कथा : असामयिक मोड

~प्रशान्त खरेल~Prashant Kharel

साप्ताहिकरूपमा प्रकाशित हुने एक नामी पत्रिकाको उपसम्पादक उ । फेसबुक र व्लगमा छाएको कथाकार । प्रत्येक हप्ता जसो नयाँ कथा वा लघुकथाकासाथ अपडेट हुने गरेको उसको व्लग धेरै प्रसिद्ध भैसकेको थियो । म पनि उसको व्लगको अभ्यस्त पाठक हुँ । उसको शैलि, उसले उठाउने गरेको विषयबस्तु, उसका विचारका पाटाहरू, उसले छान्ने गरेका समाजका मिहिन कुराहरू र प्रयोगहुनेगरेका शब्दहरूले म असाध्यै लोभिएको थिएँ ।

पेशागत रूपमा उ पत्रकार अनि म सामान्य पाठक । उ समाजलाइ सुसुचित पार्थ्यो, म उ बाट सुसुचित हुन्थे । यसो भन्दा अझ प्रष्ट होला, उ र म एक अर्काका परिपुरक । हामीविचको मित्रता मालबाँसको झ्याङ् जस्तै झ्याङ्गिएको थियो र सतिसाल जस्तै ठडिएको थियो । १० वर्ष पहिले होला हामी उच्च शिक्षाको शिलशिलामा शहरमा एउटै कलेजमा पढ्दा भेट भएको थियो । त्यतिखेर उ साह्रै लजालु थियो । एकान्तप्रिय थियो । साथीहरू धेरै बनाउन उ मनपराउँदैनथ्यो । अझ कोहि केटीसाथी बनेभने त कसरी छुटकारा पाउने भन्ने बाटो हेरिरहन्थ्यो । उसको अनुहारमा यो प्रष्ट झल्किएको हुन्थ्यो । कतिपटक त उसले मसँग मुख फोरेरै भनेको थियो “किन किन यो केटी साथि बनाउने सन्दर्भले त म मरेतुल्य हुन्छु । मलाइ एकदमै छटपटि हुन्छ, निसासिए जस्तो हुन्छ ।” म फिस्स मुस्काइदिन्थे जवाफमा । उसको बानिको ठिक उल्टो म असाध्यै साथीहरूसँग घुलमिल हुने समुहमा बस्न रूचाउँथे । स्वभाविकरूपमै केटासाथीहरू साथसाथै केटीहरू पनि मेरा निकैजना थिए मित्रताको भण्डारमा ।

उ त्यहि समयदेखिनै साहित्यमा लागेको थियो । कथा, लघुकथा, निवन्ध र कविताहरू निकै लेखिरहन्थ्यो । तर त्यतिबेलाको समयमा उसको अन्तर्मुखि स्वभावले गर्दा धेरै सृजनाहरूको म एकल पाठक भएको थिएँ । केहि समयको पढाइ पछि हाम्रा बाटाहरू छुट्टिए । उ पत्रकारिता पढ्न थाल्यो, म खेतिकर्म तर्फ लागें । हामीबिच भेटघाट भैरहन्थ्यो । उ प्रत्येक सप्ताहन्तमा गाउँमा आउँथ्यो र साहित्यको कोशेलि केहि पुस्तक पढ्न छोडेर जान्थ्यो मलाइ । हामी भेटमा निकै टाढाटाढा सम्म घुम्न जान्थ्यौ । कहिले त घुम्दै र कुरागर्दै पुरै जुनेलि रातनै कट्थ्यो ।

