संस्मरण : म्याटिनी सो

~बुद्धिसागर~

Buddhisagar

रिले दौडको अन्तिम खेलाडीझैँ बेस्मारी दगुरेर रात टीकापुर आइसकेको थियो । घरघरमा बत्ती बलिसकेका थिए ।

अँध्यारो देख्नेबित्तिकै मेरो सातो गयो । दर्शकहरू फिलिम हल देब्रेतिर बनेको ट्वाइलेटतिर दगुरिरहेका थिए । मानिसको पिसाब फिलिम हलको देब्रेतिरबाट सहर पसिरहेको थियो । चटाईले बारेको ट्वाइलेटभित्र मान्छे तुक्र्याउँथे तर तिनको पिसाब बाहिर दगुथ्र्यो ।
म सर्टको बाहुलाले नाक छाप्दै भित्र पसेँ । मान्छेको लहरोले पालो कुरिहेको थियो । पालो पाउने छाँट देखिनँ, बाहिर निस्केँ । सोचेँ– घर जानु त छँदैछ, बाटोमै तुक्र्याउनुपर्ला । बाहिर निस्केपछि त झन् पिसाबले च्याप्यो, पेट पनि हुँडलिएजस्तो लाग्यो । मैले बल्ल थाहा पाएँ, मलाई पिसाबभन्दा पनि डर लागेको पो रैछ ।

म हड्फिल भएको रैछु ।

हलबाट निस्केको भीड बिस्तारै पातलिँदै थियो । मलाई थाहा थियो— प्राय: दर्शक यहीँ टकापुरका हुन् । कोहीकोही नजिकैको गाउँका । कटासेको त म मात्रै थिएँ ।

मेरा तिघ्राका काप सल्याङबल्याङ भए । कमिला हिँडिरहेजस्तो लाग्यो । कसरी पुग्ने होला त कटासे † म जीवनमा पहिलोपल्ट यत्ति कातर भएको थिएँ । दोष मेरै थियो । बाह्र बजेको सो हेरेपछि खुरुक्क घर फर्केको भए त अहिले म ओछयानमा मज्जाले सिरक ओढेर बसिरहेको हुन्थेँ । किन हेर्नुपरेको होला मलाई– म्याटिनी सो † ‘दाइ, कति बज्यो ?’ मेरै छेउबाट गएको एकजनालाई सोधेँ ।

‘साढे छ ।’

म साइकल राखेको ठाउँतिर गएँ । मानिसहरू धमाधम आफ्नो साइकल चढेर कुदिरहेका थिए । कुनातिर मेरो थोत्रो साइकल देखियो । साइकलको ब्रेक राम्ररी लाग्दैनथ्यो । बेलाबेला अघिल्लो पांग्राको टायरमा चप्पल धसार्दै रोक्नुपथ्र्यो । अझ हतारमा कुदाउँदा भने जहिले पनि यसको चेन स्वात्त खुस्किन्थ्यो ।

मैले साइकलको लक खोलेँ । हेन्डिल समाएर उभिरहेँ । सोचेँ– कताबाट जाने होला ? कटासे पुग्ने दुइटा बाटा थिए । एउटा बाटो थियो– जमराखोलाको किनारैकिनार । जंगलै जंगल । त्यहाँ चितुवैचितुवा छन्—भन्थे ।

अर्को बाटो भने गाउँ नै गाउँ भएर कटासे पुग्थ्यो तर ढाई घन्टाभन्दा बढी लाग्थ्यो । गाउँ पनि सुरक्षित थिएन । बाटाभरि गाउँ नै पिच्छे सिमलै–सिमलका रूख पर्थे । र, गाउँलेका अनुसार हरेक सिमलको रूखमा भूत बस्थे । तिनले त राति साइकल नै रोकिदिन्छन् भन्ने हल्ला सुनेको थिएँ । अझ, गाउँका कुकुरका के कुरा गर्नु † तिनले त लखेटीलखेटी पिंडौला नै लुछिदिन्छन् रे ।

यता फाँसी, उता सुली— भनेजस्तै पो भयो ।

यतै टीकापुरमा रात बिताउन पाए पनि हुने । मैले कसका घरमा पाहुना भएर जाने, सोच्नै सकिनँ । टीकापुरमा कैयौं आफन्तका घर थिए तर जाने आँटै आएन । सम्झेँ— दिउँसो फिल्महलतिर कुदिरहेका बेला दिदीकी साथी भेटिएकी थिइन् । उनले आउँदै गर्नु पनि भनेकी थिइन् । म हुन्छ भन्दै कुदेको थिएँ, किनभने, फिल्म सुरु हुनेवाला थियो । आफैंदेखि रिस उठयो । उनी कहाँनेर बस्छिन्, त्यो त सोध्नुपर्ने नि † हत्तेरी †

मलाई फिलिमवालासित रिस उठयो । तीन बजेको सोदेखि नै फिलिम किन फेर्नुपरेको होला, तिनलाई † अनि, मिथुनकै फिलिम चलाउनुपर्ने † मिथुनको फिलिम कसले छाडेर हिँडोस् †

मैले साइकलको हेन्डिल अँठयाएँ, म गाउँकै बाटो जान्छु । केही परेर चिच्यायो भने त कोही त आउलान् बचाउन । म ह्वात्त साइकलमा उक्लिएँ र गाउँको बाटो लागेँ ।

