~महेश पौड्याल~
मानवको पीडालाई कसरी निवारण वा उन्मूलन गर्न सकिन्छ भन्ने प्रश्न मानव सभ्यताको लामो इतिहासभरि नै अहं रही नै रह्यो । पीडाबाट मुक्तिका लागि बुद्धले दिव्य अष्टाङ्गिक मार्ग देखे भने ग्रीसेली दार्शनिक सन्त ददामी र उनका अनुयायी स्टोइक्सहरूले जति पीडा भए पनि सम्हाल्दै जाने र त्यही पीडालाई ज्ञान अनि दर्शनमा रूपान्तरण गर्ने मार्ग अपनाए । तैपनि, मानवीय पीडा—उत्पीडन, गरिबी, रोग, एक्लोपन, उदासी—आज पनि मानव समाजका कहालिलाग्दा यथार्थ बनेर उभ्भिई नै रहेका छन् ।
समाजमा व्याप्त विभेदको अन्त्यका लागि शान्तिपूर्ण तरिकाले मानिसको चिन्तन र कल्पनाको धरातल नै परिवर्तन गर्नुपर्छ भन्ने कित्ताका कवि हुन् हेमन्त विवश । उनको कवितासंग्रह सैपालको आँगन समाजसिर्जित पीडाको अन्तिम सिमानामा पनि मानवताको गला घोटिनु हुँदैन भन्ने आवाज बोकेको कृति हो ।
हेमन्तको काव्यिक आख्यानमा गरिबी र एक्लोपनसँग दिनरात साक्षात्कार गरिरहेका पात्रहरू आउँछन्, आफ्नो पीडाका गीतहरू सुनाउँछन् र जाने बेला पुन: उही मानवताको सन्देश छाडेर जान्छन् । उनी एकातिर परम्पराले निर्माण गरेका धरोहरमाथि गौरवपूर्ण उत्सव मनाउँछन् भने अर्कातिर त्यसै परम्पराले दिएका कुरीतिमाथि बज्रिन पनि पछि पर्दैनन् । उनलाई सुदूरपश्चिमका पहाडमा, सिञ्जाली राजाका समयदेखि विकसित सभ्यताका भाषिक र सांस्कृतिक धरोहरमाथि गर्व छ । त्यसैले धेरै ऐतिहासिक सन्दर्भसँगै उत्सवपूर्ण बनेर आउँछन् देउडा, धमारी र ठाडी, कर्णालीको संगीतको मूच्र्छनामा मिसिएर ।
सुदूरपश्चिमका पहाडी जिल्लाभरि छरिएका ती ऐतिहासिक र सांस्कृतिक महत्त्वका कुराहरू, जसलाई राष्ट्रवादी इतिहासले कहिल्यै देखेन, विवशका कवितामा नवीन विम्ब बनेर देखा पर्छन् । उनका कविता, भावनाका तरंग र मानवताको पक्षका गहकिला तर्क हुनुका साथै सुदूरपश्चिमलाई चिनाउने एक ऐना पनि हुन् । उनका कवितामा आउने सैपाल, तेलेको लेक, बछर््यान, डोटीमा भग्नावशेष बनिसकेको राजको किल्ला र रिपु मल्लका पालाका माटाका भाँडाहरू सुदूरपश्चिमका परिचायक, सांस्कृतिक र ऐतिहासिक सन्दर्भ हुन् ।
उनको कविता बाबुको नाम लेखेको ताम्रपत्र, र आमाले बाल्ने गरेको चाँदीको दियो अतीतका ती मृदु सम्झनाहरू हुन्, जहाँ आस्था अड्याएर बाँचिरहेको हुन्छ, एक आक्रान्त तर एक्लो मान्छे । त्यस्ता एक्ला मान्छेका अन्तर्नाद पनि हुन् विवशका कविता । सहर गएर उतै हराएको छोरोको सम्झनामा रोएकी आमाको, सन्तान गुमाएर कर्णालीको बगरजस्तै बिरान बनेका बाबुको, माटोमा आफ्नो सम्पूर्ण जीवन लगाएर पनि उभिने ठाउँ नपाएको हलीको, लहलह वैंशले ल्याएका बहुरंगी सपना हराएकी देउकीको वा भनौँ, आमा गुमाएको एक अबोध, एक्लो शिशुको ।
कुनै पनि सर्तमा मानवता सुरक्षित हुनुपर्छ भन्ने विवश अन्ध परम्परामाथि त्यत्तिकै सशक्तताका साथ बज्रिएका पनि छन् । अझ उनलाई अदृश्य रूपमा कायम हली, कमलरी, देउकी प्रथा र छाउपडीजस्ता अन्धपरम्पराको व्यर्थै लम्मिँदै गरेको आयुमाथि आश्चर्य छ । समता र सहअस्तित्वको बहस यहाँसम्म आइपुग्दा पनि यी राहूग्रहसित परम्पराको छायाँले अझै पनि धमिल्याएकै छ सुदूरपश्चिमको भूगोल र कवि विवश, त्यस ग्रहणको अन्त्य हुनुपर्ने वकालत गर्छन् ।
एक्ला, गरिब, सीमान्तकृत र अवहेलित पात्रहरूका आख्यान कुँदिएका उनका कविता नारा होइनन् । तिनीहरूमा कर्कशता र प्रायोजित विद्रोहको कुनै पनि कहरपूर्ण स्वर सुनिँदैन । तर, त्यसै पीडाको किनारबाट, त्यसै एक्लोपनका सुस्केराबाट उनका पात्रहरू इतिहास, वर्तमान र शासन व्यवस्थाको औचित्यमाथि औँला ठड्याइरहेका हुन्छन् । तरै पनि, पीडा र नैराश्यको पराकाष्ठामा बाँचेका यी पात्रहरू कतै न कतै आफ्नो आस्था झुन्ड्याउने ठाउँ भने खोजिरहन्छन् र भेटिरहन्छन् । विवशको अपिल स्पष्ट
छ : समाज परिवर्तनका लागि हिंसाको बाटो एक मात्र बाटो होइन । यसका लागि हिर्काइनुपर्ने भनेको अन्धपरम्परा बोक्ने मनोविज्ञानलाई हो ।
विवशले ध्यान दिनैपर्ने केही कुरा भने अवश्य छन् । पहिलो, उनी समाजलाई हृदयको तहबाट बढी र मस्तिष्कको तहबाट कम हेर्छन् । तर्कमा अडिएको हाम्रो युगमा यसको उपादेयता सीमित हुन सक्छ । अर्को, उनका कविता कताकति अनावश्यक रूपले लम्ब्याएका छन् । उनलाई उपमा अलंकार निकै मन पर्छ र हरेक नयाँ विम्बलाई कुनै न कुनै उपमासँग तुलना गर्ने अतिशय मोह पनि देखिन्छ, जसलाई सीमित गर्नु जरुरी छ । उनको समाजको विश्लेषणमा शासक र सम्भ्रान्तहरूको दृष्टिविन्दु त्यति समेटिएको पाइँदैन, जसले गर्दा उनले आक्रमण गर्न खोजेको विषयको वस्तुतामाथि उनको एकांगी दृष्टिविन्दु हावी हुन पुगेको छ ।
सैपालको आँगन (कवितासंग्रह)
स्रष्टा : हेमन्त विवश
प्रकाशक : स्कलर्स पब्लिकेसन्स प्रालि
पृष्ठ : ९७
मूल्य : १८५ रुपियाँ
प्रकाशित: आश्विन २१, २०७२
(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक )