समालोचना : हाइकु लेखन र हाइकुमा इरान राई: सानो चर्चा

~मिश्र वैजयन्ती~Mishra Baijayanti

नेपाली साहित्यमा हाइकु बिस्तारै रुप र शैलीको विस्तारित रुप प्राप्त गर्दै आएको विधा हो । नेपाली साहित्यमा लघु आकारको कविताको रुपमा विकसित हुँदै आएको हाइकु चिनियाँ पृष्ठभूमिमा चित्रको बीजभूमि प्राप्त गरी जापानमा पुगेर शब्द, भाव र विचारको आक्षरिक रुप प्राप्त गरेको जापानी साहित्यिक संस्कृतिको उपज हो । हाइकुको आजको रुप प्राप्त गर्न चीन र जापानमा लामो सङ्घर्ष भएको इतिहास छ । नेपाली साहित्यमा वि.सं. २०१९ सालमा रुपरेखा पत्रिकामा शङ्कर लामिछानेले लेखेको हाइकुबाट हेर्दा यसको इतिहास आधा शताब्दी पुगिसकेको छ । यतिको लामो इतिहास बनाएको हाइकु नेपाली साहित्यमा स्थापित विधा हो ।

हाइकु लोकप्रिय विधा बन्दै गएको छ । कतिपय यसप्रति चासो नराख्नेलाई यो कठिन विधा पनि हो तर चासो राख्दै गएपछि अरुजस्तै सहज र आकर्षक विधा हो । यो बिम्ब र प्रतीक विधानमा विश्वास गर्छ । ‘जापान एन इलस्ट्रेड इन्सायक्लोपिडिया’मा उल्लेख भएको विषयलाई ‘क्याम्पवेल’ र अन्यको सङ्ग्रहमा प्राप्त भनेर प्रतिनिधि नेपाली हाइकु कृतिमा मधुसुधन गिरीले उल्लेख गरेअनुसार, “केहीका लागि यो केटाकेटीको खेल हुन सक्दछ तर बाँकीका लागि जीवनभरको खेल” भनिएको छ । यस अर्थमा हाइकु बुद्धिमा हृदयमिश्रित रचना हो । हाइकु भनेको रचनाभित्र पाइने “सम्भावनाको खालीपन” हो भनेर अभि सुवेदीले ‘जापानी हाइकुः हिजो र आज’ भन्ने उनको अनुवाद कृतिमा भनेका छन् । “छैटौँ शताब्दीको अन्त्य र सातौँ शताब्दीको आरम्भतिर चीनमा बौद्ध धर्मको प्रभाव परेर त्यो धर्मले ठूलो प्रभाव र प्रतिष्ठा पाइसकेको थियो । बौद्ध धर्मावलम्बीहरु आप्mना गुरुको निर्देशनमा चारैतिर छरिएर गुम्बाको चित्र बनाइरहेका छन् । घाम, छाया, रुखको फेदमा ओह्रालोमा, पहाडको फेदमा, चट्टानकोे बीचमा सबैतिर पुगेर ध्यानीहरु प्रतियोगितात्मक चित्र बनाउँदै छन् । भरे गुम्बाको चित्रै नभएको चित्रकला चाहिँ प्रथम हुन्छ । त्यस चित्रमा एउटा भिक्षु डाँडामाथि कुहिरोमा विचारमग्न छ । त्यसैबाट गुम्बाको स्वरुप निस्कन्छ । कल्पनामा भिक्षु गुम्बा हेरिरहेछ । हामी गुम्बा देख्तैनौँ, भिक्षु देख्छौँ जो गुम्बा हेर्दै छ । वास्तवमा, हाइकुको आत्मा त्यही सम्भावनाको खालीपन हो ।” “चित्रले सङ्केत गरेको सम्भावित नेटो । हाइकुको धरातल खाली ठाउँ हो । ” ऐजन कृतिमा अभि सुवेदीको यो भनाइले हाइकुको धेरै परिभाषा दिइसकेको छ । बौद्धिक कवि एज्रा पाउण्डले हाइकुलाई “एक निमेषमा बौद्धिक, भावुक र जटिल साहित्यिक सत्ता सिर्जना गर्ने शैली” को रुपमा व्याख्या गरेका छन् । यस अर्थमा हाइकु उत्कृष्ट साहित्यिक रचना हो ।