बजारमा पो बत्ती थियो, गाउँमा के हुनु † म जतिजति गाउँ पस्दै गएँ, उतिउति अँध्यारो हुँदै गयो । पुसको चिसो स्याँठ । तैपनि मेरो निधारबाट चिटचिट पसिना निस्किरहेको थियो । धूलो भरिएको बाटो मधुरो गरी देखिरहेको थियो । त्यसैले मेरो साइकलको रफ्तार कम भएको थियो । करिब आधा घन्टापछि मैले देखेँ– मेरा अघिअघि दुइटा साइकल दगुरिरहेका थिए । साइकलका मान्छे आपसमा कुरा गर्दै साइकल हाँकिरहेका थिए । मलाई त दैव नै भेटेजस्तो लाग्यो । म तिनलाई पछयाउन थालेँ ।

तर, स्वात्त साइकलको चेन खुस्कियो । अगाडिका साइकलवाला परै पुगे । हात काँपिरहेका थिए, त्यसैले चेन मिल्दै मिलेन । बल्लतल्ल मिलाएँ र साइकल कुदाएँ । पर पुगिसकेका साइकलवालाको नजिक के पुगेको थिएँ, फेरि चेन खुस्कियो ।

बल्लतल्ल चेन मिलाएँ र फेरि साइकल कुदाएँ । ती दुई मान्छे कहाँ हिँडेका हुन्, मलाई के थाहा † तैपनि एउटै बाटोमा रहेसम्म म पछिपछि हिँड्न चाहन्थेँ ।

जाडोको रात गाउँ शान्त थिए । टाढा–टाढा कुकुर भुकेको आवाज त जुन गाउँमा पनि आउँछ ।

ध्यान दिएर साइकल चलाएर होला, फेरि चेन खुस्केन । म दुई साइकललाई पछयाई नै रहेको थिएँ । एकछिनपछि एउटा साइकल अर्को बाटो मोडियो । र, म जाने बाटोतिर एउटै साइकल रह्यो । मेरो मुटुको ढुकढुकी फेरि बढ्न थाल्यो । एकछिनपछि त यो साइकल पनि मोडिएला । फेरि एक्लै पो हुने भएँ †

मैले साइकलको हेन्डिल अठयाउँदै कसम खाएँ– आइन्दा यसरी कहिल्यै फिलिम हेर्ने छैन । माँ कसम ।

उता बाआमा कति छट्पटिनुभएको होला, म अहिलेसम्म घर नपुग्दा । बिहान स्कुल हिँडेको छोरो रातिसम्म घर नफर्किंदा कसलाई पो तनाव हुँदैन र † पक्कै पनि बजारका केटाहरूलाई सोधपुछ गर्नुभएको होला । उनीहरूलाई के थाहा— म त सुटुक्क टाप कसेको थिएँ । म कहाँ हिँडेँ भन्ने त डिल्लीलाई पो थाहा छ । तर, ऊ मटेरामा छ ।

मैले आफ्ना किताब उसैलाई जिम्मा लगाएर टीकापुर हिँडेको थिएँ ।

म सोच्दै साइकल कुदाइरहेको थिएँ, बाटोतिर ध्यानै गएनछ । लौ, बाटोको छेउमा खाल्टो पो रैछ । एक्कासि साइकल धर्मरायो । पहिला हुत्तिँदै म खसेँ र ममाथि साइकल बज्रियो । त्यो पनि मेरुदण्डमा ।

म दुखाइले चिच्याएँ, ‘मरेँ नि आमोई ।’

कोही दगुर्दै आयो । पहिला साइकल बाहिर तान्यो अनि मलाई ।

‘अघि हाम्रो पछिपछि आउने तिमी हौ ?’ उसले भन्यो, ‘चोट लाग्यो ? दर्द भो ?’

मेरो शिर फनन्न घुमिरहेको थियो ।

‘यत्ति राति कहाँ से आयौ ?’ उसले फेरि सोध्यो ।

फिलिम हेरेर आएको भनेपछि त यसले गाली नै गर्ला है । फेरि मलाई बदमास केटो पनि ठान्ला । मेरो मुखबाट अचानक निस्क्यो, ‘साथी बिरामी थ्यो भेट्न आको थेँ, टीकापुर ।’

‘घर कहाँ हो ?’

‘कटासे ।’

‘त्यो त बहुतै टाढा छ,’ उसले भन्यो, ‘बहुत देर भइसक्यो ।’

म उठेँ । पाइन्ट टक्टकाएँ । मेरुदण्ड दुखिरहेकै थियो । चिसो स्याँठले छुँदा झन् दुखेजस्तो भयो । उसले साइकल ठडयाउन मद्दत गर्‍यो । मैले साइकललाई केही भयो कि भनेर हेर्ने खोजेँ तर केही देखिनँ ।

मलाई झन् तनाव हुन थालेको थियो । यस्ता खाल्टाखुल्टी त बाटाभरि होलान् । फेरि यसरी अर्को खाल्डोमा जाकिएँ भने कसले तान्ला ?

