कथा : बेपत्ता

~सीमा आभास~seema avas

छोराको बाटो हेर्न थालेको सात वर्ष बितिसक्दा पनि फर्किएन। ६० वर्ष पार गरेका बाबुआमाको सपना जीवितै छ, एक मात्र सन्तान फर्किएर आएपछि बिहे गरििदने र घरमा पालेको खसी जन्तेबाख्रो बनाउने।

हिँड्दा झोला बोक्ने बानी भएको छोरो सपनामा झोला बोकेरै घर आएको देख्छु भन्थिन् आमाले। उनी दिनहुँ आर्जे हेराउन जान्थिन्। आर्जे हेर्नेले सके मान्छे नभए केही खबर आउँछ भन्न छोडेका थिएनन्। त्यसैले जीवितै थियो, छोरो र्फकने आशाको त्यान्द्रो। घरमा पाक्न छोडेको थियो मीठो चोखो।

गाउँमा सबैको खबर आउँदा रविनको खबर कहिल्यै आएन।

छिमेकीले रविन भद्र र सुधो केटा हो, बदमासी गर्दैन भन्दा उनीहरूको आशाको दियो केही टड्कारो बन्थ्यो। कतै बेपत्तामा पारेर मारे कि भन्ने आशंका नलागेको पनि होइन।

बलेँसीको पानी चुहिएझैँ दिनहुँ चुहिरहेको थियो सन्तान आउने आश।

रविन साथीहरूको जमघटमा समसामयिक राजनीतिका बलिया तर्क गर्थ्यो।

केही गर्न सक्छस् भनेर साथीहरूले भनिरहँदा लंगडा बुबा र पाठेघरको समस्याले सताइएकी आमा अनि घरको एक लाखभन्दा बढीको ऋण, उसको टाउकोभरि घुम्थ्यो। आमाबुबालाई उपचार गर्नु र घरको ऋण तिर्नु उसको जीवनको उद्देश्य थियो।

साथीहरूले भन्थे, “रविन नेतासँग चिनजान छ, जागिर माग।”

कहिलेकाहीँ त जागिर माग्न जाऊँ कि भन्ने पनि सोच्थ्यो। तर, उसको अहम्ले नेतासँग जागिर माग्न कहिल्यै धकेलेन।

ऊ आफ्नै योग्यताले जागिर खाएर सधैँका लागि ऋणमुक्त भएर बाँच्न चाहन्थ्यो।

तीनमुरी धान हुने खेत बेचेर ५० हजारजति ऋण तिरेपछि घरमा धानको गेडो भित्रिने बाटो मेटियो। उपचारको अभावले आमाबुबाको स्वास्थ्य स्थिति झन् नाजुक हुँदै थियो। गाउँको स्थानीय डाक्टरले आमालाई बेलैमा उपचार गर्न नसके क्यान्सर हुने सम्भावना छ भनेपछि ऊ चिन्तित हुनु स्वाभाविक थियो।

घरपरतिरको बारी ५० हजार रुपियाँमा बेचेपछि बुबालाई पाँच हजार घरखर्च छोड्यो र बाँकी पैसाले उपचार गर्न आमालाई डोकोमा बोकाएर काठमाडौँतिर लाग्यो।

भुल्केपारि पुगेपछि १०-१५ जना झोला बोकेका मान्छे उनीहरूतिर आएको देखेपछि रविनको आङ ढक्क फुल्यो।

भरियाले भन्यो, “साहूजी म त यहाँभन्दा पर जान्न। ज्यानभन्दा ठूलो केही छैन।” रविनले निरीह आँखाले भरियालाई नाजवाफ हेर्यो। पर… देखिएका जत्था उनीहरूको छेवैमा आइपुगे र छेउमा झुरूप्प उभिए।

“काँ हिँडेका ?” जत्थामध्येको एउटाले सोध्यो। “आमाको उपचार गर्न काठमाडौँ,” रविनले विस्तारी जवाफ दियो। “काठमाडाँै सुनकोसीवारि छ कि पारि ?” सन्किएको प्रश्न गर्यो।

रविनले शून्य आँखा उठायो। जवाफ दिएन।

“ए बूढो तँचाहिँ काँ हिँडेको ?” भरियालाई प्रश्न गर्यो। “बिरामी साह्रै भएकाले सहयोग गरेको हजुर,” भरियाले हात जोड्दै जवाफ फर्कायो। “कोसी पार गरेर जानुपर्यो भने हाम्रो पार्टीको अनुमति चाहिन्छ भन्ने था छैन ?” थर्काएर भन्यो। “आमाको उपचार गर्न हतार थियो त्यसैले …,” रविनको स्वरमा शिथिलता थियो। “गर्लास् उपचार ! घरै फर्का बूढीलाई,” आदेश दियो। र, पार्टीलाई चन्दा भनेर ३० हजार रुपियाँ जबरजस्ती लिएउनीहरूले ।

