कसैले बोनस बाँडे
कतै ‘फ्रिकल’ थियो,
यत्रो विपत्ति आएर गयो
तैपनि तिम्ले
मलाई चासो गरिनौ
एकचोटि पनि ‘कल’ गरिनौ।
कहिँ कतै पुरिएँ कि
कहिँ कतै थिचिएँ कि
घर ढलेर बेघर भएँ कि
मन जलेरै पो सकिएँ कि
खै त! कुनै वास्तै गरिनौ
जाबो एकचोटि पनि ‘कल’ गरिनौ।
मैले त हजारपटक गरेँ हुँला
तर तिम्रो व्यस्त रहन्थ्यो,
यता मेरो मन
अस्तव्यस्त रहन्थ्यो
अलिअलि त्रस्त रहन्थ्यो,
सायद मोबाइल
दुखेर चिच्याउँथ्यो होला
तर म कहिल्यै थाकिन
तिमीलाई सम्झिरहेँ
तिम्रो नम्बर थिचिरहेँ।
सायद मर्यो भन्ने ठान्यौ होला,
आफ्नो ग्रहदशा
टर्यो भन्ने ठान्यौ होला
पराईजस्तै मलाई
तिमीले मान्यौ होला
र त
आफ्नो सम्झिएर
वास्ता गरिनौ
मलाई २ रूप्पे खर्च गरेर
एक मिनेट पनि
‘कल’ गरिनौ!
(स्रोत : Suresh Badal’s Blog )