ऊ धनी किसानको छोरो भए पनि अंशमा पाएको सम्पत्ति सबै स्वाहा बनाएर अर्काको दयामा बाँच्नुपर्ने स्थितिमा पुग्यो । तर उसले अझै पनि आफ्नो कुनै दोष देख्न सकेन । आफ्नो भाग्यलाई नै दोष दिइरह्यो ।
उसलाई धेरैले उद्यम गर्ने, जागिर खाने, व्यापार गर्ने सल्लाह दिएका भए पनि मस्तिष्क र सम्पत्ति दुवै नभएकाले घरको पिँढीमा ढिकी लडेझैँ लडेर कर्मरहित दिन बिताउँथ्यो ऊ ।
त्यस्तैमा एकदिन, उसको आँगनमा साँझपख एकजना तेजस्वी मानिस आएर उभिए । उनको कान्ति अचम्मको थियो । ती पुरुषलाई साक्षात् भगवान् सम्झिएर उसले धन र आशिर्वाद माग्यो ।
उसको त्यो हीनभाव बुझेर आगन्तुक पुरुषले आँगनबाट एकमुट्ठी माटो र एउटा मिल्किएको फलामको टुक्रो उठाएर उसलाई दिँदै– ‘मेरो आशिर्वाद र प्रसाद दुवै यही हो, यसको उचित उपयोग गर, तिम्रो भाग्यको सूर्य सायद चम्किने छ’ भनी हातमा दिए ।
आफूले साक्षात् भगवान् सम्झिएको व्यक्तिले दिएको उपहारबाट ऊ अचम्मित भयो । ती पुरुषले आफूउपर ठट्टा गरेको जस्तो लाग्यो उसलाई । तर उपेक्षा गर्न पनि सकेन । उसले धेरै रात सोच र अनिद्राको छटपटीमा बितायो ।
एकरात आँखा लोलाउनासाथ उसले सपना देख्यो । उनै अस्तिका तेजस्वी पुरुष फलामे फाली जडिएको ट्रयाक्टरले उसैको घर अगाडि जमिन जोतिरहेका थिए । तब मात्र उसको मस्तिष्कमा माटो र फलामको टुक्राको अर्थ पस्यो र सपनालाई विपनामा उपयोग गरी कर्मशील बन्यो । उसको हराएको भाग्य र गुमेको सम्पत्तिलाई कर्मशीलताले पुनः चम्काइदियो ।
(स्रोत : Hamropipalbot