“पर्सि ३० जनाजतिलाई खाना बनाउनू। आर्मीलाई भनिस् भने खैराँत छैन,” रविनलाई आदेश दिए। जे त पर्ला, आमालाई लिएर जान्छु नै भनेर रविन अगाडि बढ्यो।

“बाबु मलाई त बँचाउलास् तर तँलाई बाँच्न दिँदैनन्। खर्च लिएर गई गए …” आमा विलाप गर्दै रुन थालेपछि भरियाले पनि ‘हो’ मा ‘हो’ मिलाएर जान मानेन।

आमाको आँसुलाई नाघ्न नसकेपछि रविन घर फर्कियो अमिलो मन लिएर।

कोसीदोभान आइपुगे साँझमा। त्यहीँ बास बसे। होटलको पेटीमा भरियाले डोको बिसाएको मात्र के थियो, होटलवाला साहूले डोको नबिसाउनू, आफ्नो बाटो लाग्नु बास पाइँदैन भन्दै रन्कियो।

होटलवाला कराएपछि म रविन हो काका भन्दै आफूलाई चिनायो।

“ए म त को रहेछ भनेर। बास दिने जमाना पनि गए। होटल छोड्न पनि सकिएन,” साहूले स्पष्टीकरण दिँदै भन्यो, “तपाईं पनि सकेसम्म यहाँ बास नबस्नूस्, बाबु अनावश्यक दु:ख पाउनुहुन्छ। रात परेपछि एकपटक आर्मी, पुलिस आउँछन्, अर्कोपटक माओवादी आउँछन्। हामी बलिको बोको बन्छौँ।”

“आमा बिरामी भएर उपचार गर्न लिएर हिँडेको बीचबाटै फर्काए। जे त पर्ला आज यहीँ बस्ने !” साहूजीले नाइँ भन्न सकेनन् ।

डोकोबाट आमालाई निकालेर भित्रको खाटमा सुताए। भरिया बास बस्न नमानेपछि सम्झौता चार हजारको भए पनि आधा बाटोबाट फर्किएकाले दुई हजार रुपियाँ र खाजा खुवाएर पठाए।

आमा भने छोरालाई केही हुने हो कि भन्ने पीरले रातभरि छटपट गर्न थालिन्। त्यसमाथि व्यथा त छँदै थियो। रविनको मनमा पीडा र डरको ज्वाला दन्किएको भए पनि आमालाई सान्त्वना दिन केही नभएजस्तो गर्दै थियो।

राती १२ बजेतिर होटलमा पुलिस छिरे। रविन बसिरहेको थियो, आमालाई समातेर। पुलिसले सोधखोज गरेर नागरिकता मागे। रविनले सक्कली नागरिकता नबोकेकाले नागरिकताको फोटोकपी देखायो। एउटा पुलिस हवल्दारले, ‘यो त डेट अफ भएको नागरिकता रहेछ’ भन्दै थर्कायो। अर्को पुलिसले भन्यो, “नागरिकताको डेटअफ हुँदैन हल्दार सा’प।” त्यसो भनेकाले लाज लाग्यो या के भयो पुलिसहरू गए।

रविनलाई हवल्दारको कुराले हाँस उठेको भए पनि हाँस्न सकेन। आमाको अनुहारमा यसो हेर्यो, सुकेका थिए ओठ-तालु। उसको अनुहार झ्याप्प भएर निभ्यो। सबै पुलिस मातेर झल्लु भएकाले पनि होला, सोचे जति दु:ख दिएनन्।

होटलवाला आजको पालो सकियो भनेर ढुक्क भयो। राती २ बजेतिर आर्मी होटलमा छिरेपछि फेरि सबैका ओठ-मुख सोहोरिएर मरीचजस्ता भए।

खाटमा सुतिरहेकी आमातिर संकेत गर्दै आर्मीले सोध्यो, “यो बूढी को हो ?” “आमा,” रविनले सोझो जवाफ दियो। “काँ लिएर हिँडेको ?” “काठमाडौँ,” उसले जवाफ दियो।