हृदय निसृत आÇनै विशिष्ट नियमहरुभित्र रहेर संवेदनाको गहिराइमा अनुभूत गर्न सकिने कविता रुपको सबभन्दा सानो संरचना हाइकु हो । ऋतुबोधक शब्दसहितको तीन हरफे ५,७, ५ अक्षर रहने ‘हाइकुमा थोरै व्यञ्जनद्वारा अव्यक्तको, अगम्यको ध्वनि बुझ्नु हाइकु काव्यको विशेषता’ हो भनेर अभि सुवेदी भन्छन् । हाइकुले झल्याँस्स पार्नुपर्छ । जापानी भाषामा यो झल्याँस्स सतोरी हुन्छ । चेतनालाई झल्याँस्स पार्ने तीन हरफे कविता हो हाइकु तर तीन हरफे कविता मात्रै पनि होइन । तीन हरफ नहुँदै हाइकुको सत्ता सिर्जना गरिदियो भने त्यस्तो रचनालाई बिनारोकावट हाइकु भने नेपाली साहित्यले कुनै नोक्सानी बेहोर्नुपर्दैन ।

नेपाली हाइकुको विकासमा व्यक्ति मात्रै होइन, संस्थागत विकास पनि भइरहेका छन् । व्यक्तिका रुपमा डा. मधुसुदन गिरी वर्तमान अवस्थामा निकै लागिपरेको देखिन्छ । चेतनाथ धमला, कृसु क्षेत्री र तारा सुवेदी भएर सम्पादन गरेको प्रतिनिधि नेपाली हाइकुमा २१३ जना स्रष्टाहरु समेटेर हाइकुका स्रष्टालाई एक गर्ने काम गरेको पाइन्छ । संस्थागत रुपमा वसुन्धरा मान प्रतिष्ठान, स्वाभिमान प्रकाशन, जनमत प्रकाशन, विराट साहित्य संगम, गौरा वाणी प्रकाशन गौरादह, हाइकु प्रतिष्ठान दमक, अतिरिक्त प्रकाशन नेपाल, चितवन साहित्य प्रतिष्ठान, साहित्य सागर त्रैमासिक परिवार, नवप्रभात साहित्य समूह, विवेक सिर्जनशील प्रकाशन, नयाँ नेपाल युवा, आरोहण साहित्यिक परिवार, एकीकृत विकास केन्द्र, काभ्रेजस्ता थुप्रै संस्थाले हाइकु विकासमा योगदान दिएको पाइन्छ । यस्ता अझ थुप्रै संस्थाहरु यहाँ उल्लेख गर्न बाँकी छन् । हाइकुको पूर्ण विकासका लागि लागेका केही संस्थाहरु छन् । जस्तैः निप्पन रिसर्च सेन्टर हाइकु विधा समिति, हाइकु अध्ययन नेपाल, अक्षर प्रकाशन च्वासापासा, नेपाल हाइकु संघ केन्द्रीय कार्यालय र पूर्वान्चलमा त्यसको शाखा नेपाल हाइकु संघ आदि संस्थाहरु हाइकुको पूर्ण विकासमा हिजोआज लागिपरिरहेका संस्थाहरु हुन् ।

तर, हाइकुको आजको अवस्था त्यति निराशाजनक पनि छैन । तीन दर्जनभन्दा बढी स्रष्टाहरुले हाइकु पुस्तक प्रकाशन गरिसकेका छन् भने हाइकु सिर्जना गर्ने स्रष्टा हजारभन्दा माथि छन् । कविहरुको लेखनको हाइकु विधा नहुँदा नहुँदै पनि धेरै स्रष्टाहरुले छोएको, खेलाएको, पढेको, लेखेको विधा भएको छ । नेपाली साहित्यमा अनुवादको क्रममा प्रथम अनुवादक शङ्कर लामिछानेसहित रामकुमार पाँडे, डा. अभि सुवेदी, क्षेत्रप्रताप अधिकारी, मधुसुधन गिरी आदि स्रष्टा विद्वान्हरु अनुवादसहित हाइकु उत्थानका निम्ति महत्वपूर्ण लागेका विद्वान हुन् । हाइकु लेखनमा पाइने स्रष्टाहरुमा अभि सुवेदी, रामकुमार पाँडे, क्षेत्रप्रताप अधिकारी, डा. मधुसुधन गिरी, चैतन्यकृष्ण उपाध्याय, केशवलाल श्रेष्ठ, मोहनहिमांसु थापा, माधवलाल कर्माचार्य, सुकुम शर्मा, रामदयाल राकेश, पुष्कर लोहनी, विष्णुबहादुर सिंह , अविनाश श्रेष्ठ, रत्नशम्सेर थापा, गोविन्द गिरी मोहनबहादुर कायस्थजस्ता लेखकहरु हाइकु उत्थानमा निकै अघि छन् । हाइकु विकासक्रमलाई निरन्तरता र उत्साह थप्ने काममा रमेश खनाल र ईश्वरवल्लभहरु पनि निकै सक्रिय भएको पाइन्छ । सिद्धान्त र हाइकु लेखनलाई अघि बढाउन, सुरेन्द्र अमर, वि. के. पाल्पालीको भूमिका पनि निकै महत्वपूर्ण देखिन्छ ।

हाइकु कविहरुमा सुकुम शर्मा, मधुसुधन गिरी, दुबसु क्ष्ोत्री, पद्मप्रसाद देवकोटा, चेतनाथ धमला, मिश्र वैजयन्ती, रेणुका भट्टराई, इरान राई ‘सेवक’, तीला लेकाली, धनकुटे कान्छा, अलका अधिकारी, कृसु क्षेत्री, अन्जना पौडेल, राज मांङलाक, सगुन सुसारा, गोविन्द गिरी, चुडा ढकाल, प्रदीप बस्याल, दिलीप दोषी, अनल गौतम, मोहनबहादुर कायस्थ, कृष्णराज सर्वहारी, आर. आर. चौलागाईं, लेखनाथ भण्डारी, मित्रबन्धु पौडेल, शशी भण्डारी, कुमार खरेल, प्रकाश पौडेल ‘माइला’, कपिलदेव खनाल, जयराम खनाल, चन्द्रकला शाह, नाम्हाङ सूर्य लोवा, धर्मेन्द्र विव्हल, विमल ताम्रकार, बागियान शर्मा, नन्दु परिश्रमी, प्रेम छोटा, धिरेन्द्र प्रेमर्षि, वीरेन्द्र विवसी, माया मितु न्यौपाने, श्याम सम्यक, गोविन्द नेपाल, विवश मनोज, मनोज न्यौपाने, दीपेन्द्र दीनदुःखी, प्ररा तुफान, दीपक सुवेदी, डिकेस लामा, राजेन्द्र श्रेष्ठ, नवीन प्र्रेमी, विक्रम श्रेष्ठ, विष्णुराज आत्रेय, सुन्दर मानन्धर, आकाश दिपविम, विष्णु संगम आदि हाइकु कविहरुले नेपाली हाइकु लेखनमा महत्वपूर्ण योगदान गरेको देखिन्छ । यीमध्ये इरान राई ‘सेवक’ हाइकु लेख्ने मात्रै होइन, हाइकु आकारकै किताब निकालेर हाइकुमा विशिष्ट प्रयोग गर्ने एक हाइकु कवि हुन् । ।

नेपाली भाषामा लेखिएका हाइकुले नेपालीपन लिनुपर्छ । बिम्ब हाइकुको मुटु हो, यसले मात्र हाइकुको मर्म बोक्न सक्छ । हाइकुलाई तोडमोड गरेर केवल बाहिरी खोल मात्र निर्माण गर्नु हाइकुको मर्म होइन । हाइकुको लोकप्रियता घटेको छैन, बरु बढेको छ । हाइकु आफैँमा विशिष्ट भएकाले यसलाई सुनेपछि गैरसाहित्यकारहरु पनि एकछिन रमाउने गर्छन् । हाइकुको यिनै मान्यता र प्रियताको सेरोफेरोमा बसेर हाइकुकवि इरान राइर्का तीनवटा हाइकुसङ्ग्रह हेर्ने प्रयास गरेकी छु । इरान राई ‘सेवक’ को २०५६ मा जीउँदो लास १०० वटा हाइकुको सङ्ग्रह प्रकाशन भएको छ । २०६२ मा सङ्कटकाल १०१ वटा हाइकुको सङ्ग्रह प्रकाशन भएको छ । २०६६ मा दही चिउरे ६६ वटा हाइकुको सङ्ग्रह प्रकाशन गरेर हाइकु साहित्यमा प्रष्ट उपस्थिति भएको छ । तिथिमितिका हिसाबले इरानको हाइकु सङ्ग्रहगत रुपमा पूर्वान्चलमा प्रथम उपस्थिति हो ।