‘साइकल चलाउन सक्छौ ?’ उसले सोध्यो ।

हेरुँ न त † मैले साइकलको डेन्डिल समाएँ । र, ह्वात्त माथि उक्लेँ । साइकलको अगाडिको पांग्रा रामरी गुडेन । तिल्लीहरू चड्चडाए ।

‘तिल्ली भाँच्चेछ,’ उसले भन्यो, ‘रोको रोको ।’

मैले साइकल रोकेर हेरेँ । दुइटा तिल्ली त भाँच्चिई नै सकेका रैछन् । उसले मेरो साइकलको पांग्रानेर झुकेर भाँचिएका तिल्ली अरू तिल्लीमा बटारिदियो र भन्यो, ‘रातको समय छ । खटारा साइकल । तुमी घर पुग्दैनौ ।’

म चुप रहेँ ।

‘कटासेमा मेरो जान पहचानका धेरै मान्छे छन्,’ उसले भन्यो, ‘तिम्रो घर बजारमै हो ?’

‘हो । हाम्रो मेडिकल छ ।’

‘तिम्रो नाम के हो ?’ सोध्यो ।

‘बुद्धिराम ।’

‘तिम्रो बाको नाम के हो ?’

‘चपाई डाक्टर ।’

‘मेरो घर पासमै छ,’ उसले भन्यो, ‘आजको रात यतै बस । कल सुवह जानु ।’

रातै बाहिर बितायो भने त बाको चार मुक्का खानैपर्छ । सोचेँ— बरु बिहान बाको मुक्का खानै ठीक । नत्र घर पुग्दासम्म त्रासका सयांै मुक्का खाइसक्छु ।

ऊ आफ्नो साइकल डोर्‍याउँदै अघि लाग्यो । म खटारा साइकल लतार्दै पछि लागेँ । करिब पन्ध्र मिनेटपछि ऊ मूल सडकबाट सानो बाटो हुँदै पश्चिमतिर लाग्यो । चिसो स्याँठ मेरो शरीरको जताततै फैलिरहेको थियो । बेलाबेला हावाको झोक्का आउँदा सिस्नुपानीले प्रहार गरेजस्तो लाग्थ्यो ।

दिउँसो गर्मी नै हुन्थ्यो । त्यै भएर मैले एउटा सर्ट लगाएको थिएँ । ज्याकेट नलगाएको आफैंसँग रिस उठिरहेको थियो । अझैं अँध्यारोमा बाटो देख्नै मुस्किल भइरहेको थियो । केटो सयौंपल्ट यो बोटो हिँडेको होला, बाटोको धूलोसम्म चिनिसकेको होला– ऊ खुरुखुरु हिँडिरहेको थियो । म कहिलेकाहीँ पछि पर्थें । भूतले पछाडिबाट तानिहाल्छ कि जस्तो लाग्थ्यो । तर्सेर दगुर्थें ।

‘बिस्तारै आऊ, गुल्टिउला,’ ऊ भन्थ्यो ।

उसको गाउँ आइसकेको थियो । गाउँ शान्त थियो । अँध्यारो भएर होला, मैले गाउँ चिन्न सकिनँ । दिउँसै भए पनि म यताका गाउँ चिन्न सक्दिनथेँ नै ।

‘यो कुन गाउँ हो ?’ मैले सोधेँ ।

‘भगरैया ।’

एकछिन फनफनी घुमेको बाटो हिँडाउँदै ऊ एउटा घरको आँगनमा टक्क अडियो । घर सानो झुप्रोजस्तो थियो । दायाँपट्टि गोठ थियो । भित्र मधुरो बत्ती बलिरहेको थियो । बूढी महिलाले खोकिरहेको आवाज आइरहेको थियो ।

‘साइकल वही राख,’ उसले घर र गोठबीचको ठाउँ देखायो ।

पहिला उसले नै आफ्नो साइकल राख्यो । मैले छेउमा अडयाएँ । केटो घरभित्र पस्यो ।

साइकल लर्तादा–लतार्दै मेरा पाखुरा त ध्वस्तै भएछन् । टनटनी दुख्न थाले । मैले घरबाहिर कमै रात बिताएको थिएँ । त्यसैले पनि साह्रै असहज महसुस भइरहेको थियो ।

केटो धिपधिपाइरहेको टुकी बोकेर बाहिर आयो ।

‘आऊ, हात पैर साफ गर’ भन्दै उसले आँगनछेउको जुठेल्नातिर बोलायो ।

ड्रममा पानी राखिएको रैछ । आम्मै, पानी त कत्ति चिसो । टुकीको उज्यालोमा मेरो गोडाबाट पानीले कालो धूलो बगाएर लग्यो । मेरा गोडाका औंलाहरू सप्पै दुखे । मैले बत्ती समाएँ, केटो हातगोडा धुन झुक्यो । त्यैबेला मैले लुसुक्क केटोतिर हेरेँ । ऊ पच्चीस–छब्बीस वर्षको थियो । जिन्स र सुइटर लगाएको थियो । उसले पनि चप्पलै लगाएको रैछ । कपाल हिजैअस्ति काटेजस्ता थिए । अनुहारमा अलिकति डन्डिफोर थिए ।

उसले हतारहतार हातगोडा धोयो । र भन्यो, ‘यसपालि बडो सर्दी छ गाउँमा । दिल्लीको जति त नाइँ ।’

उसले मेरो हातबाट टुकी लिँदै भन्यो, ‘बहुतै भुख लागेको छ ।’

