~दुर्गा कार्की~
‘कलेज किन नआ’को राजकुमारी?’ मोबाइल अन गर्नेबित्तिकै मेसेज आयो।
शिरदेखि पाउसम्म एउटा अनौठो कम्पन उत्पन्न भो। दोहोर्यापइ–तेहेर्याकइ पढेँ। मोबाइलको ब्याकलाइट निभ्नु र निशा कोठाभित्र पस्नु एकैचोटि भयो। धन्न, बचेँ म!
‘के भयो दिदी?’ ऊ मेरो छेवैमा आएर बसी। मेरो हात समाती। कसले सुनाइदिएछ कुन्नि उसलाई म बिरामी भएको! मलाई रूँरूँ लागेर आयो। घम्लङ्ङ अँगालो हालेर सबै कुरा भनूँजस्तो लाग्यो। धत्! के सोच्ली उसले राजकुमारीवाला च्याप्टर सुनी भने? मैले तुरुन्तै आफूलाई सम्हालेँ।
‘हल्का टाउको दुखेको हो। ठिक भैरा’छ,’ मैले मुन्टो अर्कोपट्टि फर्काउँदै भनेँ।
‘फोन दिनु त! किन नि अफ?’
दुई दिनदेखि अफ थियो मेरो फोन। सिरानीनेरको फोन बेस्सरी समात्दै भनेँ, ‘चार्जर हरायो।’
मैले फोन दिइनँ। उसले पनि बल गरिन। कोठा वरिपरि आँखा घुमाई। मोबाइल अफ भएको दिनदेखि ‰याल–पर्दा पनि ढ्याम्ढुम्म। गन्हाएको हुँदो हो मेरो कोठा! टेबलमाथि दुइटा गिलासमा चिया रहेछ, कहिलेदेखिको। एउटा स्टिलकोमा पानी। उसका आँखा पछ्याउँदा मैले पनि मेरो कोठाको हालत देखेँ। सानाबाउले देखे के भन्दा हुन्?
मुन्टो कुनापट्टि फर्काएर उसले नाक बजाई। ऊ रोएकी थिई। उमेरमा धेरै फरक नभएकाले हामी दिदी–बहिनीबीच खासै कुरा लुक्दैनथ्यो। दुःख–सुखका बात मारेर रातभर बस्थ्यौं हामी। सायद उसलाई हालतभन्दा बढी मेरो मौनतादेखि पीडा भयो होला। उसका आँखामा हेर्ने हिम्मत गर्न सकिनँ। न त नरो नै भन्न सकेँ। केही बेर सिँगान तान्दै पर्खिरही ऊ, मैले केही भन्छु कि भनेर। म चुइँक्क नबोलेपछि दौडँदै कोठाबाहिर गई।
मलाई भाउन्न भएर आयो। उसले मलाई मेरो जिम्मेवारी सम्झाइदिएर गएकी थिई। सानु दिदीको बिहेअघिको त्यो दिन, सायद मेरो जिन्दगीमा कहिल्यै नआएको हुँदो हो।
…
‘समीर केसी वान्ट्स् टु बी योर फ्रेन्ड।’
फेसबुक खोल्नासाथ देखेँ। मेरै क्लासको ‘अस्ट्रिच’ रहेछ। घाँटी चाहिनेभन्दा बढी लामो भएकाले सन्ध्याले उसको नाम अस्ट्रिच राखिदिएकी थिई। टुइँक्क गर्यो’ ल्यापटप। इग्नोर गरेको भन्ठान्ला भनेर मैले उसको हाईको रिप्लाई गरेँ, ‘हेलो।’
‘के गरि’रा?’
‘यत्तिकै बसि’रा।’
‘काँ बसिन्छ?’
‘घरमा,’ मलाई उसँग नरम भएर बोल्नु थिएन।
‘मैले काँ जंगलमा भनेको छु र?’
‘त्यसैले त भनेको, घरमा।’
‘खुब बांगो कुरा गर्न आउँदो रै’छ।’
‘ ’
‘घरै यहीँ?’
‘होइन, सानीमाकहाँ।’
‘ए। अनि घर त?’
‘साँगा।’
‘त्यसो भए शिवजीको खुब पूजा गरिन्छ होला।’
‘गर्दिनँ। त्यो मूर्तिको पूजा गरेर के गर्नु?’
‘किन? भगवान् मानिन्न?’
‘अहँ।’
‘किन?’
‘आ–आफ्नो विचार।’
‘अनि घरतिर कतिको गइन्छ?’
‘कहिलेकाहीँ।’
‘याद आउँदैन?’
