‘दाजू राधा घरमा छैने?’ आवाज सुनेर यसो हेरेको माया आएकी रैछे।
‘छे-छे कोठामा होली, उतै जाउ’ मैले इशारा दिए। माया बहिनीकी साथी थिई, बेलाबेलामा हाम्रो घरमा आइरहन्थी। उनीहरूको पढ्ने स्कुल फरक थियो तर गाउँका उनीहरू राम्रै साथी थिए। मङ्गोल अनुहार, मिलेको जीउ थियो मायाको। भर्खर दशमा पढ्दै गरेकी ऊ निकै चञ्चले थिई, चुलबुले थिई। म सँग त्यति बोल्दिनथी ऊ, तर पनि उसलाई देख्दा किन-किन दिलमा खलबली भएझै लाग्थ्यो, नशाहरू मन्द भैदिन्थे। माया मेरै बहिनीको उमेरकी थिई, ऊ भन्दा २ बर्ष जेठो म भने त्यतिखेर ११ मा पढ्दै थिए। एक हिसाबले म मायाको मायामा हराउन थालिसकेको थिए, मायाले मलाइ आफूतिर खिच्न सफल भैसकेकी थिई। ऊ हाम्रो घरमा बहिनी खोज्दै आइरहन्थी र अनपेक्षित रूपमा मलाइ ‘दाजू’ भनेर बोलाउथी। मलाइ भने किन-किन उसले दाजू नभनिदिए हुन्थ्यो झै लाग्थ्यो,’उसले पनि नचाहेरै दाजू भनिरहेकी छे र त बोलीमा अस्वाभाविकता देखिएको छ’ मनमा यस्तै भान हुन्थ्यो। मायाको एउटा अनौठो बानी के थियो भने ऊ जब म सँग कहिलेकाही केही कुरा गर्थी तब उसको सिर्फ १ नजर ममा पर्दा वरपरका हरेक वस्तुमा दश नजर पर्थ्यो। लाजले हो या उसको बानी नै यस्तो, मैले मेसो पाउदिनथे।
‘दा…जू राधा छे हैन त?’ ऊ एकदिन दिउँसोतिर फेरी आई।
‘अहँ आज त मामाघर गाकी छै बिहानै।’ उसले आश्चर्यमा नाकमुख-आँखा जम्मै खुम्च्याई।
‘छ्या! आज झन् सपिङ जानुथ्यो, यो राधालाई नि यै बेलामा..!’ एकछिन रोकिएर उसले भनी-‘दाजू तपैको बजार जाने काम त छैन नि है?’
मैले हत्तपत्त ‘छ छ’ भने,बजारको साथी राजुले भेट्न बोलाएको थियो मलाइ हिजो।
‘ए ए ए जाम् हिन्नु उसो’भे, ढिला हुन थाल्यो।’ घरमा आमाबा नि हुनुहुन्थेन। हतारहतार तयार भई लुरूलुरू मायासँगै बजार गए। बाटोमा त्यति धेरै कुरा भएन।
ऊ सिधै ‘लेडिज फेन्सी’ मा पसी, म पनि पछिपछि जानैपर्यो।उसले एक जोर सेण्डल किनी, विभिन्न कलरमा देखाइएका कुर्तातर्फ इशारा गर्दै उसले सोधी- दाजू तपैलाई कुन कलर मन पर्छ? ‘किन्ने तिमी, लगाउने तिमी, आफूलाई जे कलर मन पर्छ त्यही लिउ न’ मैले ठाडो उत्तर दिए। आँखा चम्काउदै उसले एउटा चूज गरी। फेन्सीबाट निक्लेर नास्ता खाइवरी हामी घरतिर फर्कियौ। ‘ह्या.. राजुलाई भेट्न गाको’भे नि हुने नि! मेरो केही काम नभएको देखेर त्यत्तिकै म सँग पछि लागेर गयो भनी होली त्यल्ले!’ घरमा पुगेपछि पछुतो लाग्यो।
एक साँझ बहिनी भान्सामा प्याज काट्दै थिई। मैले जिस्काए-‘ज्वाइँसाहेब भा’भे आँसु पुछिदिन्थे होला नि है!’ उसले कडा स्वरमा भनी-‘अँ तपैलाई त्यो मायाले पुछिदिएमात्र!’ छाती ढक्क फुल्यो। ‘के भनेकी? माया रे? हेर राधा बिचार पुर्याएर बोल्। जे पायो त्यही प्याच्च नबोल है! म त फेरी!’ मैले दाह्रा किट्न थाले। मैले यसरी प्रतिकार गरे कि मानौ ‘मायालाई मैले त्यस्तो सोचेकै छैन र सोच्नु पनि पाप हो भन्ने मलाइ लाग्छ।’ बहिनी अनपेक्षित गाली सहन नसकी रून थाली, म भने लुसुक्क कोठातिर लागे।
