‘हेल्लो’
मेसेन्जरको रातो बलेको ठाउँमा क्लिक गरेँ। नचिनेको नारी नामबाट मेसेज आएको रहेछ। मैले पनि ‘हाइ’ भनेर जवाफ फर्काएँ।
‘सन्चै हुनुहुन्छ?’
‘हजुर, आरामै छु। तपाइँलाई नि!’
‘मलाई पनि ठिक छ। म तपाईँको फ्यान भएँ बादल जी। कती मन छुने कुराहरू लेख्नुहुन्छ।’
‘धन्यवाद हजुर’, यति धेरै तारिफले मन फुरूंग बनायो।
उसले मलाई मेरा बारेमा सोधिरहि। मैले पनि भएजति सबै तथ्य खोलिरहेँ।
‘तपाईँका कथाहरू सधैँ अधुरा हुन्छन् किन?’ उसले बिचैमा प्वाक्क सोधि।
‘मैले कसैको पनि पुरा जिवन लेख्ने हैन। जिवनको कुनै एक घटना लेख्ने हो। त्यसैले पनि अधुरो लागेको होला।’
‘हैन के तपाईँ कथालाई लास्टमा त्यसै छोडिदिनुहुन्छ।’ उसले स्याड इमो टाँसेर पठाई।
‘त्यसो भयो भने अब के भयो होला भनेर तिमीले सोच्न पाउँछौ नि त!’ मैले हाँसेको इमो पठाएँ। कतिबेला नजिक ठानेर उसलाई तिमी भनेछु होसै भएन।
‘कथा आफ्नै रियल स्टोरी हो?’ उसले सोधि।
‘कुन चाहिँ कथा? यति धेरै छन्!’
‘सबै।’
‘सबै कथा आफ्नै रियलिटि हुनलाई त दशजनासँग लभ परेर ट्राजेडि पनि हुनुपर्यो नि हाहाहा!’
‘हाहाहा अनि कसरी लेखेको त यति राम्रा कथा?’
‘तिमीजस्तै साथीभाईको देखेर नि!’
‘मेरो कथा पनि लेख्दिनु न!’
‘व्हाट? ओइ म त जिस्केको मात्र हो।’
‘प्लिज मेरो लेख्दिनु न’
‘म त ट्राजेडि लेख्छु नि त!’
‘मेरो कथा सुन्नुभो भने थाहा पाउनुहुन्छ नि।’
‘ल सुनाउ न त!’
उसले आफ्नो प्रेमको विगत सम्झिन लागि।
…… उसलाई त स्कुल पढ्दादेखि नै असाध्यै मन पराउँथेँ। म त्यो स्कुलमा आठ कक्षामा भर्ना हुन गएकि थिएँ। ऊ दश कक्षामा पढ्थ्यो। स्कुलमा अति नै चल्तापुर्ता थियो ऊ। अलराउण्डर थियो। सबैको मुखमा उसैको नाम झुण्डिएको हुन्थ्यो। साथीभाई र सरहरू सबैमाझ लोकप्रिय थियो ऊ। म उसको प्रेममा लट्ठै भएकि थिएँ।
सानै उमेर भए पनि सोचले म परिपक्व थिएँजस्तै लाग्छ। त्यसैले मैले उसको सामु तत्कालै प्रेम प्रस्ताव राखिन। मैले धेरै सुनेकि थिएँ उसले धेरैको प्रेम प्रस्ताव ‘रिजेक्ट’ गर्यो भनेर।म आफ्नो चोखो प्रेम यति सस्तो बनाउन चाहन्नथेँ। म उपयुक्त समयको पर्खाईमा थिएँ चाहे केहि वर्ष नै किन नलागोस्।
उसको एस एल सी थियो। स्कुल आउन छोड्यो। म उसलाई हेर्न नपाएर ओइलाएको फूलजस्तै हुनथालेकि थिएँ।बिस्तारै दिनहरू बिते। म उसको मायामा डुब्दै गएँ। उसको अत्तोपत्तो थिएन। सायद कलेज पढ्न थालिसकेको थियो।
म एक्लै तड्पिरहेँ। कसैलाई केहि पनि भन्न सकिनँ। भनौँ पनि कसरी। म यस्तो मान्छेसँग प्रेममा थिएँ जोसँग मैले एक शब्द पनि बोलेको छैन। सुन्नेहरूले त मलाई पागल नै पनि भन्न सक्थे। सुन्न त मैले पनि धेरै कथाहरूमा यस्तो प्रेमका बारे सुनेकि थिएँ तर आफैँ यस्तो सागरमा डुब्नेछु भनेर कल्पनासम्म पनि गरेकि थिइनँ।
मैले पनि स्कुलको पढाई सकेँ। कलेज पढ्न थालेँ। मेरो जिवनमा धेरै साथीहरू आए गए तर पनि मुटुको एउट कुनामा मात्र ऊ बसिरह्यो। त्यहि मुटुको कुनाबाट ऊ सोधिरहन्थ्यो,’खै त प्रमिला मलाई खोज्दैनौ? तिमीले ढिला गर्यौ भने त म धेरै अगाडि पुग्न सक्छु अनि तिमी धेरै पछाडि नै रहौली नि।’
मलाई त्यहि डरले एउटा उपाय मनमा आयो। फेसबुकमा धेरै तरिकाले उसको नाम खोजेँ। एउटा तस्वीरमा आँखा टक्क अडियो। सात वर्षपछि पनि उसलाई उस्तै हँसिलो र प्रेमिल देखेँ।