हामी भित्र पस्यौं । घरभित्र जम्मा दुइटा कोठा रैछन् । कोठा पनि के भन्ने † बीचमा चटाईले बारेर कोठा निकालेको ।

मैले बत्तीको उज्यालोमा कोठा नियालेँ । एउटा भान्साकोठा रैछ । कुनातिर खटिया थियो, खटियामा भित्तातिर कोल्टे परेर एउटी महिला सुतिरहेकी थिइन् । अँगेनामा आगोका गोल बेलाबेला चड्किरहेका थिए । त्यसैमाथि थालले छोपेर खाना राखिएको रैछ ।

केटोले थाल उठाउँदै खाना हेर्‍यो ।

‘किन ढिला गरी ?’ महिलाले उठ्दै सोधिन् । उनका कपाल जिङरिङ्ग परेका थिए । धोती र ब्लाउजमा थिइन् । उनले लगाएको ब्लाउज ज्यानभन्दा धेरै ठूलो देखिन्थ्यो । ह्वात्तै दुब्लाएजस्ती लाग्थिन् ।

‘सानो काम पर्‍यो,’ केटोले भन्यो, ‘दवा ल्याछु । खान्छेऊ ?’

‘अघि त खाइसकेँ,’ उनले भनिन् र मतिर हेर्दै सोधिन्, ‘यी को हुन् ?’

‘अघि रास्तामा भेटेँ । कटासेका हुन् । चपाई डाक्टरका छोरा । रात पडयो । यतै बस भनेँ,’ केटोले मतिर हेर्दै भन्यो, ‘यी आमा हुन् मेरी ।’

मैले नमस्ते गरेँ ।

उनले एकपल्ट मलाई नियालिन् । बत्तीको उज्यालोमा रामरी देख्न त के सके होलिन् † केटो दुइटा थालमा खाना पस्किन थाल्यो ।

‘एई, खाना किन पस्किन्छस् ?’ उनले हतारिँदै भनिन्, ‘यी त बाहुन् हुन् । हाम्लाई पाप लाग्छ ।’

म अल्मलिएँ ।

‘हामी तल्लो जातको हौं,’ केटोले असहज मान्दै भन्यो, ‘छोएको खान्छौ कि खान्नौ ?’

मैले खान्छु भनेँ ।

‘भोकै छन् । खान दिऊँ भने पाप लाग्ने डर,’ आमैले भनिन्, ‘नदिऊँ भोकै सुताएको पाप ।’

‘भो आमै † भगवान् भुखाको खिलायो भने किन रिसाउलान् †’ केटोले अलि चर्को स्वरमा भन्यो र खाना पस्किन थाल्यो ।

फिल्म हेर्ने धुनमा मैले खाजै खान बिर्सेको थिएँ । फेरि खाजा खाँदा दोस्रो सोको लागि पैसा पुग्दैनथ्यो । भोक त बेस्मारी लागिरहेको रैछ । मसुरोको दाल, भात र साग कति मिठो लाग्यो, कति । मिठो त लागिरहेकै थियो । खाना सक्यो । एकजनाका लागि राखेको खाना के पुग्दो हो, दुईजनालाई । केटो पनि भोकाएको रैछ । उसले आधा पेटमै चित्त बुझायो ।

उनीहरूले मलाई जुठो थाल माझ्न दिएनन् ।

आमै एकछिन कुरा गरेर फेरि खटियामा पल्टिइन् । हामी अर्को कोठातिर लाग्यौं । भित्र एउटा पलङ रैछ । स्टोर रुमजस्तो । कपडाका पोकापन्तुरा । चामलका बोरा । बन्चरो, आँसी के–के हो के–के । पाँच छवटा पाकेका फर्सी पनि भुइँभरि थिए ।

‘घरमा आमा र म मात्रै छौं,’ केटोले लुगा फुकाल्दै भन्यो, ‘बा मरिगए रूखबाट खसेर । म इन्डिया हुन्छु । आमै घरमा एक्लै । त्यै भएर ठूलो घर नबनाको । ठूलो घर बनाउने पैसा पनि नाइँ ।’

म त्यत्तिकै पल्टेँ, भित्तातिर फर्केर ।

केटोले कपडा फेरेर बत्ती निभायो । मेरो छेउमा पल्टियो । टाढाटाढा कुकुर भुकिरहेको आवाज आइरहेको थियो । म अँध्यारोमा आँखा उघारेरै पल्टिरहेँ । भोको पेटमा खानाबाहेक अरू कुरा आउँदैन । समस्या त पेट भरिसकेपछि पो आउँछन् । मेरो दिमागभरि बाको अनुहार आउन थाल्यो । भोलि बाका अगाडि कसरी उभिने होला † अहिलेसम्म म यसरी अचानक घरबाहिर बसेको थिइनँ । बा र आमालाई कति गाह्रो भइरहेको होला । मेरो बाटो हेरिरहनुभएको होला । म छट्पटिएँ ।

‘निद लागेन ?’ केटोले सोध्यो ।

म चुपै रहेँ ।

‘कसैको बानी हुन्छ । अपना बिस्तरामा मात्र सुत्ने । मेरो पनि त्यस्तै थियो । दिल्ली गको एक महिनासम्म त म पनि निदाउन सकिनँ ।’

‘किन गाको दिल्ली ?’ मैले सोधेँ ।

‘काम गर्न । पढ्न सकिनँ । घरबाट भागेर गाको हुँ । म भागेकै बरस बा रूखबाट खसेका हुन् । बा मरेको त मैले ४ महिनापछि पता पाएँ ।’ म बोलिनँ ।

‘मेरा बाको उधार थियो । अहिलेसम्म पनि तिर्दैछु । अब त तिर्न के सकुँला †’

‘किन ?’

‘म इन्डियाबाट पनि भागेर आको हुँ । सेठ खराब थियो । एकदिन मसित सुत्न आइज भन्यो । वो तो मेरो दोस्तसित सुत्दो रैछ । त्यै भएर दोस्त रातभर पेट दुख्यो भनेर रुन्थ्यो । मलाई झोक चल्यो, कराही साऊको सरमा बजाएर भागेँ ।’

मलाई क्यै भन्न आएन ।

‘अब त दिल्ली जान्नँ,’ उसले भन्यो, ‘दोस्तहरूले बम्बै जाऊ भन्या छन् । खराब इन्सान छन् दुनियाँमा । केटा मान्छेसित केटा मान्छे सुत्दा छन् ।’

मलाई असहज भो ।

‘मैले हामी सुतेजस्तो कुरा गरेको नाइँ,’ उसले कन्दै भन्यो, ‘केटाले केटालाई बिबी बनाउँछन् ।’

केटो आक्रोशित भयो, ‘मलाई त्यसो गर्न खोज्यो भने त ठोक्दिन्छु । किन डराउने ? जो डर गया, सम्झो मर गया ।’

केटो कुरा गरी नै रहेको थियो । मलाई भाते निद्राले अँठयायो । कान बन्द हुँदै गए । आँखाका ढकनी खसे ।

एकैछिनमा बाले मलाई खेतैखेत लौरो लिएर लखेटिरहनुभएको थियो ।

बिहानीपख्ख, केटो निद्रामै करायो । मेरा आखा झ्वाट्ट खुले । सानो झयालबाट मधुरो उज्यालो र चिसो स्याँठ भित्र पसिरहेको थियो ।

म ओछयानबाट बिस्तारै उठेँ । पलङबाट तल झरेँ । बाहिर निस्कें । ढोकैछेउ थिए मेरा चप्पल । बाहिर बाक्लो कुहिरो लागेको थियो । आँगनछेउका केही फूल झोक्राइरहेका थिए ।

म साइकलछेउ आएँ । बिस्तारै साइकल तानेँ । पांग्रानेर झुकेर हेर्दा हिजो भाँचिएका तिल्ली अरू तिल्लीको बुई चढेका थिए ।

बिहानको सिरेटो कानका लोती टोक्न आइपुगेको थियो । घरसम्म पुग्दा त चिसैले मर्छु कि के हो †

———

कटासे पुग्दा पनि घाम कुहिरोभित्रै हराइरहेको थियो । मेरो ज्यान चिसो पसिनाले भिजाएको थियो । जंगलमा दिसा बस्न गएका मान्छेहरू रित्तो लोटा बोकेर फर्किरहेका थिए । बिहान–बिहान असिनपसिन हुँदै साइकल कुदाइरहेको मलाई देखेर कसैले केही सोधिहाल्छ कि जस्तो लागेको थियो, तर कसैले सोधेन । जाडोको दिन भएर होला, धेरै दोकान खुलेका थिएनन् । केही चिया दोकानमा भने मान्छेको भीड थियो । म कटासेको तेस्रोगल्लीमा पुग्दा सात बजेको थियो ।

घर पुग्नेबेला एकपल्ट सास फुस्केलाजस्तो भो । के गर्नु † साइकल घरतिर मोडेँ । वरैबाट देखेँ– बाआमा घरको ढोकैमा उभिनुभएको थियो । मलाई देख्नेबित्तिकै आमा कराउनुभो, ‘लौ, आइपुग्यो ।’

म युद्धै जितेर त आएको थिनँ । शिर निहुराएँ । मेडिकलछेउ साइकल रोकेँ । बा मलाई ट्वाल्ल परेर हेरिरहनुभएको थियो । अब एक झमट गोदाइ खाने भइयो । म बाका अगाडि अपराधीझैं शिर निहुराएर हेरिरहेँ । दाइ र दिदीहरू माथिल्लो तलाबाट मलाई हेरिरहेका थिए ।

‘लौ हेर, स्याँठले ओठै निला बनाएछन्,’ आमाले मायालु स्वरमा भन्नुभो, ‘हिँड माथि आगो ताप्न ।’

म खुरुक्क भर्‍याङ उक्लेँ ।

दाइ र दिदीहरू मलाई अचानक आइपुगेको अपरिचित पाहुनालाई हेरेझैं हेरिरहेका थिए । मेरा गोडा जाडो र डरले लगलगी काँपिरहेका थिए । अगेनामाथि मासको दाल उम्लिरहेको रैछ । मैले बासनाले नै थाह पाएँ । पेट निचरियो ।

म टाङ फैलाएर अगेनाछेउ बसेँ ।

मेरो पछिपछि आउनुभएको आमाको अनुहार निन्याउरो थियो । उहाँ मेरो छेउमा बस्नुभो र मधुरो स्वरमा सोध्नुभो, ‘नढाँटी भन् त, तँ काँ गा थिस् ?’