‘सानीमाकोमा राजकुमारी बनाएर राख्या’छन् त।’
‘ए, त्यस्तो है?’
‘ ’
सानिमाकी छोरी सपनाले बोलाई। भोलिपल्ट सानु दिदीको बिहेमा जानु थियो। मेहेन्दी लगाउने सल्लाह थियो हाम्रो। मैले उसलाई ‘बाई’का सन्देश पठाएँ। उसले चाहिनेभन्दा बढी ह्याप्पी स्माइलीहरू पठायो।
अचम्म लाग्यो– अस्ट्रिच पनि यसरी बोल्दो रै’छ। क्लासमा त चुपचाप। खुसुखुुसु गर्नुपर्यो भने उसका दुई जना साथीसँग मात्रै। सन्ध्यालाई भन्यो भने मार्छे।
भोलिपल्ट बिहेमा सारी लगाएको फोटा हाल्नुपर्योो भनेर फेसबुक खोलेकी थिएँ। फोटो हाल्नासाथै उसका लाइक आए। एकै छिनमा ऊ पनि ‘हाई’ भन्दै आइहाल्यो।
‘कलेज नआएर बिहेतिर राजकुमारी?’
मलाई अचम्म लाग्यो। हाँसो पनि उठ्यो। लेखेँ, ‘राजकुमारी?’
‘आफैंले भन्या होइन हिजो?’
‘अँ, तर…’
‘अड लाग्छ भने भन्दिनँ।’
‘नो, इट्स ओके।’
उसले फेरि पठायो, ‘फोटाहरू राम्रा छन्।’
‘थ्यांक यु,’ मैले दुइटा ह्याप्पी स्माइली थपेर पठाएँ।
‘राम्रोलाई राम्रो भन्दा केको थ्यांक यु नि। कसको बिहेमा त?’
‘फुपूको छोरीको।’
‘ए, म त आफ्नै भन्ठानेको।’
‘मेरो भा’को भए त बोलाइहाल्थेँ नि।’
‘मलाई त साँगाको शिवजी जत्रै खसी चाहिन्छ।’
मलाई बेस्करी हाँसोे उठ्यो। लेखेँ, ‘अनि त तिम्ले खसी हैन, खसीले तिम्लाई खाला नि।’
‘म त्यसको मुखमा कोक्रो लगाउँछु।’
मलाई झन् हाँसो उठ्यो, ‘काँबाट ल्याउँछौ त्यत्रो कोक्रो?’
‘म आफैं बनाउँछु नि।’
‘त्यसो भए अहिल्यै सुरु गरिहाल, नत्र नबन्ला मेरो बिहेसम्म।’
‘त्यति छिट्टै बिहे गर्ने र?’
‘हा–हा–हा। के था? भाग्यमा लेखेको कुरा।’
‰याप्प बत्ती गयो। ऊसँग बिहे र खसीको बहस बाँकी थियो। म भोलिलाई कुरिरहेँ।
ऊसँग त यस्ता रमाइला कुरा पो हुन थाले। कहिल्यै मुखामुख नबोलेको मान्छेसँग च्याटमा दुई–तीन भेटमै यस्ता कुरा! म चकित परेँ।
कुरैकुरामा उसले एक दिन सोध्यो, ‘भाइबर चलाइन्छ?’
‘अँ, हल्का,’ मैले उत्तर दिएँ।
‘नम्बर पाउँ्क त।’
ओहो! के हो यो? रिक्वेस्ट कि अर्डर? त्यो पल यति अप्ठ्यारो भयो कि मेरो दिमागमा नाइँ भन्नलाई कुनै बहानै आएनन्।
अब कुराकानी फेसबुकबाट भाइबरतिर सर्योर। बत्ती गए पनि मोबाइल डाटा छँदै थियो। घन्टौंसम्म कुरा हुन थाल्यो हाम्रो। हावा गफ। जे पायो त्यही।
अचम्म त, क्लासमा हाम्रो कहिल्यै कुरा हुँदैनथ्यो। भर्याइङ झर्दा, क्लास छिर्दा, निस्कँदा देखादेख हुन्थ्यो, आँखा जुध्थे तर मभन्दा पहिले ऊ भुइँतिर हेर्र्थ्यो । खै कस्तो, रमाइलो हो कि डर लागेको हो त्यो क्षण; छुट्टै खालको तरंग उत्पन्न हुन्थ्यो मेरो जिउभरि।
सन्ध्यालाई हाम्रोबीच कुरा हुन्छ भनेर मैले हल्कामात्रै भनेकी थिएँ। उसले ‘बोल्ने भए क्लासमा बोल्, नत्र नबोल्’ भनेर मलाई सिधै हप्काएकी थिई। त्यसपछि च्याट हुँदा एकपल्ट मैले उसलाई भनेँ, ‘म तिमीसँग नबोल्ने अब। बोल्ने भए क्लासमा बोल।’
‘क्लासमा चाहिँ रातो मुख लगाएर हिँड्छौ।’
रिप्लाई आउन समय लागेपछि मैले फेरि उसलाई तेस्रो म्यासेज पठाएँ, ‘???’