फ्रेण्ड रिक्वेस्ट पठाउन लाग्दा हात थर्रर्रर्र काँप्यो। मुटु ढक्क फुलेर आयो। म रोमान्चित हुँदै थिएँ। उसको प्रोफाइलमा रिलेसनशीप सिंगल देख्दा त झन् त्यसै त्यसै के के सोच्न लागेछु।
फ्रेण्ड रिक्वेस्टको जवाफको प्रतिक्षामा म पुरा दिन फेसबुक खोलेर बसेँ। हरेक पटक नोटिफिकेसनको बत्ती बल्दा मन फुरूंग हुन्थ्यो तर उसको जवाफ आएन। यसरी तीन दिन बितेपछि बल्ल उसले फ्रेण्ड रिक्वेस्ट एसेप्ट गर्यो। मेरो मन खुशीले माथी आकाशमा बादलसँगै उँड्न थाल्यो।
म हरपल उसको प्रोफाइलमा डुलिरहन्थेँ। मनमा धेरैथरि सपनाहरूले डेरा जमाउन थाले। उसका फोटोहरूमा हराइरहनु नै मेरो दिनचर्या बन्यो। च्याटमा उसँग बोल्न र आफ्नो मनको कुरा सुनाउन अझै हिम्मत आएन।
एकदिन उसलाई अनलाइन देखेँ। मेसेन्जरमा गएर ‘हेल्लो’ लेखेँ। मुटुको धड्कन आफैँले सुन्न सक्नेगरि धड्किन थाल्यो।
‘हाई’, उसको जवाफले मलाई बिलखबन्दमा पार्यो। अब के लेखुँ।
‘हाउ आर यु?’ मलाई तिमी या तपाईँ के सम्बोधन गरौँ गाह्रो पर्यो, त्यसैले अंग्रेजी नै सजिलो लाग्यो।
‘फाइन’ उसको छोटो उत्तरले झनै अप्ठ्यारो बनायो।
‘मलाई चिन्छौ त?’ मेरो धार्यताको बाँध टुटिसकेको थियो। मैले तिमी नै भनेँ।
‘अहँ छैन त!’
‘हामी स्कुलमा सँगै पढ्थ्यौँ नि त।’
‘ए अँ अँ!’ उसले चिन्यो कि चिनेन कुन्नि मेरो मन राखिदियो। ‘के गर्दैछौ नि आजकाल?’
‘म त नर्सिंग पढ्दै छु। तिमी नि?’
‘मेरो त इन्जिनियरिंग सकियो।’
ऊ सोधेको प्रशनको जवाफ मात्र दिन्थ्यो। बाँकि केहि भन्दैनथ्यो। मेरो लागी ऊ सर्वस्व थियो भने उसको वागी म केहि पनि थिइनँ।
यसरी धेरै दिन बित्यो। मेरो मनमा सुनामी जस्तै आँधिबेहरी आउन थाल्यो।म सहनै नसक्न् भइसकेरो थिएँ। त्यसैले एकदिन मैले उसलाई देखेदेखि आजसम्मका मनका भावनाहरू अफलाइनमा मेसेज गरिदिएँ। म जिन्दगी एउटा कठिन मोडमा उभिएर ऊ सामु हात फैलाउँदै थिएँ।
मैले दुईदिनसम्म फेसबुक खोलिनँ। आफैँलाई लाज लागेर आयो।
दुई दिनपछि फेसबुक खोल्दा म छाँगाबाट खसेझैँ भएँ। जे म सुन्न र पढ्न चाहन्नथेँ तियहि पढ्नु पर्यो।
‘मेरो इन्गेजमेन्ट भइसकेको छ। प्लिज यसरी मेरो जिन्दगीमा दखल नदेउ। फेरि यस्तो मेसेज गर्यौ भने राम्रो हुनेछैन।’
उसले मलाई धम्क्यायो। मेरो टुटिसकेको दिल अझै मसिना मसिना टुक्रा बनायो। मैले वर्षौँदेखि सजाएको महल एकाचोटि गर्ल्यामगुर्लुम ढल्यो। म त्यहि ढलेको महलको भग्नावशेशमा च्यापिएर निसास्सिएझैँ भएँ।
मैले फेसबुक डिएक्टिभेट गरेँ। केहि दिन यतिकै लुटिएको यात्रीजस्तै मनमनै भौँतारिरहेँ। के गर्ने के नगर्नै सोच्नै सकिनँ। एकदिन दिउँसो फेरि फेसबुक खोलेँ। मन मानेन। उसको प्रोफाइल खोलेँ। तस्वीर हेरेँ। केहि छिन यताउता हेरेर फेरि उसको प्रोफाइल खोजेँ। अहँ फेला परेन। उसले मलाई ब्लक गरेछ। अब मैले बुझिसकेको थिएँ यो एकोहोरो रोटि पकाउनुको कुनै तुक छैन। ऊ काँचो नै रहन्थ्यो भने म पाकेर पनि जल्ने निश्चित थियो। म हारेँ, खै कसरी, आफ्नै कारणले या नियतीले बस् यसरी हारेँ कि अबका सयौँ जितहरूले पनि भरपाई गरिन सायदै सक्ला बादल जी।
प्रमिलाले आफ्नो कथा सकि। म चुपचाप थिएँ।
बस् यति मात्र भन्न सकेँ’विगतलाई बिर्सिदिनु र भविष्य बारे सोच्नुस् न।’
उसले मुस्काएको इमो पठाई। सायद यो मुस्कान आफ्नो बह पोखेर मन हल्का पारेको संकेत थियो। ऊ त सायद आँसु बगाउँदै होली यता मजस्तै।
(स्रोत : Suresh Badal’s Blog )