~राजन गोदार~
प्रिय बाउन्सर !
तिमीले मलाई अनावश्यक रिह्याव सेन्टरमा लग्दै छौ। पूरै रिङरोडलाई साढे पाँच इन्चको सानो सिन्काले नाप्न लगाउँछन् रे त्यहाँ ! र, सोध्छन् रे आखिरीमा, कति सिन्का भयो भनेर। एक बोरा चामल खन्याएर गन्न लगाउँछन् रे त्यहाँ ! र, सोध्छन् रे, कति गेडा पुग्यो भनेर। मलाई त अहिल्यै झिझ्याटको पूर्वानुभूतिले मुत्मुते लाग्न थालेको छ। के साँच्चै म ठीक हुँला त?
महत्त्वाकांक्षाको क्यान्सर हरेक मान्छेभित्र हुन्छ, सपना देखिरहन अभिशप्त छ मान्छे। जिन्दगीको दु:ख भन्नुपर्छ त्यो क्यान्सर बढ्यो भने भयानक हुन्छ तथापि आजसम्म पनि करिअर दुव्र्यसनीहरूका खातिर रिह्याब सेन्टरहरू खुलेका छैनन्।
राजन गोदार आज वास्तविकताबिनाको नाम हो। हिजो कुनै दिन नामबिनाको वास्तविकता थियो। मैले क्यान्सरको उपचार गरिनँ। करिअर दुव्र्यसनमा छु। यो एडिक्सनको तलतलले आजित भएर धोबीधाराको मर्सी किलिङ हेल्थकेयर प्रालि, मोक्ष अस्पतालको आईसीयू कक्षमा सिकिस्त छु। लोप हुँदै जानु प्राकृतिक जैविकता हो वा जैविक प्राकृतिकता!
मान्छेका परिचय कसरी भूपू हुन सक्छन्? परिचय भन्ने कुरा विगतबाट बन्ने होइन? मलाई एक मनुवाले ‘पहिला लेख्नुहुन्थ्यो’ भनेर एक जनासँग परिचय गरायो। भूतपूर्व लेखक अथवा खेलाडी वा कलाकार भनिरहँदा अमिल्दो सुनिन्छ। उसले मेरै पोल्टामा कोचेर अमिलो आरोप लगायो, पहिले लेख्ने मान्छे अर्थात् भूतपूर्व लेखक। तर, अमिल्दो सुनिने कुरा सबै असत्य हुँदैनन्। जीवनकै ग्राफ खस्केर वास्तविकता हराएका थुप्रै मानिस, संस्थाहरू छन्। मेरो हालत पनि यस्तै भयो।
सम्झौता गर्नैपर्ने, आममान्छेको भाग्य हो। सम्झौताको दैनिकी हो, आममान्छेको जिन्दगी। यस्तो दैनिकीमा हुने सम्झौताहरू गौण कुरा हुन्। एकाध मान्छेले परिचयलाई सम्झौता गरिदिए भने, आफ्ना रुचिलाई त्यागिदिए भने पनि खर्बको आवादीलाई फरक पर्दैन। त्यसैले सम्झौता हुन्छन्। कहिले आफ्नै आस्था, अस्तित्व, परिचय र पहिचानका सम्झौता भैजान्छन्। क्रमिक रूपमा नयाँ–नयाँ परिचय पटक–पटक बुनिन्छन् तर यिनको पनि कुनै ग्यारेन्टी–वारेन्टी हुँदैन।
लेख्ने र बोल्ने कर्म सुन्दर बान्ता हो। पढ्ने र सुन्ने कर्म खाना हो। बान्ताका दुई क्याटगोरी छन्, गाह्रो र सजिलो। भरी पेटको बान्ता सजिलो हुन्छ, सुन्दर पनि। रित्तो पेटको बान्ता गाह्रो हुन्छ र कुरूप पनि। गाह्रो गरेर कुरूप काम गर्नुभन्दा नगरेको बेस।
पढ्ने सुन्ने रुटिनमा आएका विषय–अविषयहरूले ग्रेटर पर्खालहरू निर्माण गर्दै गए। पर्खालहरूको तीव्र निर्माणमा इन्स्टेन्ट निर्वाणको सपना देखेर होला, रौसिइरह्यो। ती पर्खालको आफ्नै विशेषता थियो। पर्खालहरू चलायमान थिए। कहिले सर्दै आउँथे र सानो वृत्त बनाउँथे मानौँ कि एउटा वृत्ताकार बाकस बन्थ्यो कुनै वादजस्तै। त्यस खालका बाकसभित्र खुम्चिएर पनि खुसी नै भयो। कहिले ती पर्खालहरू सर्दै जान्थे र अनन्त हुन्थे। त्यो बेला पनि फ्रि फ्रम एनिथिङ एन्ड एभ्रिथिङ, एक ह्विर्लिङ डर्भिसेसजस्तै फनफनी नाचिरह्यो। यी विषय–अविषयहरू सामान्य जीवनमा ‘अ’ बोकेर आए र असामान्य भइदियो। असामान्य असहज हुन्छ तर उसले ‘अ’ र सहजको गाँठो फुकाउन कुनै शुभ मुहूर्त कुरेन। जबरजस्ती च्यातेरै छोड्यो। तर, सधैँ गाँठो परिरहँदा फुकाइरहन भने सकेन। अभावमा भावनाहरू भुटिएर मर्छन्। एउटा ‘अ’ले कति फरक पार्छ जिन्दगीमा!
