आश राखेकी थिइन्। मात्र एउटा प्रार्थना थियो, ‘छोरा घर आएको बेला फ्याट्ट सास जावोस् र छोराको हातबाट यही गाउँमा आफ्नो सतगत होस्।’

गाउँलेको पर्खाइको बाह्रौं दिन।संकटकालमा माओवादीले जबरजस्ती गाउँलेलाई श्रमदान गराएर खनेको बाटो हुँदै एउटा रातो जिप धूलो उडाउँदै आयो। गाउँलेहरू बखतेको स्वागतमा बाटो तलमाथि लाइन बनाएर उभिए।

बखतेको सवारी राजाको जस्तो भयो। मात्र गाउँलेको हातमा फूल थिएन, जयजयकारको नारा थिएन। बखतेको गाडी रोकिएन, अगाडि बढ्यो । गाडीको पछिपछि धूलो खाँदै गाउँले पनि दगुरे। लालसिंको घरछेउ पुगेर गाडी थामियो।

गाडीबाट बखते उत्रियो। नीलो जिन्स पेन्ट, कालो टि-सर्ट, कालो चस्मा लाएको बखतेलाई कान्छाबाजेले झन्डै नचिनेको। ‘के छ बाजे’ भनी बखतेले सोधेपछि मात्र स्वरबाट चिन्यो।

‘बाउबाजेको आशीर्वादले राम्रै छुङ’ लालसिं नातिले ढोग्लान् भनी जोर खुट्टा बनाउँदै बाटोमा उभियो। केही नबोली, बाजेलाई पनि नढोगी बखते भीडबाट पन्छिँदै आफ्नो घरतिर लाग्यो। मानसिंले पनि चित दुखाएन । बरु आफ्नो सानो सोचसँग सरम लाग्यो, ‘साइनोले पो नाति होला त, करोडपतिले पनि मान्छे ढोग्छ? ‘

बखतेको घरमा रमिता लाग्यो। आँगन पिँढी सब मान्छेले भरियो। बखते पिँढीमा सेतो रुमाल ओछ्याएर उप्परखुट्टी लाएर बसेको थियो। उसको छेउ उभिने, बोल्ने गाउँले कोहीले आँट गरेनन्।

गाउँले सब बखतेको रवाफसँग डराए। आपसमा मात्र खासखुस कुरा गरिरहेका थिए। केटाकेटी बच्चाहरूले बखतेलाई डरलाग्दो देखे। गाउँका भाउजू पर्नेहरूले बखतेलाई अघिको भन्दा झन् तन्नेरी देखे। दौँतेरीहरूलाई बखते अपरिचित लाग्यो।

त्यही बेला बडिआमा लौरो टेक्दै आइपुगिन्।’ए, बखते मलाई चिनिस्?’ बखतेको छेउ आउँदै बडीआमाले सोधिन्।
‘किन नचिन्नु, बडीआमा होइन ?’ भन्यो मात्र बडीआमालाई पनि बखतेले ढोगेन।

‘ए, चिनिस्, अनि मलाई मखमलको चोलो ल्याइदिइस् त?’ बखतेको छेउमा बस्दै सोधिन्।
‘के भन्छ यो बडी ! मैले कहिले ल्याइदिन्छु भन्या थिएँ?’ बखतेले यसै भन्यो।

‘थुक्क चाँठा ! ल्याइदिइनस् पो?’ बडिआमा बिस्तारै उठेर आफ्नो घर लागिन्।
बडस्आमा गएसँगै मान्छेको भीड पनि पातलिँदै गयो।


बिहान, बैदारनीको बिदाइमा गाउँले सप्पै रोए।
‘जान्न भनेको बखते मान्दैन।’ बर्कोको सप्कोले आँसु पुछ्दै बैदारनीले यतिमात्र बोल्न सकिन्।

‘हामी हेर्छुङ, तिम्रो आमालाई, नलैजा’ कान्छाबाजेले भनेको पनि हो।
‘ए, हामी जेठानी देवरानी साथीजस्तो, कति वर्षदेखि सँगै छुङ, कि मलाई पनि लैजा’, बडीआमाले भनिन्।

बखतेले कसैको कुरा सुनेन। आमाको कुम्लो कुटुरो जिपमा राख्यो र आमालाई गाडीमा चढायो । बैदारनीले आँखाभरि आँसु पारेर अन्तिम चोटि गाउँलेलाई हेरिन्।

आमाले छोडेर गएको बच्चाजस्तै गरी बडीआमा ग्वाँग्वाँ रोइन्। गाउँलेले पनि मन थाम्न सकेनन्, सबै रोए । बखतेको रातो जिप डाँडा काटेर गयो ।

बखते काठमाडौंमा थुप्रै धन्दा गथ्‍यो। उसको मुख्य व्यवसायचाहिँ जग्गा दलाली हो । त्यसो त, ऊ एउटा सहकारी संस्थाको अध्यक्ष पनि हो । केही महिना अघिसम्म उसको मेनपावर पनि थियो। मेनपावरचाहिँ बन्द गर्‍यो।

यो अवस्थासम्म आइपुग्न बखतेको कम संघर्ष छैन। सुरुको दुई वर्ष उसले खलाँसी काम गर्‍यो। ड्राइभर भएपछि एक वर्ष रोडाबालुुवा ओसा¥यो । काठमाडौं आएको चौथो वर्षमा बखतेको भाग्य खुल्यो। कुलबहादुरको ड्राइभर हुनु पायो।

कुलबहादुर ललितपुरको नामी जग्गा व्यापारी थियो। ऊबाट बखतेले जग्गा व्यापार सिक्यो र दुईचार पैसा कमाउन थाल्यो । तब बखते ड्राइभरमात्र रहेन। रहँदाबस्दा मालिककै छोरी आइलागी। त्योभन्दा पनि अर्को बम्पर खुसी के आइलाग्यो भने कुलबहादुरलाई लिभर क्यान्सर भयो।

कुलबहादुर हस्पिटलमा अन्तिम अवस्थामा थियो, बखतेले छोरीको हात माग्यो। कुलबहादुर बेहोश भएको फर्केन । यसरी बखतेले काठमाडौंमा घर, गाडी, स्वास्नी जोडेको थियो।

बैदारनीलाई सुरुका दिन त अत्यासै लाग्यो। थुप्रै रात सुत्न सकिनन्। सहरले मातेर अर्धबेहोश भइन्। अहिले त्यति गाह्रो लाग्दैन। सडक वारिपारि गर्नसक्ने भएकी थिइन्। तर गाउँको यादले सताउन छोडेन।

एकचोटि उनले छोरालाई गाउँ पुर्‍याइदेऊ भनी अनुरोध पनि गरेकी हुन् । बखते रिसायो, ‘चुपचाप बस्नु, राम्रो खानु देकै छ, लाउनु देकै छ। त्योभन्दा धेर के खोजेको?’

बैदारनीले छोरालाई ‘गाउँ जानुमात्र खोजेको’ भन्न सकिनन्।
तै, फेरि पनि भनाँंला भन्ने सोचेकी छन्। तर, छोरासँग घरमा कमै भेट हुन्छ। बखते बिहान सबेरै ब्याटमिन्टन खेल्न जान्छ।

आएर लगत्तै बाथरुम छिरिहाल्छ। त्यै बेला बैदारनी नातिलाई स्कुल पुर्‍याउन जानुपर्छ। नाति स्कुल पुर्‍याएर फर्किंदा बखते काममा निस्किसकेको हुन्छ। राति अबेर आउँछ, कहिले रक्सीले मातेर आइपुग्छ। बैदारनीले छोरासँग बात मार्ने मौका नै पाउँदिनन्।