‘मलाई आफूसित बोल्नै डर लाग्छ।’
‘ए, म भूत हुँ। खान्छु तिमीलाई?’
‘ए साँच्चि, खसी कत्रो भयो आफ्नो?’ ऊ यसरी मोड्थ्यो कुरालाई। मलाई उसले ‘आफू’ भनेर सम्बोधन गरेको मनपर्थ्यो। मलाई उसको अंग्रेजी मनपर्थ्यो। उसले अगाडि गएर प्रेजेन्टेसन दिएको मनपर्थ्यो। मलाई देखेर लजाएको मनपर्थ्यो। उसले बारम्बार बिहे र
खसीको कुरा निकालेको मनपर्थ्यो। अनि केको नबोल्नु म?
उसका साथीलाई भन्दो रहेछ क्यारे, मलाई देखेर हाँस्थे। एक दिन सन्ध्याले चाल पाइछे, स्पष्टीकरण मागी, ‘तँ देखेर हाँस्छन् त यिनीहरू!’
‘खोइ…’ मैले वास्ता नगरेझैं भनेँ।
‘खुट्टामा राखे पनि सुहाउँदैन त्यो। …पछि निर्दिष्टा पार्ट टु बन्लास्!’
उसको अन्तिम वाक्यले घोच्यो! नराम्ररी झस्किएँ म। सम्झेँ– भाइबरमा बोल्न थालेदेखि हावाभन्दा सिरियस गफ बढी हुन थालेका थिए। पहिले ऊ कसैसित नबोलेको देख्दा रिस उठ्थ्यो, कस्तो घुुसघुसे रै’छ भनेर। अहिले उसको त्यही बानी मन पर्न थालेको थियो। कहिलेकाहीँ पढाउँदा पढाउँदै म ऊतिर हेर्थे। ऊ मेरै बेन्चपट्टि हेरिरहेको हुन्थ्यो। ढिलो गरी भाइबरमा अनलाइन आउँथेँ ताकि उसलाई कुरिरहेको देख्न पाउँ्क। म उप्रति ढल्किँदै थिएँ, ऊ पनि। मलाई डर लाग्यो– ओहो! कतै निर्दिष्टा पार्ट टु त बन्दिनँ?
अर्को सेक्सनकी केटी हो, निर्दिष्टा। अस्ट्रिचको साथी विशालसँग अफेयर चलेको थियो, फर्स्ट सेमको सुरुतिरै। कलेजमा नाटक देख्न पाइन्थ्यो। कुनाकाप्चा, खाली क्लासतिर भेटिन्थे। कलेजभरि चर्चा चलेको थियो। तीन महिना नबित्दै ब्रेकअपको हल्ला चल्यो। एक हप्तासम्म कलेज आएर रोएरै बसिरहन्थी रे भन्ने सुनिन्थ्यो। बाँकी डिटेल्स सन्ध्याले भनी। सन्ध्याको घर जाने साथी हो ऊ। लिप–टु–लिप किस भएको रे तीन–चारपटक। फिजिकलको प्रपोज गरेपछि निर्दिष्टाले गाली गर्दिइछे– अनि छोड्देको रे। सन्ध्याले आफ्नो राय पनि दिएकी थिई, ‘ढाँटेकी हो त्यसले, फिजिकल नभई त्यसै रुन्छे त्यो त्यसरी।’
केही समयपछि सन्ध्या उसलाई छोडेर एक्लै आउन थाली। भन्थी, ‘पागलजस्तै भएकी छ, बाटोमा जहिल्यै एउटै कुरा बकबक–बकबक गर्छे, बसमै रोइदिन्छे। ‰याउ लाग्छ मलाई त।’
मलाई डर लागेर आयो। आखिर ऊ पनि त विशालकै साथी हो। आनीबानी नमिली कहाँ मिल्ने साथी भइन्छ? फेरि अर्को मन मानेन। विशालजस्तो हावा छैन ऊ। उसको सम्बोधन गर्ने तरिका, उसले मलाई हेर्ने तरिका, क्लास प्रेजेन्टेसन दिदाँ, म डराएकोमा उसले प्रकट गर्ने चिन्ता…अनि म विश्वस्त हुन्थेँ। आखिर म र सन्ध्या पनि त फरक छौं नि। अनि मभित्रका शंकाका बादल हराउँथे।
एकपटक कलेजबाट ढिला फर्कंदै थिएँ। भोलिपल्ट प्रेजेन्टेसन थियो मेरो। ल्याबमा बसेर त्यसकै तयारी गर्दै थिएँ। सन्ध्या कलेज आएकी थिइन। मैैले उसलाई गेटबाहिर बाइकबाटै कुन्नि कोसँग गफ गर्दै गरेको देखेँ। किन यति बेलासम्म बसेछ भन्ने लाग्यो मनमा, तर नदेखेझैं गरी गएँ। अलिपर पुगेपछि आफूनजिकै कसैले बाइक रोकेको अनुभूति भयो। फर्केर हेर्दा ऊ रहेछ। भन्यो, ‘बस।’
मैले नाइँ भन्न खोजेकी हुँ। तर सोच्न नपाउँदै बाइकमा बसिसकेकी थिएँ। थाहा छैन, केले तान्यो मलाई। मैले यत्ति पनि सोच्न सकिनँ कि सन्ध्याले थाहा पाई भने?
