~रामकृष्ण आचार्य~
शनिबारको दिन विद्यालय बन्द हुने हुनाले मेरा साहिँला काका सदानन्द आचार्य र म चगत्रा बजारको चौतारीमा बसिरहेका थियौं । मानिस बजारमा ओहोरदोहोर गरिरहेका थिए। बाटो हिँड्ने बटुवाहरू चौतारीमा थकाइ मेट्दै आफ्नो बाटो लाग्दै थिए।
भरियाहरू चौतारीमा भारी बिसाउँदै पसिना पुछेर मीठामीठा गीत गाउँदै थिए।गाउँका ठालु भलाद्मीहरू चिया पसलमा चिया पिउँदै राजनैतिक भाषण फलाकिरहेका थिए। अर्काका खुट्टा र कुरा काट्न व्यस्त मानिसहरू अनावश्यक गफ गरेर समय खेर फालिरहेका थिए।
स्कुलमा नैतिकता, इमानदारी, सदाचार र अनुशासनको पाठ पढाउने गुरुहरू चिया पसलमै तास खेल्दै चुरोटको धुवाँ उडाइरहेका थिए। केही केटाकेटीहरू दर्शक बनेर यी दृश्य हेरिरहेका थिए भने केही केटाकेटीहरू चौतारीमा विभिन्न खेल खेल्दै रमाउँदै थिए । पीपलको रूखमा गुँड बनाएर बच्चा हुर्काइरहेका चराहरू आफ्ना बचरालाई आहारा खुवाउँदै थिए।
सामानको भाउ कुन पसलमा सस्तो हुन्छ ? कुन पसलमा महँगो हुन्छ? भन्दै किनमेल गर्न राउटेहरू छलफल गर्दै थिए। राउटेका कुरा सुनेर हाम्रो ध्यान उनीहरूतिरै मोडियो। हामीहरू राउटेको नजिकै गयौं।
आपसमा कुराकानी गरिरहेका राउटेहरू जुरुक्क उठे। चौतारीको अर्को छेउमा गएर कानेखुसी गरे अनि टोलाएर हामीलाई हेरे। हामीले पनि राउटेहरूतिरै हेरिरहेका थियौं।
हामीहरू बिस्तारै फेरि उनीहरूको सामुन्ने गयौं र कुराकानी गर्न सहभागी भयौँ । मैले राउटेलाई सोधें, ‘के किन्न बजार आएको?’
‘बिहेका लागि सामान किन्न’ रत्न शाहीले भने ।
‘के के किन्नुपर्ने हो?’
‘बेहुलाबेहुलीलाई एकसरो कपडा, चुरा, पोते, रिङ, धागो, डोरी … भोज भतेरका लागि दाल, चामल, नुन, तेल, जाँड, रक्सी …. आदि।’ कुराकानीको सिलसिलामा सामान किन्नको लागि राउटे मुखियाबाट पाँच हजार रुपैयाँ ऋण लिएको पनि बताए।
राउटेहरू कपडा पसलतिर लागे । कपडा पसलमा राउटेहरू कपडा हेरिरहेका थिए । अन्य दर्शक राउटेलाई हेरिरहेका थिए। काका र म पनि राउटेलाई सामान किन्न सहयोग गर्ने मनसायले कपडा पसलमै गयौँ ।
सेतो कपडा हातमा लिँदै रत्न शाहीले सोधे, ‘यसको मोल कति हो ? ‘
‘एक सय पचास रुपैयाँ मिटरको’ पसलेले भने । पसलेको मूल्यमा रत्न शाहीको चित्त बुझेन।’अलि सस्तोमा देऊ न सस्तोमा।’ ‘मिलाएरै दिएको छु। अरू पसलमा यति मोलमा यो कपडा आउँदैन।’ पसलेले यस्तो भनेपछि रत्न शाही कपडा किन्न तयार भए ।
पसलेले मिटरले नापेर कपडा दिन खोज्दा रत्न शाहीले भने, ‘हामी त्यो फलामको लट्ठीले नापेर कपडा लिँदैनौं। आफ्नै हातले नापेर कपडा लिन्छौं।’ ‘सबैलाई मिटरले नापेर कपडा बेच्छु। हातले नापेर कपडा बेच्दिनँ। नाफा कमाउन व्यापार गरेको हुँ। हातले नापेर कपडा बेच्दा मैले घाटा खानुपर्छ । घाटा खाएर किन बेच्नु? कपडा बेच्दिनँ।’ पसलेले आफ्नो उक्ति राउटे समक्ष राखे।
