निबन्ध : ब्रेकइभनदेखि बेनफिट

~राजन गोदार~

उत्तेजनाको आयु लामो हुँदैन । त्यही उत्तेजना बाँचेर हामी बूढो भयौँ । ताली र गाली गर्दा जोशमा होश गायब हुने रोगले हामीलाई थला पारेको छ । धैर्य–अधैर्यको भूमिका उल्टो निभाएर बाँच्यो मेरो पुर्खा र त्यसकै सिको गरेँ । मनमस्तिष्क छैन । छ भने मन मात्रै, कि मष्तिष्क मात्रै छ । जे भोग्दै छौँ, हाम्रै कारणले भोग्दै छौँ । यो दु:ख हाम्रै स्वआर्जन हो । आकाशबाट दुख खसेर घरघरमा पसेको होइन । कसैले बोराका बोरा सुख ल्याएर एक परिवार एक बोरा गरी बाँड्ने वाला पनि छैन । जति फुर्ती लगाऊ, युगान्तकारी परिवर्तनको । विचारको बाढी जति बगाऊ । क्रान्तीको आँधी जति चलाऊ । जबसम्म भोक छ, तबसम्म भोक मात्रै छ ।

करिब २० वर्ष लगाएर नेपालले जे–जे कमायो, गुमाउनै नहुने गुमाएर जे–जे पायो, त्यसैमा सन्तोष गर्नु सिवाय अर्को विकल्प छैन । लगानी र प्रतिफलको सूत्रमा एउटा निक्र्याैल आउँछ, अत्याधिक समय र जनशक्ति नष्टेर गरेको न्यूनतम उत्पादन । ती उत्पादनलाई महान प्राप्ति, युगान्तकारी परिवर्तन, गौरवशाली उपलब्धी र चमत्कार भनिटोपलिइन्छ । जो समय, जनशक्ति, धन, ज्ञान र विवेकको नोक्सान बाहेक केही होइन । मान्छे मार्नु भन्दा ठूलो अपराध हो भ्रमको खेती ।

यिनले जति मान्छे अकालमा कसले मार्छन् र ? मान्छे मार्छन् तर कानूनले अपराधी मान्दैन । नाफाको झूठो दावी गर्ने यिनै हुन् जो भ्रम बेच्छन् र आफू पालिन्छन् । कास यो नोक्सानी नाप्ने थर्मामिटर हुन्थ्यो र नोक्सानमा भूमिका रेकर्ड गर्ने ब्ल्याक बक्स हुन्थ्यो । समयको मात्रै नोक्सान नाप्ने हो भने पनि उहिल्यै कंगाल भैसकेका छौँ । तर, कंगाल भएको ज्ञात नहुनु फरक कुरा । यो नोक्सानीलाई नाफामा कायाकल्प गर्न त सायदै सम्भव होला । यस्ता चमत्कारी कुरामा चिन्ता र चिन्तन गर्नु व्यर्थ छ । तर, हामी कम्तिमा ब्रेकइभनको कुरा पनि गर्दैनौँ ।

नोक्सानलाई नाफा बनाउने कुरा त मैले गरिहालेँ भने पनि एक तल्लोस्तरको ठट्टा हुन सक्ला । यहाँ त, ब्रेकइभनसम्मको यात्रा नै चुनौतीपूर्ण छ । डरलाग्दो छ । जहाँ खतराको खातै खात छ । तर, खतरा नमोलिकन नोक्सानबाट ब्रेकइभनमा आइपुग्न जुग लाग्न सक्छ र त्यो जुग बाँकी नै छैन । कुरा मात्रै गरेर पहिल्यै बिताइदियौँ । खतरा नखेपिकन यो खेल खेल्न जुन समय चाहिन्छ, त्यो त छैन । कुनै राष्ट्रले समयको सदुपयोग गर्‍यो, हामीले प्रयोग नै गरेनौँ । हिजोको नोक्सान, आज र भोलिको नाफामा एकैचोटी काम गर्न सक्ने कुशल नेताको खाँचो छ । यो कठिन तर सम्भव मिसन हो ।

कुरा ठीकै हो तर नेता कहाँ पाई छ, कहिँ कतै ताराबाजी लैलै खेलेर बसेको छ, नारा म्यानुफ्याक्चरिङ उद्योगको प्लेकार्डसँग प्लेयिङमा मस्त छ । सायद व्यक्ति–व्यक्तिमा बाँडिएर बाँचिरहेको छ जो जुट्नुपर्छ । फेरि पनि नाराबाजीमै अलमलिएर अग्रगमन र प्रतिगमनको नाराबाजीमै बितेको नेपाली राजनीतिको करिब २० वर्षको क्षतिपूर्ती सम्भव छैन । जबसम्म नारा बनाउने र बजाउने दुवैखाले जनशक्तिको उत्पादन गर्ने फैक्ट्रिहरू बन्द हुँदैनन् तबसम्म सम्भव छैन । यो एउटा कोरा सपना मात्रै हुनेछ जहिलेसम्म कर्मिला मान्छेहरूको गर्भपतन भैरहन्छ । कर्मिलाहरूको राजनीतिक सक्रियता नभइन्जेल यो सम्भव छैन ।