केही नबोली आर्मीले खोजतलास गर्यो रविनको झोला। व्यक्तिगत प्रयोजनबाहेक केही सामान नभेटेपछि सोध्यो, “यता माओवादी आएको देखिस् ?” “अहँ,” उसले मुन्टो हल्लाएर संकेत गर्यो। “ढाँट्छस् !” थर्काएर भन्यो। रविनले घोसेमुन्टो लगायो।

“माओवादीले जे भन्यो, त्यही मान्ने तैँ होइनस् ?” रविनको ढाडमा लातले हान्यो।

रविन खाटबाट भुइँमा पछारियो। आमा रुँदै कराउन थालिन्। “ए बुढिया बढ्ता हुन्छेस् ?” राता आँखा पार्दै आर्मीले आमालाई खाटमै थचार्यो।

“तँलाई हामी ठीक पार्छौं हिँड,” रविनलाई गलहत्याउँदै ढोका बाहिर निकाले।

आमा लरखराउँदै ढोकासम्म आइन्। निस्पट्ट अँध्यारो भएकाले उनी त्यहाँभन्दा अगाडि बढ्न सकिनन्। आर्मीहरू हिँडेपछि होटलवाला आमाको छेउमा आएर रविन बेपत्ता हुँदैन, फर्किहाल्छ भन्ने ढाडस दिए।

“बाबु मेरो मुटुको टुक्रालाई मार्छन् होला,” आमा रुँदै बोलिन्। होटलवालाले उज्यालो भएपछि आमालाई बोकाएर घरसम्म पुर्याए। डढेलो फैलिएझैँ गाउँभरि फैलिएको थियो, रविनलाई आर्मीले लगे भन्ने कुरा।

आर्मीले भोलिपल्ट रविनलाई छोड्यो। रविन घर आइपुगेको मात्र थियो, स्थानीय एफएमले मुख्य समाचारमा दियो, “अग्नि नाम गरेका माओवादी छापामारसहित अन्य दुई माओवादी कार्यकर्तालाई आर्मीले कारबाही गर्ने क्रममा मृत्यु।” समाचार सुनेपछि रविनको सातोपुत्लो उड्यो। उसले भुल्केमा भेट्टाएको थियो अग्निलगायतका अन्य कार्यकर्तालाई। माओवादीले सुराकी गरेको आरोप लगाउँछन् भन्ने कुरामा ऊ पक्कापक्की थियो। राती घरको ढोका ढक्ढक् गर्यो। आठ-दस जना माओवादी घरभित्र छिरेर रविनलाई सोधे, “आज आर्मीलाई केके सुराकी गरसि् ?” निन्याउरो अनुहार लगाएर रविनले जवाफ दियो, “केही भनेको छैन।”

“हाम्रो अगाडि सोझो बन्छस् ?” मझेरीको खाटबाट टाउको उठाउँदै आमाले भनिन्, “माओवादीसँग लागेको भनेर आर्मीले मरणासन्न हुने गरी कुटी पठाएछन्। शरीरभरि नीलडाम मात्र छन्। तिमीहरू आर्मीलाई पोल लगाएको भन्छौ !”

“बूढी तँ पनि धेर जान्ने हुँदैछेस्,” एउटाले आमाको मुखमा थप्पड हान्यो। आमा माछोझैँ भुइँमा लडिन्। बुबा खाटबाट उठ्न मात्र के खोजेका थिए, अर्कोले लात हानेर लडायो। दुवै जना खाटमा उठ्न नसक्ने गरी थला परे। त्यसपछि रविनलाई गलहत्याउँदै बाहिर निकाले।

उसलाई शंकाकै भरमा अघिल्लो दिन आर्मीले र भोलिपल्ट माओवादीले लगेका थिए।

हो, त्यसैबेलादेखि रविन हराएको छ, आमाबुबा र आफन्तको सम्पर्कबाट। ऊ कुन अवस्थामा, कहाँ छ, कसैलाई थाहा छैन।

रविन माओवादीको श्रमशिविरबाट १५ दिनपछि रातको समयमा भाग्न सफल भएको थियो। घर आउँदा माओवादी र आर्मी दुवै पक्षबाट आफू असुरक्षित हुने थाहा पाएपछि ऊ मानसिक रूपमा विक्षिप्त थियो। ऋणले थोत्रिएको घर, रोगी आमाबुबालाई हेर्न नसकेको पीडा, आर्मीले कुटेको र माओवादीले दिएको यातना यी सम्पूर्ण कुरा एकसाथ उसको दिमागमा जाँतोझैँ घुम्थ्यो।

