कथा : रमिता

~विवश पोखरेल~Biwash Pokharel

दैनिक प्रक्रिया फेरि सुरु भएको छ। ऊ पुनः उही थोत्रो साइकल लिएर अगाडिको चौरीमा देखापर्छ। अब केही छिनपछि ऊसँग साइकल सिक्ने विविध अुनहारहरू देखा पर्नेछन्। फरक–फरक अनुहार, अनुहारमा एकरूपता छैन। आइतबार एउटी, सोमबार अर्की, मंगलबार अर्की, सुश्री र श्रीमतीहरू। यो सिलसिला निरन्तर चलिरहेको छ। चौरी उही छ, साइकल उही छ। प्रायः सधैं साइकल सिक्ने अनुहार फेरिन्छन्, सिकाउने ऊ फेरिँदैन।

‘अफिसबाट आज चाँडै आउनुभयो त मैयाँ! हेर यस्तो घाममा?’ अपरिचित भए तापनि दैनिक औपचारिकताको उकालो चढ्दाचढ्दै ऊ मेरो निकै शुभचिन्तक भएको अभिनय गर्छ।

‘यस्तो घाममा हिँडेर आउनुको सट्टा बरु साइकल सिकिस्योस् न, म सिकाइदिन्छु।’ प्रायः म कार्यालयबाट फर्कंदा ऊ मेरो घर नजिकको चोकमा बसिरहेको हुन्छ काठको फलैंचामाथि टुक्रुक्क, सम्भवतः मेरै पर्खाइमा। सधैं एकतर्फी बोल्छ ऊ निर्लज्ज। म कहिले उसको प्रश्नको जवाफ पनि दिन्न र जवाफ दिन उपयुक्त पनि ठान्दिनँ।

नाम मलाई थाहा छैन। करिब चालीसदेखि पैंचालीसबीचको छ उसको उमेर। स्पष्ट चिनिन्छ उसका मुजा परेका अनुहार र फुलेको जुँगाले ऊ बैंसालु डाँडाबाट क्रमशः ओरालो झर्दै छ। ऊसँग मेरो चिनजान भनेको देखेकोसम्म मात्र हो। अधिकांश समय मेरो घरअगाडिको चौरीमा महिलाहरूलाई साइकल सिकाउँदा र आक्कलझुक्कल कहिले बाटोमा म आउने समयको अड्कल काटेर बोल्ने बहानामा बल्छी थापेर बस्दा उसको र मेरो देखभेट हुन्छ। ऊ मेरो टोलमा करिब दुई–तीन महिनादेखि डेरा लिएर बस्दै आएको छ परिवारसहित। उसकी स्वास्नी कतै जागिर खान्छे सायद। करिब म निस्किएकै समयमा बाहिरिन्छे घरबाट र साँझ फर्किन्छे, म फर्किनुभन्दा केही ढिलो।

ऊ बेरोजगार छ, उसका दिनचर्याले त्यस्तै जनाउँछ। उसको चरित्र टोलको चर्चित चरित्र हो। यदाकदा जसको चर्चा परिचर्चा टोलमा हुने गर्छ, म सुन्ने गर्छु। उसको दैनिकी साइकल सिकाउने कार्यबाट प्रारम्भ हुन्छ र त्यही कार्यबाट अन्त्य। त्यसबाहेक उसको अरू कुनै काम छैन। चाहे बिहान होस्, दिउँसो वा साँझ सधैं सक्रिय देखिन्छ ऊ, साइकल सिकाउने कार्यमा। टोलमा उसको उपस्थितिले साइकल सिक्ने निकै महिलाहरूको छिमल हुर्काइसकेको छ उसले। जे होस् उसको समाजसेवाको प्रशंसा गर्नैपर्छ।

उसको निःशुल्क प्रशिक्षणको फाइदा उठाइरहेका छन् टोलका महिलाहरू, ठिटीहरूले। साइकल सिकाउने पनि उसको आफ्नै विशेषता छ ‘लेडिज स्पेसलिस्ट’; टोलका ठिटाहरू यसो पनि भन्छन्, उसलाई। हो पनि, ऊ साइकलमात्र महिलाहरूलाई सिकाउँछ। मैले आजसम्म उसले कुनै पुरुषलाई साइकल सिकाएको देखेकी छुइनँ। कहिले पारिश्रमिकस्वरूप चिया र हल्का खाजा खुवाएर टोलका महिलाहरू लिइरहेछन् ऊसँग निःशुल्क प्रशिक्षण।

