~राजन गोदार~
उत्तेजनाको आयु लामो हुँदैन । त्यही उत्तेजना बाँचेर हामी बूढो भयौँ । ताली र गाली गर्दा जोशमा होश गायब हुने रोगले हामीलाई थला पारेको छ । धैर्य–अधैर्यको भूमिका उल्टो निभाएर बाँच्यो मेरो पुर्खा र त्यसकै सिको गरेँ । मनमस्तिष्क छैन । छ भने मन मात्रै, कि मष्तिष्क मात्रै छ । जे भोग्दै छौँ, हाम्रै कारणले भोग्दै छौँ । यो दु:ख हाम्रै स्वआर्जन हो । आकाशबाट दुख खसेर घरघरमा पसेको होइन । कसैले बोराका बोरा सुख ल्याएर एक परिवार एक बोरा गरी बाँड्ने वाला पनि छैन । जति फुर्ती लगाऊ, युगान्तकारी परिवर्तनको । विचारको बाढी जति बगाऊ । क्रान्तीको आँधी जति चलाऊ । जबसम्म भोक छ, तबसम्म भोक मात्रै छ ।
करिब २० वर्ष लगाएर नेपालले जे–जे कमायो, गुमाउनै नहुने गुमाएर जे–जे पायो, त्यसैमा सन्तोष गर्नु सिवाय अर्को विकल्प छैन । लगानी र प्रतिफलको सूत्रमा एउटा निक्र्याैल आउँछ, अत्याधिक समय र जनशक्ति नष्टेर गरेको न्यूनतम उत्पादन । ती उत्पादनलाई महान प्राप्ति, युगान्तकारी परिवर्तन, गौरवशाली उपलब्धी र चमत्कार भनिटोपलिइन्छ । जो समय, जनशक्ति, धन, ज्ञान र विवेकको नोक्सान बाहेक केही होइन । मान्छे मार्नु भन्दा ठूलो अपराध हो भ्रमको खेती ।
यिनले जति मान्छे अकालमा कसले मार्छन् र ? मान्छे मार्छन् तर कानूनले अपराधी मान्दैन । नाफाको झूठो दावी गर्ने यिनै हुन् जो भ्रम बेच्छन् र आफू पालिन्छन् । कास यो नोक्सानी नाप्ने थर्मामिटर हुन्थ्यो र नोक्सानमा भूमिका रेकर्ड गर्ने ब्ल्याक बक्स हुन्थ्यो । समयको मात्रै नोक्सान नाप्ने हो भने पनि उहिल्यै कंगाल भैसकेका छौँ । तर, कंगाल भएको ज्ञात नहुनु फरक कुरा । यो नोक्सानीलाई नाफामा कायाकल्प गर्न त सायदै सम्भव होला । यस्ता चमत्कारी कुरामा चिन्ता र चिन्तन गर्नु व्यर्थ छ । तर, हामी कम्तिमा ब्रेकइभनको कुरा पनि गर्दैनौँ ।
नोक्सानलाई नाफा बनाउने कुरा त मैले गरिहालेँ भने पनि एक तल्लोस्तरको ठट्टा हुन सक्ला । यहाँ त, ब्रेकइभनसम्मको यात्रा नै चुनौतीपूर्ण छ । डरलाग्दो छ । जहाँ खतराको खातै खात छ । तर, खतरा नमोलिकन नोक्सानबाट ब्रेकइभनमा आइपुग्न जुग लाग्न सक्छ र त्यो जुग बाँकी नै छैन । कुरा मात्रै गरेर पहिल्यै बिताइदियौँ । खतरा नखेपिकन यो खेल खेल्न जुन समय चाहिन्छ, त्यो त छैन । कुनै राष्ट्रले समयको सदुपयोग गर्यो, हामीले प्रयोग नै गरेनौँ । हिजोको नोक्सान, आज र भोलिको नाफामा एकैचोटी काम गर्न सक्ने कुशल नेताको खाँचो छ । यो कठिन तर सम्भव मिसन हो ।
कुरा ठीकै हो तर नेता कहाँ पाई छ, कहिँ कतै ताराबाजी लैलै खेलेर बसेको छ, नारा म्यानुफ्याक्चरिङ उद्योगको प्लेकार्डसँग प्लेयिङमा मस्त छ । सायद व्यक्ति–व्यक्तिमा बाँडिएर बाँचिरहेको छ जो जुट्नुपर्छ । फेरि पनि नाराबाजीमै अलमलिएर अग्रगमन र प्रतिगमनको नाराबाजीमै बितेको नेपाली राजनीतिको करिब २० वर्षको क्षतिपूर्ती सम्भव छैन । जबसम्म नारा बनाउने र बजाउने दुवैखाले जनशक्तिको उत्पादन गर्ने फैक्ट्रिहरू बन्द हुँदैनन् तबसम्म सम्भव छैन । यो एउटा कोरा सपना मात्रै हुनेछ जहिलेसम्म कर्मिला मान्छेहरूको गर्भपतन भैरहन्छ । कर्मिलाहरूको राजनीतिक सक्रियता नभइन्जेल यो सम्भव छैन ।