पत्रकारिता पढ्न थालेपछि उसको स्वभावमा परिवर्तन भयो । अब उ अन्तर्मुखि रहेन । सृजना र रचनाहरू पनि निरन्तर प्रकाशित गर्न थाल्यो । कथा त उसको नशानै भयो । गँजडीकै लत जस्तो एउटा प्ल्ट भएन भने सुत्न पनि सक्दैनथ्यो उ । कति पटक कथाकै लागि उसले किसान जीवनको अध्ययन गर्न मेरो खेतिको काममा ४–५ हप्ता सम्म सघाएको पनि छ । हामी दुबैजना कथाकै खोजीमा शहरका गल्ली, चोक, होटल, रेस्टुरेन्ट, चलचित्र भवन, बजार, पार्क कुदेको अझै झल्झलि सम्झनामा ताजै छ । लागुपदार्थका दुर्व्यसनिको कथा बनाउन उ र म काठमाण्डु गएको, २ दिनको घुमाइमा पैसा सकिएको, २ रात सडकमा सुतेको र फर्किने पैसा नभएर रात्रिबसको पछाडि झुण्डिएर यात्रा गरेको म कसरी भुल्न सक्छु र ? प्रत्येक पटकको भेटमा उसँग प्ल्ट भएको वा नभएको म सजिलै थाहा पाउँथे । कथा बन्ने सन्दर्भभए उसका आँखाका नानी चम्किला देखिन्थे भने सन्दर्भ नभएको बेलामा पुतलीहरू फराकिला भएर प्रश्नबाचक दृष्टीले हेरिरहेको हुन्थ्यो उ ।

कहिले उ महिनौं सम्म गायब हुन्थ्यो त कहिले आधारातमा आर्कमिडिज शैलिमा युरेका चिच्याउँदै आइपुग्थ्यो मेरो आँगनमा । यसपटक पनि उ महिनौं गायब भयो । मलाइ लाग्यो कथाको अनुसन्धान गर्दै होला कहिँ गएर । खेतिको मध्य समय भएकाले अन्न स्याहार्न म तल्लिन भएँ । लगभग ३ महिना पछि एक गह्रुङ्गो साँझमा उ टुपुल्कियो म भएको ठाउँमा हारेको जुवाडे जस्तो भएर । अचम्म छ यसपटक, न उसको अनुहारमा प्राप्तिको खुशी छ न खोजीको झल्को । यस्तो बेलामा उसलाइ चलाउनु भनेको कोशीको बाँध फुकाउनु सरह हुनाले मैले चुपचाप उसलाइ स्वागत गरें ।
रात छिप्पिँदै गएपछि बल्ल उसले मुख खोल्यो
“समय परिवर्तनशिल रहेछ । हामी त परिवर्तनका दर्शक मात्र रहेछौं, संबाहक हैन ।“ लामो सुस्केराकासाथ उसले सन्नाटा तोड्यो । सेती नदिको गहिराइ घट्यो भन्दा पत्याउन सक्थें तर उसको मुखबाट यो शब्द ? अहँ हुन सक्दैन ।

“आजकाल तैले कथा लेख्न छाडेर दर्शनका बिश्लेषणहरू गर्न थालिस् कि क्या हो ?” उसको मुड परिवर्तन गर्न पुरानै शैलीमा मैले जिस्काएँ ।

सुनेन क्यारे मेरो कुरा “समयले मरूभुमीलाइ हरियाली र हरीयालीलाइ मरूभुमी बनाउँदो रहेछ ।“ दलिन तर्फ एकोहोरो हेर्दै उसले मलाइ भन्यो । लाग्यो सुकरातको समयमा उनको चेलोसँग म भलाकुसारी गरिरहेछु ।

“बाग्मतीमा पानी निकै बगिसकेछ । अनि यही बहाबसँगै हाम्रा मन र मस्तिष्कका सन्दर्भहरूले पनि किनारा परिवर्तन गरेछन् ।“ हैन यो मान्छे आज किन यति विघ्न बुझ्न गाह्रो भएको हो ? धैर्यताको पनि सिमा हुन्छ । मैले मुख फोरेरै भन्नु पर्यो । “तैले भन्न खोजेको के हो ? प्रष्ट भन ठाडो र झर्रो भाषामा । यो सुत्र र रहस्यात्मक भाषा बुझ्न अलिक अप्ठेरो भयो मलाइ ।“ मैले असजिलोपना पोखें ।

“कुरो के हो भने नि, मेरो कथा अब तैंले लेख्नु पर्यो ।“ रहस्यको पन्तुरो खोल्यो उसले । उसको यो भनाइले मलाइ आश्चर्यचकित बनायो । “ठिकै छ नि त । म तेरो कथा लेख्छु र पत्रिकाको सम्पादन पनि गरिदिन्छु अनि तँ चाँही मेरा गोठका गाइभैंसी स्याहारेर बस है त । बरू कति महिनाको लागि होला ?” – ठट्यौली गर्दै म ।

“ठट्टा नगर्न । मेरो जीवनसँग गाँसिएको यथार्थको पाटो तैंले समाजलाइ देखाउनु पर्नेछ ।“ – मेरो भनाइले पनि उसको दृढता टसमस भएन ।

“हैन तेरो जीवनको यथार्थ देखाउन त मैले तेरो जीवनी पो लेख्नु पर्छ त । यो कथा लेख्नु पर्ने आवश्यकताचैं किन नि ? “ – मैले नबुझेकै हो उसलाइ । उसले चुरोट सल्कायो अनि हावामा फुङ्ग धुवाँ उढायो विना कुनै संकोच र उद्देश्य । टुकिको मधुरो उज्यालोमा पनि धुवाँका गुजुल्टाहरू तरेली पार्दै हावामा विलउँदै गरेको प्रष्ट देखिन्थ्यो, मानव चोलाको परिणिति जस्तै । शायद जीवन पनि यस्तै होला । धुवाँ सँगसँगै उसले व्यक्त गरेका शब्द र अनुभुतिहरू बन्दै र विलाउँदै गरेको मैले अनुभव गरिरहें । उसलाइ सुन्दै गए र मनमनै कथाको प्ल्ट यसरी तयार गरें ।

२०६६ चैत्र १९
करिब १० दिनको व्यस्तता पछि बल्ल मैले फेसबुक खोलें । भित्ता भरि साथिहरूको प्रश्न साथसाथै बहिनि निर्मलाको संदेश पाएँ । निर्मला मेरी आफ्नै बहिनी नभएर टाढाकै नाता पर्ने भए पनि प्रत्यक्ष देखभेट भएको छैन हाम्रो । यधपी उनको अफिसका सबै सहकर्मीहरूलाइ म चिन्दो रहेछु । सर्सति संदेश पढें । “दादा कता हराउनु भयो ? सन्चै हुनुहुन्छ ? तपाइको भित्तामा मैले पोष्ट गरेको छु हेरेर जवाफ दिनुहोला है ।“ उनको यो पुरानै शैली हो । फेसबुकको भित्तोमा केहि नलेखे पनि मलाइ दुख दिएर रमाइलो गर्ने उनको यो बानी मलाइ थाहा थियो ।

मेरो लागी सूचनाहरू हेर्दै जाँदा कोहि शर्मिला नाम गरेको केटीले साथी थप्न अनुरोध गरेको भेटे । पत्रकारितालाइ व्यवसाय बनाउने मानिसले सबैसँग मित्रता गर्नु पर्छ । यहि सोचेर मैले उनको अनुरोध स्वीकार गरें । मलाइ उनि को हुन् र किन मित्रताको अनुरोध गरिन् त्यो बुझ्न जरूरी लागेन ।

२०६६ चैत्र २३

फेसबुक मोबाइल सफलतापुर्वक मेरो प्रोफाइलमा थपिएको र एक्टिभेसन भएको सुचना मोवाइलबाटै प्राप्त गरें । धन्न मोबाइल कम्पनी । अब फेसबुक कहिँ नछुट्ने भयो । सायद यो पनि सामाजिक सञ्जालहरूको एक्लो तानाशाह बन्न उधत छ । पहिलो उपलब्धि, “तपाइको तस्विर संग्रहमा शर्मिललाले टिप्पणी गर्नुभयो” सुमधुर सङ्गीतका साथ मोबाइलले संदेश दियो । पहिलो संदेश त हेर्नै पर्यो । मेरो कलेज समयका फोटाहरूमा गरिएको टिप्पणी रहेछ त्यो । “फोटो त साह्रै राम्रो पो छ त । मन पर्यो है मलाइ त ।“ अन्जान मान्छेले गरेको यस्तो टिप्पणी अलिक अप्ठेरो लाग्दो रहेछ । मैले जवाफ दिनु जरूरी ठानिन ।

२०६६ चैत्र २८
कसले दिएछ मेरो एम एस एन परिचय ? सायद फेसबुकबाट होला । साथी बनाउने आग्रह फेरी स्वीकार गरें । अबचैं बुझ्नै पर्यो । अचम्म, मेरा सबै फोटाहरूमा धमाधम कमेन्ट हुँदै रहेछ । सबै कमेन्टहरू एकै किसिमका एउटै भाषा र शैलीमा लेखिएका । अलिक अनेपक्षितनै लाग्यो मलाइ । उनको बारेमा थाहा पाउन प्रोफाइल हेरें । सिमित जानकारी मात्रै रहेछन् । तस्विर त पक्कै होला भनेर हेरें । अहँ एउटै पनि रहेनछ । आफ्नो कुनै परिचय नखुलाउने, तस्वीर पनि नराख्ने अनि अरूको तस्विरमा नानाभाँती लेख्दै हिँड्नेलाइ के भन्न सकिन्छ र ? “अरूको तस्विरमा यस्तो लेख्दै हिँड्ने मान्छेले आफ्नो तस्विर राख्नु पर्दैन ?” मैले ठाडै प्रश्न गरेर संदेश पठाएँ । मलाइ शंका थियो यो कसैले बेइमानी गर्दैछ सञ्जालको दुरूपयोग गरेर । ल, तुरून्तै जवाफ आयो । “तस्विर हेर्ने भए घरैमा आउनु नत्र मौका मिलाएर न्युइयर मनाउन जानु पर्ला अनि प्रत्यक्ष भेट भैहाल्छ नि ।“ हैन के हुँदैछ यस्तो । कसरी भेट्दै नभेटेको देख्दै नदेखेको मान्छेलाइ यसरी प्रस्ताव गर्न सक्छन् हँ ? जमाना उत्तरआधुनिक भैसकेछ । ज्या है । आफुचैं अझै जङ्गेकै पालामा छु जस्तो लाग्यो । उनको कृयाकलाप सबै हेरें । सबैको तस्विरमा एकै किसिमको टिप्पणी । अनि जवाफ फर्काउँदा उस्तै ब्योहोरा “तस्विर चाहिए घरमै आउनु “ । अबचैं कथाको प्ल्ट दह्रै भेटिने लक्षण आयो । मेरो खुशीको सिमानै रहेन । मैले जवाफी इमेल प्रेषित गरें ”घर कहाँ हो ? कसरी भेट्ने ? कसरी चिन्ने ?” सँधै कथाको खोजिमा भौंतारिने म आज कथाले ढोका ढक्ढकाउँदा कसरी नसुनेझैं गर्नु र ? म बस् जवाफको प्रतिक्षामा बसें ।

२०६७ बैशाख ३
पत्रिकाको वार्षिक अङ्क निकाल्ने हाम्रो उद्देश्य अनुरूप तयारी युद्धस्तरमा भैरहेको थियो । त्यसैले शनिवार भए पनि अरू सहायक कर्मचारिहरूलाइ पनि आधा विदा मात्र दिएर म संपादनकार्यमा व्यस्त थिएँ । लगभग बेलुकी ६ वजे तिर फोनको घण्टी एकनासले बजिरह्यो । मैले मन नलागी पनि फोन उठाएँ । उताबाट नारीस्वर बोल्यो “निर्मलजि हुनुहुन्छ ? उहाँसँग कुरा गर्न मिल्ला ? “ मैले कहिल्यै पनि नसुनेको नारि स्वर भएकोले असमन्जस्यमा पर्दै मैले सोधें । “के काम थियो होला भन्नुहोस् । म नै हो निर्मलजि ।“ “अस्ति नयाँ वर्षमा घुम्न जाने भन्नु भएको थियो नि अनि जान पाइएन कि त्यसैले आज सरी भन्न फोन गरेको ।“ आजसम्म कार्यलयका सहकर्मि मित्रहरूसँग मात्रै कामको शिलसिलामा हिँडेको म कुनै केटीलाइ नयाँ वर्षमा घुम्न लैजान्छु भनेको भन्दा लाग्यो म रङ् नम्वरको सिकार भएको छु । मैले जवाफ फर्काएँ “तपाइले खोज्नुभएको निर्मल म होइन । सरी है रङ् नम्वरमा फोन गर्नु भयो ।“ उनि स्पष्टीकरण दिन खोज्दैथिन् मैले आफ्नो व्यस्तता पोखें “म अहिले काममा निकै व्यस्त छु, हुन्छ भने ४–५ दिन पछि फोन गर्नुहोला ।“ अनायासै कसैको चित्त किन दुखाउनु भनेर मैले भनिदिएँ र फोन राखें । कामको व्यस्तता र सम्झनु पर्ने कुनै कारण नभएकाले मैले यो घटना सजिलै विर्सिदिएँ । हुनत त्यसपछि त्यस्तो फोन पनि आएन ।

२०६७ जेठ १७
संविधान सभाको म्याद सकिने र थप्ने विचको समयान्तर अनि त्यसले सृजनागरेका तत्कालिन सामयिकता र चटारो लाइ हिजै बिदा गरेर फुर्सदमा बसेको छु म । लगभग डेढ महिनाको स्वनिर्वासन पछि आज फेसबुक खोलेर आरामले बसें । भित्ताभरि साथिहरूले छोडेका मायाका कोशेलीहरू स्याहार्दा स्याहार्दै र संदेशहरूको जवाफ फर्काउँदा फर्काउँदै ३ घण्टा वितेको थाहै भएन । फुर्सदै छ भनेर च्याट बन्द नगरी बसेको त एउटा अ/परिचित ठेगानाले मलाइ झण्डै ३० मिनेट देखि कुरेर बसेको रहेछ । तल संकेत चिन्ह रातो बलिरहेको देखेर म झल्यास्स भएँ । मेरो सम्भावित कथाकि नायिका रहिछिन् च्याटमा ।

