कथा : साउदी

~उमा सुवेदी~Uma Subedi

आठ वर्षपछि दमन्तीका बा गोविन्द साउदीबाट नेपाल फर्केका थिए । केही दिनपछिदेखि नै दमन्तीकी आमाले लोग्नेलाई शान्तिटारमा नबस्ने भन्दै करकर गर्न थालेकी थिइन् ।  शान्तिटारमा उनीहरूको सानो झुप्रो थियो । साउदीबाट कमाएको पैसाले यही आधा बिघा जग्गा किनेर तरकारी खेती गरेर बस्ने रहर थियो दमन्तीका पितालाई  ।

‘मेरा दिदीबहिनी मंगलवारे बजारमा दिनभरि खुट्टा हल्लार बस्छन् । म भने यो कुहिएको हिलोमा गाडिनुपर्छ ।’
अन्तत: उनी बाध्य भए । शान्तिटारको उब्जाउ आधा बिघामा तरकारी खेती गर्ने रहर त्यागे र मंगलबारे बजार नजिकै पुलचोकमा पिच सडकसँगै जोडिएको एक कट्ठा घडेरी किने । त्यही ससानो घर बनाए ।

‘जहानको सधैंको गनगन त मेटियो तर अब यो घरले मात्रै खान दिँदैन ।’ उनी यस्तै कुरामा दिनरात पिरोलिन थाने । समस्याको समाधान लिएर एक दिन दमन्तीका मामा झुल्किए, ‘भिनाजु, झर्ना चिया बगानमा चौकीदारी गर्ने मान्छे चाहिएको छ । तपाईंजस्तै हट्टाकट्टा मान्छेको खाँचो छ । गर्ने भए कुरो राखिदिन्छु । मेरो साथी त्यहाँको म्यानेजर छ ।’

दमन्तीकी आमालाई के चाहियो र ? कुरो भुइँमा झरिनसक्दै भनिन्, ‘हुन्छ हुन्छ । तुरुन्तै कुरो गरिदेऊ भाइ ।’

……

एक घन्टाको हिलोमैलो बाटो हिँडेर पुगिने स्कुल दस मिनेटमै पिचरोडमा चप्पल पड्काउदै हिँड्न पाउँदा दमन्ती कम्ता खुसी भइन् । ऊ अब बजारिया बन्न बोलीदेखि लवाइखवाइ र हिँडाइमा सकेसम्म नक्कल पार्न थाली । शान्तिटारका उसका साथी एक घन्टा धूलोमैलो बाटोमा हिँडेर आउँथे । उनीहरूका खुट्टा र स्कुल ड्ेरस धूलाले लपक्कै पुरिएका हुन्थे । अनुहारभरि पसिनाको टाटो बसेको हुन्थ्यो । तर दमन्ती भने सुक्सुकाउँदी भएर घरबाट निस्कन्थी । उसका साथीहरू भन्थे, ‘बजारमा बस्न थालेदेखि त दमन्ती साँच्चै सहरिया भई हौ । हेर न हातखुट्टा कति चिल्ला । अनुहार पनि कति छिट्टै गोरो देखिन थालो ।’

झन् राम्री हुने रहरले दमन्तीले बिहान बेलुकै बेसनको पिठो र मायालु साबुनले मुख धुन थाली । सबेरा क्रिम बिहान बेलुकै लगाउन थाली । हातखुट्टा पनि खुब मेहेनत गरेर धुन्थी । छिट्टै उसले आफ्ना नङ र फुटेका कुरकुच्चामा जमेर रहेको शान्तिटारको माटो सदाका लागि पखाली । ऊ अर्कैअर्कै देखिन थाली । उसको बोलीवचनबाट शान्तिटार मेटिएर क्रमश: सहर स्थापित हुन थाल्यो ।

