~अर्जुनकुमार ढकाल~
ए रगतमा पौडी खेली आएकाहरू हो,
म त रगत देखेर रोएँ अनि त्यो फगत देखेर रोएँ
ए जलाएर आएकाहरू हो,
म त जलेको देखेर रोएँ अनि बलेको देखेर रोएँ
ए भाला र बन्चरो बोक्नेहरू हो,
मत भाला रोपेको देखेर रोएँ अनि निर्दाेष बालक छोपेको देखेर रोएँ
ए बाढीले बगाएकाहरू हो,
म त तिमीलाई बचाएको देखेर रोएँ अनि तिमीले लाज पचाएको देखेर रोएँ
ए पढेलेखेका विद्वानहरू हो,
म त तिम्रो ज्ञान देखेर रोएँ अनि तिमीले पढेको बिज्ञान देखेर रोएँ
ए पैसामा आत्मा किन्नेहरू हो,
म त तिम्रो धन देखेर रोएँ अनि तिम्रो मन देखेर रोए
ए कपालमा जेल लगाउनेहरू हो,
म त तिम्रो चरित्र देखेर रोएँ अनि दरिद्र देखेर रोएँ
ए भ्रष्ट अत्याचारी हो,
म त निर्दोष आत्मा देखि रोएँ अनि दोषी परत्मा देखि रोएँ
म त रगत देखि रोएँ अनि फगत देखि रोएँ ।
(स्रोत : Nepalpati)