सजीलो त यसकारण पनि छैन । नेपाली राजनीतिमा इमानीहरूको संख्या पहिल्यै नगन्य छ । त्यहीँमाथि, इमानीको यात्रामा इमानी पात्रको सहयात्रा कुनै फिल्म जस्तो । नाराबाजी, गालीगलौज र क्षणिक हिचीकमिचीकमा रमाउने हाम्रो आत्मघाती बानीको भूमिका बलियो छ हामीलाई गरिबीको रेखामुन्तिर झुन्ड्याइरहन । क्रान्तिकारी शब्दस्वादमा जिब्रो पड्काइरहन आनन्द मान्ने रोगी मानसिकताले डोर्‍याएर खाल्टोमा पुरिदिएको छ, निकास छैन ।

गोल कहिल्यै नगर्ने तर मैदानमा दौडिरहने फुटबलरहरूले बनेको थोत्रो नेतृत्वको भूमिकाको गीत कम्पोज नै नगरौँ । त्यो टोली कहिलेकाहीँ गोल गरिहाल्यो भने पनि आत्मघाती गोल गरिबस्छ । गोल गर्नेले भोट पाएनन् र त सायद त्यसैले यी नेता भैगए । सायद गोल गर्नेले उम्मेदवारीको टिकट नै पाएन । सम्भवत: गोल गर्नेले कुनै दलको दलदलमा फँसिहाल्ने आँट नै पो गरेन कि !

सायद गोल गर्नेले राजनीतिलाई एउटा फोहोरी खेलको नाम दियो र मैदानमै देखिएन । कुनै क्रिस्टल क्लियर उद्देश्य नभएका खेलाडीले जबसम्म मैदान छोड्दैनन् वा छोडाइँदैन, ब्रेकइभन र बेनिफिट सम्भव छैन । परिवर्तन नै सत्य हो तर परिवर्तन नै प्रगति होइन । परिवर्तनमा दुर्गती र प्रगतिको समान सम्भावना हुन्छ । अग्रगामी र प्रतिगामी परिवर्तनको कुरा गरेर लोभलाग्दो समयको बलात्कार मात्र गरिबस्यौँ । बलात्कार एकक्षणको आनन्दले लोभ्याएको फगत एक सनक हो । त्यही सनकको फ्रिक्वेन्सी बढ्यो । र कोही बलात्कारी भए, हामी बलात्कृत । आर्थिक–सामाजिक समृद्धिका लागि सम्भावित नायकहरू घरभित्रै थन्किइरहुन्जेल यो सम्भव छैन ।

यति धेरै समस्या छन् जसको सम्बोधन नगरी समृद्धिको कुरा गरिहिँड्नु मुर्खताशिवाय केही होइन पनि भन्न सकिन्छ । तर, फड्को मार्ने भनिन्छ नि । हो, त्यसै गर्नु जरुरी छ । छलाङ भन्छन् नि । हो, ल्याङ–ल्याङ छाडेर छलाङ मार्नु आवश्यक छ । यो सबका लागि बार्गेनर होइन, एउटा बौलाहा चाहिएको छ जो साहसको भूत आफूसँगै बोकिहिँड्छ । पलिटिसियन होइन, पागल चाहिएको छ जो पलपल प्लानिङ गरिबस्छ । यो देश बनाउने पागलपन सवार भएका केही मनहरूको खाँचो छ जसले मात्रै हिजोको क्षतिपूर्ति, आजको ब्रेकइभन र भोलिको नाफाको प्रभावकारी योजना र कार्यान्वयन गर्न सक्छ । भक्तराज आचार्यले गाएका छन् नि, अल्झे कहीँ त के भो बाटो भूलेको छैन… । हामी अल्झ्यौँ पनि र बीचमा कतै बाटो भुल्यौँ पनि । जन्माउने तर नहुर्काउने, रोप्ने तर गोडमेल नगर्ने बानीले गरेको हानी बिर्सन चाहेर पनि बिर्सिनसक्नु छ । आशा होइन, बढी अलमल छ ।