फिलिम हेर्न गाथेँ भन्यो भने त आमाको मुटु नै चुँडिन्छ होला । मैले ढाटेँ, ‘भगरैयाको साथी बिरामी थ्यो, भेट्न गाँथे ।’

आखिर मलाई आमाले जन्माएको त हो † पत्याउनु भएन ।

‘हेर छोरा, न ढाँट । तैले धेरै रुवाइस् हाम्लाई,’ आमाले रुन्चे स्वरमा भन्नुभो, ‘नढाँटी भन्, काँ गाथिस् ।’

त्यसैबेला बा आइपुग्नुभो । बाको अनुहार पनि निन्याउरो थियो । बा टुसुक्क बस्नुभो ।

‘यस्ले त टीकापुर बिरामी साथी भेट्न गा थेँ भन्छ,’ आमाले बालाई भन्नुभो ।

बाले दाह्रा किट्दै मतिर हेर्नुभो । मलाई पिसाव आउला–आउला जस्तो भो ।

‘भन् तेरा किताब काँ छन्,’ बाले फुल्दै गको सासले भन्नुभो, ‘मेरो रगत बेचेर किनेका किताब हुन् । काँ फालिस् ?’

‘मटेरा । डिल्लीसित छ ।’

‘तुरुन्त लेर आइज,’ बा बम्किनुभो, ‘तैंले मेरो कमाइ यसरी फाल्दै हिँड्न पाउन्नस् ।’

मेरा आँसु झरे ।

‘भर्खरै आछ, जाडोले कस्तो कामेछ,’ आमाले माया देखाउनुभो, ‘डिल्लीले पछि ल्याइदिन्छन् किताब ।’

‘पर्दैन । जा तुरुन्त लेर आ,’ बा आफ्नो बोलीमा अडिग रहनुभो, ‘जति माया गर्‍यो उति हेप्दो रैछ यस्ले ।’

मैले आमातिर मायालु नजर लाएँ । आमाले आँसु पुछ्नुभो ।

म उठेँ । उल्टो हत्केलाले आँसु पुछेँ । खुरुखुरु भर्‍याङ झरेँ । साइकल समाएँ । जाडोले हेन्डिल पनि चिसिएको थियो ।

‘बुद्धि अ‍ैले नजा,’ आमाको स्वर सुनेँ तर रोकिइनँ ।

————-

कटासेको पुल काटेपछि बल्ल पो होस आयो– मैले फेरि ज्याकेट लगाउन बिर्सेछु । लौ, तीनचार किलोमिटर फेरि स्याँठ खानुपर्ने भो †

बिहानपख भएर होला– हुस्सुले मुख बाएर सारा जंगल निलेको थियो । दस मिटर अगाडिको बाटो पनि देखिँदैन थियो । अगाडिबाट अर्को साइकल आए ठोकिन्छ भन्ने डरले साइकलको घन्टी बजाइरहेँ । मेरो घन्टीको आवाज सन्नाटा भरिएको जंगलका रुखरुखमा ठोक्किएर मसम्म आइरहेको थियो । र, फर्किएर आएको घन्टीको आवाज भूतको आवाजजस्तो डरलाग्दो लागिरहेको थियो ।

मैले कसम खाएँ– आइन्दा यस्तो गर्दिनँ । बाको उदास अनुहार र आमाका आँसु, हुस्सुको ओस बनेर साइकलको हेन्डिलमा खसिरहेँ ।

मटेरा पुग्दा जन्डिसले थलिएजस्ता घामका मलिन किरण खसिरहेका थिए । म डिलीको घर पुग्दा आगो पुत्ताइरहेको थियो ।

‘डिल्ली †’ मैले आँगनमा साइकल अडाउँदै बोलाएँ ।

‘को हो ?’ डिल्लीको आवाज भान्सातिरबाट आयो ।

म भित्र पसेँ ।

डिल्ली अगेनामाथि छट्किरहेको भात हेर्दै अगेनाछेउ टाङ फैलाएर बसिरहेको थियो । मलाई देखेर झस्क्यो, ‘यति ब्यान ?’

‘अँ’ भनेर म अगेनाछेउ टुसुक्क बसेँ ।

‘कस्तो थ्यो फिलिम ?’ डिल्लीले बलिरहेका दाउरा चलाउँदै सोध्यो ।

‘खत्रा । मैले हिजो दुइटा फिलिम हेरेँ ।’

डिल्लीले ईश्र्याको नजर लायो । लामो कुरा गर्ने समय नै थिएन । मैले भनेँ, ‘म मेरो किताब लिन आको ।’

‘किताब ?’ डिल्लीको अनुहार रातो भयो ।

‘बाले लेर आ भन्नुभा छ ।’

‘किताब त हेडसरसित स्कुलमै छ,’ डिल्लीले डराउँदै भन्यो, ‘मैले त तेरो किताब रामरी राख्देको थेँ । हेडसरले थाहा पाए, अनि लगेर गए ।’

मलाई तुरुक्क पिसाब आएजस्तो भो ।

‘हेडसरले पिट्छन् तँलाई,’ डिल्लीले मधुरो स्वरमा भन्यो ।

‘साले, तैले जानीजानी देको होस्,’ मैले आँसु पुछेँ ।

‘माँ कसम, होइन,’ उसले आफ्नो रुद्रघन्टी समायो, ‘ढाँटेको होइन, विद्यानाश ।’

वर्षौंदेखि झुन्डिरहेको आकाश मेरो तालुमा खसेको थियो– टुटिल्को उठाउने गरी । म टुटिल्को सुम्सुम्याउँदै बाहिर निस्केँ ।

फेरि भुइँकुहिरो चिर्दै एउटा साइकलमाथि म आँसु पुछ्दै कटासेतिर दगुरिरहेँ । एकपल्ट त लाग्यो– झुन्डिएर मरूँ । रूखको हाँगामा तुर्लुंग झुन्डिएको आफैंलाई सम्झेर ज्यान सिरिङ्ग भो ।

म घर पुग्दा बा हुनुहुन्थेन । खाना खाएर घुम्न निस्कनुभएछ । दिदी, दाइ र बहिनी खाना खाएर स्कुल गइसकेका रैछन् ।

आमाले खाना पस्कँदै मलाई मायाले हेर्नुभो, ‘यसरी बाहिर–बाहिर सुत्दै हिँड्छस् ? तेरा बा र म रातभरि सुतेका छैनांै । यसरी दुख्ख नदे छोरा ।’

‘अब यस्तो गर्दिनँ,’ मैले आँसुले भिजेका भातका डल्ला निल्दै भनेँ ।

आमाले साडीको सप्कोले आँसु पुछ्नुभो ।

‘तँलाई पो हाम्रो माया लाग्दैन । तेरो मायाले तेरा बा हिजो राति तीन पल्ट बजार घुम्नुभो,’ आमाले रुन्चे स्वरमा भन्नुभो, ‘बासित इख नलिनु । मायाले पो गाली गरेको हो । देखिनस् ? अनुहार कस्तो थ्यो ?’

स्कुल मलाई भूतको फिलिममा देखाउने घरजस्तो लागिरहेको थियो । गेटबाट भित्र पस्दा लाग्यो– एउटा भीमकाय भूत आउँछ र मेरो नरम गर्दनमा दाह्रा गाड्छ । ‘श्रीमान् गम्भीर नेपाली’ गाउँदा मैले अगाडितिर हेरेँ । हेडसर भीमकाय शरीर लिएर उभेका थिए । हेडसर आएको धेरै भएको थिएन । धेरै गुण्डागर्दी गर्ने विद्यार्थी सुधारिसकेका थिए । उनी हिरो रेन्जर साइकल चढ्थे । यस्सो हेर्दा लाग्थ्यो, छ फिट अग्लो ज्यानलाई त्यो बिचरो साइकलले कसरी थामे होला † सुन्नमा आएको पनि थियो, ‘हेडसर, पहिला नेपालगन्जमा दादा थिए ।’

यत्ति सुनिसकेपछि उनका अगाडि ‘चुइँक्क’ बोल्ने आँट पनि कसको ?

जे होस्, सर आफ्नो नामझैं ‘हिक्मत’ ले भरिएका थिए । र, आज म तिनैको चड्कन खानेवाला थिएँ ।

राष्ट्रगान सक्यो । विद्यार्थीहरू गुरुरु कक्षाकोठामा पसे । म पनि असजिलो मान्दै पसेँ । मैले एकपल्ट कक्षा कोठातिर हेरेँ । डिल्ली पछिल्लो बेन्चको कुनामा बसेर मलाई हेरिरहेको थियो । सबैले डेस्कमाथि आफ्ना किताब राखे । मसित भए पो राख्नु † म त सिङ नभएको गोरुजस्तै भएँ ।

पहिलो घन्टी पढाउने सर आए । उनले हाजिरकापी पल्टाए र नम्बर फलाक्न थाले ।

‘रोल नम्बर तेतिस ।’

‘हाजिर सर,’ म जुरुक्क उठेँ ।

सरले मतिर पुलुक्क हेरे । सरले हाजिर बीचमै रोकेकाले सप्पै विद्यार्थीले पल्याकपुलुक मतिर हेरे ।

‘किताब खोइ ?’ सरले सोधिहाले । म चुप रहेँ ।

‘जाऊ, हेडसरले पर्खेर बसेका छन् ।’

म त डरले पिलपिल नै भएँ । लुसुक्क कक्षाकोठाबाट बाहिर निस्केँ । कक्षाकोठाका झयाल–झयालमा झुन्डिएर विद्यार्थी मलाई हेरिरहेका थिए । मानौं, म फाँसीको तख्तातिर लम्किरहेछु ।

अफिसकोठाको ढोकानेर एकछिन उभिएँ । मेरा पाइतला त्यही जमिनमा गाडिएका थिए । मेरो सास फुल्यो । फुत्त भागूँजस्तो लाग्यो । भरे किताब नलिई गयो भने त बाको गोदाइ खाइन्छ । हत्तेरी, कहाँ फसियो ।
म सुस्त भित्र पसेँ ।

हेडसर टेबुलतिर घोप्टिएर केही पढिरहेका थिए । छेउमै मेरा किताबका चाङ थिए । पलास्टिकको निला गाता लगाएका ।

‘के भो ?’ सरले मतिर हेर्दै सोधे ।

‘सर, किताब लिन आको,’ मेरो आवाज टुक्रिँदै बाहिर आयो ।

‘के किताब ?’

मैले टेबुलमाथिका किताबतिर इसारा गरेँ ।

‘ए ए हिरोज्यू पो हो, हिजो किताब फालेर गाको,’ सर उठे ।

‘फालेको होइन सर,’ मेरो मुख सुक्यो, ‘डिल्लीलाई राख्न देको ।’

सर मेरो छेउ आए । गिलो माटोको डल्लोझैं मेरो टाउको छातीतिर खस्यो ।

‘डिल्लीले नै भेटेर मलाई देको हो,’ सरले भने, ‘ल भन्नुस्, कहाँ जानुभाको थियो । ठूलै काम पर्‍यो कि हजुरको ?’

‘सर, म चिठी पुर्‍याउन गाको थेँ टीकापुर ।’

‘के चिठी, लभलेटर ?’

‘नाइँ,’ मेरा आँखा ताता भए, ‘बाले चिठी पुर्‍याउन भन्नुभाको ।’

‘ए ए, खराब त हजुरका बा पो रैछन्,’ सर टेबुलमा अडेस लागेर उभिए, ‘पढ्न आको छोरालाई क्लासै छोड्न लाउँदा रैछन् । किताब पनि फाल्न लाउँदा रैछन् ।’

मेरा आँखा ताता भए ।

‘ल नढाँटी भन्नुस्, कहाँ जानुभाको थियो ?’

‘फ… फिलिम हेर्न ।’

‘हिरो को थियो ?’ सरले नम्र भएर सोधे ।

‘मिथुन ।’

ढिसिऊ… सरले चड्कन लाइहाले । मैले क्यै उच्छार पाइनँ । गाला पन्युले डामेजस्तो तातो भयो र चिरिक्क दुख्यो । सरले मेरो कञ्चटको कपाल समाए ।

‘पढ्नु छैन । फिलिम हेर्न भाग्ने ? हिरो बन्ने ?’ सरले अर्को गालामा चड्कन लगाए । मलाई भाउन्न भएर आयो । म थुचुक्क बसेँ । सरले कतिबेला हो, लठी समाइसकेछन् । अटेरी गोरुलाई झैं सुम्ला उठ्नेगरी प्रहार गरे, ‘अब भन्, फेरि स्कुलबाट भाग्छस् ?’

‘नाइँ सर, म भाग्दिनँ,’ मैले हात जोडेँ ।

मैले सरको अनुहार देखिनँ । आँखा धमिला आँसुले टम्म थिए । मेरा जोडिएका हात र आँसु देखेर होला, सरले अर्को प्रहार गरेनन् । गएर कुर्सीमा बसे । मैले आँसु पुछिरहेँ ।

‘लैजाऊ किताब,’ सरले मधुरो स्वरमा भने ।

म आँसु पुछ्दै उठेँ । जताततै दुखिरहेको थियो । किताब समात्दा सरतिर हेर्न सकिनँ तर मेरा हात बेस्मारी काँपिरहेका थिए । म किताब समाएर बाहिर निस्केँ ।

म कक्षाकोठामा पसेँ । पढाइरहेका सर टक्क अडिए । मेरो अनुहारतिर हेरे । उनको अनुहार अँध्यारो भो । सबै विद्यार्थी मलाई भूतझैं हेरिरहेका थिए । म बेन्चमा बसेँ ।

फेरि आँसुले आँखा डम्म भए ।

हाफटाइमसम्म मेरा आँसु सक्किसकेका थिए । तर, गाला त सुन्नेछन् । म हाफटाइममा बाहिर निस्किनँ । डिल्ली मेरो वरिपरि घुमिरहेको थियो । ऊ बोल्न खोज्थ्यो तर सक्दैनथ्यो ।

आखिर उसले मुख खोल्यो, ‘बुद्धि, तँ फिलिम हेर्न गइस्, मलाई रिस उठयो । मैले नै सरलाई किताब देको हुँ । मलाई माफ गर्दे है †’

मैले पुलुक्क ऊतिर हेरेँ ।

उसले रुन्चे अनुहार लाएर भन्यो, ‘अब फिलिम हेर्न गइस् भने किताब राख्न मलाई नै देस् । म तेरो किताब कसैलाई दिन्नँ ।’

——-

साँझ आमाले मेरा सुन्निएका गाला सुम्सुम्याउनुभो । आमाको मन हो, चरक्कै दुखेछ । कराउनुभो, ‘यस्तरी पिट्ने हो ?’

बा चुपै बस्नुभो ।

‘तपैं भोलि नै गएर कुरा गर्नुस्,’ आमा राक्किनुभो, ‘केटाकेटीले गल्ती गर्छन् । गोरुझैं पिट्ने हो ?’

म झोक्राएर बसिरहेँ ।

‘हुन्दे,’ बाले भन्नुभो, ‘मैले पिटेको भए, बाले पिटे भनेर रुन्थ्यो, बिर्सिन्थ्यो । पराईले पिटे । अब यस्मा ईख जाग्छ । अब यसले गल्ती गर्दैन ।’

प्रकाशित: भाद्र १९, २०७२

(स्रोत : Kosheli – Kantipur)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.