हाइकुको मर्म यसको संवेदना, अनुभूति, बहुअर्थीय छ । हाइकुको शीर्षक नहुनाको मूल कारण पनि यही हो । हाइकुमा शीर्षक राखे यसको बहुअर्थीयता समाप्त हुन्छ । खालीपन नै रहँदैन । हाइकुकवि इरानका तीनवटा सङ्ग्रहमध्ये पहिला दुईवटामा शीर्षक राखिएका छन् । शीर्षकले बहुल अर्थको सम्भावनालाई अन्त्य गर्छ । कवि इरान हाइकुलाई सरल र बोधगम्य बनाउँदै सम्प्रेषणको गतिलाई प्रभावकारी बनाउन सायद शीर्षक राख्छन् । शीर्षकले हाइकुको तरलताबाट ठोस रुपमा व्यवस्थित गर्छन् । यो हाइकुमा एउटा क्रान्ति नै मान्नुपर्छ तर उनको तेस्रो सङ्ग्रह भने शीर्षकविहीन हाइकुको सङ्ग्रह बन्नुले उनमा शीर्षकप्रति अझै दुविधा छ । हाइकुको जन्म चित्रबाटै भएको हो तर पनि कतिपय चित्रको अवस्थाले हाइकुको रहस्यलाई समाप्त पारिदिन्छन् । मूर्त चित्रहरुले हाइकुको सम्भावनाको खालीपनलाई समाप्त पारिदिने डर हुन्छ । इरान राईका यी तीनवटै सङ्ग्रहमा हाइकुलाई प्रस्ट पार्ने चित्र नभएकोले हाइकु हाइकुको रहस्यमा छन् ।

