भाँडिएझैं लाग्छ मन बाँडिएझै लाग्छ
आजभोलि आफैँसँग टाढिएझैं लाग्छ
एकैछिनको शोभा बन्यौ इन्द्रधनुजस्ती
त्यै थलोमा सिङ्गो जुनी छाडिएझैं लाग्छ
छाती खन्यो विरहले गहिरिंदै गएँ
निसासिंदो खाडलमा गाडिएझैं लाग्छ
साउनझैं रोई-रोई रुझेको यो जुनी
सन्सारका सबै खुसी ढाडिएझैं लाग्छ
हृदयमा लेखिएका फूलजस्ता गीत
काँढामाथि अल्झिएर फाडिएझैं लाग्छ
सङ्लो थिएँ बग्दाबग्दै पहिरोमा परें
भेलजस्तो आज मलाई भाँडिएझैं लाग्छ
तोरी फुलेजस्तो मेरो सपनाको बस्ती
कोही पसी एकैछिनमा माडिएझैं लाग्छ!!
(स्रोत : Ourbiratnagar.net)