विश्वविद्यालयभन्दा मदिरालयमा हाजिरी नियमित भएपछि लय जमाएको थियो, जीवनका गीतहरूसँग। पुस्तकहरू मीत बनेका बेला विश्वविद्यालयको परीक्षा आयो, पास भयो। जिन्दगीको दु:ख भन्नुपर्छ माया गरेका ती पुस्तकहरूको परीक्षा कहिल्यै आएन। जिन्दगीको भकुन्डोलाई भद्रगोल हिर्कायो। बुझ्दै जाँदा लागेको थियो कि अज्ञात, अदृश्य, अचेतन अर्थात् ईश्वर पनि नश्वर छ। ईश्वर पनि खिइँदै जाँदो रहेछ, मान्छेको मनमस्तिष्कबाट। मान्छे यस्तो प्राणी हो, कहिले मान्यता बनाएर खुसी हुन्छ, कहिले भत्काएर।
मन्दिरको घन्टीमा तुर्लुंग झुन्डिएको धर्मलाई धिक्कारेर अधार्मिक भएको थियो वा आफ्नै धर्मको मर्म खोजिबस्न थालेको थियो। एक दिन जिन्दगीको घन्टी बज्यो। बज्नै पथ्र्याे, बज्यो। जिन्दगीको दु:ख भन्नुपर्छ, वर्षौंअघि बज्नुपर्ने घन्टी ढिलो गरेर बज्यो वा कहिल्यै नबजिदिनुपर्ने घन्टी यति छिटो गरेर बजिदियो। सहज अचानक आँधी बोकी असहज भएपछि ऊ ५ सय ९० किमि प्रतिघन्टाको गतिमा बुलेट ट्रेन चढेर कतै दूर पुग्थ्यो। त्यो आँधी कतै छुटिसक्थ्यो। फ्रिजबाट झिकेर फ्रोजन आत्माहरूलाई बोतलको भोड्कासँग गिलासमा मिलाएर कागती निचोर्दै गर्दा भन्ने गथ्र्याे, मर्दको जीवनमा अर्थको के अर्थ, जो हरघडी व्यर्थ छ। थुप्रै शुभ मुहूर्तहरू अवसर बोकेर आए, अवसाद दिएर गए। यसपटकको अ र सहजको कुरूप गाँठो फुकाउन उसले कुरेको साइत आजसम्म आएन।
जिउने नाममा सर्त छ कि अर्थ हुनैपर्छ। अर्थबिनाको जिन्दगीमा आत्तिने धेरै छन्। हो, आत्तिएकै हो त्यो बेला। जिन्दगीका तमाम आवश्यकतालाई लेखकीय अर्थोपार्जनले धान्नु मुस्किल छ, यो देशमा। हो, लेख्न सके अन्तर्राष्ट्रिय बजार पनि छ। अन्तर्राष्ट्रिय बजार नै जोडेर हेर्दा पनि एउटा शुद्ध लेखक, जो टप टेन बेस्टसेलर हो, उसले कहिल्यै टप टेन व्यापारीको आम्दानीलाई टक्कर दिन सक्दैन। यस्तो हो भने किन यतिका धेरै मान्छे लेखिरहेछन्? उनीहरू भाग्यमानी हुन्। एकछिन है, मैले पनि सोचँे पैसा कमाउन लेख्ने हो र? कदापि होइन तर लेखेर पैसा त कमाउनुपर्यो नि, होइन? एउटा लेखकका लागि यो बजारमा उपलब्ध सम्पूर्ण सुविधा कल्पना मात्रै गर्ने कुरा हुन्? एकाध अपवाद छाडेर यस्तै छ। नेपाली लेखकको आम्दानी र बचतसहित उनीहरूको आर्थिक किस्साबारे कसैले सर्वे गरिदियोस्।
