तिम्रो एक चिम्टी सम्झनाले
मलाई एक हिक्का बाडुली लाग्दा
म त अवाक् बनेछु
अनि बेहोसमै
फेरि तिम्रो सम्झनामा छताछुल्ल पग्लिएर
थाहै नपाइकन
म त छरपस्ट बिस्ताराभरि पोखिएछु ।
यस्तो अनौठो एक हिक्का बाडुुलीको
छरपस्ट पोखिने सम्झना
तिमीलाई के थाहा,
सम्झना कति बग्दो रहेछ, मान्छेको मनभित्र
तिमीसँग सवाल–जवाफ गर्न सक्दिनँ
सम्झना बढेपछि ज्वरो चढ्न थालेछ
थर्मोमिटर खोलेर बेहोसमै ज्वरो नापेछु
सिटामोल चपाएछु
सम्झनामा फेरि पोखिन थालेछु ।
तिम्रो सुन्दरताको बयान गर्नै नसक्ने मेरो रहर
म नाजवाफ बनेछु
तिम्रो जिन्दगीका अनेकन मोडहरु
चट्टानझैं पत्रपत्र च्यातेर उप्काउन थालेछु
अनि भूगोलको अर्को गोलाद्र्धमा
फेरि हाम्रो मिलनको एउटा खम्बा गाडेर
हामी एक चिम्टी सम्झनाको खातिर
एक हिक्का बाडुलीको खातिर
तड्पिइरेहेका हुन्छौं
छरपस्ट बिस्ताराभरि पोखिएर
सवाल–जवाफ गरिरहेका हुन्छौं ।
पोखराथोक–२, पाल्पा
(स्रोत : सम्मोहन साहित्यिक पत्रिका)