हाइकुका तीनहरुफको पनि आफनै पहिचान छ । हाइकुका महत्वपूर्ण विषयहरु पाँच, सात, पाँच अक्षरका तीन हरफ हुनु, मौसमसम्बन्धी अथवा प्रकृतिसम्बन्धी कुनै एक शब्द (किगो) हुनु, हाइकुलाई अनेक पठन गर्न सक्नु आदि यसका विशिष्टता हुन् । हाइकुमा क्रिया राख्ने, नराख्ने, अनुप्रासको प्रयोग, किगोको प्रयोग, अक्षरको प्रयोग विषयमा धेरै नेपाली हाइकु लेखकहरुलाई प्रस्ट छैन । नेपाली भाषामा हाइकुको मजबुत अवधारणा बनाउने अनुवादक तथा समालोचक अभि सुवेदीले जापानी भाषाका हाइकु अनुवाद गर्ने क्रममा जापानी हाइकु हिजो र आज नामक पुस्तकमा अक्षर संरचनालाई भन्दा यसको भावपक्षलाई प्राथमिकता दिइएको पाइन्छ । अरु अनुवादकहरु भने नेपाली हाइकुमा पनि अक्षर संरचनाको कट्टरताको बहस गर्छन् । नव स्रस्टाहरु यसै विषयमा ज्यादा असमन्जस भएको देखिन्छन् । हाइकुको अवधारणामा १७ अक्षर, पाँच, सात र पाँचका नियममा तीन हरफ लेखिने हो भने नेपाली हाइकु कविले पनि यो नियमलाई पालन गर्नुपर्छ । यस नियममा नलेखिएका हाइकुहरुलाई हाइकु होइनन् भनिनुप¥यो । फेरि उच्चार्य र लेख्य वर्ण र अक्षरमा नेपाली अक्षरसंरचनामा जटिलता आउने गर्छ । उच्चार्यअन्तर्गत वर्ण पूरा भएको र लेख्य वर्णअन्तर्गत वर्ण पूरा भएको दुवैलाई हाइकु कवितामा मान्यता दिनुपर्छ । यसो नभए लेखकले आÇनै भाषाको उच्चार्य र लेख्य भाषाको परम्परित र व्याकरणात्मक उल्लङ्घन गरेको पनि ठहर्छ । वास्तवमा नेपाली भाषामा हाइकु कस्तो हुन्छ भन्ने प्रस्ट अवधारणा धेरै थोरैलाई थाहा होला । हाइकुको परिभाषा अक्षरशः पालना गरेर हाइकु लेख्नेहरु पनि त्यस्तै होलान् । “नेपाली भाषामा हाइकु बनाउँदा अक्षरको सङ्ख्यामा मतलब नराखी उच्चारणमा जसरी सिलेबल हुन्छ त्यसरी नै मिलाउनुहोस् अनि मात्र वाचनमा मिठास आउनेछ ।” हारोहितो नोजुको यस भनाइले जापानी भाषाको संरचना र संयोजन नेपाली भाषाको जस्तो नहुने कुरा जानकारी प्राप्त गरेको अनुभूति हुन्छ । कतिपय समीक्षकहरुले हारोहितोको भनाइअन्तर्गत हाइकु लेखेको भए त्यो हाइकु नभनेको पनि पाइयो । अभि सुवेदीले अनुवाद गरेको ‘जापानी हाइकुः हिजो र आज’ ग्रन्थमा भने यो व्यवस्था छ तर तीबाहेकका अन्य अनुवाद ग्रन्थमा यसको स्पष्पटता छैन अथवा कट्टरता छ तर समाधान कम छ । यति जानकारी राखिसकेपछि नेपालीमा हाइकुको परिभाषा गर्न सहज पनि छैन । हाइकु अक्षरमा, भावमा अल्झिरहेको छ । जापानी भाषामा पाँच, सात पाँचको अक्षरसंरचनाको मानक पनि कहिलेकहीँ भत्किएको विषय पाइन्छ । निर्धारित अक्षरसङ्ख्याभन्दा कम अक्षर भए ‘जि ताराजु’ र बढी अक्षर भए ‘जि आमारी’ हुन्छ भन्ने जापानी मत पनि पाइन्छ । त्यति मात्रै होइन जापानीमा पनि ऋतुबोधक, मौसमसम्बन्धी या प्रकृति बिम्ब नभएको हाइकु पनि लेखिन्थे र तिनलाई ‘सेन्यु’ भन्ने चलन भएको कुरा पनि थाहा हुन आउँछ । यसो हुँदा आजसम्म नेपाली भाषाका हाइकुहरु जम्मा गरेर आग्रही नभई हेर्ने हो भने धेरैभन्दा धेरै हाइकु सेन्यु मात्र भएका छन् । कतिपय समीक्षकहरुले लेखकको मन राखिदिन सेन्युलाई हाइकु पनि भनिदिएका र हाइकुलाई सेन्युको अर्थ पनि दिएको आभास पाइन्छ ।

हाइकुका यी विधानभित्र इरान राईका हाइकुलाई हेर्दा अक्षरको विधान एकदमै मानिएका छन् । तीनवटै सङ्ग्रहमा अक्षरका गणनालाई मानिएको छ । अक्षराघात र अक्षर त फरक कुरा हो तथापि परम्परागत रुपमा अक्षर मानिएका यी हाइकुहरु नेपाली अक्षरका मान्यतामा छन् । कतिपय हारोहितोले भनेजस्तो लय वा गेयात्मकता यहाँ दुर्लभ हुन पुगेको छ ।

हाइकुमा मौसम अथवा प्रकृतिको बिम्ब बुझाउने किगो राख्ने भन्ने हाइकुको मान्यतामा हाइकुकवि इरानले फड्को मारेको स्थिति छ । धेरै हाइकुले समाज, शोषण, दमन, अत्याचारका विषयमा लेखिएकाले परम्परागत किगोलाई उनले तोडेका छन् । नेपाली किगोहरुको पहिचान, हाइकु साहित्यका लागि नेपाली अक्षरको पहिचान, हाइकु लयको पहिचान, अन्त्यानुप्रासको प्रभाव आदिको चर्चा थोरै छ । मौसम मात्रै किगो बनाउने कि प्रकृति पनि किगोको रुपमा आउँछ भन्ने विषयमा पनि स्पष्टता छैन । यस सन्दर्भमा इरानका हाइकुले लिएको कोल्टेलाई नेपाली हाइकु लेखनको मागको सम्बोधन भन्नुपर्छ । नेपाली हाइकु जापानी हाइकुजस्तै छैनन् पनि । अनुवाद पढे अनुभूति हुन्छ । उस्तै आकार, स्वरुप, आयाम तर स्वर, रङ, स्वाद, अस्तित्वको फरकपन छ नेपाली हाइकुमा । नेपाली हाइकुले भित्री आत्मा, संवेदना, नेपाली मर्मलाई समेट्नुपर्छ । यस मागलाई इरानको हाइकुले पुरा गर्दैै हिँडेका छन् ।

नेपाली हाइकु साहित्यमा किगोको परम्पराले भिन्न मोड लिन पनि थालेको छ । प्रकृतितिर फर्कनु त छँदै छ तर समय प्रविधितिर गएको पनि नकार्न सकिन्न । आफूले लेख्ने रचनाले भन्न चाहेको कुरालाई किगोकै कारणले भन्न सकिएन भने त्यो अभिव्यक्तिमा जटिलता आउने समस्या पनि रहन्छ । हाइकुमा तुक्का, उखानसमेत राख्न सक्नु, गाउँघर ब्युँझाउने सतोरी हुनु, आÇनै नेपाली जीवनसँग मेल खाने रचना गर्न सक्नुले नेपाली साहित्यको सम्पदा बन्न सक्छ । हाइकुले नेपाली साहित्यबाट वैश्विकतातिर जान पहिला आफैँभित्रका जटिलतालाई जित्तै, मौलिकतालाई फुकाउँदै लानु आवश्यक लाग्छ । पहिचान मौलिक नै उत्तम हुन्छ । यस हारमा इरानको हाइकु प्रशस्त पाइन्छन् । यसको एउटा राम्रो दृष्टान्त हेरौँः

काले जिउँदै
कालो छायाँको दण्ड
सफल हत्या ।
(जिउँदो लासबाट)

सामाजिक विकृति, देशको शासन, शोषण , जनताको हविगतलाई इरानले हाइकुमा सुन्दर ढङ्गले व्यक्त गरको पाइन्छ । हेरौँ केही हाइकु ः

बलीको बोका
काल आ’को बुझ्दैन
वाह नेपाली ।
(सङ्कटकालबाट)

पानी नचल्ने
जवान छोरो चल्ने
जातीय प्रथा ।
(जिउँदो लासबाट)

उनको जिउँदो लासमा महिला मुक्तिसम्बन्धी व्यङ्ग्यमूलक हाइकु एक दृष्टान्तः
सबै हक छ
लोग्नेकै घर बस्ने
महिला मुक्ति ।
उनका देशको दुर्दशालाई समेटेर लेखेका हाइकुः

मधेश माग्न
मधेश जलाउने
मधेशीहरु

विजुली किन्छ
पानीको धनी देश
नदी बेचेर ।

भरी टपरी
छेउमा खाली दुना
सत्ताको भाग ।

लोक व्यवहार, राजनीतिक आस्था, सामाजिक आस्था, साँस्कृतिक आस्थाहरुमा विचलन आउनु, निराशा छाउनुलाई सम्बोधन गरिएका छन् हाइकुमा । इरान प्रगतिशील÷प्रगतिवादी लेखक भएकाले उनका हाइकुमा प्रयोग भए पनि व्यङ्ग्य, विद्रोह, कुशासनप्रति प्रहार, अन्याय र अत्याचारको विरोध गरेर रचना गर्ने लेखक हुन् । यस कारण उनका हाइकुमा मानिसको जीवनको असामान्य अवस्थालाई गम्भीर चासोको रुपमा हाइकुमा व्यक्त गरेका छन् । हाइकुमा गम्भीर चिन्तन राख्ने इरान राईका हाइकुहरु नेपाली साहित्यमा राम्रो स्थानको लागि प्रतियोगिता नगरी उपस्थित हुन सक्छन् ।

(स्रोत : सम्मोहन साहित्यिक पत्रिका)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.