आर्मी र माओवादी दुवैका डरले घर ऊ आउन सकेन। एकान्तमा बस्न थालेको थियो। जुनसुकै बेला, जसले भेटे पनि मार्छन् भन्ने त्रास भरिएकाले ऊ झन् विक्षिप्त हुँदै गयो।

बाँकी जीवन बाँच्न पाउँछु भन्ने आश पूरै मरसिकेको हुँदा आमाबुबालाई भेट्न जान त खोजेको थियो। तर, कहिले आर्मीले र कहिले माओवादीले उसको घरलाई तारो बनाइरहेका थिए। घर पुग्दा जसले भेट्यो, उसैले मार्छन् भन्ने ठानेर ऊ पिपिरेको जंगलतिर लाग्यो।

जंगल घना थियो। जंगलको छेउमा रूखको सियाँलमा आकाशपट्ट िफर्किएर केहीछिन सुत्यो। उसको मनले अर्काको हातबाट दोषी देखिएर मर्नु ठीक होइन भन्ने ठान्यो। फेरि आमाबुबाको गरबिी र रोगले शिथिल भएको अनुहार उसको आँखाभरि भरिएर आएपछि आँखा रसिला भए। घरप्रतिको दायित्व काँधभरि गह्रौँ भएर आयो। घर फर्किन्छु सोचेर जुरुक्क उठ्यो। घर पुगेपछिको अवस्था सम्भियो। गाउँघरमा उसको व्यापक खोजी भइरहेको कुरा सम्भिएपछि जसले भेटे पनि उसलाई यातना दिएर मार्ने नै छन्। आमाबुबाका अगाडि त्यसरी मारे भने आमाबुबालाई बाँचुन्जेलको पीडाको घाउ भएर बल्भिरहनेछ। गाउँ छोडेर सहरतिर लागौँ भने कोसी पार गरेर कतै जान दिँदैनन्। गाउँ गएर बस्नसक्ने अवस्था छैन।

उसका आँखा तिरमिराउन थाले। आफ्नो हत्केलामा आफ्नै मृत्यु नाचेको देख्न थाल्यो। आमाबुबाका अनुहार, तिर्न नसकेको ऋण, आमाको बुहारी भित्र्याउने रहर, भविष्यको योजना, साथीसंगी, छरछिमेक सम्पूर्ण कुरा पालैपालो बिजुलीजस्तो उसको दिमागमा आउँदै-हराउँदै गर्न थाले। ऊ अझ बढी विक्षिप्त हुँदै गयो।

जंगलको भित्री भागतिर छिर्यो। वनमाराको लामो लहरो चुँड्यो। तीनपोयाको डोरी बनायो । काफलका रूखको फेदमा पुगेर थचक्क बस्यो। उसले वरपिरि केही देखेन। कसैलाई सम्भिन सकेन। निधार खुम्च्याएर केही सम्झन खोज्यो। तर, चारैतिर ‘सम्म’ देख्यो। केही थाहा पाउन सकेन।

केही हेर्न खोजेझैँ गरी वरपिरि नियाल्यो। हातको डोरी र काफलको हाँगोबाहेक केही देख्न सकेन। काफलको हाँगामा वनमाराको डोरी बाँध्यो। कम्मरको पेटी फुकाएर डोरीको अर्को छेउमा बाँध्यो। अझै केही सम्भिन खोज्यो। अलिक बढी छटपट गर्यो। सबैतिर निस्पट्ट अँध्यारो मात्र देख्यो। उसले धेरैबेरसम्म रूखमा झुन्डिएको डोरीमा पस्यौटो बनेर तुन्द्रुंग झुन्डिएको पेटी मात्र देख्यो। उसले त्यही मात्र देखिरह्यो।

त्यसपछि उसलाई कहिल्यै, कसैले भेट्टाएन।

ऊ कुनै पार्टीको मान्छे थिएन। सर्वसाधारण नागरिक भएकाले उसका आमाबुबाले जति हार-गुहार गरे पनि खोजी गर्ने निकाय थिएन।

आमाबुबाले छोराको नाम र फोटो बेपत्ता नागरकिको सूचीमा कतै छ कि भनेर धेरैचोटि आँसुले डुबेका आँखा घुमाए। ऊ त्यहाँ पनि सूचीकृत नभएपछि आशको त्यान्द्रो बोकेर अझै खोजिरहेका छन्।

रविन आजसम्म बेपत्ता छ।

अनि, बेपत्ता नागरकिको सूचीबाट पनि बेपत्ता रहेछ।

नेपाल साप्ताहिक ४४४

(स्रोत : Majheri )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.