जिउ ऊसँग नछोइयोस् भनी बाइकपछाडिको डन्डीलाई चपक्क समातेकी थिएँ। सोचाइ त्यसैत्यसै उडिरहेको थियो। म ओर्लने ठाउँ त कटिसकेछ, थोरैले। मैले आत्तिएर भनेँ, ‘म यहीँ झर्छु।’
उसले घच्याक्क ब्रेक लगायो। मेरो सम्पूर्ण शरीर एक्कासि हुत्तिएर उसको ढाडमा आड लगाउन आइपुग्यो। डन्डीबाट हात फुत्किएर म उसको कुम समाउन पुगेँ। मेरा कान र गाला भततत पोलेर आए। बाइकबाट ओर्लंदा सायद म रातै भएकी हुँदी हुँ। लाज र डरको रन्कोमा बाई पनि नभनी दौडेँछु म।
त्यस दिन भाइबर चलाउने आँट आएन। भोलिपल्ट कलेजमा उसलाई देख्नासाथ कान र गाला पोल्न थाले। सरले लेखिरहेका कुरा मैले केही बुझिरहेकी थिइनँ। अघिल्लो बेन्चमा बस्ने अमृतासँग मोबाइल मागेँ। ‰याउ लागेका बेला म उसको मोबाइलमा अक्सर गेम खेल्ने गर्थें। बेसुरमा भएका बेला झुक्किएर टेम्पल रन थिच्दा भाइबर थिचिएछ। सुरुमै अस्ट्रिचको फोटो देखेँ। मेरो ध्यान एकैचोटि सम्हालिएर यतापट्टि तानियो। मैले यताउता हेरेँ। सन्ध्या सरले लेखेका कुरा सार्दै थिई। खुल्दुलीले हात सकसकाए मेरा। थिचेँ।
म जे देख्दै थिएँ, त्यो सायदै मैले कहिल्यै सोचेकी थिइनँ। जति स्त्रि्कन माथि सार्दै लगेँ, त्यति आफ्नै आँखालाई विश्वास गर्न सकिनँ। एक ठाउँबाट त स्त्रि्कन माथि सार्नसमेत सकिनँ, जहाँ लेखिएको थियो, ‘क्लासमा आफूसँग बोल्नै डर लाग्छ।’
मेरोअगाडि निर्दिष्टा, निर्दिष्टा पार्ट टु र पार्ट थ्री; हिन्दी सिरियलका पात्र अचम्ममा परेको बेलाझैं एकैचोटि आए। मलाई आफ्नै माया लागेर आयो। मेरोभन्दा बढी निर्दिष्टा पार्ट थ्रीको माया लाग्यो। त्यति बेलाको मेरो हालत बयान गर्न मसित शब्द छैनन्। थाहा छ मलाई, म राम्री छु। सात कक्षादेखि मेरो पछि लाग्न थालेका हुन्, केटाहरु। लभ लेटर आउँथे। आज पनि तीमध्ये कतिलाई त म अनलाइन देख्नै हुन्न। एक–दुइटा त मलाई पनि अति मन पर्थे। तर मैले आफूलाई कहिल्यै डगमगाउन दिइनँ।
टुहुरी हुँ म। मेरो स्वार्थी बाउ अर्की आमाका छोराछोरी च्यापेर बसेको छ। मेरी बैनी नोकर्नीसरह बसेकी छे त्यहाँ। म सानिमाको घरको घाँडो भएकी छु। मेरो भाइ मामाघरमा कस्तो स्थितिमा बसेको छ, मलाई मात्र थाहा छ। एउटै परिवार तीनतिर टुक्रिएर बस्नुको पीडा हेरेर आफूले केही गर्न नसकी बाँच्नुको पीडा मेरोे नसानसामा छ। घर टुक्रिएकै दिन मैले अठोट गरेकी थिएँ– मेरो भाइलाई बुहारी भिœयाउने टहरो र मेरी बैनीलाई अन्माउने माइती खडा नगरी मर्नेछैन। यसरी सानैमा परिपक्वता छिप्पिएको थियो मभित्र। साथीहरूको लभ स्टोरी सुन्दै गर्दा, बलिउडका रोमान्टिक फिल्म हेर्दै गर्दा झाँगिएको ब्वाइफ्रेन्डको रहरलाई मैले जहिले पनि मभित्र व्याप्त व्यावहारिकता र जिम्मेवारीपनाले थिचिरहेँ। सायद अर्धचेतन मनमा थुप्रिएको चाहना यसरी प्रकट भयो, मेरा पछि लाग्ने यतिका केटा छोडेर म डढेको मकैको ठूटोजस्तो केटाको बाइकमा लिप्सिएर आएँ।
सुरुसुरुतिर ऊसँग बोल्दा रमाइलो लागेको थियो। मैले सोचेँ– हल्काफुल्का गफगाफ, टाइम पास। आज म आफ्नो अबोधपनाको कसैले यति निर्भीकताका साथ फाइदा उठाएको भन्दा पनि आफूले चटक्कै जिम्मेवारी बिर्सिएको पीडाले रन्थनिएकी छु। गढेका आँखामा गहभरि आँसु पारेर ह्याक्राह्याक्रा गर्दै मेरी आमाले अन्तिम सास लिँदै गर्दा भनेकी थिइन्, ‘भाइबैनीको बिचल्ली हुने भो नानी। मेरो छोरो तैैं होस्, यिनलाई रुन नपारेस्।’
निशा गएपछि झन् उकुसमुकुुस भएर आएको छ मलाई। आमाको त्यही अनुहारले एक छिन छाडेको छैन। थचक्क बसेर एक छिन घ्वाँघ्वाँ रुन्छु। आमालाई सम्झीसम्झी रुन्छु। मेरा भाइबहिनीको विचल्ली हुन दिन्नँ आमा– मनमनै अठोट गर्छु।
आखिर कति दिन चल्छ यसरी? आफैंले आफैंलाई हकार्छु। ‰यालबाट बेलुकीको चिसो हावा चल्छ। मलाई मरेको शरीर ब्युँतिएको अनुभव हुन्छ। एक छिन त्यहीँ उभिइरहन्छु। पर बाटोमा एक जोडी जिस्कँदै हिँडिरहेका छन्। केटाले काउकुती लगाइदिन्छ क्यारे, केटीले मुड्कीले ढाडमा हिर्काउँछे। ‘साले!’ मेरो मुखबाट अनायासै निस्कन्छ। मैले कसलाई गाली गरेकी हुँ कुन्नि। म फरक्क फर्कन्छु। ड्रअरबाट लुगा झिक्छु। सरासर बाथरुम जान्छु। तल कोठाबाट ल्यापटप ल्याउँछु। सन्ध्याको मेसेज रहेछ, ‘किन नआको तँ कलेज? इन्फर्म गर्नु पनि छैन। घरमा कतिचोटि गरेँ, फोनै उठेन। भोलि प्रेजेन्टेसन छ तेरो। मलाई कल गरिहाल्।’
ऊ अनलाइन नै रहेछ। तुरुन्तै मेसेज आयो, ‘हाई राजकुमारी!’
रिप्लाईमा म फेसबुक डिएक्टिभेट गर्छु। लामो सास फेर्छु। मलाई सन्चो हुन्छ। मोबाइलमा भाइबर अन गर्छु, त्यहाँ पनि उसको त्यही मेसेज रहेछ। भाइबरमा समेत अनलाइन छ ऊ। म भाइबर अनइन्सटल गर्छु। मलाई हाइसन्चो हुन्छ।
म डेस्कटपमै रहेको इकोनोमिक्स पिपिटी खोल्छु। भोलि उसको आँखामै हेरेर प्रेजेन्टेसन दिनेछु म। मलाई निर्दिष्टा पार्ट टु बन्नुछैन।
(स्रोत : NagarikNews)