~वरुण पोख्रेल~
सधैंको यौटै रुटिन । ब्यान उठ, आँखा मिच्दै धारामा जाउ, पालो बस, पानी ल्याउ चार पाँच खेप दनादन । चाकामा बाँसा’ सुपिलो (खोइलो) लगाउ, चुइने गाग्री पछाडि धारा लाउँदै । चप्पल भिजेर माटो मिसिएर चिप्लेर उस्तै आपत । घर आइपुग्दा पानी गाग्रीको घाँटीबाट तल लागिसकेको हुन्थ्यो । छोत्ल्याङ्-छोत्ल्याङ् गरेर गर्धन तिर नि चुत्रुक्कै । कैले च्या खान पाइन्त्यो, बासी भात बँच्या भए त्यै च्याको सितन, कैले मकैका रोटा । टाप्टुप पार्यो घाँस-दाउरा हिँड्यो । फर्केर आयो, चिसो भैसकेको आटो दन्कायो फेरी गोरु फुकायो चल्यो ग्वाल । खेत-बारीको काम भए घाँस दाउराको रुटिन क्यान्सिल, ब्यानी धन्धा सक्यो आटो खायो चल्यो खेत-बारीमा । दिक्कै लाग्दो । सधैं उस्तै ।
कैले काइँ त यसो घर छोड्न पाइयोस, अझ उस्तै परे गाडी चढ्न पाइयोस । मुख फेर्न पाइयोस, होटेलको भात खान पाइयोस । सम्झँदा मात्रै नि खाएकै जस्तो आनन्द आउँत्यो ।
त्यसैले घरबाट फुत्किने बहाना खोजिन्थ्यो हरदम । कैले सफल भैन्त्यो कैले असफल । घरबाट फुत्किन पाए नि माओल-फुपुको घर टाइप चाइँ फेरी झन दिक्क लाग्त्यो । ताप्के बाट उम्केको माछा फेरी भुङ्रोमा । त्याँ गएर झन सोब्बर बन्न पर्त्यो, अनी काँ’ण स्वाल्लाउस् !
आफ्नु स्तर एसएलसीमा झाम्टे (एक्जेम्टेड) भए नि घरकालाई चाइँ छोरो डाक्टरै बनोस्, इन्जिनेरै बनोस् लाग्नी । घरको र आफ्नो स्तर जोखाना हेरेर घरकाको चाइँ सिएमए सम्म पढेर गाउँको छोटे डाक्टर सम्म भए नि बनोस् । फल्ना छोरो सिएमए डाक्टर भनेर गाउँमा चिनियोस्, सान्सानो मेडिकल दोकान नि होस्, भन्नि चाहना बडो गहिरो थ्यो । आफुलाई फेरी डक्टरी भन्दा बित्तिकै आँफैलाई तीन बित्ताको ज्वरो आउँत्यो । बरु हलो जोतेर खाइन्च, यो पिप निचोर्नी काम गरिन्न भन्नि द्रिढ अडान लेर बसिया थ्यो । तर क्यार्नु ! घरकाको नि मन राख्दिनै पर्नी ! कैले काइँ त्यै मन राख्दिनी कार्यले नि यसो मुख फेर्नी र जिउ तन्काउनी अवसर चाइँ प्रदान गर्त्यो ।
चौराँ गोरु चराउँदै केटा’रु सँग डन्डी बियो खेल्दै गर्या बेलाँ कता’ट पार्द्या दामे छ्यास्स आयो र ओई! यौटो कुरो सल्ला गर्न छ तँ सँग ! भनेर छेउँमा लगेर ‘चुत्राबेसीमा सिएमए खुल्दै छ रे प्राइभेट । जानी हो त बुझ्न ? स्वाल्लाए पढम्ला, नलाए बुझे जस्तो गरम्ला, घुमम्ला फर्किम्ला!’ भन्यो । यसो सोँचेँ, कुरो नठिक हैन । मनमा लड्डु फुरे। बेल्का घराँ सल्ला गरेर भोली खबराम्ला भनेँ।
बेल्की भात खाइसकेपछी घटना र बिचार सुन्दै गरेका बाउको छेउँमा गएर टाउको कनाउँदै कुरो पसारेँ । बाउको सुरुको प्रश्न : कती लाग्नी रैच ? सुक्या स्वरमा : केइ थाहा छैन, यै साल देखी सुरु रे । फारम खुल्या छ रे । सबै बुझेर अउँचु । बुडाको ताल देख्दा पर्दैन भो ! भन्चन जस्तो लाथ्यो, एक्छिन सोँचे जस्तो गरे, जान्नस! जा बुझेर आइजा ! भने । एक्छिन त खुशीले सनन्न भओ । बुडा बुडीलाई तिर्थ बर्त जानी भन्दा अझ खुशी लाओ मनाँ ।