भक्ति एउटा र भजन अर्कै गर्ने त्यो विरोधाभास भक्ति, भत्काउनमा अस्तीको भूकम्पभन्दा कहिल्यै कम थिएन । हिंसाजन्य चिज र चरित्र मन पराउने पनि होलान् जो खासमा बिमारी हुन्, अनेकन वाद सादले थलिएका । त्यस्तो कुनै पनि असल से असल परिवर्तन पनि खराब हुन्छ जो हिंसाबाट जन्मन्छ । सुनौलो भोलिको सपना गोलीमा देखाउने अतिवादको त खती भएकै राम्रो । गोली र भोलिको कुनै सकारात्मक सम्बन्ध हुँदैन । विचार बोक्नेहरूले बन्दुक पनि बोक्नै पर्ने छ र ? म त स्पष्ट छु कि यस्तो विचारको भ्यालिडिटी सिद्धिसक्यो जसलाई रिभ्यालिड गर्न मिल्दैन, प्रयास गर्नु व्यर्थ छ । वाद बिर्सेर विकासको फड्को पो त आजको आवश्यकता । आयातित वाद बाटो हुँदैन । यदि समय भन्नु वर्तमान मात्रै हो भने त यहाँ कुनै बहसको पनि अर्थ छैन । हो, मेरो भोलिमा मलाई विश्वास छैन किनकि मेरो भोलि छ कि छैन मलाई थाहा छैन । तर, नेपाल र नेपाली भोलि पनि छन् र तिनको भोलि पनि छ । एउटा देशका लागि समय भन्नु भविष्य पनि हो र यस्तो हो भने निराशाको सुस्केरा भन्दा आशकै सास फेरेको राम्रो ।

राजनीतिक संवाद र छलफलका बेला जुन जोगी आए पनि कानै चिरेका भन्ने उखान जोकसैको जिब्रोमा टाँस्सिएर बसेको छ । उस्तै शैली, सोँच र व्यवहारको निरन्तर नेतृत्वबाट आजित भएका छौँ ।

आन्दोलनको चान्स लिएर जन्मेका लिडरले पनि सत्ताबाहेक अर्को सन्तोष देखेनन् । युवा भनिनेदेखि बूढालगायतका कतिपय आशलाग्दा नेताले पनि छोटामोटा हिरोगिरी बाहेक अर्थोक केही गरेनन् । सर्सर्ती हेर्दा बाँच्ने रहर पुर्‍याउन जस्तोसुकै खतरा मोल्ने तर कुर्सीको रिस्क कहिल्यै नबोक्ने सिलसिला हो नेपाली राजनीति । यो सिलसिलाबाट मुक्त हुन यसै सिलसिलालाई कायम राखेर त सम्भव छैन । यो सिलसिला तोडिन जरुरी छ । यो सिलसिला तोडिन जरुरी छ । र, यो तोड्नका लागि नयाँ नेतृत्वको जन्मको विकल्प छैन । नयाँ नेतृत्व जन्माउने प्रयास नै गलत हो भन्ने पक्ष लिएर म अन्धो हुन सक्दिन । यस्ता कोसिशलाई आरोप मात्रै लगाएर भावि पुस्तामाथि अन्याय गर्न पनि सक्दिन ।

सेफ चोइसेस सँधै सही चोइस हुँदैन । उडानपूर्व नै सेफ्टीको सुर्ताले सुस्केरा छुटाउनेहरू उडान भर्दैनन् । त्यही सुरक्षाको सुर्ता गरिरहनु र सडिरहनुबीच खासै फरक पनि हुँदैन । सेफर इज बेटर द्यान डेन्जर मात्रै आत्मसात गर्ने नेतृत्वले परिवर्तनको पैरवी गरेको सुहाउँदैन । हारसँग डराएर जीतसँग मित लगाईँदैन । चिन्ता होइन चिन्तन आवश्यक छ । अँध्यारोमा अन्धाधुन्ध दौडिनु र सहि गन्तव्यमा पुग्ने आशा राख्नु जरुर पागलपन हो तर आफ्ना ज्ञानेन्द्रियहरूलाई तयार गरेर त्यसरी दौडनु साहस हो ।

यो वा त्यो वाद सादको खाल्टोमा नेपाल र नेपालीलाई पुर्ने काम कहिल्यै पुन्यकर्म हुन सक्दैन । जुनसुकै वादको कुरा गरियोस्, मोडल नेपाल र नेपाली सुहाउँदो हुन जरुरी छ । यो माटो प्रतिकूल हुने कुनैपनि आदर्शको बीऊ रोपेर विष फलाउने काम नगरौँ । सेकेन्ड ह्यान्ड आयात नोक्सानी मात्रै हो चाहे त्यो मर्सिडिज होस् वा रोल्स रोय । टाईम एन्ड स्पेस, माटो र मन, भूगोल र भाषा बुझौँ । मुद्दा सही छ भने फेलपास हुनुको अर्थ हुँदैन । आर्थिक समृद्धि एउटा यस्तो टार्गेट हो जो जटिल छ तर जरुरी छ । फेल भएर सही मुद्दा गलत हुँदैन । न पास भएर गलत मुद्दा सही हुन सक्छ । मुद्दा सही छ भने कालान्तरमा सफल हुनैपर्छ । गलत मुद्दाहरू भने उदाउने–अस्ताउने भैरहन्छन् ।

मीठो जीतको यात्रा तीतो पनि हुन सक्छ । र गलत बाटो हिँडेर सहि गन्तव्यमा पुगिदैँन । हार्ने सम्भावनासँग डर र साहस दुवै हुन्छ । डराउनेहरू के गर्छन् थाहा छैन । साहसीहरू साहस नै सँगाल्छन् ।

प्रकाशित: कार्तिक १८, २०७२

(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in निबन्ध and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.