कथा : पल्सर पुछ्ने केटी

~सफल घिमिरे~Safal Ghimire

ऊ मायाले औँलाहरू खेलाउँथी, पल्सरका अंगअंगमा । काम सकिँदा चम्कन बाँकी कुनै ठाउँ रहन्थेनन् । जब काम गर्थी, एउटा योग्य पियानोवादकले झैँ औँलाहरू चलाउँथी । म निर्निमेष हेरिरहन्थेँ । पुछिसकेपछि ऊ एकचोटि मोटरसाइकलमाथि चढ्थी । आहा ! उसको दिनकै सर्वोत्तम खुसीको समय होला त्यो । थाहा छैन, पल्सरमाथि चढेर केटी भाग्यमानी हुन्थी अथवा केटीलाई आफूमाथि चढाएर पल्सर भाग्यमानी । लाग्थ्यो, उसले हरेक पल्सरमा अतुलनीय पुरुषत्व भेट्थी । यस्तो कि अहिलेसम्म नभेटिएको जीवनसाथीको पुरुषत्वजस्तै ।

केटी अविवाहित मात्र होइन, कुमारी पनि छेजस्तो लाग्थ्यो । किन लाग्थ्यो थाहा भएन । तर, सर्भिसिङ सेन्टरकी त्यो केटी मैले जीवनमै यति मिहिन नियालेको एउटै केटी थिई । सम्बन्ध त अभिवादनको मात्रै थियो । केटीमाथि पनि मेरो उस्तो आकर्षण थिएन । तर, अर्थोक होइन, पल्सर पुछ्दा उसले देखाउने आत्मीय कलामाथि मैले गहिरिएरै सोच्न थालेको थिएँ । ऊ अरू बाइकसँग त्यति भुल्दिनथी, जति पल्सरसँग भुल्थी । ऊ अरू बाइकका हरेक अंग उति नै सुन्दर बनाएर पखाल्दिनथी, जति सुन्दर पल्सरहरूलाई पखाल्थी ।

***

त्यो दिन मैले उसलाई सर्भिसिङ सेन्टरमा पहिलोपटक देखेको थिएँ । चाबी बाइकमै थियो । म दर्ता कक्षबाट निस्किँदा बाइकलाई उप्रान्त कर्मका लागि कसैले भित्र हुल्दै थियो । हेरेँ, एउटी केटी रै’छ । मौसम नखुले पनि उसको मुहारमा कान्ति खुलेको थियो । केटीमा हुने औसत शारीरिक सुन्दरता सबै थिए । ऊ बडो मिहिनेत र मायाले मेरो बाइक डोर्‍याउँदै थिई ।

“सघाइदिऊँ बैनी ?” मैले बोली फुटाएँ ।

“किन तपाईंको बाइक हो र ?”

“कसरी ठ्याक्कै पार्नु’भो ?”

ऊ निर्भय आवाजले हाँसी, “अरूको बाइक तान्न त कसले सघाउँछ र ?”

धत्, स्वार्थी नै रै’छु भन्ने लाग्यो ।

***

प्रत्येक महिना ऊ नयाँ लटका पल्सर पुछ्दै उजिल्याउँथी । तर, क्यालेन्डरको बाह्रौँ पत्र फेरिँदा उसका आकांक्षाको आकाशमा बाह्रै बादल मडारिन्थे । तलब सम्झिन्थी । अनि सम्झिन्थी ढल्कँदै गएको उमेर र अभिभावकविहीन घर ।

उसलाई राम्री भन्नु झूट हुन्छ । भनिहालेँ नि, औसत नारीकै सुन्दरता हो । तर, कुन्नि के हो आकर्षण ? बत्तीमा बरू त्यति पुतली झुम्मिन्थेनन् होला, यी पुतलीको वरिपरि धेरै कामदार बत्ती चम्किएझैँ झुम्मिन्थे । जिस्काइएकामा उसलाई आनन्द लाग्थ्यो/लाग्थेन तर जिस्काउन पाएर अरूचाहिँ आनन्दित देखिन्थे । म्यानेजरसमेत यी घटनाले काममा ऊर्जा थप्ने ठान्थे ।

बाइकलाई भित्र हुलेर ऊ पूर्ववत् स्थानमा फर्की । मैले आँखा जुधाउन खोजेँ । उसले पसिनै नआएको निधारलाई देब्रे पाखुराले पुछी । अनुहार छेक्न खोजी भन्ने लाग्यो । तर, झसंगै पार्ने उही निर्भय आवाज सुनेँ, “ओ दाइ, कस्तो बाइक ल्या’को ? गर्लफ्रेन्ड छैन क्या हो ?”

“किन ?” मैले प्रतिप्रश्न गरेँ ।

“पछाडिको सिटमा खिया पर्न थालिसकेछ त !” व्यंग्यले तीरै प्रहार गरी । तर, बाठो भएर उत्तर फर्काएँ, “धत् बैनी, लेदरको सिटमा’नि कहीँ खिया लाग्छ र ?” मेरो बोली भुइँमा नझर्दै उसले प्रतिप्रहार गरी, “लामो समयसम्म काममा नआएपछि त खिया लेदरमै लाग्छ दाइ !”

“कति जानेकी हो बात मार्न ?” मैले मनमनै भनेँ ।

***

एउटा अर्को दिन । बिहानै बाइक छोड्दा उसलाई देखेको थिइनँ । तर, साँझपख पल्सरसँगै लहसिएकी देखेँ । ऊ बाइकलाई यसरी पुछ्थी, मानौँ कि पुछिरहेकी हैन, सुम्सुम्याइरहेकी छ । के जादू, के जादू ! छिनमै निर्दाग चम्काइदिन्थी । मानौँ वेक्स चाहिन्नथ्यो चम्काउन, उसको स्पर्श काफी थियो । केटी आज पनि मिहिन ध्यानले पुछ्दै थिई । अपूर्व मायाले घरि अयल टयांकमा रुमाल मुसार्थी, घरि लेगगार्डमा सुनिर्मित औँलाहरू फिँजार्थी । सत्य ! यसरी पुछ्थी कि मानौँ पल्सर पाउने हो भने ऊ चढ्दिनथी, बरू सिरक ओढेर त्यसलाई गम्लंग अँगालो हालेर सुत्थी । मेरा मस्तिष्क के­­–के मात्र भावनाले स्खलित हुन्थे, म भन्न सक्दिनँ ।

निहुरिएर बाइक पुछ्दा छोटो टिसर्टले उसको मेरुदण्डको तल्लो भागलाई ढाक्न आनाकानी गथ्र्यो । वर्कसपको छानोबाट हाम फालेर घामको किरण त्यही नछोपिएको भागमा खसेको थियो । बहुतै प्रीतम यो दृश्य मैले नदेखेजस्तो गरेँ । बादलबिनाको निर्वस्त्र घाम पिठ्यूँभरि पोखिँदा पनि उसलाई घामको मतलब थिएन, कामको थियो । नजिकै पुगेँ । उसले भनी, “ए तपाईं ? त्यै हैन बाइक ?”

“त्यै हो बैनी ।”

“फेर्नुभा’को त छैन ?”

“केलाई फेर्नु ? काम चलिरा’छ ।”

फोममा थोरै वेक्स चुहाउँदै भनी, “पल्सर किन नलिनुभा’को ? हेर, खाइलाग्दो मान्छेलाई त वान एट्टी किस्सिम सुहाउँथ्यो ।”

अचानक मलाई आफ्नो पुरुषत्वमै प्रहार भएजस्तो लाग्यो । एउटी युवतीले पल्सर किन नकिन्नुभएको भन्दा शरीरको कुन हो कुन भाग एकदमै असजिलो भएर आयो । केही बोलिनँ । आफ्नो बाइक हेरेँ । चोथालेले मेरो त राम्ररी नै पुछिनछ । फेरि पुछ्देऊ भन्न पनि लाज लाग्यो । मलाई थाहा थियो मेरा हर आवश्यकता पूरा गर्न अहिलेको बाइक सक्षम छ । यद्यपि, आफ्नो हिम्मत र ह्याउ बजारिया हाँक जितेको बाइकले मात्रै स्थापित गर्दो रहेछ भन्ने भ्रमले मडारिरह्यो ।

***

कर्मचारीहरूसँग राम्रै चिनजान हुनाले वर्कसपमा मेरो आऊजाऊ बारम्बार भइसकेको थियो । आज पनि बिनानिहुँ छिरेँ । एउटी युवतीलाई उनको स्कुटीबारे गेटमै सोधपुछ गरियो । सायद अर्कै कम्पनीको थियो । व्यापारिक शत्रुता कडा थियो । कामदारहरूले कुनै दिन मलाई भनेका थिए, “दाइ, योसिवाय अरू कम्पनीको बाइक त छिर्नै दिँदैनौँ ।”

मुस्किलले युवती छिरी । रातो चुडीदार कुर्थासुरुवाल । रातै चुरा । अनि, बिस्तारै हेल्मेट खोल्दै गर्दा देखिएको रहरलाग्दो सिन्दूरको धर्का । बाइक धोइदिने मेरी केटीले ती युवतीलाई अवाक् भएर हेरी । केटीका आँखा बिछट्टै अचल थिए । केटी युवतीलाई हेर्दै थिई, म केटीलाई । युवतीचाहिँ कता हेर्दै थिई हामी दुवैलाई थाहा भएन । केटीले परेलीसमेत झिमिक्क पारिन । मानौँ उसले नदेखेको सिन्दूरको रङ जीवनमा पहिलोपटक देख्दैछे । यस्तो लाग्थ्यो, केटीको शरीरका कुनै पनि अंग चलेका छैनन् । मानौँ, ऊ मध्यबजारमा उभ्याइएकी कामाक्षी मूर्ति हो । ममा उत्कण्ठा र सर्गका एक हुल हुरी चल्न थाले । अन्तस्करणदेखि नै केटीको माया लागेर आयो । ती विवाहिता खुरुक्क विलय भइदिए हुने । म त्यतिबेला केटीको मनमा उर्लेका भाव सजिलै बुझ्न सक्थेँ ।

केटी भएतिर युवती झन् नजिकिई । ‘बैनी, ५४ चौबीसको टू–ट्वेन्टी लिएर आउने मेरो हज्बेनलाई देख्यौ ?’

‘आफ्नै हज्बेनलाई आजसम्म नदेखेकी विचरीले अरूको हज्बेनलाई कसरी देख्थी?’ मैले मनमनै जवाफ फर्काएँ, ‘देखे पनि चिन्नु कसरी?’ यहाँ टू–ट्वेन्टी त दुनियाँले भित्र्याउँछन् । ‘हज्बेन’वाला प्रश्नपछि सायद केटीलाई खपिनसक्नु भयो । केटी हुर्रिई । भाग्यको तीव्र हुरीले उडाएको पातजस्तै । बाथरुम गएकी रै’छ । मुख धोइछ, कपालको अघिल्लो भाग पनि चिसै थियो ।

***

“एकाउन्न छपन्न,” बाइक नम्बर टिपाएँ ।

“चाबी बाइकमै राख्दिनूस् । ४ बजे आउनू ।” उसले एकै सासमा भन्यो ।

“४ बजे मात्रै ?”

“अझै बढी लाग्ला दाइ, दसैँको समय छ ।”

भन्ने कुरै केही रहेन । हेल्मेट छोड्नुअघि स्टिकर टाँस्न लगाएँ अनि दर्ता कक्षबाट बाहिरिएँ ।

आज मेरी केटी निकै मुडमा देखिन्थी । ‘डू यू वाना पार्टनर, बी अ पार्टनर…।’

कसैले रस थपिदिन्छ, “के हो पुतली ? मंसिर त आ’छैन ?” फिस्स हाँसेर टारिदिई । भन्थी पो कसलाई ? सुनाउनु कोसँग ? मरुभूमिको सिउँडीले तिर्खा लाग्यो भने कसलाई सुनाउँछ र ?

अचेल केटी मसँग गफिन थालेकी थिई । यसपालि काठमाडौँमा एकै वर्ष १२ लटभन्दा धेरै मोटरसाइकल भित्रिएछन् । सुरुसुरुमा उसले पुछ्ने नयाँ बाइकहरू ५९ को लटका हुन्थे रे ! अचेल तँछाडमछाड गर्दै ७१ का देखिन थालेका छन् । यो बीचमा धेरैले बाइक फेरे अरे तर तपाईं सधैँ किन पुरानै भन्थी ।

केटीले बुढी औँलाले सेल्फ थिची, “लौ हेर दाजुको साइलेन्सर त नरसिङ्गाझैँ बज्दो रै’छ । कस् तो डिस् टर्बिङ !” कुरो तेस्र्याइहाली ।

“दाजुको साइलेन्सर हैन बैनी, बाइकको साइलेन्सर ।” सधैँझैँ बाठो पल्टन खोजेथेँ तर यसपालि ऊ हाँसी मात्रै ।

मैले त्यही हाँसो निमोठ्न खोजेँ, “योभन्दा नि सुरिलो बाजा सुन्नलाई त लहना नै जुराउनु नि !”

“कसले गर्छ र मोटरसाइकल पुछ्ने केटीलाई बिहे ?” उसले हो त नि भन्ने पारी । “कसलाई मन पर्दैन रहरलाग्दो सिन्दूर, चुरा र पोते ? तर, तपाईं पनि कलिली र ठाँटिली नै रोज्नुहुन्छ होला क्यारे । पूरा साइजफिटेड । नामुद बाइकजस्तै । ३६/२४/३६ ।” ऊ बेस्मारी हाँसी ।

त्यसपछि बजारमा ३६/२४/३६ का धेरै केटीहरू देखेँ । तर, उसलाई कहीँकतै देखिनँ । बिनानिहुँ वर्कसप पनि धेरैचोटि धाएँ । तर, कसैलाई केटीको वारिस सोध्ने हिम्मत राख्न सकिनँ । बिमार पो परी कि ? जागिरै छोडी कि ? तर्कनाहरू जन्मिन थाले । भित्तामा झुन्ड्याइएको क्यालेन्डरका पन्ना फेरिए । एक–दुई त ऋतु नै फेरिए । वर्कसपमा देखिने नयाँ लटका बाइकले मेरो बाइक झन् पुरानो बनाउँदै थिए । तर, यस्तो लाग्थ्यो कि हरेक नयाँ पल्सरहरू एक्लिएका थिए ऊबिना ।

***

ती शरद्मासका लामा दिन थिए । सुन्तला रङले आकाश पोतिएको एउटा साँझ । घामले पनि डुब्न आनाकानी गरिरहेको थियो । साँझको ६ बजे । भित्तेघडीका सुइले घडीलाई ठ्याक्कै आधा बनाएर चिरेका थिए । अचेल उसलाई देख्छु भन्ने आशा रत्ति हुँदैनथ्यो । वर्कसपबाट बाहिरिएँ । त्यो ठाउँ कति हरियाली थियो । अचेल ओइलिएको पातले जस्तै म हाँगा छाडेर टाढिँदै थिएँ ।

सडकमा निरुद्देश्य टहलिन मन लाग्यो । पेटीमास–साना ढुंगालाई अल्छि पाराले लात्ती हान्दै हिँड्दै थिएँ । पानीको बोतल पल्टिएको देखेँ । त्यसलाई पनि बलझैँ के हानेको थिएँ, हुत्तिएर एउटा रातो सलवारमा ठोक्किन पुग्यो । सलवारवालीे कसैले बोलाएजस्तै गरी पछाडि फर्की । म झसंग भएँ । मानौँ चलचित्रमा हठात् नसोचेको दृश्य आएको छ । त्यो मेरी केटी थिई । मेरो मतलब वर्कसपकी केटी ।

छेउ लाग्यौँ । ऊसँग सधैँभन्दा लामो कुरा भयो । त्यस्तै ६ मिनेटजति । वर्कसपमा त हामी छोटा र छिटा वाक्यहरू मात्रै बोल्थ्यौँ । बाँकी समय म उसका गतिविधि हेरी मात्रै रहन्थेँ ।

पहिला त ऊ हराउनुको कारण सोधेँ । उसले व्यक्तिगत कारण जनाई । सन्चो–बिसन्चोका औपचारिक प्रश्न पनि साटेँ । बिरामी भएकी हैन रै’छ । चप्पल राम्रा थिए । कुर्ता–सुरुवाल झनै मिलेका । अरूमा त त्यति ध्यान गएन तर अक्सर आँखाहरूतिर हेर्थें । बाक्लो गाजल । धारिलो नजर । ऊ हतारमा जस्तै देखिन्थी । मैले ‘लौ त नि’ भनेँ । तर, छुट्ने बेलामा एउटा कुरा भन्नचाहिँ छुटाइनँ, “ए बैनी ! सुन त । मैले पल्सर किनेँ नि !” केटी मुस्कुराई । अनि बिस्तारै बायाँ भागको कपाललाई चार औँलाले सुस्तरी माथि सारी । यो पटकचाहिँ म राम्रैसँग झस्केँ । अरे ! केटीले त सिन्दूर लगाएकी रै’छ ।

उसले चोर औँला र माझी औँलाले बडो कुशलतापूर्वक तिलहरी खेलाई । मेरो मुटुमा तीर हान्ने ती नजर आज रातो तिलहरीतिर मात्रै थिए । उफ् ! मैले मात्रै पल्सर किनेको हैन रहेछु । सायद, उसले पनि अब आफ्नो जीवनको पल्सर पाइसकी । ऊ अचेल कस्तरी पुछ्दी हो, कस्तरी चढ्दी होली नयाँ पल्सर ? म रातभरि निदाउन सकिनँ ।

प्रकाशित: आश्विन ३०, २०७२

(स्रोत : Nepal Saptahik)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.