व्यङ्ग्य कथा : मेरो कुकुरको जात के हो?

~अनलराज भट्टराई~Analraj Bhattarai

मुन्ना एउटा असाधारण कुकुर हो। मुन्ना कुन जातको कुकुर हो मेरो घरमा कसरी आयो भन्ने बारेमा रोचक कहानी छ। आज भन्दा एक दसक अर्थात कुकुरहरुको जुनीको लागि एक जुग अगाडिको कुरा हो। मेरो छोराले घरमा कुकुर पाल्ने रहर गर्‍यो। मेरो घर अगाडि काठमाडौंमै प्रसिद्ध माउण्ट एभरेस्ट केनल क्लब छ। उक्त क्लब मेरो बाल्यकालको मित्र सुरेश शाहले सञ्चालन गरेका हुनाले उसैकहाँबाट एउटा कुकुर किन्ने विचार गरेँ। साँझको पाँच बज्दै थियो, त्यतिनैखेर मेरो अर्को मित्र अनिल ढुड्गेल फ़ोन आयो। उस्ले भन्योः म केहीबेरमा तँकहाँ आइपुग्छु। सँगै एक एक पेग लगाऔँ।

अनिल र म आजभन्दा करिब पच्चीस वर्ष पहिले दिल्लीमा सँगै बस्थ्यौँ। ऊ ज्यादै रसिक र सालिन स्वभावको। ऊ मस्तसँग जीवन बिताउन चाहन्छ। खुल्ला हाँस्ने, अरुलाई हँसाउन र एक दुई टुक्का जोक, एक दुई पेग हुस्की, त्यस पछिको पान, पान भित्र पराग, मिठो बोली। बाँकी केके कुन्नी।

कुकुर किन्ने कुरा सुनेर अनिलले भन्यो- मेरो एक मित्रले मलाई कुकुरको बच्चा लैजा भन्दै थियो। म त्यसलाई सोध्छु। अनिलले तुरुतै फोन गर्‍यो र एउटा छाउरी मेरो घरमा ल्याउने व्यवस्था मिलायो।

त्यसको लगतै मेरो छोराले सोध्यो- कुकुर कुन जातकों हो अंकल?
अनिल बेजबाफ भयो किनकि उसलाई कुकुरको जात थाहा थिएन। मैले कुरा पन्छाउँदै छोरालाई भनेँ- भोलि कुकुर लिन जाँदा त्यसको जात सोधौँला।

भोलिपल्ट अनिल र म छाउरी लिन गयौँ र त्यहाँ कुकुरको आमाको जात सोध्यो। छाऊरीको आमा अस्ट्रेलियन ब्रिडको रहेछ तर छाऊरीको बाबुचाहिँ जापानिज भन्ने बुझियो। तब हामी पर्‍यौँ समस्यामा। त्यस छाउरीको जात के भन्ने? पिआरलाई योग्य अस्ट्रेलियन भन्ने कि जापानिज भन्ने? आमा अस्ट्रेलियन, बाबु जापानिज, छाउरी नेपालमा जन्मिएकी। अब कुन मूलको भन्ने? हामीले छोरालाई खुसी पार्न अस्ट्रेलियन कुकुर भन्ने निश्चय गर्‍यौँ किनकि नेपालमा त्यति धेरै अस्ट्रेलियन जातका कुकुर पाइँदैनन्।