मिटरले नापेको कपडा लिन राउटेहरूले मानेनन् । हातले नापेर कपडा दिन पसले तयार भएनन्। केहीबेर विवाद भयो। ऋण गरेर बिहेको लागि किनमेल गर्न आएका राउटेलाई अलिकति भए पनि सहयोग गर्ने इच्छा लाग्यो हामीलाई।
विवाद समाधान गर्न मैले पसलेलाई भनेँ, ‘तिमीलाई कति घाटा लाग्छ? त्यो पैसा म दिन्छु। राउटेले भनेअनुसार उनीहरूकै हातले नापेर कपडा लिन देऊ।’पसलेले कपडा दिए। राउटेले हातले नापेर कपडा लिए। हामीहरू कपडालाई एक मिटर, दुई मिटर, तीन मिटर भन्छौं। त्यही कपडालाई राउटेहरू एक हात, दुई हात, तीन हातभन्दा रहेछन्।
हाम्रो व्यवहारले उनीहरू खुसी थिए । त्यो हर्षको भाव उनीहरूको चहकिलो अनुहारले बताउथ्यो। टुलुटुलु हामीहरूतिर हेरिरहेका आँखामा पढ्न सकिन्थ्यो ।
कपडा किनमेल गरेर राउटेहरू दुलहीका लागि सामान किन्न अर्को पसलतिर लागे। अर्को पसलमा राउटेले दुई लाछी रातो पोते, कपाल बाट्ने डोरी, कानमा लगाउने रिङ, हातमा लगाउने सिटलका चुरा, धागो… आदि किने।
भोजभतेरका लागि दाल, चामल, नुन, तेल, मसला, जाँड, रक्सी आदि किनेर भारी बनाएर चौतारीमा राखे। हामी सबैजना चौतारीमा बस्यौं । काकाले सोध्नुभयो, ‘बिहे कसको हो?’ ‘मेरो भाइ, हर्क शाहीको हो’ रत्न शाहीले भने।
काकाले हर्क शाहीलाई भन्नुभयो, ‘हर्क शाही बिहे गर, बिरालाले चल्ला सारे जस्तै गरी बास सारेर नहिँड, जंगलमा अप्ठ्यारो हुन्छ, एक ठाउँमा घर बनाएर बस, बालबच्चा पढाऊ।’
‘अहँ, हामी घर बनाएर सधैं एउटै ठाउँमा बस्दैनौं । बास सार्दै हिँड्नु हाम्रो परम्परा हो, संस्कार हो । हामी हाम्रो परम्परा, संस्कारलाई छाड्दैनौं । जंगलमा बस्न दु:ख त हुन्छ । दु:ख हुन्छ भन्दैमा पुर्खादेखि चलेको चलन छोड्नुुुुुुुुुुुुुुुु भएन नि’ हर्क शाहीले भने ।
सामान बोकेर राउटेहरू जंगलतिर हिँड्ने तरखर गर्दै थिए । त्यसैबीच मैले रत्न शाहीलाई सोधें, ‘हर्कको बिहे कहिले हो ? ’
‘भोलि दिउँसो’
‘मैले हर्कको बिहे हेर्न पाउँछु? ‘
‘तिमीले हर्कको बिहे हेर्न पाउँदैनौ।’
‘किन पाउँदिनँ? ‘
‘किनकि हाम्रा मुखिया रिसाउँछन्। हामी मुखियाको आदेशमा चल्छौं। मुखियाको आदेशविपरीत केही गर्दैनौं । मुखियालाई रिसाउने पार्दैनौं । त्यसैले तिमीलाई बिहे देखाउन सक्दैनौं।’ रत्न शाहीले अँध्यारो मुख लगाए।
दुईचार पाइला अगाडि बढे। टक्क अडिएर पछाडि फर्किए। हर्कबहादुर शाही र रत्न शाहीले मतिर हेरे। एकटकले हेरिरहे–हेरिरहे मलाई मात्र हेरिरहे । मेरो मनमा पनि कताकता नरमाइलो लागिरहेको थियो।
खासै नरमाइलो मान्नुपर्ने कारण त केही थिएन। तैपनि किन किन मेरो मन रोइरहेको थियो पीडा सहन नसकेर दुखिरहेको थियो, मुटुमा घाउ लागेर ।
चौतारीमा बस्दा भेट्टिएका हामी एउटै भू-धरातलका मानव थियौं।
एउटै भू-धरातल भए पनि हाम्रोभन्दा राउटेको संसार बेग्लै प्रकृतिको थियो । हामी प्राचीनताबाट टाढा हुँदै जीवन व्यतीत गरिरहेका थियौं । हाम्रो प्राकृतिक जीवन बिस्तारैबिस्तारै कृत्रिम बन्दै गइरहेको थियो।