ब्याजको स्याज हुर्कन थालेपछि मानिसको जिन्दगानी दर्पण–छायाँ बन्छ। भइन्जेल न हो, आज बाँच्ने भन्ने आदर्श। नभएपछि त मान्छेलाई भोलि पनि बाँच्नुपर्छ। भोलि बाँच्ने बचत पनि आजै साँच्नुपर्छ। मान्छे हरदम जहाँतहीँ सुरक्षित हुन खोज्छ किनभने असुरक्षित जो छ। भइन्जेल त भएकै हो झैँ गर्यो। सकिँदै गएपछि भएझैँ गरिरहन चाहेर पनि सकेन। कुनै समय, लताको ‘आगे भी जानेना तुँ…’ मन पर्ने गीत हो। अचेल सुन्ने गीतहरूको मार्का फरक भएको छ। जगजित सिंहको ‘तुम चले जाओगे तो सोचेंगे हमने क्या खोया, हमने क्या पाया…’ दोहोरिएर बज्ने गर्छ। सुख यस्तो चीज हो, स्वाद चाखेपछि लत लाग्छ। बरू जिन्दगी दु:खै मात्र ठीक छ। सुखपछिको दु:खले त साह्रै पो दुखाउँछ त। मान्छेहरू भन्छन्, सुखदु:ख महसुस मात्रै हो। यो अभाव नभोगेकाहरूले भन्ने कुरा हो। कुनै बेला महसुस मात्रै हो भन्ने पनि लाग्थ्यो। दु:ख एक युद्ध हो जहाँ थुप्रै नियम, सीमाहरू मिचिन्छन्। पढ्नेसुन्ने कर्म यहीँनेरदेखि बन्द भयो। मूल्यहीन चीजहरू पनि अमूल्य भएर आए, पैसा पो अमृत भएर आयो।
यो समाजमा समाजको नभईकन समाजमै रहिरहनु धेरै दिन सम्भव हुँदैन। डाक्टर आफन्तहरूले फरक–फरक करिअर पिल्स प्रेसक्राइब गर्न थाले। अवसादको ज्वरोमा ती प्रेसक्रिप्सनले घरी पेनकिलर र घरी पेस्टिसाइटका काम गरे। ती प्रेसक्राइब्ड करिअर पिल्सहरू जबरजस्ती निल्नुको विकल्प थिएन। आफ्ना र आफन्तका व्यवसायमा चाहेर–नचाहेर, जानी–नजानी खिचियो। चाहना जो थिएन, नेतृत्वमाथि असफल दागहरू लाग्नु नै थियो। असफल दागहरू लाग्दै गए र कहिल्यै मेटिएनन्। भलै ती असफलताको किस्सामा आफ्नै नेतृत्वको हिस्सा कम थियो। ती दागलाई बेदाग बनाउन बारम्बार बेकारको जोरी खोजियो। सायद हरकोही आरोपलाई सजिलै स्वीकार्दैन। पारिवारिक व्यवसायबाट फेड आउट हुँदै गर्दा जागिरहरू अवसर भएर आए। जागिरले उठाउन सकेन बरू गिराइदियो।
उठ्दै लड्दै फेरि उठ्दै गर्ने क्रम भंग भएन। कार र पैदल, क्याफे आम्स्टरडामको जंगल कुलर र डिलुको भट्टीको लोकल दोहोरिइरहे। गर्लफ्रेन्डसँगको ड्राई ड्राइभमा पेट्रोल सकिएपछि गाडीलाई बाटैमा ठेगान लगाउने काम पटक–पटक भयो। वालेटको आकार खुम्चँदै गयो। पैसा चिनेजस्तो पनि भयो, झनै नचिनेजस्तो पनि। हुँदाहुँदै यस्ता दिनहरू आए कि एक घन्टाको सय रुपियाँ, ५० को ट्याक्सी ५० को रिफ्रेसमन्ट। थ्यांक गड, भन्नुबाहेक अर्को बाँकी भएन।
दु:ख ऊर्जा हुन सक्छ भने मैले रूपान्तरण गर्न नसकेकै हो। आफैँमा एउटा कोपिङ मेकानिजमको विकास गर्न नसकेकै हो। अभिव्यक्तिको स्वतन्त्रता मात्रै पैरवी हुने यो समाजमा मौनताको स्वतन्त्रतामाथि कानुनले पनि मौनता साँधेको छ। जिन्दगीको यो मोडमा मौन मोडियो। मोडिएपछि देख्यो कि बगैँचा यहाँ पनि छ तर अहंकार बोकेर आउने आँधीले फूलहरू ध्वस्त छन्। सहर यहाँ पनि छ तर शीतयुद्धको कहर छ। जीवनमा धर्मग्रन्थहरू वार मेनिफेस्टो भएका बेला उसले पनि उत्साहपूर्ण भक्ति त्यागेको हो। उद्देश्य र आवश्यकताको गृहयुद्धमा त्यो भक्ति त्यागेपछि करिअर पिल्सहरूको नियमित सेवनले करियर दुव्र्यसनमा नराम्ररी फसेको छ।
०५५ वा ०५६ सालतिर हुनुपर्छ, ‘दुई पत्थर’ शीर्षकको लेख कास्कीको गगन दैनिकमा यसका तत्कालीन सम्पादक राजेशकुमार घिमिरेले प्रकाशित गरिदिएपछि पार्टटाइम लेख्ने मान्छे भएको हो। आफँैभित्र एउटा लेखक हुर्कंदै गरेको महसुस थियो। जिन्दगीको दु:ख भन्नुपर्छ, महसुस मात्रै भयो, मूर्त भएन। अध्ययनको सिलसिलामा दिमागमा अनेकन् टाउका बनेका थिए। आफ्नै टाउको भने खुम्चिन थालेको थियो। पहिलोपटक लेख छापामा छापिएपछि राजनीतिको लेफ्ट राइट फन्डाले आची पुछेर शब्दहरूको सानो क्याफेमा लुसुक्क छिरेको हो। हुर्कंदो त्यो लेखकलाई सर्वश्रेष्ठ सम्पत्तिजस्तै मानिएको थियो। आफूले स्वामित्व राख्ने थोरैमध्ये एक। मान्छे स्वामित्वमा रमाउँछ। विश्वजनसंख्याको ठूलो हिस्सा स्वामित्वको किस्सामा जिन्दगी खोस्रिरहेछ।
गुजाराका लागि गरिने गुह्य सम्झौताहरूको फेहरिस्त थपिँदै गयो। जागिर–व्यवसाय, व्यवसाय–जागिर मानौँ लाइफ साइकलजस्तो भइसकेको थियो। जागिरले जिन्दगीको जाडो थेगेन। व्यवसायहरूले नोक्सान मात्रै दिएनन्। कुनै कुनैले कफन नै दिइगए। ट्राभल एजेन्सी, रिभर एड्भेन्चर, होटल चौतारी, रिडर्स क्याफे जिन्दगीका केही महत्त्वपूर्ण विगत भइगए। बेचैनीको अनिद्राले भित्र कतै आगो बाल्यो। त्यो आगो दन्कन थालेपछि सहर बदल्ने निर्णय गरियो। भन्ने गथ्र्याे, सहर परिवर्तन गरेर डेस्टिनी बदलिँदैन। तर, ५ जनवरी २००५ मा पोखराबाट काठमाडाँै आयो। त्यस दिनदेखि काठमाडाँै कहरमा पाठकीय र लेखकीय रहर फ्रिजरमा हालेर बसेको छ। करिअर एडिक्टको परिचय बोकेर बसेको छ।
करिअर पिल्सको नियमित सेवनले पढ्ने–लेख्ने धैर्य र रहर क्षीण हुँदै गए। कुनै समय महसुस गरिएको लेखक आज सँगै छैन। आफँैले जन्माएको लेखकीय रहर हिजो अलिकति मर्यो। आज अलिकति मरिरहेछ र भोलि अलिकति मर्नेछ। त्यो रहरमा करिअरको ग्रहण लागेपछि आजसम्म अस्ताएको छैन। शिथिल छ, सिकिस्त छ। ऊ बेला करियर पिल्सको ओभरडोजले निकालेको ज्वरो झन्डै १ सय ५ डिग्री सेल्सियस थियो र आजसम्म उस्तै छ। हो, तिम्रो प्रश्न सही छ। के करिअर बनाउन नसकेको रहरको घाँटी थिच्नैपर्छ?
प्रिय बाउन्सर !
के मैले तिम्रो रिह्याबमा दिन कटाउन सकुँला? मान्छेहरू साढे पाँच इन्चको कलमले नापेर पूरै रिङरोड रिङिसके होलान्। मान्छेहरूले चामलका गेडा गनेर भ्याइसके होलान्। के साँच्चै मेरो उपचार सम्भव छ ?
प्रकाशित: असार १३, २०७२
(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक )