~डा. बिनोद मणि बराल~
लाग्छ, उसलाई खहरे खोलाले
लालुपाते भञ्ज्यांगले
बयरघारी घामले तातेका टारले
त्यति मात्र कहाँ हो र
सिन्कौलीका जराले मात्र होइन
खनिउ, भलायोले समेत उसलाई
झक्झक्याइरहेछन्
ऊ निदाएको मान्छे
ऊ टोलाएको छ
आप्mनै घर आँगन कोठेबारीको
अनि आप्mनै हरिया चियाबगानको
सम्झनामा हराएको छ
उसलाई छुँदा
लज्जावती झार खुम्चिन्छ
उसंग भिड्दा
गोर्खाली ,,गोर्खे,, दर्शिन्छ
अनि उसंगै चढ्दा
सगरमाथा जन्मन्छ
किनकि
ऊ त्यही माटोमा जन्मिएको
ऊ त्यही गोरेटोमा हुर्किएको
ऊ त्यही दोभानमा अल्झिएको
एउटा यात्री हो तैपनि
एउटा पर्यवेक्षक मात्र हो
ऊ केही होइन केवल
एउटा साक्षी भएको छ
कुनै बन्धनले रोक्न नसकिने
कुनै घेराले घेर्न नसकिने
कुनै बारले छेक्न नसकिने
मनचिन्ते उडुवा पंछी भएको छ
उसले आँसु खसाले
पर्वत रुन्छन्
उसले बोल्न छाडे
नदी रोकिन्छन्
किनकि ऊ नै आत्मा हो
ऊ नै परमात्मा हो
हृदयको धडकन हो
ऊ सबै हो अनि
सबैको श्वासप्रश्वास हो
आप्नो मातृभूमिको
एक मात्र स्पन्दन हो ।
१ जुलाई २००२ मास्को, रुस महासंघ
(स्रोत : Freenepal)