जब म थकान मेट्न घरको बरन्डामा बस्छु। ऊ सधैं आफ्नो दिनचर्यामा व्यस्त देखिन्छ। सधंै यस्तै हो उसको दैनिकी। प्रायशः उसको क्रियाकलापका चर्चा सबैको मुखबाट सुन्छु म, सकारात्मक कम, नकारात्मक बढी। रमाइलो लाग्छ मलाई साइकल सिक्ने र सिकाउने बीचको परिदृश्य।

ऊसँग साइकल सिक्नेहरू कोही ‘नाइट गाउन’ भिरेर आउँछन्, कोही कुर्ता–सलवारमा, कोही साडीमा। कोही मिनीस्कट र मिडीमा। कहिलेकाहीँ काउकुती लगाउँछ मलाई त्यहाँका दृश्यले। सिक्ने क्रममा कतिपल्ट उसले गम्लङ्ङ अँगालो हालेर सम्हाल्दा सम्हाल्दै पनि आफ्ना सेता तिघ्रा र पिडुँला देखाएर डङ्रङ्ङ लड्छन् साइकल सिक्नेहरू। विशेष गरेर बिहान र मध्याह्नभन्दा पनि साँझको समय रमाइलो हुन्छ यो चौरी। चौरीमा साइकल सिक्ने र सिकाउनेको रमणीय दृश्य हेर्न सधैं अल्लारे केटाहरूको भीड लाग्छ। कहाँ–कहाँबाट ओइरिन्छन् कुन्नि यतिका भीड?

लाग्छ एउटा चलचित्रघरको चलचित्र प्रदर्शन गर्ने फराकिलो पर्दा हो यो चौरी। जहाँ निरन्तर असंख्य दर्शकहरूको भीड छ। कुनै चलचित्रको उत्तेजित दृश्यजस्तै जब साइकल सिक्नेहरू सिकाउनेले सम्हाल्दा सम्हाल्दै पनि भुइँमा लड्छन्। होहल्ला सिट्टीका साइसाइ र सुइसुइले अरू रोचक बनाउँछ वातावरण। कति महिलाहरू एकपल्ट नराम्ररी लडेपछि लाजले टाउको निहुराएर भाग्छन्। तर ती हल्ला साइसाइ सुइसुइले उसलाई केही असर पर्देन। मात्र ङिच्च हाँस्छ ऊ। जसरी महिलाहरूले निःशुल्क प्रशिक्षण लिइरहेका छन् ऊसँग, त्यसरी नै रमिता हेर्न निःशुल्क सुविधा उपलब्ध छ दर्शकहरूलाई। जब ऊ साइकल लिएर चौरीमा निस्कन्छ चारो देखेर हुर्रिएका परेवाहरू झैं बढ्छ प्रशिक्षार्थीहरूको भीड। मानांै कृष्ण हो ऊ र गोपिनीहरू हुन् ऊसँग साइकल सिक्ने श्रीमती र सुश्रीहरू। चाहे जेठ महिनाको बाफिलो गर्मी होस् वा पुस महिनाको चिसो ठिही; निरन्तर चलिरहेको छ उसको प्रशिक्षण शिविर।

‘चेनाकी ब्रो, कन्या राशि हो कि क्या हो? लडीलडी आउँछन् यार!’ रमिता हेर्ने ठिटाहरू ईर्ष्या गर्छन् उसको भाग्यमा।

‘कर्कट राशि हो, हेर न गँगटाले समाएझैं समाउँछ। चेनाकीले हाम्रो टोल भुर्कुट पार्ने भो, मान्छे लक्की रहेछ,’ अर्को थप्छ।

‘स्वस्थानी कथा र पात्रजस्तै पो लाग्छ यार! यहाँको दृश्य। चौरीमा ऊ आएपछि कोही सुरुवालको इँजार कस्दै आउँछन्, कोही साडी मिलाउँदै, कोही म्याक्सी उचालेर… गजब छ,’ ऊ प्रसंगका टीकाटिप्पणी चलिरहन्छन् अविराम।

‘भिनाजूहरू पनि हो रहेछन्, ऊ चौरीमा निस्कनेबित्तिकै छोडिदिन्छन् खोपीबाट परेवा छाडेजस्तै खुलेआम,’ जिस्काउने क्रम जारी छ।

‘जे होस् प्रशिक्षण निःशुल्क भए पनि चेनाकी सोमलाई राम्रो डाइट ख्वाउँदा रहेछन् साइकल सिक्नेहरूले, फाइदै छ।’

‘त्यसैले त पाउरोटी फुलेझैं फुलेको छ त…’ सर्वत्र चर्चित, सबैको जल्दोबल्दो विषय र हास परिहासको विशेष पात्र भएको छ ऊ।