दमन्तीको पढाइ भने मज्जाले खस्किन थाल्यो । शान्तिटारमा हुँदा बिहान–बेलुका गाईलाई एक डोको घाँस नकाटी धर नपाउने ऊ मंगलबारे आएपछि निकै फुर्सदिली भई । बिहान उठेर खेतबारीमा निस्कनु नपरेपछि आमाको पनि खासै काम भएन । अब दमन्तीले भान्साको काम पनि गर्नु नपर्ने भयो । ऊ पढ्नभन्दा बढ्ता ऐना हेर्न थाली । स्कुल जाँदा पनि आफ्नो अनुहार हेर्न मिल्ने सानो ऐना किताबको चेपमा लुकाएर लान थाली ।

गोलो अनुहार, लाम्चा आँखा । उचाइ पनि ठिक्कको । खँदिलो ज्यानकी थिई दमन्ती । हँसिली र चाँडै अरूसँग घुलमिल हुन सक्ने भएकीले छिमेकका नयाँ साथीहरूसँग छिट्टै दोस्ती भइहाल्यो उसको । स्कुल जाँदा पनि पहिलेका साथी छोडेर बगानका म्यानेजरका छोरीहरूसँग हिँड्न थाली । उनीहरू पढाइभन्दा धेरै फिलिमका गफमा रमाउँथे । दमन्तीलाई पनि फिलिममा हिरोइनले बोल्ने डाइलग त पूरै कण्ठ हुन थाल्यो । शान्तिटारमा हुन्जेल परीक्षामा कहिल्यै दाग लागेन दमन्तीको । तर मंगलबारे आएपछि नौ कक्षामा तीन विषयमा रातो लाग्यो ।

एक दिन मंगलबारे बजारमा चटपटे खाँदै गर्दा उसको सन्तुसित आँखा जुधे । आँखाको उज्यालो ओठसम्म आयो र मुस्कान बनेर अनुहारभरि छरियो । सन्तु पनि हाँस्यो । धेरै कुरा त भएन तर चटपटेको पैसा भने सन्तुले तिरिदियो । त्यतिबेलै उसको मनको ढोकाको चुकुल खुल्यो र त्यहींबाट सन्तु उसको दिलमा प्रवेश गर्‍यो ।

सन्तु झर्ना चिया कमानमै दमन्तीका बाउको अन्डरमा काम गथ्र्यो । ऊ दमन्तीभन्दा केही वर्ष जेठो हुँदो हो । पहिलो भेट भएको दोस्रो दिन नै बगानको केही काम परेर ऊ दमन्तीका बालाई खोज्दै उसको घरमै आएको थियो । दमन्ती घरअगाडिको सितारा, मुसुण्डो र जर्बेरा फूलमा पानी हाल्दै थिई । आमा घरमा थिइनन् । उसले आफैं चिया पकाई । सन्तुका हातमा चियाको गिलास थमाउँदा उसका आँखा फेरि सन्तुका आँखामा गएर टक्क अडिए । फेरि दुवैको आँखाको उज्यालो उनीहरूको ओठसम्म आयो र पुन: मुस्कान बनेर अनुहारभरि छरियो । सन्तु अलिकति आत्तियो । उसको हातमा भएको तातो चियाको गिलास भुइँमा बजारियो । दमन्तीको मुखबाट हाँसोका पर्रा छुटे । सन्तु भुतुक्कै भयो । जाने बेला उसले दमन्तीका हातमा एक मुठ्ठी पानी अमला राखिदियो । अमला मुखमा हालेपछि दमन्तीको मनमा मायाको गुलियो रसायो ।

खँदिलो ज्यानको थियो सन्तु । अलिक कालो वर्णको । जाँगरिलो र इमानदार भएकैले बगानमा सन्तुलाई सबैले मन पराउँथे । दमन्तीका बुबाले अह्राएको काम ऊ फटाफट गथ्र्यो । दमन्तीका बुबाले नभ्याएका बेला हाटबजारबाट सरसौदा किनेर ल्याउने सबै काम उसैले गरिदिन्थ्यो । उसको हँसिलो मुहार र भरिलो शरीरले दमन्तीलाई उत्ताउलो बनाइसकेको थियो । सन्तु पनि दमन्तीलाई हेर्न कामै नपरी पनि उसको घर अगाडिको बाटो ओहोरदोहोर गर्न थाल्यो ।

…..

मंगलबारको दिन थियो । स्कुलपछि दमन्ती सरासर बजारतिर लागी । हनुमान मन्दिरको छेउमा सन्तु भेटियो । बिस्तारै साथीहरूको हूलबाट अलग्गिई दमन्ती र सन्तुलाई खुसुक्क भनी, ‘आज फिलिम हेर्न जाऊँ ल ?’

दमन्तीको प्रस्ताव उसले सजिलै स्विकार्न सकेन । उसलाई कता कता अप्ठेरो लाग्यो । किनभने यतिबेला उसको खल्तीमा रकमको अलिक सर्टेज थियो । दमन्तीले कुरो बुझेझैं गरी र भनी, ‘मसँग पैसा छँदैछ । घरमा कसैले थाहा पाउँदैनन् ।’
त्यसपछि सन्तुले दमन्तीको प्रस्ताव स्विकार्‍यो ।

फिलिम हलबाट निस्केर उनीहरू सरासर उकालो लागे । बेलाबेला दुवै एकअर्कालाई सुटुक्क हेर्थे । बेलाबेला दुवैका कुइना एकअर्कासँग ठोक्किन पुग्थे । दुवैको शरीरमा करेन्ट दौडिएझैं हुन्थ्यो ।

मर्सा पुल तरेपछि दमन्तीले सन्तुको हात समातेर डाइरेक्ट सोधी, ‘मसँग बिहे गर्छौ ?’

रातभरि सन्तु निदाउन सकेन । उसलाई उकुसमुकुस भइरह्यो । दमन्ती खाँटी बाहुनकी छोरी थिई र सन्तु मगर केटो । दोधार दोधारमै उसले रात काट्यो । रिमरिम उज्यालो नहुँदै दमन्ती एउटा झोला बोकेर उसकै कोठामै पो आइपुगी । अब भने सन्तुलाई हिम्मत आयो । उसले दमन्तीलाई कँसिलो अंगालो हाल्दै भन्यो, ‘म तिमीलाई जीवनभर माया गर्छु दमन्तु । चाहे जे होस्, म अब तिमीलाई एकपल पनि छोड्ने छैन । मा कसम ।’

त्यसपछि आफ्ना अलिअलि भएका लुगाफाटो पोको पार्‍यो र दमन्तीको हात समातेर बाटो लाग्यो सन्तु । बिहानको कुमारी उज्यालो जवान हुँदासम्म उनीहरू काँकरभिट्टा पुगिसकेका थिए ।

सुरुमा त दमन्तीका बुबा भन्दै हिँड्थे, ‘त्यो सन्ते मगरलाई भेटूँ न मात्तै । त्यसको लादी निस्किने गरी ननिमोठी कहाँ छाड्छु र ?’

केही दिन यताउता भौँतारिएपछि सन्तु र दमन्ती फर्केर मंगलबारेमा नै आए । झर्ना चिया बगान नजिकै एउटा सानो चियापसल सुरु गरे । यतिन्जेल दमन्तीका बाको रिस शान्त भइसकेको थियो ।

दमन्ती र सन्तु एकछिन पनि छुट्टिँदैनथे । दमन्तीले खाना पकाउँदा सन्तु धाराबाट पानी ल्याउँथ्यो । बिहान उठेर चुलामा आगो जोर्ने काम सधैं ऊ आफैँ गथ्र्यो । भन्थ्यो, ‘दमन्तु धूवाँ सहन सक्दिन ।’