उनीहरूले भने आफ्नो आदिम स्वरूपलाई परिवर्तन गरेका थिएनन् । नेपालको मात्रै नभएर विश्वकै लोपोन्मुख जातिका रूपमा परिचित थिए ।
आँखाबाट बगिरहेका आँसु पुछ्दै रत्न शाहीले भने, ‘तिमीले हामीलाई धेरै सहयोग गर्यौ। बजारमा सामान किनिदियौ। बिहे खर्चको लागि पैसा पनि दियौ।
हर्कको बिहे हेर्ने भन्यौ, बिहे देखाउने मन त छ तर के गर्ने ? हामीले मुखियाको मान राख्नुपर्छ । संस्कार विपरीत चल्नु हुँदैन। त्यसैले हर्कबहादुरको बिहे देखाउन सक्दैनौं।’
राति अबेरसम्म मलाई निद्रा लागेन । गाउँदेखि सहरसम्मका विवाह हेरेकै थिएँ । मागी विवाह, चोरी विवाह, प्रेम विवाह, जारी विवाह, अदालती विवाह आदि विवाह देखेको भए पनि राउटेको विवाह हेर्न मेरो अन्तरमनले चाहिरहेको थियो ।
गाउँमा दुलहा घोडामा दुलही डोलीमा चढेका दृश्य मेरा आँखामा घुमिरहेका थिए। आइमाईले खेलेका रत्यौलीको सम्झना आइरहेको थियो । सहरमा चिल्ला गाडीमा सरर हिँडेका दुलहादुलहीका तस्बिर मेरो मस्तिष्कमा नाचिरहेका थिए।
हर्क शाही कसरी बिहे गर्लान् ? उठी उठी बिहे गर्लान् कि ? बसी बसी बिहे गर्लान्? यी प्रश्न मेरो मनमा खेलिरहेका थिए। राउटे समुदायमा बिहेको रौनक छाइरहेको थियो। उल्लासमय वातावरण थियो । हर्क शाही वैवाहिक बन्धनमा बाँधिँदै थिए।
त्यहाँ उपस्थित साना केटाकेटी, युवायुवती, वृद्धवृद्धा सबैमा एक किसिमको उमंग देखिन्थ्यो । उनीहरू गोलो घेरा बनाएर बसेका थिए। त्यो घेराको बीच भागमा नयाँ कपडा लगाएर चिरिच्याट्ट परेका दुलहादुलही थिए। दुलहीको अनुहार घुम्टोले छोपिएको थियो।
बिहेको काम सुचारु तरिकाले अगाडि बढिरहेको थियो। दुलहाले दुलहीलाई हेरे। दुलहीले नजर झुकाइन् । राउटेहरू रमाउँदै बिहे हेरिरहेका थिए। दुलहाले दुलहीलाई चुरा, पोते, रिङ लगाइदिए। एकसरो नयाँ कपडा दिए।
दुलहीका बाबुले दाइजो दिए; काठका भाँडा र काठ काट्ने धारिला हतियार। बिहे सम्पन्न भयो सामान्य तरिकाले राउटे मुखियाको रोहबरमा।राउटेहरूले बाजागाजा बजाए। बाजाको आवाजले जंगल गुञ्जायमान भयो। केही राउटेले गीत गाए, केही राउटे नाचे। अन्य राउटेहरू रक्सीको तालमा लरबराउँदै बांगाबांगा खुट्टा बनाएर नाच्दै थिए।
गाएर, नाचेर रमाएपछि मुखिया, दुलहादुलहीसहित सम्पूर्ण राउटेहरूले टपरीमा हालेर दाल, भात, मासु, आदिको भोज भतेर खाए। जाँड, रक्सी पनि खुबै खाए।राउटे मुखिया दुलहा दुलहीलाई भन्दै थिए, ‘बिहे गरेपछि नुहाउनुपर्छ।
खोलामा गएर नुहाऊ। नयाँ छाप्रो बनाउन लगाउँछु। त्यसैमा गएर बस। सात दिनसम्म काममा लगाउँदिनँ।’दुलहादुलही नुहाउन खोलातिर लागे। मुखियाको निर्देशनमा राउटेहरूले रूखका हाँगा, थाकल र बाबियो काटेर नयाँ छाप्रो बनाइदिए।
२०७२ आस्विन १८ सोमबार
(स्रोत : AnnapurnaPost)