~संजय~
१.
उसले ट्रक रोक्छ। बाहिरको कुहिरो देखेर उसलाई निस्कने मन छैन। न्यानो घाम लाग्दा पनि उसलाई यो ठाउँमा यस्तै हुन्थ्यो। ऊ पाइन्टको गोजी छाम्छ, ठाउँ-ठाउँबाट सुर्ती निस्कन खोज्दै गरेको चुरोट मात्र बाँकी छ। ऊ चुरोट सम्याउन थाल्छ। औंलाले चुरोटको शरीरलाई कसिरहेको हेर्दै उसका आखाँहरु टोलाउँछन्। उसलाई लाग्छ यो ठाउँमा अहिले हैन, कुनै पुरानो समयमा ऊ चुरोट सल्काउन खोज्दै बसिरहेको छ। त्यतिखेर बाहिर ठूलो पानी परेको हुनुपर्छ।
ट्रकको छेउबाट मोटरसाइकल बतासिँदै हराउँछ। ऊ अगाडिपट्टीको सिसा हेर्छ। शीतहरु टाँसिएर बसेका छन्, उसले वाइफर अन गरिदिन्छ; बाहिर अझै उस्तै कुहिरो छ, ऊ ढुक्क हुन्छ पानी परेको छैन।
ऊ ट्रकबाट बाहिर निस्कन्छ। सलाई कोर्छ, काँटी ओसिएका छन्। काँटी कोर्दै फाल्दै कोर्दै फाल्दै; बल्छ। बल्न नसकेका काँटीहरु सडकको ओसिएका पिचमाथि यताउता छुट्टिएर खसेका छन्। ऊ चुरोट तान्दै सडकबाट उकालो चढेको सानो बाटोतिर लाग्छ।
चुरोटको धुँवा कुहिरोसँग मिसिँदै कुहिरो भइरहेका छन्। बाटो रातभरिको चिसोले कक्रिएर बसेको छ। उसले थाहा पाउँछ यतिका वर्षहरुपछि पनि उसलाई यो बाटोको बानी परिसकेको रहेनछ। “यो बाटो हिन्ने म मात्र हुँ,” उसले सोच्छ। बाटो छेउका घाँसहरु शितले भिजेर अर्कै खालको हरियो भएको छ। यस्तो खालको हरियोलाई गाईबस्तुहरले पनि चिन्न सक्दैनन् रे, उसले कतै सुनेको थियो। घाँसका बुट्यान भएतिरबाट हिँड्न थाल्छ। घाँसको टुप्पोमा अड्किएका शितहरुले पाइन्टको फेद हुँदै मोजा नलगाएको गोडा भिजाएको ऊ महसुस गर्न सक्छ। ऊ अझै कुहिरो मात्र देख्छ, उसलाई थाहा छ अब केही पाइला मात्र हुन्, तर उसले कहिले भेटेन भने? खुसी हुनु पर्ने हो जस्तो लाग्छ उसलाई।
ऊ ढुक्क हुन्छ, आफैंले बगरमा लुकाएको पैसा धेरै दिनपछि भेटेजसरी। कुहिरोमा शिशाकलमले कोरेको जस्तो परिधि उसको पाइलाको गतिसँगै ढलानहरुमा तुवाँलो बगिरहेको एकतले घर बन्छ। ऊ रोकिन्छ। ऊ आज यहाँ नआई पनि हराउन सक्थ्यो। “तेल्ले देखि सकी,” उसले सोच्छ, “कि म सेतो मात्र देखिन्छु?” घरको कौसीमा एउटा ठुलो खिया लागेको साइनबोर्ड छ, साइनबोर्डमा लेखिएका कुराहरु लगभग मेटिइसके। उसलाई कण्ठ छ, धेरै पहिले त्यो साइनबोर्डले चुरोटको विज्ञापन गर्थ्यो। आजकल त त्यो कम्पनीको चुरोट बजारमा पाउन पनि छोडिसक्यो। “साहस” वा “यात्रा” ऊ नाम सम्झने प्रयास गर्छ, उसले पनि बिर्सन थालेछ। साइनबोर्डको कुनापट्टि एउटा मैलो पेटिकोट लत्रेको छ, खुइलेको रातो रंगको। साइनबोर्डको मुनि बन्द सटर छ। यो डाँडामा यो मात्र एक्लो घर हो। सुरुका दिनहरुमा उसलाई अचम्म लाग्थ्यो यस्तो भुतजस्तो डाँडामा सिमेन्टीको घर बनाउने मान्छेबारे सोच्दा। उसले कहिले थाहा पनि पाएन, अरु कसैलाई पनि थाहा थिएन होला, त्यो मान्छेको बारे। पहिले यो ठाउँ कहिले सुनसान हुँदैनथ्यो, त्यो सटरछेउको मधुरो निलो बल्ब सधैँ बलिरह्न्थ्यो। उसलाई अझै याद छ ऊ पहिलो चोटि यो ठाऊँ आएको दिन।
उसले परै सडकबाट त्यो साइनबोर्ड देखेको थियो। पहिलोचोटि साइनबोर्डका ती चित्र देख्दा नै उसलाई केही कुराको यादजस्तो झिल्को आएको थियो, बिर्सिएको पुरानो सपनाको झझल्को जस्तो। साइनबोर्डमा एउटा ठुलो अजङ्गको मान्छेको चित्र थियो। मान्छे धेरै कालो थियो, ऊ आफ्ना सबै दाँतहरु देखाएर हाँस्न खोज्दै थियो। मान्छेको पछाडि मधुरो हिमाल, हिमाल माथि उडिरहेको हेलिकप्टर। मान्छेले जिउमा केही लगाएको थिएन, तल ठाउँठाउँमा च्यातिएको आर्मी पाइन्ट, टाउकोमा पुलिसले लगाउनेजस्तो क्याप। उसको खुट्टाछेउ एउटी केटी घुँडा टेकेर आफ्नो हात केटा भएतिर बढाउन खोज्दै थिई, मान्छे केटीको हातको वास्ता नगरी चुरोट तान्दै थियो; “कि त्यो केटी केटासँगै उभिएकी थिई?” ऊ घर भएतिर अगाडि बढ्छ।
ऊ ढोका छेउ केहिबेर त्यसै उभिरहन्छ। उसलाई थाहा छ ढोकामा चुकुल लगाएको छैन। आफू आएको थाहा दिन उसले ढोकालाई केही बलले धक्का दिन्छ। ढोकाभित्र राखिएको टेबुलमा बेस्सरी ठोकिन्छ।
झ्यालछेउ आइमाई उभिएकी छे। “एस्लाई था’थ्यो म आउँछु भनेर”। टेबुल ठोक्किएको आवाज सुनेपछि आइमाई झ्याल छेउ राखिएको खाटमा बस्छे। ऊ कोठाभित्र केही पाइला बढ्छ।
“लुगा किन न ला?” धेरै दिनपछि बोल्न लागेको मान्छेजस्तो उसलाई आवाज निकाल्न गाह्रो हुन्छ।
“के भो एतिकै,” आइमाई उसलाई नहेरी बोल्छे। रातभरि ऊ कराउँदा पनि एक शब्द नसुनी बिहानभएको समय उसलाई याद छ, अहिले उसले आवाज त सुन्न पायो। आइमाईको आखाँले हेरिरहेको ठाउँ ऊ भेट्न खोज्छ। कोठामा भेटिनुपर्ने समान र अडिने ठाउँ उसले केही देख्दैन, उसको नजर झ्याल छेउको भित्ताको क्यालेण्डरमा पर्छ, सायद आइमाईले त्यही हेरिरहेकी छे। क्यालेण्डर नयाँ हो कि पुरानो ऊ झुक्किन्छ, यो वर्ष त उसले नयाँ ल्याएको याद छैन।
“अब देखि म आउँदिन,” उसले भन्छ।
आइमाई केही बोल्दिन, फेरि झ्याल छेउ गएर उभ्भिन्छे।
“याँ तलाई राति निद्रा लाउँछ?” उसले सोध्छ।
“किन?” आइमाई झ्यालको शितमा औलाले कोर्न थाल्छे।
“तेसै।”
“साँधिनेर बस पल्ट्यो रे त!” सपनाबाट बिउँझेको आवाजमा आइमाई बोल्छे।
“हँ?” उसले केहीबेर आइमाईको आवाज बुझ्दैन। “बस हैन जिप, टाटा सुमो।”
“अझै सम्म नि आइरँदा,” ऊ ढोकाछेउको टेबुलमा अडेस लाग्दै भन्छ, “मैले तँलाई बे गर्या भन्ठान्या होला हैन?”
आइमाई केही बोल्न खोज्छे। बोल्दिन।
“कति जना मरे रे?” आइमाईले सोध्छे।
ऊ आइमाईको अनुहार हेर्न खोज्छ, शितको थोपा हुँदै आएको मधुरो प्रकाशले आइमाईको अनुहारको एउटा भाग उज्यालो बनाएको छ। उज्यालो भागले उपट्टिको भागलाई धमिलो बनाउँछ।
“दुई-तिन जना होला।”
“बस पल्टेको भए धेरै मर्थे।”
“मैले आउँदिन नभनी नआको भए हुन्थ्यो। काठमान्डु गएर बस्, सानोतिनो बेपार गर्नु, म पैसा हाल्दिन्छु।
“के ?”आइमाई ऊ भएतिर फर्कन्छे।
“लुगा-सुगा,चाइनिज सामानहरु,सिजन हेरेर।”
आइमाई हाँसेजस्तो गर्छे मात्र।
“त्यो माथी केटी थी नि?” उसले सोध्छ, “साइनबोर्डको। त्यो उभिएकी थी कि लडेकी?”
आइमाईले केही बुझ्दिन।
२.
सडकको छेउ माइलस्टोनमा एउटी केटी बसिरहेकी छे। माइलस्टोनमा लेखिएको किलोमिटरहरु खुइलिसकेका छन्। उनी अगाडिको सडक हेर्छिन्, कुहिरोमात्र देखिन्छ। हिँडिसकेको सडक हेर्छिन्, कुहिरोमात्र। आँखाले उज्यालो ठम्याउन थालेदेखि नै उनी हिँडिरहेकी छिन्। उनी हिँडेको बाटोभरि कुनै बस गुडेका थिएनन्। केहीअघि, एउटा ट्रक अनि मोटरसाइकल उनी हुँदै गएको थियो। उनले हात हल्लाएकी थिइन्, रोकिएन।
कुहिरो पातलिँदै छ। उनी फेरि हिँड्न थाल्छिन्। पारिपट्टि डाँडाको टुप्पोमा हो कि जस्तो घामको टुक्रा-रेशा देखिन थाल्छ। बिस्तारै उनले सडकले हिँड्ने गरेको बाटो देख्न थाल्छिन्, कुहिरो बाक्लो हुँदा त उनलाई सपनामा हिँडेजस्तो लागेको थियो। जति हिँडे पनि सुरु गरेको ठाउँमै आए जस्तो। सडक दुईचोटि घुम्दै पर मोडमा पुगेर हराएको छ। “जब म त्याँ पुग्छु यो ठाउँ नि हराको जस्तो हुन्छ,” उनी सोच्छिन्।
त्यो मोडमा पुगेपछि पर अर्को मोडनिरको माइलस्टोन छेउ एउटा ट्रक रोकिएको उनले देख्छिन्। सानोमा बासँग मंगलटार जाँदा झ्यालको सिट पायो भने उनी टाढैदेखि त्यो सेतो ढुङ्गा पर्खिरहन्थिन्। बस ढुङ्गा छेउ भएर जान्थ्यो अनि अक्षरहरु प्रस्ट देखिन्थे: काठमाडौं किलोमिटर। अर्को ढुंगा आउथ्यो, काठमाडौं एक किलोमिटर घट्थ्यो। “एक किल्मिटर कति टाढा हुन्छ?” उनले बालाई सोधेकी थिइन्। बा सधैँ आफ्नै हिसाबमा व्यस्त हुन्थे। एकदिन, बस एउटा ढुङ्गा छेउ आइपुगेपछि एकबाट गन्न सुरु गरिन्। अर्को ढुङ्गा नआउँदै अंकहरु आफ्आफैं मिस्सिन्थे। उनलाई एउटा गीत पुरै आउँथ्यो त्यसबेला “पिपलुमा बाँधेकोको सम्झना…।” अर्को चोटि बस चड्दा सुरुको ढुङ्गा छेउ आइपुगेपछि उनले मनमनै त्यो गीत गाउन थालिन्। “…माया चुडाएर लग्नु” पुगेपछि बस अर्को ढुंगाछेउ आइपुग्यो। उनले थाहा पाइन् पिपलुमा बाधेकोको सम्झनादेखि माया चुडाएर लग्नु सम्म एक किलोमिटर हुँदोरैछ।
अहिले, उनलाई त्यो सम्झना याद छैन। त्यो गीत पनि याद छैन।
उनी ट्रकको ढोका ढक्ढकाउँछिन्, कुनै जवाफ आउँदैन। ट्रकको अगाडिपट्टी केही पर गएर ड्राईभर बस्ने ठाउँ हेर्न खोज्छिन्। अगाडिको शिशामा एकनासले वाईफर तल-माथि घुमिरहेको छ। घाम छिरेको शिशामा वाईफर आइनपुग्ने भागबाट भित्र हेर्नखोज्छिन्, खालि छ। उनी सडकको तल-माथिको बाटो हेर्छिन्। सडक मास्तिर केही टाढा रुखहरुले छेकेको घरको माथ्लो भाग उनले देख्छिन्। खिया परेकोजस्तो टिनलाई घामले टल्काउन खोजिरहेको छ। उनी ट्रकको अगाडिपट्टिको पाङ्ग्राछेउ गएर बस्छिन्। सडकको पिच अझै ओसिलो छ। पिचमा सलाईका काँटीहरु यताउता छरिएका छन्। उनका आँखा पारिपट्टिको डाँडामा डुल्न थाल्छ। एक दुईटा रुखबाहेक डाँडा नांगो छ, कुना कुनामा बुट्यानहरु र छातीतिर क्यात्तुकेका काँडामात्र छन्। उनका औंलाहरु उनले थाहै नपाई छरिएका काँटीहरु एक ठाउँ लहरै मिलाइरहेका छन्।
३.
ट्रक गुडिरहेको छ। आजकल मोड छेउ आइपुगेछि उसलाई डर लाग्न थालेको छ। पहिले त हर्न-सर्न नबजाई जस्तो गार्हो सातघुम्ती पनि काट्थ्यो, आजभोलि ऊ परैदेखि लगातार हर्न बजाउन सुरु गर्छ। ठ्याक्कै कहिले देखि डर सुरुभो उसलाई दिन याद छैन। उसले विदेशबाट फर्केकाहरुबाट सुनेको थियो, विदेशतिरको सडकबारे। माइल माइलसम्म कतै नबांगिएको रोड हुन्छ रे, शि…धा, मरुभूमिको छेवैछेउ। उसलाई त्यस्तो रोडमा गुड्ने मन छ।
उसले केहीपर सडक छेउ उभिरहेकी केटी देख्छ। केटीले हात हल्लाइरहेकि छे। “पच्चिस-छब्बिस, एक दुईजनासँग लभ पनि परिसक्या हुनुपर्छ“ छेउमा खलासी भएको भए उसले बाजी पनि राख्थ्यो होला। उसले थाहा नपाइकन उसको खुट्टाले ब्रेक लगाउन खोजिसकेको हुन्छ; उसले दिँदैन।
केटी हात हल्लाइरहन्छिन्। ट्रक रोकिँदैन। टाढिँदै गरेको ट्रक हेर्दै उनी फेरि हिँड्न सुरु गर्छिन्।
केही टाढा पुगेपछि उसले लुकिंग-ग्लासमा हेर्छ, केटी बिस्तारै हिँडिरहेकी छे। उसलाई किन हो लाग्छ त्यो केटी त्यही साइनबोर्डकि केटी हो, उसलाई साइनबोर्डकि केटीको अनुहार याद भएको पनि हैन र उसले त्यो हिँडिरहेकी केटीको अनुहार राम्ररी नियाल्न भ्याएको पनि थिएन। एक्कासी ट्रक रोकेर त्यो केटीलाई साइनबोर्डको बारे सोध्न मन लाग्छ उसलाई। उसले एक्सलेटर थिच्छ बेस्सरी। साइनबोर्डकि केटी, सडककि केटी अनि शितहरु चिप्लँदै गरेको झ्याल छेउकि आइमाई, तीनैका चित्रहरु उसको दिमागमा सडक, शितहरु चिप्लदै गरेको झ्याल अनि साइनबोर्ड बन्दै यता उता साटिन थाल्छन्। उसले रेडियो खोल्छ। रेडियोमा मन्थलीतिरको कपडा पसलको बिज्ञापन बजिरहेको छ, एकछिन स्वाँ गर्छ अनि धुलो मिसिँदै गरेको आवाजमा गीत बज्न थाल्छ “पिपलुमा बाँधेकोको सम्झना…।”
प्रकाशित मिति: शनिबार, कार्तिक ९, २०७० २१:१७:२७
(स्रोत : Setopati)