अर्को दिन हिँडियो ब्यानै उठेर झोला बोकेर । टाढाको बाटो, पैदलै गए पनि बजार जस्तो ठाउँ, अर्नीपानीको लागि डेढ शय रुप्पे जती द्या’थे घरबाट । पैसो जाबो छ्याल्ब्याल । तर दामे बाट चाइँ जोगिन पर्त्यो । ब्योरा ठीक थेन त्यस्को । फकाइ फकाइ धुत्थ्यो । दुइटै उस्तै अल्लारे झल्लु । हल्लिँदै चिच्याउँदै ढुङ्गा फाल्दै चुत्राबेसी नजिकै पुगियो साँझ । फुपुको घर थियो । जात्तिबिती मोय गर्नी फुपु । दुइ जना त्यैँ बास बसियो । अर्को दिन ब्यान झरियो चुत्राबेसी सिएमए सेन्टर खोज्दै । मलाई त खासमा पढ्न मन थेन । दामेलाई था’भएन । शायद त्यस्लाई नि पढाई सढाइमा इन्ट्रेस थेन ।
सोध्दै खोज्दै सिएमए अफिसमा पुगियो । यसै त काँ पढ्ने मन थ्यो र ! त्यस्मा पनि त्याहाँका कर्मचारीको व्यबहार ! बुझ्न आका हम् ह्याँ सिएमए खुल्या छ भन्नि थाहा पाएर भनेर सोध्दा कर्मचारीहरुको व्यबहार सिधै काम माग्न आए भन्दा कम् लागेन । सिधै फाराम दिएर फाराम चार्ज मागे । गोजाँ पैसो नि थेन, बुझ्न मात्र गएका हामी, काँ फारम भर्नु ! फारमको कागज समाएर पढाई खर्च, सुबिधा, पढाई सिस्टम सोध्यौँ । मोटामोटी हिसाब बताए, करिब डेढ लाख । दुइटैले जिब्रो टोकिम । हस् ! फारम भरेर फेरी आउँछौ भनेर लागिम बाटा । पचास्- साठी हजार जती होला भन्ठान्या त तेत्रो महङ्गो ! ढुक्क भैयो, यती भएसी त हाम्ले पढ्छम भने नि घरकाले पढाउन्नन यत्रोनी !
दिन्भर घुमियो त्यतै बजारमा रमाइ रमाइ । हामी गाम्लेलाई बजार ! अली ठुलो घर देखे नि ‘एब्बा नि !’ भन्या छ। बस, टेक्टर आए नि घुम्तीमा पुगेर नछेकियुन्जेल हेर्या छ, समय गएको पत्तै नाइ !
त्यस दिन दाम्या माओल जानी प्लान थ्यो । माओल चुत्राबेसी बाट गोरुसिँगे जाने बाटो तिर घुम्ती भन्ने ठाउँ देखी सर्लक्कै माथी डाँडामा । साँझ झमक्क भएसी तेस्का माओल पुगियो । दामे -भान्जा, म -भान्जाको साथी । हल्का मान मनितो पाइयो । अर्को दिन ब्यान हिँड्ने बेलामा टिको लाएर पैसा नि पाइयो । आज घर फर्कने दिन थियो । खर्च पानीको जुगाड बेस्सरी भयो ।
फर्केर चुत्राबेसी (सन्धिखर्क) आउँदा मध्यानह भएको थ्यो । गोजाँ पैसा थ्यो, भोक लाग्यो । सन्धिखर्कको गल्ली गल्ली हिँडिरको बेलामा साइनबोर्डमा ‘रेसुङ्गा मम सेन्टर’ भन्ने यत्रोबोडो साइनबोर्ड देखियो । ओक्खो ~~~ यो त बडो सुनिराख्या नाम हो । अझ काठमाडौं तिरकाले खानि चिज । ममको बारेमा थाहा पाएको पत्रीकाहरु हेरेर । पत्रीका आउने जम्मै काठमान्डु तिर बाट । गाउँमा खाएको कसैले थेन । तर मम भन्नि खाने चिज हो भन्ने बडो आधुनिक नाम बनेको थियो । अहिलेको अवस्थामा भन्दा देख्नु न भोग्नुको तर नाम सबैलाई कन्ठै भको ‘नयाँ संबिधान’ जस्तो ।
लौ दामे !! मम खाम हेर !
दामे एक्छिन अक्मकायो । नाम त सुन्या हो खुपै । कैले नखाको चिज, कस्तो हुनी हो ~~~ , खानि र ?
ह्या ~~ मम खाइयो भनेर फुर्ती लाउन पाईन्छ जाँटा गाउँमा गएर ! दन्काइदिम !
लौ तो यत्रैसीत ! तैँले भनिस, खाइदिम !
छिरियो भित्र ।
भित्र त छिरियो, कोइ ग्राहक छैनन । हामी मात्र । भक्खर १२ जती बज्या थ्यो होला । बेन्चमा बसिम । साउजी आएर सोध्यो : के खाने ? (मम सेन्टर भए नि अरु थुप्रै आइटम थे मेनुमा)
मम खाने दुई ठाउँमा । (प्लेट भन्न नि आएन । प्लेटमा खानि हो कि कपमा हो कि थालमा हो कि के मा खानि जिनिस हो भन्नि थाहा थेन । कतै चित्र समेत देखिया थेन ।) तर साइनबोर्डमा प्लेटमा बाफ पुत्ताउँदै गरेका डल्लाको चित्र थ्यो । अनुमानले मम भनेको यै होला भनेर लख काटेका थ्यौँ ।
हस् ! भनेर साउजी छिर्यो भित्र किचेन पट्टी ।
आउला खै, आउला खै ~~ साउ बाइरै निस्किन्न । दिक्क लाइरख्या थ्यो । साउ आयो दुइटा यित्त्रै बटुकामा आधा जती तातो पानी लेर । टेबल अगाडि राख्द्यो, हिँड्यो । यसो हेरिम, धनीयाका पत्ता छन्, सङ्लो पानी छ । त्यो पनि यित्ती थोरै । हामी त हेर्या हेर्यै भैम् । यै हो त मम भन्नि ?! दामेले मलाई सराप्न थाल्यो, खुप मम खाम भन्तिस नि ! इस् खा मम ! मेरो बोल्ने बाटो नै रहेन । बटुका सँगै बियरको बत्तल नि ल्याएर राख्दिएको थियो । यसो हेरिम, बत्तलको बिर्को खोलेको छैन, दुलो पारेको छ । छेरेर दिसा नधोएको जस्तो लतर पतर छ बिर्को ओरिपरी । चट्नी होला भन्नि अनुमान लाइम, तर कस्तो कन्जुस पारा हो ! बिर्को नि नखोल्या, के सुँघ्दै खाँदै गर्नी होला त त्यत्रो दुला बाट ?! खास खुस कुरा गर्दै आँफैले आँफैलाई सराप्दै बसिम । इस् खाइस मम भन्दै । त्यै नि आशा मरेको थेन । मुल्य रु १२ लेखेको थियो । १२ रुप्पेमा यस्तो झोल मात्र देर त यत्रोनि टार्दैन हेर ! आउँछ होला के ! पर्खे एक्छिन । इस् आउँच ! यो झोल ल्याइदेको आधा घण्टा हुन लाइसक्यो । कैले ल्याउँच ! सानो स्वरमा खास्खुस बादबिबाद गर्दै त्यै झोल भए नि खाउँ भनेर चम्चाले सुरुप सुरुप पार्न थालिम् । खासै टेसिलो थेन, अलिअली नुनिलो, धनीयाको गन्ध आउने । फसियो केटा फसियो । बडो मम खाइ टोपल्नी भका !
यसो पारी हेरेको चुत्राबेसी बाट किम्डाँडा तिरको उकालोमा टेक्टर् ध्वाँर् ध्वाँर् गर्दै उकालो चढ्दै थ्यो । त्यो टेक्टरको ट्रलीमा बस्न पाएको भए आधा बाटो हिँड्न पर्थेन । मध्य दिउसको टन्टलापुर घाममा । बडो दु:ख लाओ । यै ममको कारणले टेक्टरमा चढ्न पाइएन । ममले डुबाउनु डुबाओ ।
एकछिन पछी साउ आयो दुइटा प्लेट लेर । प्लेटमा सेता सेता डल्ला भब्र्याल्तै, पुत्तौँदै । यास् ! बाइर बोर्डमा देखेको त यो पो हो त !! अब फेरी समस्या पर्यो । ति सेता डल्ला त्यो धनीयाको झोलमा मुछेर खान पर्नी थ्यो कि चोपेर केइ मेसो पाइएन । झोल त लग्भग सकिएको थियो । साउले यसो हेर्यो सुप ल्याइदिउँ अली ? भन्दै बटुका टिपेर लाग्यो । अब मुखामुख गर्न थाल्यौँ । यस्तै त होला खानि भनेर काँटाले घोँचेर एक एक डल्ला मुखाँ के हाल्या थ्यौँ, निल्नु न ओकेल्नु बनायो । आगोका कोइलै उठाएर ल्याको जस्तो तातो । मुखको माथिल्लो डाँडी, गाला जिब्रो जताततै पोल्यो । तर देख्दा जती मिठो होला जस्तो लाग्या थ्यो त्यती मिठो लागेन खासै । साउले फेरी सुप भनेर धनीयाको झोल लेर आयो । उस्ले बुझ्यो यिनिहरुलाई थाहा छैन नयाँ हुन् भन्ने । यो सस हो । यसरी प्लेटमा झारेर चोपेर खानु पर्च भन्दै बत्तल घोप्टो पारेर बत्तलको पिँधमा थ्याँच थ्याँच पार्दै हत्केलाले हानेर अचार् प्लेटमा झार्दियो । थाहा नभएको कुरो त सोधेको भए नि बताइदिन्थ्यो होला साउजीले । हाम्लाई सोध्नै लाज लाओ । अब मम चोप्दै खान थालिम् भकाभक । नाम मात्र ठुलो रैच । मिठो त समोसा जत्तिकै नि हुनी रैन्च । यस्तै रह्यो ममको पहिलो अनुभब ।
12/28/14
वरुण पोख्रेल
चौरपानी, प्युठान, नेपाल
(स्रोत : रचनाकारको ब्लगबाट सभार )