सन्तु र दमन्तीको प्रेम देखेर सबै छक्क पर्थे र भन्थे, ‘यस्तो जोडी त यो ठाउँमा कोही छैन । यिनीहरू त ढुकुरकै भालेपोथी हुन्  ।’

……

पत्तै नपाई दुई वर्ष बित्यो । दमन्ती फक्रेको काउलीझैं गमक्क खुसी देखिन्थी सधैं । सन्तु दमन्तीको मायाले गर्दा घडी हेर्न बिर्सन्थ्यो र दिनरात बितेको पत्तो पाउँदैनथ्यो ।

आफ्ना वरपरका धेरै युवा धन कमाउन साउदी जान थाले । सन्तु यो सब हेरिरहन्थ्यो । ऊ पनि दमन्तीलाई राम्रा लुगा र गहना लगाएको हेर्न चाहन्थ्यो । चियापसलबाट आएको थोरै पैसाले त्यो कहिल्यै सम्भव नहुने उसले बुझ्दै गयो ।

दमन्तीलाई सुखले पाल्न नसकेको पीडाले ऊ भित्रभित्रै पिरोलिन थालेको थियो । अझ सन्तान थपिएपछि के हालत होला भन्ने भयले उसको अनुहार सधैं मलीन देखिन थाल्यो । एकदिन दमन्तीले उसको छातीमा टाउको अड्याउँदै लाडिँदै सोधी, ‘तिमी अचेल खुसी छैनौ नि । के भयो भन न ? तिम्रो अनुहार देखेर मलाई कस्तो पिर लाग्छ ।’

सन्तुले मनको कुरा भन्यो ।

‘अस्ति भर्खरजस्तो लाग्छ भरते साउदी गएको । रिन तिरीवरी एक कठ्ठा जमिन पनि जोडिसकी उसकी स्वास्नीले । मलाई पनि यहाँ बसेर केही नहुने रहेछ भन्ने लाग्दैछ हौ । तर तिमीलाई एक्लै छोडेर कसरी जाऊँ दमन्तु ?’

दमन्ती एकछिनसम्म ट्वाल्ल परेर सन्तुको अनुहार हेरिरही । सन्तु पनि केही नबोली टोलाइरह्यो । एकछिनपछि दमन्ती बोली, ‘भरतकी स्वास्नी पनि त एक्लै छे । तिमी जान्छौ भने म एक्लै बस्न सक्छु । मेरो पिर नगर । भरतकी स्वास्नी रुकु बसेकै घरमा डेरा लिन्छु । मिलनसार पनि छे । केही पर्दा सहयोग गर्छे ।’

प्यारी दमन्तुले हिम्मत दिएपछि दलाल लगाएर ऊ साउदीतिर लाग्यो । सन्तु गएपछि दमन्तीको मन उदास भयो । धेरै दिनसम्म ऊ टोलाइरही । आफ्नो प्यारो मायालुको वियोगले उसलाई भोक पनि लागेन । धेरै रातहरू रोएरै बिताई ।

उता सन्तुको हालत पनि खासै उत्साहजनक थिएन । आफ्नी प्राणप्यारीलाई एक्लै छोडेर यति टाढा आउनुपर्दा ऊ वियोगले दिनदिनै खिइँदै गयो । धेरै दिनसम्म त उसलाई होमसिक भइरह्यो । तर बिस्तारै उसले आफूलाई सम्हाल्यो र कामतिर ध्यान दिन थाल्यो  ।

टाढा भएपछि उनीहरूको माया अझ गाढा भएर आयो । महिनामा चार पाँचवटा चिठी आदानप्रदान हुन्थ्यो । महिना मरिसक्दा सन्तुले पैसा पठाइहाल्थ्यो । भन्थ्यो, ‘कम्पनी राम्रो छ । पैसा धेरै नभए पनि काम गाह्रो छैन ।’

हप्तैपिच्छे उनीहरूको फोनमा कुरा हुन्थ्यो । दमन्ती पनि खुसी थिई । ऊ हरेकपटक फोनमा लाडिँदै भन्थी, ‘छिट्टै आउन ल ? तिमीबिना त निद्रै लाग्दैन मलाई ।’