एघारको बोर्ड परीक्षा नजिकिदै थियो, केटाहरूको सङ्गतले त्यतिखेर चुरोट पिउने बानी परिसकेको थियो।एकसाँझ घरमाथिको मोटरबाटोको करिब १२ हात मुन्तिर कान्लामा उधोमुन्टी बसेर घरकाको आँखा छल्दै चुरोट पिउदै थिए। यस्सो बाटोतिर आँखा लगाए, केही पर माया आइरहेको देखे। अब भाग्नभन्दा पनि उसले नचिनोस् भन्नेतर्फ ध्यान केन्द्रीत गरे। त्यसैले आवाज नचिनिने किसिमको मोटोमोटो बनाएर यम बरालको ‘माथि तारे भीर तल गह्रौ दिल..’ भन्ने गीत गाए, चुरोट तान्दै। बाटोतिर पिँथ्यु फर्काएकाले अनुहार उसले देख्न पाइन र को रहेछ भनेर जान्न नलागी ऊ बाटो लागी। त्यो दिन मैले नयाँ टिसर्टको उद्घाटन गरेको थिए र त्यसबखत त्यही नै लगाएको थिए। टिसर्टकै आधारमा मायाले चिन्ली र थाहा पाउली भनेर मैले फेरी त्यो टिसर्ट कहिल्यै लगाइनँ, बाकसको कुनामा नदेखिने गरी कोचेर राखिरहे।
परीक्षा सकियो, सोचेजस्तो राम्रो नभएकाले बाह्रमा त राम्ररी पढ्नपर्छ भन्ने निर्णयमा पुगेको थिए। एक साँझ घरमा बाआमाबीच मेरो तर्फबाट भित्रिने बुहारीको कुरा भएजस्तो लाग्यो, नजिकै गएर बसे। आमाले भन्नुभयो-‘हेर अजय जेठो भने पनि कान्छो भने पनि तै होस्, कुलको नाक राख्ने जिम्मा तेरै हो, बुहारी चाहि जात मिल्ने नै हुनुपर्छ, मगर्नी,बाहुनी गुरूङनी केही हैन, क्षेत्रीनी हुनपर्छ।’ मैले ठट्टा गर्दै भने- ‘लू क्षत्रीले ल्याएपछि क्षत्रीनी त भैहाल्छ नि!’ आमाले अरू नि के-के कुरा गर्ने मुडमा हुनुहुन्थ्यो। म भने ‘मानिस ठूलो दिलले हुन्छ, जातले हुदैन’ भन्दै गाउँकै साथीकोमा जान निक्ले!…..
बहिनीहरूको एसएलसीको रिजल्ट आयो। बहिनी र माया दुबै छुट्टाछुट्टै स्कुलबाट फस्ट डिभिजनमा पास भए। म पनि १२ को पढाइमा अलि धेरै नै बल गरिरहेको थिए। मायाप्रतिको मायामा भने हल्का गिरावट आइरहेको मैले महसुस गर्न थालें। बहिनी र माया अब भने दुबै मैले पढिरहेकै +2मा भर्ना भए, तर पनि न त म मायासँग धेरै कुरा नै गर्थे न त उति साह्रो हाम्रो भेट नै हुन्थ्यो। आखिर एकतर्फी माया थियो। म घुसघुसेले आफैलाई बाहेक अरूलाई थाहै दिएको थिएन यो कुरा। अनि मायाले पनि म प्रति त्यस्तो व्यवहार देखाएजस्तो महसुस पनि हुन्थेन। एकोहोरो अव्यक्त प्रेममा को रमाउन सक्थ्यो र। आखिर त्यो प्रेम मेरो एकजना साथीले भनेझै ‘शुरूवात नै नभई अन्त्य’ हुने तरखरमा थियो, मैले त्यसलाई बचाउन प्रयाश गरिनँ, न त त्यसो गर्न आवश्यक नै ठानें।
बाह्रको बोर्ड परीक्षा पनि नजिकिदै थियो। एक साँझ बहिनीले भनी- ”दाजू! थाहा पाउनुभो, मायाको बिहे हुने भयो नि! एउटा पुलिससँग,घरकाले कुरा छिनेछन्।”
”ए ठीकै भएछ नि त!’ मैले त्यति आश्चर्य मानेनँ। नभन्दै त्यसको १०-११ दिनपछि मायाको बिहे भयो। म भने जाँच आएको छ भन्ने बहाना बनाएर उसको बिहेमा जाने चेष्टा गरिनँ। बिहे भएको एक महिनापछि माया आफ्नो पुलिस लोग्नेसँग बहिनीलाई भेट्न भनेर हाम्रै घरमा आई, माइती आएको मौकामा। उसले त्यतिखेर मलाई ‘नमस्ते दाजू’ ले सम्बोधन गरेकी थिई। उसको लोग्नेसँग नि चिनजान गराई मायाले। केही बेरपछि उनीहरू गए। मेरो कानमा भने ‘नमस्ते दाजू’ निकैबेर गुञ्जायमान भइरह्यो।
परीक्षा पनि सकियो, राम्रै भएको थियो। मायाको बिहे भएको नि ३ महिना भइसकेको थियो। अर्को एउटा एक दिन दिउँसो म घरमै इङ्ग्लिस फिल्मको डिभिडी हेर्दै बसेको थिए। मोबाइलमा फोन आयो, नयाँ नंवर थियो।
”तपाइ अजय क्षेत्री हो?” उताबाट सोधियो।
”हजूर हो, तपाइ को होला?”
उसले भन्यो- ‘म मायाको श्रीमान्, अनि के हो तपाइ त मायाको पहिलो प्रेमी रैछ नि है?’
मैले सम्हालिएर भने-”यो सब तपाइ के भनिरहनुभएको छ?”
उसले कड्किदै भन्यो -”हेर्नुस् धेरै सोझो बन्न नखोज्नुस्, मैले भर्खर मायाको पुरानो डायरीमा लुकाएर राखिएको प्रेमपत्र भेटें, तपाइको नंवर पनि त्यही डायरीबाट लिएको। उसले त तपाइलाई चिठी लेखिछे, तपाइले नि लेख्नुभो होला नि मिस्टर! राम्ररी नै झाङ्गियो होला है प्रेम? त्यही भएर पो माया तपाइको घरमा जाँदी रैछ, पुरानो प्रेमीलाई भेट्न। प्रेम गर्न सक्नेले बिहे गरेको भए के फरक पर्थ्यो र? बेकारमा मलाइ तपाइको थुक चटाउनु भो हैन? किन यस्तो गरेको हजूर? मलाइ जवाफ चाहियो।”
म अवाक् बनें, उसलाई दिने उत्तर म सँग थिएन। मैले फोन काटें र स्वीच अफ गरें। मैले बहिनीलाई आफ्नो कोठामा बोलाएर सोधें-”के मायाले मलाइ माया गर्थी!”
उसले भनी-”गर्थी तर पहिला!”
मैले आश्चर्यमा सोधें-‘अनि किन तिमीहरूले केही नभनेका?’
बहिनीले मसिनो स्वरमा सबै कुरो भनी-”शुरूमा मायाले तपाइलाई खुबै मन पराउथी, तपैलाई हेर्नकै लागि ऊ मलाई भेट्न आउथी। हामीले एकअर्कालाई गोप्य रूपमा नन्दभाउजू सम्म पनि भन्न थालेका थियौं। तर एकदिन मैले तपैसँग मायाको नाम जोड्दा तपै खुबै रिसाउनुभो। मलाइ लाग्यो मायालाई तपाइले त्यस्तो केही सोच्नुभएको छैन र सोच्नुहुने पनि छैन। मैले यही कुरा मायालाई पनि भने। ऊ निक्कैबेर रोएकी पनि थिई। त्यसपछि उसले बिस्तारै तपाइलाई बिर्सदै गई। पछि कहिलेकाही कुरोमा कुरो चल्दा ‘मेरो पहिलो प्रेम अजय हो’ सम्म मात्र भन्थी। पछि त उसको बिहे पनि भइहाल्यो। ”
बहिनीको कुरो सुनेर म झन् अवाक् बने। मैले कुरा त्यसो हुन सक्छ भनेर कहिल्यै कल्पनासम्म नि गरेको थिएन। अब दुइ दाजूबहिनी चूपचाप बसिरहेका थियौ। एक्कासी बहिनीकी साथी सीताले बहिनीलाई फोन गरिन्। बहिनीले ‘हँ हँ’ मात्र भनेको सुन्दा अचम्म लाग्यो। पछि सोधे के रहेछ भनेर। उसले भनी-”माया हिजो माइतीघर आएकी थिई, उसलाई उसको दाजूले आज बाइकबाट घर पुर्याइदिन लैजादै रहेछन्, तर सीताको घरनेर ट्रकसँग ठोक्किएर एक्सिडेन्ट भएछ, दुबैको अवश्था गम्भीर छ रे!”
अब हामी दाजूबहिनी पनि घटनास्थलतर्फ दौडियौं। तर दुर्भाग्य हामी पुग्दा मायाको अत्यधिक रक्तश्रावका कारण मृत्यु भइसकेको रहेछ, छटपटाउदै गरेका उसका दाजू र निर्जीव माया दुबैलाई एम्बुलेन्समा हालिंदै थियो। रूदै बसेको मायाको लोग्ने मलाइ देखेर जुरूक्क उठ्यो र ”हेइइइइ! ” गरेर चौरऔला ठड्यायो अनि फेरी थुचुक्क बसेर पुर्पुरो समाउदै रून थाल्यो। हामी त्यहाँ उभिरहनुको कुनै अर्थ थिएन। त्यसैले दाजूबहिनी गह्रौ दिल बनाएर आँसु पुछ्दै घर फर्कियौं।
~समाप्त~!
””कथा काल्पनिक हो, यो कथा कसैको जीवनसँग नमिलोस्, यति भए कथाकार तुल कवर खुशी हुनेछन्।””””””
(स्रोत : रचनाकारको ब्लगबाट सभार )