‘चेनाकी? त्यस्तो नाम?’ नाम हो कि थर अझै बुझ्न सकेको छुइनँ मैले। गाउँका ठिटाहरू किन उसलाई चेनाकी सोम, चेनाकी ब्रो, चेनाकी भिनाजू भनेर सम्बोधन गर्छन्? चेनाकीको अर्थ के हो? एउटा चाइनिज सिनेमा र उपन्यासको पात्रको नामजस्तै लाग्छ मलाई यो नाम। सधंै खेलिरहन्छ उसको नामको एउटा कौतूहलता मभित्र।

‘के छ मैयाँ। के गरिँदै छ?’ चौरीको रमणीय दृश्यावलोकनमा केन्द्रित मेरो आँखा दीपा भाउजूको आकस्मिक आगमनले बिथोलिन्छ, पछाडिबाट भर्या ङ उक्लेर मुसुमुसु हाँस्दै म समीप आउनुभएको छ दीपा भाउजू।

‘यी रमिता हेर्दै छु भाउजू! आउनुस् न,’ औपचारिकता निर्वाह गर्छु।

‘जे होस् टोल रमाइलै छ हेर्न?’ हाँस्दै म नजिकको कुर्सीमा बस्नुहुन्छ उहाँ।

‘हो, भाउजू! साइकल सिक्ने र सिकाउनेको दृश्यले पनि समय राम्ररी नै कट्छ,’ म यथार्थ पोख्छु।

‘मैयाँले पनि सिक्नु नि! फोकटमा सिकाउने मान्छे भेटिया छ,’ पुनः मुसुक्क हाँस्नुहुन्छ दीपा भाउजू।

‘भाउजू! तपार्इंले त एक दिनमात्र सिकेको देखेँ, भोलिपल्टदेखि त आउनुभएन नि, सिकिसक्नुभयो?’ म सोध्छु। किनकि साइकल सिक्ने क्रममा सिक्दै गरेको देखेको थिएँ एक दिन उहाँलाई।

‘कहाँ सिक्नु? पहिलो दिन गएँ, भोलिपल्टदेखि जान मन लागेन,’ एकाएक नाक खुम्चाउनुभयो दीपा भाउजूले। गम्भीर भयो उहाँको अनुहार।

‘किन के भो र भाउजू?’ उहाँको परिवर्तित अनुहारले एकाएक एउटा जिज्ञासाको मुहान फुटायो मभित्र।

‘के हुनु? रन्डो मोरो,’ अलिकति लजाउनुभयो उहाँ। ‘रन्डो मोरो!’ उहाँले सम्बोधन गर्नुभएको शब्दभित्र एउटा रोमान्टिक कथा लुकेको स्पष्ट अनुमान गरेँ मैले।

‘के भयो सुनौं न!’ कौतूहलता नियन्त्रण गर्न सकिनँ र आँटै गरेर रन्डो मोरोको पृष्टि गर्न आग्रह गरेँ।

‘यो चेनाकी ब्रोको साइकल प्रशिक्षण शिविर हामीजस्ता फुस्रीका लागि होइन मैयाँ! हजुरहरूजस्ता सुश्रीका लागि हो,’ सिरिङ्ङ हुनुभयो दीपा भाउजू। सम्भवत : विगतका दृश्यले पुनः स्पर्श गर्योआ उहाँलाई।

‘भाउजू! के गर्योस उसले भन्नुस् न,’ मनै त हो, एउटा कुतकुती चलमलायो मभित्र पनि। मोरोले के गरेछ?

‘हेरिस्योस् मैयाँ! त्यो महाफटाहा रै’छ। साइकल सिकाउने निहुँमा…’ एकाएक वाक्य रोकियो उहाँको। सम्भवतः स्पष्ट गर्न अप्ठ्यारो लाग्यो उहाँलाई र पनि खुसुक्क उहाँले आफ्नो मुख मेरो कान नजिक ल्याउनुभयो र खोल्नुभयो कौतूहलको गाँठो।

‘जेहोस् साइकल सिक्न भनेर गएँ, उसले त साइकल सम्हाल्ने निहुँमा मेरो कम्मर समातेर एकैचोटि छातीमा पो हात पुर्या्यो मैयाँ। पहिले त आक्कल झुक्कलमा लागेको होला भन्ठानेर चुप लागेको, पछि त झन् केके गर्न थाल्यो थाल्यो म त शीतांग भएँ नि! रन्डो मोरो! भोलिपल्टदेखि त के सिक्थेँ साइकल, काबु भएँ,’ लामो जिब्रो निकाल्नुभयो दीपा भाउजूले। ‘रन्डो मोरो’ उहाँको मुखबाट फेरि त्यही शब्द निस्कियो, जुन शब्दले उब्जाएको कौतूहलता भाउजूले भर्खरै खोल्नुभएको थियो। सिरिङ्ङ भएँ म पनि।

‘अनि त्यसले त्यसो गर्छ र पनि दुर्गा भाउजू, पूनम दिदी, आरती बहिनी ऊसँग साइकल सिक्दै छन् त?’ दीपा भाउजूको कुराले सन्त्रस्त मैले पुनः साइकल सिक्नेहरूको फेहरिस्त सुनाएँ। जो अगाडि चौरीमा निर्धक्क साइकल सिक्दै थिए।

‘खै, मोरीहरू! के खोज्दै जान्छन्। म त एकैपल्टमा काबु भएँ। मोरोको स्वास्नी चाउरी छे मोटीघाटी देख्न नहुने,’ मसँगको भेटले मरिसकेको रिस फेरि जीवित हुन्छ दीपा भाउजूभित्र।

‘अनि यस्तो रोमान्टिक कथा दाइलाई सुनाउनुभएन त भाउजू?’ रमाइलो लाग्यो मलाई भाउजूको साइकल प्रशिक्षण प्रसंग। फेरि जिस्काएँ।

‘अबुई! के भन्थेँ दाइलाई, मलाई बहुला कुकुरले टोक्या छ र! फेरि दाइको रिस मापाको छ, थाहा पाइस्यो भने बबाल गरिसिन्छ, एकपल्ट मान्छे चिन्यो सकियो।’

साँच्चै नै कस्ताकस्ता मान्छे हुँदा रहेछन्, धन्य छ म गइनँछु! एउटा डर सल्बलाइरह्यो मभित्र।

‘जोगिस्सिएछ मैयाँ। नत्र मोरोले मैयाँलाई पनि बिटुल्याउँथ्यो,’ दीपा भाउजू हाँस्नुभयो।

‘अबुई! म के जान्थेँ र भाउजू! अरूलाई सिकाएको देख्दै अघाइसके। हेरिस्योस् त मैयाँ! यो लोग्नेमान्छेको जात पनि हुँदो रहेछ,’ देखेँ, विगतको प्रसंगले भाउजूभित्र पनि एउटा डर मडारिरहेको थियो।

‘अनि त्यस्तो मान्छेलाई पनि के डेरा दिएको त सुबोध दाइले?’ उसलाई डेरा दिएकोमा मलाई उठ्नु रिस उठ्यो सुबोध दाइसँग।

‘छोरीलाई र स्वास्नीलाई साइकल सिकाउँछ नि त। अचेल त्यस्तो मान्छे कहाँ पाउनु?’ व्यंग्य हान्नुभयो दीपा भाउजूले। सुनेअनुसार दीपा भाउजू र सुबोध दाइको परिवारबीच खटपट थियो, एउटा छिमेकी खटपट। जो एकाधबाहेक छिमेकी छिमेकीबीच हुन्छ। सम्भवतः त्यही खटपटको तुस पनि थियो व्यंग्यमा।

‘अनि भाउजू! अर्को कुरा चेनाकी भनेको चाहिँ उसको नाम हो? गाउँका सबै केटाहरूले भन्दा उसलाई चेनाकी ब्रो, चेनाकी भिनाजू, चेनाकी सोम भन्छन्,’ चेनाकीबारेको कौतूहलता मैले फेरि राखे उहाँ समीप।

मेरो प्रश्नले पुनः दिल खोलेर हाँस्नुभयो भाउजू। ‘चेनाकी कहाँ उसको नाम हो र। उसलाई हाम्रो टोलका केटाहरूले राखेको नाम पो हो त! अर्थपूर्ण नाम छ मैयाँ! नाम सुनिस्यो भने मैयाँलाई पनि चित्त बुझ्छ,’ चेनाकीको अर्थ खोल्ने तयारीमा हुनुहुन्थ्यो दीपा भाउजू।

‘के हो त भाउजू। चेनाकीको अर्थ?’ मभित्र अझै यथावत् थियो कौतुहलको अंश। मैले फेरि सोधेँ।

‘चेनाकी अर्थात् ‘चेलीबेटी नाशक कीटाणु’ रे, अब त बुझिस्यो मैयाँ,’ पुनः पहिलेभन्दा अझ जोडले हाँस्नुभयो दीपा भाउजू। म पनि हाँसे उहाँसँग। रोक्दारोक्दै पनि हाम्रो हाँसोको आवाज हामीले रमिता हेर्दै बसेको साइकलको चौरीसम्म पुग्यो। साँच्चै नै रोचक र स्वाभाविक लाग्यो मलाई उसको नाम– चेनाकी अर्थात् चेलीबेटी नाशक कीटाणु।

(स्रोत : Nagariknews)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.