तीन वर्षसम्म साउदीमा काम गर्ने र त्यसपछि नेपाल फर्किने भन्थ्यो सन्तुले । तर चार वर्ष बितिसक्दा पनि फर्केर आएन । भन्थ्यो, ‘साहु राम्रो छ । अब एक वर्ष बस्छु ।’

दमन्तीका दिन त यसो त्यसो बित्थे । तर रात बित्न गाह्रो हुँदै गयो । ऊ पहिलेजस्तो हाँस्न छोडी । उदास रहन्थी जतिबेलै । कसैका लोग्नेस्वास्नी जिस्केको देख्दा लुकीलुकी हेर्थी । र, एक्लै निसास्सिन्थी । लोग्नेको नियास्रोले उसलाई खर्लप्पै खान थाल्यो ।

फोनमा पनि पहिलेजस्तो रमाइला कुरा हुन छाडे । फोन पनि पातलिँदै गयो । यस्तैमा एकदिन दमन्तीको भेट भो झर्ना चिया बगानमा चियापत्ती लिन आउने ट्रक ड्राइभरसँग ।

एकदिन ड्राइभरले उसलाई भन्यो, ‘लौ, तिमीलाई त थाहै रहेनछ । सन्तुले उतै साउदीमै बिहे गरिसकेको छ । नत्र यतिका वर्षसम्म एकपटक त आउँथ्यो नि ।’

दमन्ती झसंग भई । ड्राइभरको कुरा उसलाई हो जस्तै लाग्यो । नत्र तीन वर्षमा फर्किन्छु भन्ने मान्छे पाँच वर्षसम्म पनि फर्किने कुरा किन गर्दैन ? हप्तामा एउटा चिठी पठाउने मान्छेले अचेल छ महिनामा पनि किन चिठी पठाउँदैन ? दिन बिराएर फोन गर्ने मान्छे, अचेल महिनौं किन फोन गर्दैन ? फोनमा पहिला दमन्तु भन्थ्यो, अचेल पराईले जस्तो दमन्ती किन भन्छ ?

ड्राइभरको कुरा सही लाग्यो उसलाई । उसको मनमा प्रतिशोधको आगो दन्कियो । ऊ त्यही ड्राइभरको पछि लागेर हिँडी ।

ड्राइभरसँग हिँडेको पाँचौं दिन सन्तु साउदीबाट आइपुग्यो र ‘दमन्तु’ भन्दै ढोका ढक्ढक्यायो । तर ढोका खुलेपछि उसकी दमन्तु उसलाई छाडेर हिँडिसकेको यथार्थ बोध भयो । ऊ ढोकैमा मूच्र्छा पर्‍यो ।

…….

स्वास्नीको वियोगमा रोईरोई हिँडेको सन्तुलाई देखेर छरछिमेकीले अर्को बिहे गर्न दबाब दिन थाले । सबैले भने, ‘अर्कोसँग हिँडेकी स्वास्नीको याद गरेर हुन्छ ? माया भए पर्खेर बसिहाल्थी नि । त्यस्ती नकचरीलाई सम्झेर आफ्नो जिग्दगी बिगार्नु हुँदैन ।’
सन्तुले छरछिमेकको कुरा मान्यो र बिहे गर्‍यो ।

ड्राइभरले झूटो बोलेर आफूलाई फसाएको थाहा पाएपछि उता दमन्ती मर्नु न बाँच्नु भई । सन्तुले पठाइदिएको पैसा पनि सबै सकिदियो ड्राइभरले । आमाले किन्देको र सन्तुले पोहोर दसैमा पठाइदिएको गहना भने उसले कसोकसो लुकाएर राखेकी थिई । त्यही लिएर हिँडी एकदिन ऊ र फेरि फर्केर गइन ड्राइभरकहाँ । ड्राइभरले पनि उसको खोजी गरेन । केही महिनापछि साउदीबाट फर्केकी एउटी केटीसित बिहे गर्‍यो उसले पनि ।

यता, सन्तुले बिहे त गर्‍यो । तर उसको मन कहिल्यै खुसी हुन सकेन । स्वास्नी सधैं गुनासो गर्थी, ‘माया गर्न नजान्नेले किन बे गर्नु ? निष्ठुरी मोरो ?’

रातदिन स्वास्नीको गनगनले सन्तु दिक्दारिन थाल्यो । घरमा पनि झोक्राएर बस्थ्यो । विदेशबाट फर्केपछि उसले धेरै ठाउँ काम गर्‍यो । बसको खँलासीदेखि भरियासम्म भयो । इँटाभट्टादेखि सिमेन्ट कारखानासम्मको धूलोमैलो खायो । तर काममा ध्यानै जान्नथ्यो उसको । कहीँ टिक्दैनथ्यो ।

एकदिन सन्तुकी स्वास्नीले भनी, ‘मैले चिया बगानको चौकीदारसँग तिम्रो लागि कामको कुरा गरेकी छु । भोलिदेखि जाऊ । यो पाला पनि कामबाट निकालियौ भने राम्रो हुँदैन ।’

भोलिपल्ट सन्तु मन नलागी नलागी बगानतिर लाग्यो । उसलाई चरम निराशाले गाँजेको थियो । दिक्क मान्दै पत्ती टिप्न थाल्यो । डोको भरिएपछि पत्ती घोप्ट्याउन जाँदा उसले त्यहाँ दमन्तीलाई पनि काम गरिरहेको देख्यो । एकछिन त उसको शरीरले कामै गरेन । एकछिनपछि उसले सोध्यो, ‘कस्तो दुब्लाएकी ?‘

दमन्तीले पनि आँखाभरि आँसु पारेर भनी, ‘तिमी पनि कस्तो दुब्लाएको ?’

फेरि प्रेम भयो उनीहरूको । उनीहरूको आँखाको उज्यालो ओठसम्म आयो फेरि र मुस्कान भएर अनुहारभरि फैलियो । फेरि मंगलबारेबाट भागे उनीहरू । सन्तुकी कान्छी स्वास्नी मुर्मुरिई केही दिन । जो भेट्यो उसैसित भन्थी, ‘त्यो सन्तेलाई भेटुँ न मात्तै । त्यसलाई लादी निस्कनेगरी निचोरिनछु भने के र ।’

तर कोसित के नै थियो र ? सर्वहारा तिनीहरू । दिनभरि कमायो, साँझ खायो । कसले कसलाई निचोर्नु ? निचोरेर के पाउनु ?

कुरा आयो गयो भयो । केही दिनपछि सन्तुकी स्वास्नी पनि दलालमार्फत् साउदी गई । मंगलबारे नजिकको बस्ती साउदी जाने र समयमा नफर्किनेहरूको बस्ती भएको छ अचेल । हरेक दिन एउटा नयाँ सन्तु साउदीबाट फर्किन्छ यहाँ र आफ्नी दमन्तुसित भन्छ, ‘कति दुब्लाएकी ?’

हरेक दिन नयाँ दमन्ती नयाँ सन्तुसित भनिरहेको भेटिन्छे, ‘तिमी पनि कस्तो दुब्लाएको ?’

झर्ना चिया वगानमा हरेक दिन एउटा नयाँ ड्राइभर पनि देखिन्छ । सन्तुहरू, दमन्तीहरू र ड्राइभरहरूले बनिरहेछ यहाँ एउटा नयाँ समाज । यहाँ हरेकको हातमा छ साउदीको भिसा लागेको मेसिन रिडेबल पासपोर्ट ।

प्रकाशित: आश्विन २९, २०७२

(स्रोत : Koseli – Kantipur)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.