सजीलो त यसकारण पनि छैन । नेपाली राजनीतिमा इमानीहरूको संख्या पहिल्यै नगन्य छ । त्यहीँमाथि, इमानीको यात्रामा इमानी पात्रको सहयात्रा कुनै फिल्म जस्तो । नाराबाजी, गालीगलौज र क्षणिक हिचीकमिचीकमा रमाउने हाम्रो आत्मघाती बानीको भूमिका बलियो छ हामीलाई गरिबीको रेखामुन्तिर झुन्ड्याइरहन । क्रान्तिकारी शब्दस्वादमा जिब्रो पड्काइरहन आनन्द मान्ने रोगी मानसिकताले डोर्याएर खाल्टोमा पुरिदिएको छ, निकास छैन ।
गोल कहिल्यै नगर्ने तर मैदानमा दौडिरहने फुटबलरहरूले बनेको थोत्रो नेतृत्वको भूमिकाको गीत कम्पोज नै नगरौँ । त्यो टोली कहिलेकाहीँ गोल गरिहाल्यो भने पनि आत्मघाती गोल गरिबस्छ । गोल गर्नेले भोट पाएनन् र त सायद त्यसैले यी नेता भैगए । सायद गोल गर्नेले उम्मेदवारीको टिकट नै पाएन । सम्भवत: गोल गर्नेले कुनै दलको दलदलमा फँसिहाल्ने आँट नै पो गरेन कि !
सायद गोल गर्नेले राजनीतिलाई एउटा फोहोरी खेलको नाम दियो र मैदानमै देखिएन । कुनै क्रिस्टल क्लियर उद्देश्य नभएका खेलाडीले जबसम्म मैदान छोड्दैनन् वा छोडाइँदैन, ब्रेकइभन र बेनिफिट सम्भव छैन । परिवर्तन नै सत्य हो तर परिवर्तन नै प्रगति होइन । परिवर्तनमा दुर्गती र प्रगतिको समान सम्भावना हुन्छ । अग्रगामी र प्रतिगामी परिवर्तनको कुरा गरेर लोभलाग्दो समयको बलात्कार मात्र गरिबस्यौँ । बलात्कार एकक्षणको आनन्दले लोभ्याएको फगत एक सनक हो । त्यही सनकको फ्रिक्वेन्सी बढ्यो । र कोही बलात्कारी भए, हामी बलात्कृत । आर्थिक–सामाजिक समृद्धिका लागि सम्भावित नायकहरू घरभित्रै थन्किइरहुन्जेल यो सम्भव छैन ।
यति धेरै समस्या छन् जसको सम्बोधन नगरी समृद्धिको कुरा गरिहिँड्नु मुर्खताशिवाय केही होइन पनि भन्न सकिन्छ । तर, फड्को मार्ने भनिन्छ नि । हो, त्यसै गर्नु जरुरी छ । छलाङ भन्छन् नि । हो, ल्याङ–ल्याङ छाडेर छलाङ मार्नु आवश्यक छ । यो सबका लागि बार्गेनर होइन, एउटा बौलाहा चाहिएको छ जो साहसको भूत आफूसँगै बोकिहिँड्छ । पलिटिसियन होइन, पागल चाहिएको छ जो पलपल प्लानिङ गरिबस्छ । यो देश बनाउने पागलपन सवार भएका केही मनहरूको खाँचो छ जसले मात्रै हिजोको क्षतिपूर्ति, आजको ब्रेकइभन र भोलिको नाफाको प्रभावकारी योजना र कार्यान्वयन गर्न सक्छ । भक्तराज आचार्यले गाएका छन् नि, अल्झे कहीँ त के भो बाटो भूलेको छैन… । हामी अल्झ्यौँ पनि र बीचमा कतै बाटो भुल्यौँ पनि । जन्माउने तर नहुर्काउने, रोप्ने तर गोडमेल नगर्ने बानीले गरेको हानी बिर्सन चाहेर पनि बिर्सिनसक्नु छ । आशा होइन, बढी अलमल छ ।
भक्ति एउटा र भजन अर्कै गर्ने त्यो विरोधाभास भक्ति, भत्काउनमा अस्तीको भूकम्पभन्दा कहिल्यै कम थिएन । हिंसाजन्य चिज र चरित्र मन पराउने पनि होलान् जो खासमा बिमारी हुन्, अनेकन वाद सादले थलिएका । त्यस्तो कुनै पनि असल से असल परिवर्तन पनि खराब हुन्छ जो हिंसाबाट जन्मन्छ । सुनौलो भोलिको सपना गोलीमा देखाउने अतिवादको त खती भएकै राम्रो । गोली र भोलिको कुनै सकारात्मक सम्बन्ध हुँदैन । विचार बोक्नेहरूले बन्दुक पनि बोक्नै पर्ने छ र ? म त स्पष्ट छु कि यस्तो विचारको भ्यालिडिटी