संस्मरण : एउटै किनारमा बिर्जु

~रमण घिमिरे~Raman Ghimire

जतिखेर शङ्कर लामिछाने ‘मृत्युको गीत वाल्जको धुन’ मा लेखिरहेका थिए। सायद म त्यस बखत बिर्जुको मादलको तालमा नाचिरहेको हुँदो हुँ। नाङ्लो जत्रो रक्तिम सूर्य तराईको अनन्त फाँट हिँडेर गोधूलिको क्षितिजपारिबाट बाईबाई गर्दागर्दै म कुनै डगरमा बिर्जुलाई पछ्याउँदै घर फर्किरहेको हुँदो हुँ। अथवा नजिकको बिचार्नी बजारको एउटा भट्टीमा सिलाबरे बटुकोमा तन्तनी जाँड घुट्क्याएपछिको उसको अमिलो अनुहार हेरर म कतिबेला उठ्छ र मलाई घर पुर्‍याउँछ भन्ने आसमा पर्खिरहेको हुँदो हुँ। यो धेरै वर्षअघिको कुरा हो। त्यसपछि वाग्मतीमा धेरै फोहोर बगिसके।

बिर्जु करुवाको दिनचर्यासितै मेरो बाल्यकाल बित्यो। या भनौँ मैले आमाको काखमा सुस्ताएभन्दा धेरै समय बिर्जुको बुइँ चढेँ। दिनभरि ऊ मेरो इच्छामा हिँड्थ्यो। म जता लैजा भन्यो, ऊ मलाई त्यतै लैजान्थ्यो। ऊ मेरो इसाराको पालना गथ्र्यो। आकाशमा सूर्य रहुन्जेल ऊ मेरो हुन्थ्यो। तर गोधूलिलाई छोप्दै मधेसको तुवाँलोमा मिसिएर साँझ हाम्रो गाउँमा पस्नासाथ बिर्जु अर्कै हुन्थ्यो। त्यस बेला म उसको हुनुपथ्र्यो। त्यसपछि ऊ मेरो रोड्याइँ, घुर्की या आदेशलाई केही डबका जाँडसितै तिलाञ्जली दिएर अर्कै बिर्जुको स्वरूपमा प्रकट हुन्थ्यो, सिनेमाको नायक अचानक खलनायक भएजस्तो। अब ऊ मेरो होइन, म उसको दास हुन्थेँ। ऊ मलाई मातेको सुरमा भन्थ्यो, दिनभरि मैले तँलाई बोकेँ, अब तँ मलाई बोक्।

मातेपछि बिर्जु मलाई के के भन्थ्यो, के के? तर उसले मादल छोएपछि त्यस मादललाई पनि तालको मात लाग्थ्यो। र, बज्थ्यो, मृत्युको होइन जीवनको ताल। बाहुन–क्षत्रीले जनै बेरेजस्तो ऊ मादलको ताँदो काँधमा भिथ्र्यो र बजाउन थाल्थ्यो– धिङ्ति नितिङ्, धितिङ् नितिङ्। अनि षोडषीहरू आफ्ना माटाका घ्याम्पोबाट हाँडी (जाँड) घुट्याउँदै बिर्जुको मादलको तालमा नाङ्गा पैताला चलाउन थाल्थे– छम्छम् छछम्छम्। एक, दुई, तीन हुँदै झन्डै डेढ दर्जन युवक–युवती हातेमलो गर्दै नाच्न थालेपछि हाम्रो गाउँमा दसैँ पस्दैछ भन्ने सूचना प्रवाह हुन्थ्यो।

भनेँ नि, मलाई बिर्जुको बुइँ आमाको काखभन्दा आनन्ददायी लाथ्यो। आमाको काखमा बसेर घुम्न पाइँदैन्थ्यो। बिर्जुको बुइँबाट म सारा दुनियाँको यात्रा गर्थे।

गाउँमा दसैँ आएको सङ्केत दिने त्यही मादल थियो बिर्जुको। हाम्रो गाउँमा भदौ अन्तिममा रोपाइँको मैजारो हुन्थ्यो। त्यसपछि बिर्जुहरू दसैँमा नाचगान गर्ने र धान–पैसा कमाउन कम्मर कसेर लाग्थे। हुन त उनीहरूको कुनै चाढविशेष थिएन। तर ‘पहाडे’ ले मनाउने चाढपर्व उनीहरूका लागि साँच्चिकै उत्सव हुन्थ्यो। दसैँ–उत्सवको तयारीमा उनीहरू समूहबद्ध भई राति अबेरसम्म मादल बजाउँदै गीत गाउँथे– ‘चहल ऐँठु, चहल पैँठु वन के सिकार रे’। मादलको यो धुन सुनेको भोलिपल्ट दसैँ–आगमनको सङ्केत छर्दै बिहान पूर्वी आकाशमा कलिलो घाम झुल्किन्थ्यो।

बिर्जुको गाउँमा दसैँ सकिँदानसकिँदा फुक्का युवक–युवतीहरूको जोडी बाँधिइसकिन्थ्यो। राती हाँडी खाएर अभ्यास गर्दागर्दै र अभ्यास सकेर दसैँभरि गाउँघर घुम्दै नाच्दानाच्दै किशोर–किशोरीको प्रेमाभ्यास पनि पराकाष्टामा पुगिसकेको हुन्थ्यो। अनि कुनै राति घरकी छोरी हराएको हल्ला बिहान बिर्जुको मादलको ‘धिङ्ति नितिङ् धितिङ् नितिङ्’ को आवाजभन्दा चर्को भएर गाउँभरि फैलिन्थ्यो। अनि खोजी हुन्थ्यो, कुन घरको केटा बेपत्ता छ? बस्, त्यसपछि थाहा हुन्थ्यो, त्यो युवती कोसँग घरजम गर्न गइछ। अनि सजाय सुनाइन्थो, केटा पक्षलाई। ५१ रुपियाँ, एउटा रातो भाले र केही बोतल रक्सी। त्यो केटाको बाबुले सरदारलाई चढाउँथ्यो। अनि फैसला हुन्थ्यो, ‘अबदेखि तिमीहरू बूढाबूढी (पतिपत्नी) भयौ।’

बिर्जु आफैँ गाउँको सानोतिनो सरदार पनि थियो। हामीलाई मातेको सुरमा त्यसको धक्कु कहिलेकाहीँ धम्कीको स्वरमा प्रकट गथ्र्यो। अरू बेला सदा शान्त र हँसिलो, जुँगामुट्ठे बिर्जको सन्त अनुहार।

उसको आकाश त्यति फराकिलो थिएन। उसले सोच्ने भनेको बिहान–बेलुकाका दुई छाक आफू र परिवारका लागि, बस् यत्ति। उसलाई श्रीमतीले गरेको बनिबुतोबाट केही त भरथेग हुन्थ्यो। अलि ठूला भएपछि छोराहरू पनि कमाउन थाल्थे। छोरी यसरी नै मादलको ‘धिङ्ति नितिङ् धितिङ् नितिङ्’ को तालमा कसैसँग टाप कस्ती। यसरी हेर्दा आफ्नो जीवन बँचाइप्रति उसलाई खासै गुनासो थिएन। यस्तोमा कहिलेकाहीँ साँझपख एक बोतल खोयाबिर्के तन्काउन पायो भने उसको यस धर्तीमा आउनुको उद्देश्य पनि पूर्ण हुन्थ्यो। भन्थ्यो, ‘आमासँग मागेर मलाई एक रुपियाँ दे न! म तँलाई बल्छी खेल्ने चारो खोजिदिन्छु।’ चारो भनेको गड्यौला। गड्यौला उनेर होली (टुकचा) मा बल्छी हालेपछि माछा गँड्यौलाको गन्ध पछ्याउँदै आएर जोडजोडले बल्छी हल्लाउन थाल्थ्यो। अनि फुत्त तान्यो माछा परिहाल्ने। म आफ्नो बल्छी खेल्ने रहर पूरा गर्न आमाको थैलीबाट सुटुक्क एक–दुई रुपियाँ फुत्काउँथेँ र बिर्जुलाई दिन्थेँ। अनि बेलुका मातेर बिर्जुले आमाका अघिल्तिर त्यो चोरीको साक्षी बकिदिन्थ्यो दिन्थ्यो। मलाई पर्नु फसाद पथ्र्यो।

यतिखेर म सोचिरहेछु– बिर्जुले बाँचेको भन्दा गतिलो जीवन मैले बाँच्न सकेँ र? कति आनन्दमा बाँच्थ्यो ऊ। सधैँ अभावै–अभाव बेहोरेर पनि हाँसिरहन सक्थ्यो। न कुनै अभावको पीडा, न कुनै भविष्यको चिन्ता? ऊ सधैँ वर्तमानमा बाँच्थ्यो। अहिले खाएपछि भरेको छाक कसरी टार्ने भन्ने चिन्ता उसले भगवान्को पन्छ्याइदिन्थ्यो। भन्थ्यो, ‘किन फिकर गर्नु भाइ, उसले जन्मायो भने, उसैले खुवाउँछ।’

जीवनको अन्धकार अवस्थामा ऊ बाँचिरहेको थियो। तर त्यस अन्धकारबारे उसलाई कुनै आभास थिएन। जीवन त्योभन्दा सुखी हुन सक्छ भन्ने कल्पना र यत्नहरू मनमा बयली खेले पो त्यसका लागि फड्को मार्ने जुक्ति सोच्नु? उसलाई त ‘म जे छु ठीकै छु’ नियति नै प्यारो थियो। अनि त्यो गोमनसरी गाउँ, त्यसवरिपरिका बारका हिसाबले लाग्ने हटिया– बिचार्नी, मङ्गली, धुलाबारी र धेरै टाढा भए नक्सालबाढी, बिर्जुका गन्तव्य थिए। त्यहाँभन्दा परको भूगोलको ज्ञान थिएन उसलाई। अनि उसको ध्यानदृष्टिले विचरण गर्ने क्षितिज पनि त्यहाँभन्दा पर थिएन। सायद मानिसका पाइला जति टाढा पुग्न सक्छन््, उसको सोचाइ र कल्पना पनि त्यति नै विस्तारित हुँदै जान्छन्। त्यसैले साउँअक्षर नचिनेको बिर्जुले किताबमा भेटिने गोमनसरी गाउँभन्दा परको दुनियाँ सोच्ने सम्भाव नै थिएन। एकपटक इलाम पुगेको थियो हाम्रो घोडा चढेर दाजुहरूलाई मधेस झार्न। उसका निम्ति त्यही एकपटकको यात्रा जीवनपर्यन्त दन्त्यकथा बनिरह्यो। र, त्यही किस्सा आफ्नो सम्प्रदायमा दोहार्‍याई–तेहर्‍याई बयान गरेर ऊ गजक्क पथ्र्यो। किनभने यति टाढाको यात्रा गर्ने करुवा जातिमा बिर्जु मात्र एक्लो कोलम्बस थियो।

बिर्जुले हामीलाई खैनी खान सिकायो तर रक्सी खान कहिल्यै उक्साएन। भन्थ्यो, ‘बाहुनले रक्सी खायो भने जात जान्छ।’ कालान्तरमा बिर्जुसँगको सङ्गत छुटेपछि मैले जात जाने काम पनि गरेँ तर बिर्जुलाई यो कुरा कहिल्यै भनिनँ। ऊ आफ्नो निष्ठामा बस्थ्यो। आफू मापसे गरे पनि हामीलाई त्यसको नजिक पर्न दिँदैन्थ्यो। उसको निष्ठा थियो– सेवा, नि:स्वार्थ सेवा। मेरो खुसी पूरा गर्नु उसको सेवा। मेरो रहर माफिक काम गरिदिनु उसको सेवा। मेरो इच्छा र रोड्याइँलाई सार्थक पार्नु उसको सेवा। हाम्रो खेत जोतेर अन्न भित्र्याइदिनु उसको सेवा। बदलामा दुई छाक भात र केही कट्ठा (पाथी) धान उसको सेवा शुल्क।

बिर्जु बिहानै उठेर हाम्रो घरमा आउँथ्यो र राँगा–गाडा जुटाएर जर्ना (दाउराका लागि काठ) लिन दस–पन्ध्र किलोमिटर टाढाको जङ्गलतिर लाग्थ्यो। कहिलेकाहीँ मलाई उसको पछि लाग्न मन लाग्थ्यो। तर ऊ जान दिँदैन्थ्यो। ‘बाघभालु लाग्छन् भाइ, तँ भाग्न सक्तैनस् नजा, पछि ठूलो भएपछि म तँलाई जैजान्छु’ भन्थ्यो। तर त्यो ‘पछि’ मेरो जीवनमा कहिल्यै आएन। बिहान आमाले पकाएको जलपान (बिहानको खाजा) खाएर एउटा खानाको पोको बोकेर निस्केको बिर्जु एकैचोटि साँझ छिप्पिएपछि आउँथ्यो गाडाभरि मुढा बोकाएर। र जति नै थाकेको भए पनि एक थाल भात खाएर सुतेपछि उसको त्यो थकाइ ‘छु मन्तर’ हुन्थ्यो। बिहान फेरि त्यसरी नै पूर्ण स्फूर्तिका साथ काममा जोतिन्थ्यो। कहिलेकाहीँ मलाई बिर्जु र हाम्रो खेत जोत्ने राँगा उस्तै लाग्थे। बिर्जु राँगालाई जोत्थ्यो, हामी बिर्जुलाई।

मानिसलाई रमाउन धेरै कुरा चाहिँदैन भन्ने ज्वलन्त उदाहरण थियो बिर्जु। र, रमाउने सबैभन्दा ठूलो माध्यम थियो, त्यही रक्सी र मादल। रक्सी पिएको राति ऊ त्यसरी नै मादल ठोक्थ्यो र एक्लै गाउँथ्यो भाषा नबुझिने गीत। दसैँबाहेक बिर्जुको मादल बज्यो भने यसले आज अलि बढ्दै मापसे गरेछ भन्ने बुझ्दा हुन्थ्यो। ऊ सुखान्त हुँदा मादल बजाउँथ्यो र मादल बजाउँदा रक्सी खान्थ्यो। घरमै धान कुहाएर बनाएको हाँडी अक्सर बिर्जुको आनन्दको खान्की हुन्थ्यो।

बिर्जुका मनमा पनि आममानिसमा जस्तै पीडा हुँदा हुन् तर ती पीडा अव्यक्त थिए। उसको मनमा के सकस छ? हामी थाहा पाउँदैनथ्यौँ। सायद ऊ आफ्ना ती अव्यक्त पीडालाई कवि भूपि शेरचन या निबन्धकार शङ्कर लामिछानेले जस्तै रक्सीसित पिइदिन्थ्यो। उसको जिन्दगी हरेक १२ घन्टाको हुन्थ्यो। सूर्योदयदेखि सूर्यास्तसम्म। हलो जोत्नु, आली लाउनु, घाँस काट्नु, राँगा चराउनु– उसका नियमित आकस्मिकता थिए।

म काठमाडौँबाट फर्किने दिन बिर्जु हाम्रो परिवारभन्दा खुसी हुन्थ्यो। उसलाई मैले दिएका केही जड्यौरी र एक–डेढ सय रुपियाँले उसको जीवन सार्थक भएको ठान्थ्यो ऊ। ‘धेरै पैसा नदे भाइ, यसले रक्सी खाएर ताइतमास गर्छ’ भन्थी उसकी श्रीमती। तर बिर्जुलाई मैले केही नदिनु भनेको मेरा लागि सबैभन्दा ठूलो अपराध हुन्थ्यो। ऊ मात्छ, उसको स्वास्थ्य बिग्रिन्छ, ऊ अब बूढो भइसक्यो पहिलाजस्तो रक्सी धान्न सक्तैन भन्ने मलाई थाहा नभएको होइन। तर बिर्जुले मैले पैसा नदिए पनि ऊ कतै न कतैबाट मात्ने जोहो गरिहाल्थ्यो। अनि ‘खाने मुखलाई जुँगाले छक्ने’ असम्भव प्रयत्न किन गरूँ म, भन्ने ठान्थेँ। बिर्जुको सानो खुसीसित मेरो अनन्त आनन्द गाँसिएको थियो। र बिर्जुलाई उसले रक्सी खान्छ भन्ने जान्दाजान्दै पनि हरेकपटक रक्सी नखाने सर्तमा रुपियाँ दिन्थेँ। अनि ‘हुन्छ खान्नँ’ भन्दै गोजीमा पैसा हालेर निस्केको बिर्जु साँझ धर्खरिँदै आएर मसित फेरि रक्सी खान पुगेन भन्दै पैसा माथ्यो।

आज बिर्जु यस संसारमा छैन। मलाई बुइँ चढाएर हटिया घुमाउन लैजाने बिर्जु रक्सी नखाएकै भए पनि अहिलेसम्म यो दु:खी धर्तीमा टेकिरहने थिएन होला। तर उसलाई दुनियाँबाट बिदा हुने दोष रक्सीलाई नै दिइयो। त्यस रक्सीमा पाँच–दस प्रतिशत हात मेरो पनि रह्यो होला, यो बेग्लै कुरा हो। तर मलाई अहिले पनि दसैँमा गाउँ जाँदा बिर्जुको सम्झनाले भक्कानो पार्छ। उसको मादलको ‘धिङ्ति नितिङ् धितिङ् नितिङ्’ मेरो आत्मामै प्रतिध्वनि भएको आभास हुन्छ। अब हाम्रे गाउँबाट करुवा जाति विस्थापित नै भइसके भने पनि हुन्छ। अचेल दसैँमा मातको त्यो मीठो ताल प्रतिध्वनित हुँदैन। ऊ बाँचेको भए सायद फेरि भन्नेथियो होला, ‘भाइ दारु खाने पैसा दे न!’ सायद होइन पक्कै भन्थ्यो। म केही नभनी खल्तीबाट सय–दुई सय झिकेर उसको हातमा हालिदिन्थेँ होला। ऊ ती केही सयका नोट बोकेर निस्किन्थ्यो र राति मातेर रक्सी खान पुगेन भनेर मसित फेरि पैसा माग्न आउँथ्यो होला। म उसलाई झपारे अहिले गइहाल, भोलि आउनु भन्थेँ होला। अनि सायद ऊ वचनबद्ध भएर धर्खरिँदै घर फकिन्थ्यो होला। अब यो कल्पनाले कहिल्यै यथार्थ नहुने गरी नेटो काटिसेकको छ।

अहिले सम्झिन्छु– म बिर्जुको बुइँ चढेर हुर्किएँ, पढेँ, राजधानी आएँ र यति लेख्न सक्ने भएको छु। तर बिर्जु आज छैन। भएको भए ऊ त्यही गाउँमा दु:खका अनेकौँ पोयाहरू बटार्दै बाँच्नका लागि सङ्घर्ष गरिरहेको हुने थियो। मलाई लाग्छ बिर्जु त्यस्तो बोटे थियो, जो असङ्ख्य मानिसहरूलाई गन्तव्यको बाटो देखाएर पनि आफूचाहिँ त्यही एउटै किनारमा पर्खिरहेको हुन्छ।

प्रकाशित: आश्विन ५, २०७२

(स्रोत : Kosheli – Kantipur)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.