“मलाइ माफ गर्नुहोला है तपाइलाइ मैले आधा घण्टा कुराएछु । ” स्वभाविक शैलीमा मैले भने ।
“तपाइलाइ भेट्न पनि कस्तो गाह्रो । साह्रै व्यस्त पो हुनुहुन्छ कि ? अस्ती पनि फोनमा रङ् नम्बर भनेर फोन राखि दिनुभो । ” “ए हो र ? त्यो तपाइनै हो त ? मलाइ माफ गर्नु होला है म निकैनै व्यस्त थिएँ त्यस बेलामा । अनि तपाइले नाम भन्नुनै भएन नि त त्यस दिन ? ” सम्भावित कथाकी नायिकालाइ चित्त दुखाउन चाहान्नथें म । “त्यति मात्र हो र तपाइलाइ भेट्न म तपाइको कार्यलयमा पनि गएको थिएँ तर व्यस्त हुनुहुन्छ भेट्न मिल्दैन भनेर फर्काइदिए ।” ३ दिन अघि कोही भेट्न अाएको भनेर सृजनाले इन्टरकमबाट भन्दा बेफुर्सदि भएर फर्काएको अहिले पो सम्झें त । “हो त नि , त्यस समयमा म निकै व्यस्त थिएँ । के गर्ने संक्रमणकालको जटिल परिस्थितिमा देश उभिएको बेलामा हामी जस्ता कलमजिवीहरूको कर्तव्य अझ धेरै हुँदो रहेछ ।” मैले स्पष्टीकरण दिएँ । “तपाइले मलाइ भेट्न खोज्नु भएको कारण के थियो होला ? तपाइ सँग केहि समय कुराकानी गर्दै सोध्दै गर्ने मन पनि थियो मेरो । ” मित्रतामा लपेटेर व्यवसायिक धर्म निर्वाह गर्ने उद्देश्यले अनुगृहित थियो मेरो यो भनाइ । “खासै केहि त होइन तर तपाइसँग सोधेर केहि प्रष्ट हुनु मलाइ अत्यन्त जरूरी थियो त्यसैले ।” उनको जवाफले मेरो जिज्ञासा झन बढायो । “हुन्छ सोध्नुस् ।” “तपाइ काठमाण्डु बाट घर कहिले फिर्नु हुन्छ ?” बाजेको पाला देखि काठमाण्डुनै बसेको म यो प्रश्नले कथाको निरन्तरता हुने देखेर भने “२ महिना पछि फिर्छु होला ।” मैले ढाटेकै हो तर उनले थाहा पाउने संभावना छैन । “श्रवण दाइले भनेको कुरामा तपाइको पनि सहमति छ नि हैन र ? म त ढुक्क भएर बसेकी छु ।”

कथाले मोड बदलेकै हो । सम्झदै गएँ, श्रवण नाम गरेको कसैसँग पनि चिनजान र व्यवसायिक मित्रता वा शत्रुता केहि पनि छैन । विलखवन्दमा परेको मैले सोध्नै पर्यो यस पटक “को श्रवण दाइ ? अनि श्रवण दाइलाइ कसरी चिन्नु हुन्छ त तपाइ ?” “तपाइको दाइ क्या त, अनि मैले उहाँ सँगै काम गरेको हो छ महिना सम्म । मलाइ त उहाँले नै भन्नु भएको हो तपाइको बारेमा र सबै प्रयास र प्रसँगहरू उहाँकै हुन् ।” उनको जवाफले म अलमलिएकै हो । कतै मैले विर्सेकोपो हो कि ? बुझेर हेर्नु पर्यो । “श्रवण दाइ अहिले कहाँ हुनुहुन्छ नि त ? अनि तपाइले उहाँ सँगको काम किन छोडेको त ?” “दाइ त अहिले पनि पुस्तक पसलमै हुनुहुन्छ । मिनाले काम गर्न थालेको भएर मैले छाडेको हो ।” हरे शिव । एक त त्यसै अन्कार छ त्यहाँ माथि फेरी अँगार कसरी खोज्नु मैले ? “मिना? को मिना भन्नु भएको तपाइले ?” “तपाइकि फुफुकी छोरी मिना क्या, यसपाली वि. ए. को परिक्षा दिइन् नि ।” मलाइ थाहा भए सम्म मेरो फुफु कोही छैन ।

उनले गलत मान्छेसँग कुरा गर्दैछिन् वा समयको दुरूपयोग मात्रै गरेकि हुन् । कतै विरामी जाँच्न गएको चिकित्सकनै विरामीद्वारा जाचिन त थालेको हैन ? अलिक प्रष्ट हुनै पर्यो । “तपाइको घर कहाँ हो ?” “तपाइको घरबाट उत्तर तिरको वस स्टप छ नि, दाइले किताब पसल राख्नु भएको, हो त्यहि हो ।” अब पक्कै पनि मैले मेरो घर विर्सिएँ सोध्नै पर्यो उनलाइ । “अनि मेरो घर चाहीँ कहाँ हो नी ?” “किन सोध्नु भएको ? तपाइको र मेरो घर त नारायणगढ चोकमै त हो नि ।” साथिको घर जाँदा नारायणगढ लेखेको बोर्ड मात्रै देखेको मलाइ यो जवाफ सुनेर खुलदुलि भयो । “त्यसो भए भन्नुस मेरो बारेमा के के थाहा छ तपाइलाइ ।” कथाको प्ल्ट भुसुक्कै विर्सिएछु मैले । “तपाइले ८ कक्षा सम्म यहीँ पढेर काठमाण्डु जानुभयो । ५ वर्षदेखि गाउँमा अाउनुभएको छैन । १ वर्ष देखि एडभर्टाइजिङ् एजेन्सिको प्रवन्धक हुनुहुन्छ । अहिले सम्म अविवाहित हुनुहुन्छ । तपाइले नारायणगढ फाइनान्समा ३५ प्रतिशत शेयर लगानी गर्नु भएको छ । यतिले पुग्दैन र ? मेरो बारेमा त श्रवण दाइले भन्नु भएकै होला नि हैन र ? बरू तपाइको के राय छ ?”

समय र सन्दर्भले कोल्टे फेर्दै गएको लाग्यो मलाइ । उनले खोजेको निर्मल म थिइन । फेसबुकमा एउटै नाम गरेका धेरै मानिसहरू हुने हुनाले उनि झुक्किएकि हुन् । २–३ महिनाको उनको परिश्रम खेर गएको देख्दा मलाइ दुख लाग्यो । व्यवसायिक धर्म निर्वाहा गर्दै सुचनाको हक प्रदान गर्दै मैले जवाफ फर्काए “यो सत्य हो म निर्मल हुँ । तर तपाइले भन्नु भएका अरू सबै कुराहरू मेरो हकमा असत्य हुन् । मेरो घर नारायणगढ होइन । म कुनै श्रवण र मिनालाइ चिन्दा पनि चिन्दिन । अहिले म साप्ताहिक रूपमा प्रकाशित हुने पत्रिकाको उपसंपादक हुँ र कुनै पनि कम्पनिमा मेरो शेयर छैन । अब प्रष्ट भयो कि ? यसमा तपाइको राय के छ ?” “तपाइ असहमत हुन सक्नुहुन्छ तर यसरी अाफ्नो सत्यता लुकाउनु हुँदैन किनकी म तपाइलाइ राम्रोसँग चिन्दछु ।” अझै पनि उनि कुहिरोको कागनै छिन् जस्तो छ । “तपाइलाइ ढाँटेर मलाइ कुनै उपलब्धि छैन । बरू विश्वास नलागे मेरो अफिसमा अाएर मेरो बारेमा बुझ्नु होला ।” “हुन सक्छ मैले गलत सूचना पाएको हो । तर मलाइ विश्वास छ तपाइ मैले भेटेको सहि मान्छे हो ।” निर्धक्क भएर उनले जवाफ फर्काइन् । उनको जवाफमा दृढता र अात्मविश्वास झल्किन्छ ।

सञ्जालमा अाएको समस्याले गर्दा हाम्रो सम्पर्क टुट्यो । कथाको खोजीमा लागेको म अाफै कथाको पात्रमा रूपान्तरण भएको देखेर अवाक वसिरहेछु । एक्कासी सृजना भित्र पसेर सोधिन् । “काम त सबै सकिएको हैन र सर ? कि अाज पनि सर लेटनाइट यतै बस्नु हुन्छ ?” झल्यास्स भएर घडि हेरेको त साढे अाठ भैसकेछ । ला अाज त ड्राइभर पनि छैन । गाडी पाउन मुस्किल छ । सृजनालाइ उनको निवासमा पुर्याइदिनु पर्ने मेरो दायित्व हुन अायो ।

(स्रोत : Prashant’s Blog )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.