सिद्धिसक्यो जसलाई रिभ्यालिड गर्न मिल्दैन, प्रयास गर्नु व्यर्थ छ । वाद बिर्सेर विकासको फड्को पो त आजको आवश्यकता । आयातित वाद बाटो हुँदैन । यदि समय भन्नु वर्तमान मात्रै हो भने त यहाँ कुनै बहसको पनि अर्थ छैन । हो, मेरो भोलिमा मलाई विश्वास छैन किनकि मेरो भोलि छ कि छैन मलाई थाहा छैन । तर, नेपाल र नेपाली भोलि पनि छन् र तिनको भोलि पनि छ । एउटा देशका लागि समय भन्नु भविष्य पनि हो र यस्तो हो भने निराशाको सुस्केरा भन्दा आशकै सास फेरेको राम्रो ।
राजनीतिक संवाद र छलफलका बेला जुन जोगी आए पनि कानै चिरेका भन्ने उखान जोकसैको जिब्रोमा टाँस्सिएर बसेको छ । उस्तै शैली, सोँच र व्यवहारको निरन्तर नेतृत्वबाट आजित भएका छौँ ।
आन्दोलनको चान्स लिएर जन्मेका लिडरले पनि सत्ताबाहेक अर्को सन्तोष देखेनन् । युवा भनिनेदेखि बूढालगायतका कतिपय आशलाग्दा नेताले पनि छोटामोटा हिरोगिरी बाहेक अर्थोक केही गरेनन् । सर्सर्ती हेर्दा बाँच्ने रहर पुर्याउन जस्तोसुकै खतरा मोल्ने तर कुर्सीको रिस्क कहिल्यै नबोक्ने सिलसिला हो नेपाली राजनीति । यो सिलसिलाबाट मुक्त हुन यसै सिलसिलालाई कायम राखेर त सम्भव छैन । यो सिलसिला तोडिन जरुरी छ । यो सिलसिला तोडिन जरुरी छ । र, यो तोड्नका लागि नयाँ नेतृत्वको जन्मको विकल्प छैन । नयाँ नेतृत्व जन्माउने प्रयास नै गलत हो भन्ने पक्ष लिएर म अन्धो हुन सक्दिन । यस्ता कोसिशलाई आरोप मात्रै लगाएर भावि पुस्तामाथि अन्याय गर्न पनि सक्दिन ।
सेफ चोइसेस सँधै सही चोइस हुँदैन । उडानपूर्व नै सेफ्टीको सुर्ताले सुस्केरा छुटाउनेहरू उडान भर्दैनन् । त्यही सुरक्षाको सुर्ता गरिरहनु र सडिरहनुबीच खासै फरक पनि हुँदैन । सेफर इज बेटर द्यान डेन्जर मात्रै आत्मसात गर्ने नेतृत्वले परिवर्तनको पैरवी गरेको सुहाउँदैन । हारसँग डराएर जीतसँग मित लगाईँदैन । चिन्ता होइन चिन्तन आवश्यक छ । अँध्यारोमा अन्धाधुन्ध दौडिनु र सहि गन्तव्यमा पुग्ने आशा राख्नु जरुर पागलपन हो तर आफ्ना ज्ञानेन्द्रियहरूलाई तयार गरेर त्यसरी दौडनु साहस हो ।
यो वा त्यो वाद सादको खाल्टोमा नेपाल र नेपालीलाई पुर्ने काम कहिल्यै पुन्यकर्म हुन सक्दैन । जुनसुकै वादको कुरा गरियोस्, मोडल नेपाल र नेपाली सुहाउँदो हुन जरुरी छ । यो माटो प्रतिकूल हुने कुनैपनि आदर्शको बीऊ रोपेर विष फलाउने काम नगरौँ । सेकेन्ड ह्यान्ड आयात नोक्सानी मात्रै हो चाहे त्यो मर्सिडिज होस् वा रोल्स रोय । टाईम एन्ड स्पेस, माटो र मन, भूगोल र भाषा बुझौँ । मुद्दा सही छ भने फेलपास हुनुको अर्थ हुँदैन । आर्थिक समृद्धि एउटा यस्तो टार्गेट हो जो जटिल छ तर जरुरी छ । फेल भएर सही मुद्दा गलत हुँदैन । न पास भएर गलत मुद्दा सही हुन सक्छ । मुद्दा सही छ भने कालान्तरमा सफल हुनैपर्छ । गलत मुद्दाहरू भने उदाउने–अस्ताउने भैरहन्छन् ।
मीठो जीतको यात्रा तीतो पनि हुन सक्छ । र गलत बाटो हिँडेर सहि गन्तव्यमा पुगिदैँन । हार्ने सम्भावनासँग डर र साहस दुवै हुन्छ । डराउनेहरू के गर्छन् थाहा छैन । साहसीहरू साहस नै सँगाल्छन् ।
प्रकाशित: कार्तिक १८, २०७२
(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक )