संस्मरण : ओ निकारागुआ!

~युयुत्सु आरडी शर्मा~Yuyutsu RD Sharma

एउटा चराको उग्र स्वरले मेरो सपना बिथोलिदिएको थियो। लामो चर्को स्वर–सिम्फोनी कुनै मखमली घाँटीको गहबाट कतै निस्कन्थ्यो र फैलिन्थ्यो आधा मिनेटसम्म एकनास। अनि दोहोरिन्थ्यो पटक पटक । मानौं कि, थुपै्र रङहरूको सिसी फुटिरहेको थियो।

‘कहाँ आइपुगेको हुँ म?’ मैले प्रश्न गरेँ निद्रामा र आँखा खोलेर माथि छतमा लामो झुन्डिएको बत्ती र पङ्खा हेर्दै आफूलाई सोधँे, ‘के यो पोखरा हो? वा कुनै अन्य हिमाली गन्तव्य?’ माछा, ताल र सिमसारहरूको गन्ध मेरो थकित नसाभित्र फैलिरहेको थियो।

मैलै ढोका खोलँे र बाहिर बरन्डामा निस्किएर हेरें, तल होटल डारियाको आँगनमा एउटा फोहरा मन्द गतिले झ्याम्म रूखहरूका बीच फुटिरहेको थियो। पर आकाश नीलो र स्वच्छ। हिउँ कतै थिएन। न्युयोर्क त मैले पछाडि नै छाडेर आइसकेको थिएँ। एउटा सक्रिय ज्वालामुखी निरन्तर लाभा फालिरहेको थियो निकारागुआ तालको किनारामा।

चार दिन लगाएको निकारागुआको यात्रा मेरो जीवनको सबैभन्दा लामो र एकलमध्ये एउटा थियो।
———

‘किन हिँडेको तिमी आफ्नो घर छाडेर? किन पुगेको पृथ्वीको अर्को किनारतिर आफ्ना प्रियजनहरूलाई छाडेर? आफ्नी प्रियसीको राजसी अनुहार नेपालमै छाडेर यस महाद्वीपमा प्रवेश गर्नाको केही अर्थ छ र? किन भौँतारिरहेको कुनै फिरन्तेझँै?’ मैले आफैँलाई सोध्दै थिएँ।

निकारागुआ टापुमा उत्रिँदा मलाई कुनै नयाँ नक्षत्रमा उत्रेझैं लाग्यो र विभिन्न कारणले गर्दा एकैचोटि विकट र आत्मीय दुवैजस्तो लागिरहेको थियो। त्यस महाद्वीपमा खुट्टा राखेपछि मलाई लाग्यो कि सायद मैले त्यसलाई पहिल्यै सपनामा देखेको थिएँ। बोर्खेज, मार्खेज, पाब्लो नेरुदा, सिसर भयाको, अक्टाभिया पाज र फादर अर्नेस्टो कार्डिनलको रचना संसारमा हो कि? तर वास्तविक जीवनमा म सो महाद्वीपबाट त्रसित पनि थिएँ।

जाने बेला नै भिसाको झमेलाले गर्दा मेरो ल्याटिन अमेरिका देख्ने जाँगर हराइसकेको थियो। निकारागुआ बिर्सन बेस होलाजस्तो पनि लाग्यो। सलमान रुस्दीको किताब ‘द जागुअर स्माइल’ को सम्झना मलाई आइरह्यो। उक्त किताबले निकारागुआको नेपालजस्तै प्रजातन्त्रका लागि भएको सशस्त्र सङ्घर्षको भयानक बयान गर्छ। पश्चिमेली जगत्को सुरक्षाभन्दा फरक गरिबी र अभावको अनुहार जुन मैले वर्षौंदेखि भोगिरहेको थिएँ, फेरि मस्तिष्कमा अवतरित भयो। मलाई मेरो कवितावाचनबापत पारिश्रमिक दिइने पैसा आयोजकसित थिएन। म ल्याटिन अमेरिका कहिल्यै गएको थिइनँ। न्युयोर्कमा ट्रेडर्स जोज वाइन सपमा क्रिसमस पाटीका लागि वाइन किन्दा मेरो अगाडि उभिरहेको दम्पती निकारागुआमा पाँच वर्ष बसेर आएको र त्यहाँको राजनीतिक परिस्थितिप्रति चिन्तितझँैं देखिएको थियो। लोग्नेले मलाई सरकारी अतिथि भएकाले मेरो अपहरण हुने खतरा कमै छ भनेर मलाई जिस्कायो।

कविता पाठका लागि पारिश्रमिक नलिई कहीँ नजाने मेरो सर्त भए पनि आधा हवाई टिकटबाहेक कुनै व्यवस्था थिएन। मेरो स्पेनीमा नयाँ किताब ‘पोएमा ड लो हिमालय’ स्पेनको कोर्डोवाबाट प्रकाशन भएको थियो। केही खर्च त्यो पुस्तक हस्ताक्षर गरेर आउने आशा मात्र थियो। मैले उनलाई मेरो नयाँ किताब उक्त महोत्सवमा विमोचन गर्न अनुरोध गरें। उनले मलाई प्रसिद्ध कवयित्री निकारागुआकी जोकन्द बेलीलाई पत्राचार गर्न अनुरोध गरेका थिए। जोकन्दसित मैले लन्डनमा तीन वर्षअघि भेटेको थिएँ। सलमान रुस्दीले उनको चर्चा ‘द जागुआर स्माइल’ नामक किताबमा निकै ठाउँमा गरेका थिए।

सम्पूर्ण कार्यक्रम मेरो हातमा आएपछि थाहा पाएँ– पहिलो दिनमै मेरो किताबको विमोचन जोकन्दले गर्ने र त्यसै राति उद्घाटन समारोहको प्रमुख कविता पाठमा मैले पनि विश्वप्रख्यात कवि फादर अर्नेस्टो कार्डिनलसित कविता वाचन गर्ने व्यवस्था मिलाइएछ।
फादर कार्डिनललाई किशोरावस्थादेखि नै मैले पढिरहेको थिएँ। उनी एउटा पादरी भएर पनि चर्चलाई क्रान्तिकारी परिवर्तनका लागि प्रयोग गर्ने कविका रूपमा विश्वभरि चिनिन्छन्। यहाँसम्म कि भेटिकन पोपले उनको क्रियाकलापको भत्र्सना गर्दै स्पष्टीकरण मागेका थिए।

नेरुदा र पाजपछि कार्डिनललाई प्रमुख ल्याटिन अमेरिकी स्रष्टाका रूपमा चिनिन्छ। सोही मञ्चमा मसित अर्का प्रसिद्ध कवि संयुक्त राज्य अमेरिकाका रिचर्ड ब्लान्को थिए। क्युबा मूल भएका समलिङ्गी कवि ब्लान्कोलाई राष्ट्रपति ओबामाले दोस्रोचोटि राष्ट्रपति निर्वाचित भएपछि आफ्नो शपथग्रहण समारोहमा कविता पाठका लागि छानेका थिए। ब्लान्को क्युबाली र समलिङ्गी दुवै भएकाले त्यसबारे निकै चर्चा भएको थियो।

——-

पहेंलो दरबारजस्तै देखिने चर्चको छेउमा ठूलो टुँडिखेलजस्तो फराकिलो देखिने मैदानमा कार्यक्रम राखिएको थियो। हजाराँैं श्रोताका बीचमा मेरो स्वरलाई छेउमा उभिरहेको एक युवक कविले मेरा वाक्यहरू स्पेनीमा अनुवाद गरी श्रोतालाई सुनाइरहेका थिए।

‘मलाई लाग्छ यो मेरो जीवनको सबैभन्दा महत्त्वपूर्ण घटना हो, फादर अर्नेस्टो कार्डिनलसित एउटै मञ्चबाट कविता पढ्ने मौका,’ मैले फेरि भनें। एकछिन त्यहाँ केही चालचुल भएन। फादर कार्डिनल मनमनै मुस्कुराइरहेका थिए मेरो डायसको छेउमा ध्यानपूर्वक सुन्दै। ‘मैले सायद पूर्वजन्ममा दस हजार गाई दान गरेको हुँला, फलस्वरूप यी महान् कविसित साझा मञ्चमा उभिन पाएको छु, यी कविले विश्वभरि कवितालाई जीवित राखेका छन्,’ म भन्दै गएँ।

केही घन्टाअघि मेरो स्पेनी किताब ‘पोयमा द लो हिमालय’ को विमोचन भएको थियो। खुला चोकमाथि चर्को घाम निस्केको थियो प्रचण्ड ऊर्जा बोकेर सर्वसाधारण र पर्यटक त्यहाँ पालमुनि जम्मा भएका थिए। मैले ‘खच्चर’ शीर्षक कवितावाचन सुरु गरें र त्यसपछि ‘गोपालप्रसाद रिमाल’ शीर्षक पढें। त्यसपछि जोकन्द बेलीको सम्मानमा केही प्रेम कविता पढें। भोलिपल्ट निकारागुआको प्रतिष्ठित दैनिक ‘लाप्रिन्जा’ पत्रिकाले हिमाली कविताहरूले निकारागुआलाई जितेको तथ्य उल्लेख गरेको थियो।

निकारागुआमा कविता हरेक मानिसको साझा सम्पत्तिजस्तै देखिन्छ, बहुराष्ट्रिय कम्पनीहरूको दयामा आश्रित कुनै प्रपञ्च हैन। मेरो पाठ सकिएपछि पार्कमा बस्ने एकजना घरबारविहीन व्यक्तिले पनि मलाई बधाई दिएका थिए।

——-

अर्को दिन बिहान हामी आमन्त्रित कविहरूलाई निकारागुआको तालको बीचको एउटा टापुमा वनभोजका लागि लगिएको थियो। बायाँतिर कालो हरियो ज्वालामुखी पर्वतले छेकेको र तालको बीच–बीचमा ससाना टापुमा मानिसहरू बसोबास गरिरहेको देखें मैले। समोजाविरुद्ध स्यान्डिनिस्टा लडाकुहरूको सङ्घर्षका लागि यस्तो भूभाग निकै सहायक भएको होला भन्ने मैले अनुमान गरें। हरिया उष्णप्रदेशीय रूखहरूले भरिएका ती टापुहरूका बीचमा ठूल्ठूला सेता बकुलाहरू सन्तजस्तै बसिरहेका थिए। हामीलाई लाइफ बेल्ट दिएर विभिन्न डुङ्गाहरूमा लगिँदै थियो र त्यहाँ एउटा उत्सवको वातावरणजस्तै बनेको थियो।

मेरो चिन्ता निकारागुआ नहरमाथि थियो, जुन त्यस तालको गहिराइभन्दा पनि गहिरो हुने थियो। नहर बनाउन र व्यापारिक जहाज आवतजावत गर्न कोसौं कोससम्म फैलिएको विशाल तालको पींधै फुटाउनुपर्ने थियो। तालमा बस्ने बुल सार्कलाई विश्वकै एक अद्भुत जीव मानिन्छ र यसको नाम पनि निकारागुवा सार्क राखिएको छ। तालमा सात सय पाँच प्रकारका चरा, छ सय ४० प्रकारका माछा र पाँच हजार सात सय ९६ वनस्पति पाइन्छन्।

त्यसैबेला मेरो दायाँपट्टि भएको सानो टापुबाट एउटा चरा सिम्फोनी मेरो कानमा गुन्ज्यो। त्यो परिचित चराको उत्तेजित स्वरले मानव अतिक्रमणलाई ठाडै चुनौती दिइरहेको जस्तो मलाई लाग्यो। फादर कार्डिनलले लेखेका कविताहरूमा भएको चराझैं त्यसले प्रकृति र आदिम जनजीवनमाथि मानव हस्तक्षेपको उपहास गरिरहेको थियो।

प्रकाशित: आश्विन २, २०७२

(स्रोत : Kosheli – Kantipur)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.