छाऊरीको नाम मुन्नी राखियों। अस्ट्रेलियन मुन्नी बिस्तारै ठूली हुँदै गई। सात फिट अग्लो मेरो घरको पर्खालले त्यसलाई रोक्न सक्दैन थियो। सात फिटको पर्खालमा बसेर बाटोमा हिँड्ने सबैको सातो लिने, रात भरमा एक पटक प्रत्येक छिमेकीहरुको घर घुम्ने, बिरालोले चढेको जस्तै गरी नौ फ़िट सम्मको पर्खाल चढ्ने गर्थी। मुन्नीले बिस्तारै “गाड अप नेबरहुड” भन्ने दर्जा पाई।
कुनै दिन त मुन्नीले बदमासी गर्दै एक छिमेकीको घरमा गएर खोर तोडी खरायो खाएको गुनासो सम्म सुन्नु पर्‍यो। समय बित्दै जाँदा मुन्नीले तीनवटा छाउरा जन्माई। एउटा घरमा राख्यौँ र बाँकी अरुलाई दियौँ। छाउराको नाम मुन्ना राख्यौँ।

हिजोआज मेरो कुकर रोइरहन्छ। समय र समाजको मर्यादा ध्यानै नराखी मध्यरात होस या बिहानीको प्रथम प्रहर वा रमणीय दिन उसको रुवाईको सीमा नै रहेन। तै पनि मुन्नालाई बिहानी पख बिस्कुट खुबाउन मेरो छिमेकीहरु तँछाडमछाड गर्दछन्।

मुन्नाको रुवाइबाट दुःखी/आजित भएका मेरा छिमेकीहरु मलाई सोध्नुहुन्यो- मुन्ना किन रोइरहन्छ? मेरो काकाले भन्नुभो- ए बाबु यस्लाई एक हप्ता चुप लगा न। म अस्ट्रेलिया गए पछि जति रोए पनि रोवोस्।

मेरो घर वरपरका सबैलाई मुन्नाको रुवाईले निकै सताइरहेको थियो। दिन भरको अफिस, साँझ परेपछिको घर व्यवहार, बिहानको अफिसको तयारी, बिजुलीपानीको समस्या, दिनरातको नेपाल बन्द आदिबाट आजित मेरा छिमेकीहरूलाई मुन्नाको रुबाईले पनि पिरोलिरहेको छ।

मुन्नाको रुवाइले आजित भए मैले मुन्नासँग वार्ता गर्ने विचार गरेँ।
छिमेकका कुकुरसँग मुन्ना केही योजना बनाइरहेको पत्तो पाएँ। मेरो अनुमति पाउनासाथ ऊ छिमेकीहरुको घरतिर लाग्यो। तर भद्र स्वभावको मुन्नाबाट कुनै आनिष्ठ नहुनेमा म विश्वस्त थिएँ। हामी मुन्नालाई खाना तयार पारेर कुरिरह्यौँ। तर केही दिन मुन्ना घर आएन।

तीन हप्ता अगाडिको बिहानीपख करिब दस आठ कुकुरहरुको झुण्ड लिएर मुन्ना भुक्दै घरभित्र पस्यो। पहिला त मेरो घरको सेक्युरिटी गार्डलाई पछार्‍यो र ममाथि जाइ लाग्यो। मैले पनि मसँगै भएको छाताले ऊसलाई एक प्रहार गरेँ। त्यस पछि त के कुरा? ति सबैले मलाई खेदे। म घरभित्र गएँ। कुकुरहरु भुक्दै थिए। मलै पनि छिमेकी क्यानल क्लबबाट कुकुर परीक्षक बोलाएर तिनीहरुलाई वार्ताको लागि तयार पारेँ।

वार्तामा बस्ने दिन निश्चित भयो। मुन्नाका प्रतिनिधिसँग वार्तामा बस्यौँ। मुन्नाको प्रतिनिधिबाट प्रश्न आयो- मुन्नाको जात के हो? मुन्ना तिम्रो घरको हेरचार गर्ने तर उसैलाई जुठो भात? हामीलाई किन असमान व्यवहार? कयौँ प्रस्न सोधिए।

जबाफमा क्यानल क्लबका मित्रले भनि हाले- रेबिज ल्याउने तिमीहरु, घर भित्र सुलसुले छिराऊने तिमीहरू, छिमेकीहरुलाई सताउने….।

मित्रलाई बिचमै रोक्दै मैले बोल्न मात्र के थालेको थिएँ, कुकुरका प्रतिनिधि उठेर गइहाले। त्यसपछिको त के कुरा? आज दस दिन भैसक्यो, कुकुरको झुण्ड मेरो घरमा नाकाबन्दी गरेर बसेका छन्। मैले ताजा तरकारी नखाएको कति दिन भैसक्यो।

मलाई लाग्छ मुन्ना सहनशील र भद्र कुकुर हो। मेरो घरमा जुगौँदेखि मिलेर बसेको तथा मेरो आदेश पूर्णरुपले पालन गर्ने मुन्नालाई भड्काउन त भड्काएन कसैले? बिचरो मुन्ना।

केही दिन अगाडिको कुरा हो मैले एउटा जुक्ति लगाएँ। योजना अनुसार सबै कुकुरहरुलाई वार्तामा बसे सबै सर्त मान्न सकिन्छ भनेर खबर पठाइ रात्री भोजमा बोलाएँ। भोजमा समावेश सबैलाई हुस्की खुवाउने प्रबन्ध मिलाएँ। मुन्नालाई एक कुनातर्फ लगेँ। मुन्ना सुरुमै रुन थाल्यो। भन्यो- अहिले जे भैरहे छ त्यसमा पछुताउ छ।
मैले भनेँ- सबै कुरा मिल्न सक्छ।

त्यतिकैमा मसँग मुन्नाले कुरा गरिरहेको देखेर केही छिमेकीका कुकुरहरुले तान्डब गरिहाले। भोज त युद्ध मैदान भैहाल्यो। कुकुरहरु तर्फबाट हिंसाजन्य कार्य भयो। मेरा केही अंग रक्षकहरु हताहत भए। म बल्लतल्ल ज्यान जोगाएर घर भित्र पसेँ।

स्थिति तनावपूर्ण रह्यो केही दिन। कुकुरहरु पनि खान नपाएर भोकै पर्न लागे। वरपरका छिमेकीहरु मेरो घरको अवस्थाको मनगढन्ते व्याख्या गर्न थालेका थिए। कसैले कुकुर जर्मन सेफर्ड जातको हो भने, अरुले भने- त्यो त भुस्याहा हो। कसैले कुकुरको मौलिक अधिकार हनन् बारे कुरा गरे। कसैले कुकुरको खोर सानो भयो भने। कसैले कुकुरको खानपानको बारेमा कुरा छेडे। एउटाले त हदै भन्यो- कुकुरलाई नै मेरो सिंगै घर हस्तान्तरण गर्नुपर्छ।

मलाई मुन्नाको ज्यादै माया लाग्छ। आफ्नो घरमा हुर्केको त्यो सानो मुन्नो। अलग ठाउँ दिऊँ भने पनि लाग्छ- के खाला? कसरी गुजारा गर्ला? नदिऔँ भने पनि घरका बाँकी परिवार दुःखी भैसके।

हिजो रातमा मुन्ना सुटुक्क घरभित्र आयो र भन्यो- मलाई यो दलदलबाट बचाउनुस्।

तब म दोधारमा परेँ। मुन्नालाई घरमा शरण दिऊँ भने छिमेकीका कुकुरले अन्तरघात गरिस् भनेर मार्लान भन्ने डर। घरमा नराखुँ भने मुन्नाको केही दोश छ जस्तो लाग्दैन।

मैले मुन्नालाई सोधेँ- तैले किन यस्तो विद्रोह गरेको? तँलाई के कमी गरेका थियौँ र?

मुन्ना रुँदै भन्न थाल्यो- यस्मा मेरो केही दोश छैन। तर म जुनसुकै सजायँ भोग्न तयार छु।
मुन्ना भन्छ- केही वर्ष अगाडि मेरो आमालाई कसैले विष खुवाएर हत्या गरे। तबदेखि मेरो मन विचलित थियो। म गाउँमा घुम्न जाँदा मेरा साथीसंगी मेरो जातबारे विभिन्न कुरा गर्न थाले। म सोचिरहन्थेँ, मेरो जात के हो? मेरो हजुरबा जापानिज, हजुरआमा अस्ट्रेलियन, मेरो आमा कुकुर जातमै जन्मे पनि कुन मूल को हो एकीन नभएको। मेरी आमाले मलाई मेरो बा नचिनाउँदै हत्या भएकोले मेरो पहिचानबारे मेरो समाजमा धेरै बहस हुन लाग्यो। म धेरै दिक्क भए। बुढा पाकाहरुलाई सोध्न थालेँ। तर जबाफ कसैबाट आएन।

त्यसको फाइदा उठाउँदै केही अवसरवादीहरुले मलाई मेरो पहिचान दिलाउँछु भनेर भड्काए। म बहकिएँ। नबहकियौँ भने पनि कसरी हजुरले घरमा पहिचान सहितको ल्याब्राडोर क्यानल क्लबबाट किनेर ल्याउनुभयो। सुरुमा त मलाई रमाइलो लाग्यो तर हजुरले ल्याबीलाई मभन्दा बढ़ी संरक्षण र माया गरेको जस्तो लाग्यो। उस्लाई सधैँ बाँधेर खोरमा राख्ने। मलाई सधै खुल्ला छोड्ने। उस्लाई शौच गर्न शौचालय, मचाहिँ गाउँ घुमेर खुला आकासमा? ल्याबीको खाना र मेरो खाना फरक हुन्थ्यो। ल्यबीले मेरो पनि खाना उढाउँथ्यो। म त्यस बखत सहेर बसेँ।

मलाई पेट भर्न छिमेकीको घरघर डुल्नुपर्थ्यो। धन्न हाम्रा छिमेकी दयालु थिए र मलाई खानाको कमी भएन। छिमेकीका कुकुरहरुले मलाई मायाको नाममा भ्रममा पारेको मैले पत्तो पाइनँ। हजुरप्रति मेरो सोच नकारात्मक हुँदै गयो।

त्यसै शिलशिलामा मेरा मित्रहरुले मलाई केहीदिन रोइकराइ गर्न सल्लाह दिए। अधिकार माग्न आवाज उठाउनुपर्छ भने। मलाई कुरा ठिक लाग्यो। किनकि हजुरले पनि पूजा गर्दा शंख फुकेको देखेको थिएँ। तब म रोएँ हजुरको ध्यानाकर्षण गर्ने विचार गरेँ। जब म रुन थालेँ, हजुरले मलाई झनै गाली गर्न थाल्नु भयो। मलाई के भएको छ भनि मेरो समस्याको आँकलन नै नगरी मलाई कुट्नुभयो। कति रात म रुँदा हजुरले मलाई लखेटेर भगाउनुभयो। एक रात मलाई घरबाट डराएर भागेको देखेर मेरा मित्रहरुले भड्काए। म उनीहरुको बहकाउमा आएँ। म आन्दोलनका लागि तयार भएँ।

मुन्नाको वेदना सुनेपछि मैले मुन्नालाई माफी दिने विचार गरेँ र ससम्मान घर भित्र्याएँ।

त्यस पछि मुन्नालाई मैले सोधेँ- तेरो जात के हो त?
उसले मलाई महाकविका पंक्ति सुनायो- मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन। मेरो घर वरपर सन्नाटा छाएको थियो।

मैले भनेँ- मुन्ना तिम्ले आफ्नो पहिचान झन्डै गुमाएको। तिम्रा पुर्खा त युधिष्ठिरसँग जिउँदै स्वर्ग गएका थिए। तिमीहरु यमराजको दूतका सन्तान। तिम्रो महिमा अपरमपार छ।

मुन्ना अझै रुन छाडेको छैन। मुन्नाको जातको विवाद कायमै छ।

(स्रोत : Pahilopost)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.