~प्रमिसा केसी~
‘सिलाइ लगभग सकियो, तर अलिकति काम बाँकी छ । ५ बजे आउनू !’ ‘पुल’ लेखिएको ढोकालाई जबर्जस्ती धकेल्न खोजिरहेकी रचनातिर हेरेर हाँस्दै बाहिर निस्किएँ ।
‘हाँस् न अब ! भनेकै हो त तँलाई यिनीहरूले यति चाँडै लुगा तयार पार्दैनन् भनेर !’
नयाँ कलेजको युनिफर्म लिन आएका हामी बदलामा बिताउनलाई एक घन्टा लिएर फर्कियौँ । ‘युथ कलेक्सन’बाट । समय टन्नै थियो बिताउन अनि छेवैको होटेलबाट मःमःको बास्ना !
‘ओइ सनम ! कस्तो मःमः खान मन लाग्यो ! एक घन्टा यता के डुल्नु ? मःमः खाउँ न !’ रचनाले भनी । ‘युनिफर्मका लागि सब एड्भान्समै देको, मैले त पैसै बोक्या छैन । तँसँग छ ?’
‘मसँग झन् के हुन्थ्यो ? तैँले अचानक आएर हिँड् भनेर बोलाइस्, म त आत्तिएर पैसा–सैसा नबोकी हिडेँ ।’
अँ, अचानकै आफ्नो अँध्यारो कोठामा झसंग भएर ब्युँझेकी थिएँ म । न केही बुझेँ, न बुझ्न सक्थेँ नै । आफ्नै कोठा अचानक बिरानो लाग्यो । यति दिन मेरा साथी बनेका भित्ताबीच पनि निसास्सिएझैँ लाग्यो । केवल फुत्किन चाहन्थेँ त्यहाँबाट । अनि निहुँ बन्यो सिरानीको छेवैबाट मलाई नियालिरहेको त्यो युथ कलेक्सनको बिल । चोकसम्म जाने साथी खोज्दै पुगेकी थिएँ रचनाको कोठामा ।
‘अब के गरी बिताउनु एक घन्टा यता ? हिँड् बरु, होस्टेल नै फर्किए हुन्छ !’ होस्टेल ? अहँ, म जान सक्दिनँ फेरि त्यहाँ ! हो जानु त छ नै कुनै न कुनै बेला, र पनि मन मानिरहेको छैन ।
‘ह्या ! बल्लबल्ल त निस्कन पाइन्छ बाहिर ! अहिले पो यो बिल छ र वार्डेनले किचकिच गर्न नपाको ! बरु यतै डुलौँ न के ।’ खल्तीमा पैसा नहुँदा तीछेवैका पसलमा उभिएका डमीका झिलिमिली लुगा त के, फुटपाथमा राखिएका सस्ता लुगासम्मले गिज्याउँदा रहेछन् । जसोतसो मनलाई सम्हाल्दै हिँडिरह्यौँ चोकको बाटो ।
‘ह्या आइज बरु यतै बसौँ !’
कुनै पसल अगाडिको पेटीको धुलो हातले निरीक्षण गर्दै, टकटक्याउँदै बसी रचना । यसो हेरेँ, कतै गफ गर्न बसेका हुल, कतै कसैलाई कुरिरहेका मान्छे अनि कतै ग्राहक नआएर पुर्पुरोमा हात लगाएर बसिरहेको जुत्ता व्यापारी, सबैलाई त्यही पेटी प्यारो थियो । म पनि बसि दिएँ !
रचना आफ्नै कुरा सुनाउन व्यस्त थिई । होस्टेलमा को ‘एटिच्युड’ वाली छे, को–को कोठाबाट बाहिरसम्म निस्कँदैनन्, क–कसको आफ्नै ग्रुप छ । अनि को मिस नेपाल नै बन्न आएझैँ गर्छन् । म यस्तै कुरा मनमा खेलाउँदै थिएँ । नभनुँ त छट्पटी बढ्दै थियो । भनुँ भने कतै मेरो कुरा सुनेर उसको लिस्टमा एउटा डरपोक वा ‘स्टुपिड’ थपिने डर !
‘ए साँच्चै, सनम था’छ तँलाई ? हाम्रो होस्टेलमा भूत छ नि ।’
झसंग भएँ । थाहा छैन डर ‘भूत’ शब्दसँग थियो वा त्यो संयोगसँग !
‘भूत ?’ ‘अँ, र्हे न, घरी ढोका ढकढक्याएको आवाज आउँछ । अनि खोल्दा कोही हुँदैन । कहिले कतिले छाया देखेँ भन्छन् । कतिले पाइतालाको आवाज सुने भन्छन् ।’
‘ह्या, तर भूत हुन्छ र भन्या ?’
‘खै, मलाई विश्वास त लाग्दैनथ्यो । अनि फेसबुकमा एउटी साथीलाई सुनाएँ । त्यसैले भनेकी, ‘गल्र्स होस्टेलमा भूत हुन्छ रे, केटा भूत ।’ ‘हावा, नचाहिने कुरा ।’
सायद म उसलाई कम, आफैँलाई बढी सम्झाउँदै थिएँ । उसले भनी, ‘तँलाई त अलिअलि मात्रै तर्सा’छ, त्यो पूरा होस्टेलमा कतै न कतै कसै न कसैलाई एक्लो हुँदा तर्साउँछ अनि था पाउँछेस् । एकपटक एउटाको पछि लागेपछि छोड्दैन भूतले कहिल्यै ।’
होस्टेलमा केटा भूत, एक्लो हुँदा तर्साउँछ, यी सब कुरा बकवास लागे पनि कताकता मनमा डेरा जमाउँदै थियो । ल अरुको कुरा त नपत्याउँला रे । तर जे मैले महसुस गरेकी थिएँ, त्यो के होला ?
रचनाको मुखबाट ‘भूत’ शब्द सुनेको र त्यो सम्भावनाले मनमा डेरा जमाएको पनि दुई दिन, या भनुँ दुई रात बितिसकेछ । यी दुई रातमा आफूमा यति परिवर्तन देखेर आफैँ लज्जित छु म । सोचिरहन्छु, किन पत्याउँदै छु म यी सब कुरा ? र जब मिथ्याको नाम दिन खोज्छु, सम्झनामा फेरि त्यही दिनको घटना आइदिन्छ र प्रश्न गर्छ, ‘यदि यो मिथ्या हो भने जे मसँग भयो त्यो के थियो ?’
रचनाको मुखबाट ‘भूत’ शब्द सुनेको र त्यो सम्भावनाले मनमा डेरा जमाएको पनि दुई दिन, या भनुँ दुई रात बितिसकेछ । यी दुई रातमा आफूमा यति परिवर्तन देखेर आफैँ लज्जित छु म । सोचिरहन्छु, किन पत्याउँदै छु म यी सब कुरा ? र जब मिथ्याको नाम दिन खोज्छु, सम्झनामा फेरि त्यही दिनको घटना आइदिन्छ र प्रश्न गर्छ, ‘यदि यो मिथ्या हो भने जे मसँग भयो त्यो के थियो ?’
बेलुकाको समय, कलेज लाग्न दिन अझै बाँकी थियो र ‘एड्जस्ट’ हुनका लागि होस्टेल चाँडै ल्याइएकी मसँग दिन बिताउने मेसो थिएनन्, इन्टरनेटको चक्कर काट्नुबाहेक । झ्यालछेवैमा खाटमा मोबाइलमा अल्झिरहेकी म, झ्यालबाट बन्द पर्दा उडाउँदै आइरहेको मीठो हावा, बत्ती बाल्नको अल्छीले दिएको अँध्यारो र मोबाइलको स्क्रिन हेर्दाहेर्दै थाकेका आँखा ।
सायद तन्द्रामा थिएँ । अचानक कुनै स्पर्श महसुस भयो शरीरमा । स्पर्श घाँटीतिर बढ्न थाल्यो । अचानकै हावाजस्तो लागिरहेको त्यो स्पर्श कोमलबाट आक्रामक लाग्यो, मानौँ मेरो घाँटी अँठ्याइरहेको थियो । छट्पटाएँ, बोल्न खोजेँ । लाग्थ्यो सास नै रोकिरहेको छ । आवाज निस्कने कुरै थिएन । आवाज दिने अथक प्रयास गरिरहेँ । अनि चित्कार निस्कियो–आमा । अनि, आँखा खुले । चिसो हावा चलिरहँदा पनि म पसिनाले भिजेकी थिएँ । के त्यो सपना थियो ? अहँ, म त्यति गहिरो निद्रामा थिइनँ भन्ने विश्वास थियो । कसैको मजाक ? ढोका भित्रबाट बन्द थियो, झ्यालबाट हावा मात्र आउन सक्थ्यो । त्यही अँध्यारो, त्यही हावा केहीअघि मीठो लाग्दैथ्यो । तर, केहीपछि डरलाग्दो बन्यो । एक सेकेन्ड पनि त्यहाँँ रोकिन गाह्रो थियो । त्यो समयपछि कतिलाई यो घटना सुनाएँ मलाई याद छैन । तर, जवाफ अनेक पाएँ । आमा भन्थिन्, ‘छलेको होला नानी, सिरानीमुन्तिर फलाम राखेर सुतेस् !’
कोही भन्थे कसैको मजाक होला, तेरो भ्रम होला । कोही साइकोलोजीका कुरा ल्याउँथे । कोही भन्थे, सुतेको मिलेन होला । कोही भने मजाकमै उडाइदिन्थे । तर, त्यो अनुभव यति अनौठो थियो, कसैले पनि दिएको कारण मेरो चित्त बुझाउन पर्याप्त थिएन ।
थाहा छैन, असर त्यो अनुभवको हो या रचनाको कहानीको । म आफैँलाई अलग पाउँदै छु । मलाई थाहा छैन, भूत हुन्छ वा हुँदैन । मेरो कोठामा भूत नै आएको थियो वा थिएन । यो पनि थाहा छैन कि मेरो मनमा बसेको डर भूतकै हो वा हैन । केवल यति थाहा छ, मेरो मनमा एउटा डर बसेको छ । जसले मलाई कमजोर बनाइसक्यो भित्रभित्रै !
यी दुई रात म कतै एक्लो बस्न सकेकी छैन । अनि जब रात पर्छ, कोठामा केवल म हुन्छु । अनि उही डर । घरी बन्द ढोका यही सोचेर खोल्छु कि एक्लो नरहुँ । त्यही ढोका यो सोचेर बन्द गर्छु कि कोही नआओस् । यी दुई रात म जस्ती उज्यालोमा निद्रा नपर्ने केटीले पनि बत्ती निभाएकी छैन । तर, बत्ती बालिरहँदा पनि डरले साथ नछोडेर निदाएकी छैन । सायद आजको रात पनि अनिँदो बित्छ । भूतले साथ छोड्ला । तर, मनमा बसेको डरले छोड्ने होइन ।
फेसबुकमा कसैले स्कुलको फोटो राखेको रहेछ । स्कुले ड्रेसमा हामी थियौँ । पृष्ठभूमिमा स्कुल, चौर, अनि चौर पछाडिका अग्ला रूख थिए ।
ती अग्ला रूखले केही सम्झाइदिए । स्कुलेजीवनमा साथीहरु भन्थे, अग्ला रूख, पुरानो भवनमा भूत बस्छ रे । हरेक दिन नयाँ–नयाँ कथा बन्थे । कति सत्य कति झुट् ती कथा त्यो बालापनमा केही थाहा हुँदैनथ्यो ।
६ कक्षामा पढ्दाको कुरा होला । एक दिन स्कुलबाट बाहिर निस्केकी थिएँ । बाटोमा तीनै अग्ला रुख पर्थे । भुइँमा रूखबाट झरेका केही राताराता गेडा झरेका थिए । गल्र्स ट्वाइलेट पुगेर समय खेर फाल्न त्यही राता गेडाले भित्तामा कोर्न थालेँ । ‘गल्र्स’ मात्र लेखेर के भ्याएकी थिएँ, मिसको आवाज सुनेँ, अनि त्यहाँबाट भागेँ ।
बेलुका घर फर्कने बेला साथीहरूको गफ सुन्दै थिएँ, यत्तिकैमा सुनेँ
‘थाह छ ? हाम्रो स्कुलमा एउटा भूत थियो रे, त्यसले केटीहरूलाई माथ्र्यो रे । अझ ट्वाइलेटमा एउटा केटी मारेर त्यसको रगतले ‘गल्र्स’ लेखेको छ रे !’
म चुप लागेँ । मलाई भ्रम भयो, कि त सबै भूतका कथा झुट थिए, कि त म नै भूत थिएँ ।
पुरानो कुरा सम्झेर एक्कासि मुस्कान छाएछ मुहारमा । वास्तविकता सम्झिएँ । एकातिर मेरो डर थियो, अर्को्तिर सानैमा मैले सिकेको पाठ । अल्मलिएँ, कुन कुरालाई पत्याउँ । एकोहोरो हेरिरहेँ बत्तीको स्विचलाई ।
(स्रोत : Ruprekha)