बुहारीसँग कुरा गर्न धक लाग्छ। बुहारीसँग पनि समय थिएन । बिहान अबेर उठ्छिन्, दिउँसो तास खेल्न जान्छिन्। बेलुका आफ्नो कोठाबाट बाहिर निस्किने होइन।

रक्सी पानी सब कोठामा पुर्‍याइदिनुपर्ने । घरमा काम गर्ने एउटी केटी छे, कामबाट कहिल्यै फुर्सद पाउने होइनन्। बैदारनीको साथी यहाँ पनि सानो पप्पी छ।

उनलाई घरको कुकुरको साह्रै चिन्ता लाग्छ, गाउँलेले खान दिन्छ कि दिँदैन ? बेसहारा भयो होला विचरा ! आफ्नो कुकुरको यादमा दिनमा एक चोटि आँसु झारेकै हुन्छिन् ।

सदाझै त्यो दिन पनि बखते घरबाट अफिसका लागि हातारमा निस्क्यो। रिङरोड निस्किने मुखमा मान्छेहरू झुरुप्प उभिएका थिए। ‘के भयो’ भन्दै कोही भने दौडिँदै जाँदै थिए। बखतेले बाटो जाम हुनुअगावै निस्किने विचार गर्‍यो र गाडी अर्को बाटो मोड्यो।

नभन्दै एउटा मान्छे आएर बखतेको गाडी रोक्यो, ‘सर सर, एउटा गाडीले मान्छे हिर्काएर भाग्यो । घाइते सिरियस छ, पाटनसम्म सहयोग गर्दिनुुस्, प्लिज !’ त्यो मान्छेले हात जोडेर भन्यो।

जवाफमा बखतेले हरन बजायो। तैपनि छोडेन, अरू मान्छे पनि थपिँदै गए, बखतले जबरजस्ती पेलेर गाडी अगाडि लग्यो । मान्छेले बाटो छोडे, मौकामा बखतेले गाडी भगायो।

बखते आफ्नो अफिसको ढोकामा पुग्दा मोबाइलको घन्टी बज्यो। हेर्‍यो, श्रीमतीजीको रहेछ। फुर्सद हुँदा पनि बखते हतपत फोन रिसिभ गर्दैन। तेस्रो चौथो कल आएमात्र उठाउने गर्छ। बखते आफ्नो चेम्बरमा पुग्यो।

कोट फुकालेर ह्यांगरमा राख्यो र आरामले कुर्सीमा ढल्क्यो। मोबाइलको घन्टी बारम्बार बजिरहेकै थियो। बखते अल्छी मान्दै मोबाइल कानमा राखेर बोल्यो, ‘हेलो डार्लिङ, के हो?’

स्वास्नी फोनमा रुँदै चिच्याइन्, ‘गाडीले छोरालाई हान्यो रे, छिट्टो आउँनु न।’

‘के भन्छ यो, कहाँ हानेको?’ सारा अफिस थर्किने गरी बखते करायो।

‘रिङरोडको मुखैमा रे, छिट्टो आउन बाबा ! ऊँ ऊँ..’, डाँको छोडेर रुँदै स्वास्नीले भनिन्। बखतेको हातको मोबाइल भुइँमा खस्यो।

मर्छु बाँच्छु बिनाचिन्ता द्रूत गाडी हाँकेर बखते छिनमै हस्पिटल पुग्यो। छोरालाई सामान्य चोटपटकमात्र लागेछ। नर्सहरू मलमपट्टी लाउँदै थिए।

बखतेका सबै आफन्त छोराको रेखदेखमा थिए। इमर्जेन्सी वार्डको बाटोको एक साइडमा बैदारनीको लास बेवारिसे लडिरहेको थियो ।

गाउँमा फेरि हल्ला चल्यो, ‘बखतेले आमा मार्‍यो रे।’ सुनेर गाउँले स्तब्ध भए। .

२०७२ आस्विन २६ मंगलवार

(स्रोत : Annapurnapost)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.