~सरिता तिवारी~
बाटोको किनारमा लहरै थिए बकाइनाका रूखहरू । र तिनका छेउछेउमा दबदबे र इपिलइपिलका स–साना बोटहरू पनि थिए । ती बोटभन्दा पल्तिर टौवा थियो । टौवा पल्तिर लामो गोठ । गोठपल्तिर अलिकती बारि । बारिको पल्लोछेउमा पानीको कल । अनि बल्ल घर । त्यो घर मेरालागि नयाँ थियो । यसअघि कुनै दिन आएको भए पनि त्यो मेरो सम्झनामा थिएन ।
त्यहाँ म पाहुना गएकी, आमासित । सानै पो थिएँ, तर ठ्याक्कै कति वर्ष ? हेक्का छैन । नौ दस वर्षकी थिएँ कि ! खुब उखुम हुने बेला थियो । वैशाख, जेठ हुँदो हो । त्यहाँ अरू पनि घर थिए । तीमध्ये लहरै चारओटा घर एकै परिवारका दाजुभाइका थिए । ती सबै हाम्रा दाजुहरू थिए, ठूला बाका छोराहरू । तिनका छोरा छोरीहरूमध्ये केही थिए मेरै दामलजस्ता । कोही मजत्रै, कोही अलि ठूला । कोही त मभन्दा वर्षौं जेठा पनि थिए । तर जम्मैलाई मैले भदा–भदै भन्नुपर्ने । भुतुक्क हुन्थेँ म सरमले ।
एउटी नानी थिई मभन्दा थक्क स्यानी । त्यसका आँखा थिए बहुत टाठा । उत्पात राम्री थिई । सुघ्घरी पनि उस्तै । त्यतिखेर म उसैको घरमा बसेँ । उसको एउटा दाजु म जत्रै थियो । अर्को अलि ठूलो । आफ्ना बालाई मैले दाइ भनेको सुनेर खितित्त हाँस्थी ऊ । ती दाइ खुब जाती लाग्थे । ती हाम्रा घर पनि बराबर आइरहन्थे, हामीलाई माया गर्थे । तिनकी पत्नी अर्थात् नानीकी आमा कोष–कोष पुरेर गाजल लाउँथिन् । कति धेरै गाजल लगाको होला ? आँखामा पिरो हुँदैन ? तिनलाई देख्दा अचम्म लाग्थ्यो । त्यही भएर म तिनलाई गाजली भाउजू भन्थें । कुनचाहिँ भनेर चिनाउनुपर्दा !
त्यो स्यानी बैनी छकमली थिई । छन्चर थिई । चलिराख्नुपर्ने, बोलिराख्नुपर्ने । तर छुच्ची थिइन, मायालु थिई । हेरिरहूँजस्ती थिई । त्यसैसित खेलिरहूँ मात्र लाग्दी !
पश्चिम चितवनको त्यो गाउँमा हामी व्रतबन्धको निम्तो मान्न गएका थियौं । आफू जस्तै धेरै केटाकेटी देखेर म खुब रमाएकी थिएँ । विशेष, त्यो चुटुक्क परेकी बैनी मलाई खुब मन परेकी थिई । ऊ घरीघरी बाटो छेवैको बकाइनुको रूखमा चढ्थी । रूख साह्रै अग्लो थिएन । सजिलै चढेर हाँगामा बस्दै हुल्ली हुल्ली खेल्थी ।
‘आऊ न तिमी पनि ।’
ऊ मलाई गोला गोला तिनै टाठा आँखाहरूले इसारा गर्दै बोलाउँथी । रूख चढ्न त म कत्ती पनि डराउन्नथेँ तर मलाई त्यहाँ रूख चढ्न डर लाग्यो । आफ्नो घरगाउँ हुँदो हो त यस्ता बकाइनाका रूखमा एक झिमिकमै उक्लिदिन्थेँ । अग्ला अग्ला मेवाका बोटमा सुरेली खेल्दै चढ्थेँ । पाकेको मेवा हातैमा लिएर कति गज्जबले ओर्लिन्थेँ ! डुम्रीको बोटदेखि बर्राको रूखसम्म जहाँ पनि उनिन सक्थेँ । तर त्यो नयाँ ठाउँ, नचिनेका मानिसहरू ! त्यसमाथि त्यो फुचुरीसित चढेर कथम क्यै भयो भने ?
म चढिनँ । ऊ उसैगरी खेलिरही हुल्ली हुल्ली….। बरु उसलाई हेरेर उभिरहेँ ।
कति बेला आँखा दायाँबायाँ भयो, मेसो भएन ।
निमेषभरमा ऊ भुइँमा पछारिन आइपुगिछ– भद्रयाक्क… !
आपुई ! हेर्दाहेर्दै त केटी निली भई । ऊसित लछारिएको छ बकाइनुको एउटा सानो हाँगो । म अक्क न बक्क परेर उभिएकी छु । सायद कसैले टाढैबाट देख्यो । र हत्तपत्त दौडेर आयो । त्यो को थियो, म चिन्दिनँ ।
‘यस्तरी बैनी खसेको नि देखेको नदेख्यै गर्नी हो ?’ ती मानिसले मलाई बेस्सरी हप्काए । बल्ल पो झस्किएछु । हो त, त्यो फुचुरी त हेर्दाहेर्दै लुली पो भई !
पूजाघर सबभन्दा छेउमा थियो । मानिसहरू सबै उतै व्यस्त थिए । बकाइना र दबदबेका रूख, गोठ, टौवा आदिले छेलिएकाले त्यहाँबाट यताको दृश्य देखिन सम्भव थिएन ।’ अब मलाई क–कसले गाली गर्ने हुन् ?’ म त्यो बैनीका लागि भन्दा आफ्नै लागि बढी चिन्तित थिएँ ।
तिनले बाख्राको सानू पाठीलाई जसरी उसलाई काखमा बोके र घरको पिँढीमा लगेर सुताए । जीउमा पानी छम्किदिए । उसको नाम लिएर बोलाए । मलाई डर लागिरहेको थियो । केहीगरी यो बैनी उठिन भने ?
एकैछिनमा उसले टुलुक्क आँखा हेरी । मैले उसैलाई हेरिरहेकी थिएँ । ऊ मलाई हेरेर मुसुक हाँसी । बल्ल ज्यान पलायो मेरो ।
‘कान्छी उठिस् ?’ ती मानिसले उसको गालामा हात राख्दै सोधे ।
ऊ फेरि मुसुक्क हाँसी । त्यसपछि हत्तपत्त उठेर खुरुखुरु हिँड्न पो थाली ! केही पनि नभएको जसरी !
ती मानिस छक्क परे । ‘ओई कान्छी, पख् पख्’ तिनले कराउँदै रोक्न खोजे । तर ऊ के रोकियोस् ?
‘मलाई त क्यै नि भ’छैन !’ भन्दै हिँडी ।
अब ढुक्क भएँ म ।
उसले मलाई डोर्याउँदै पूजाघरतिर लगी । त्यहाँ सबै केही न केही काम गरिरहेका थिए । कसार र सेलरोटी मागेर ल्याई उसैले । घरीघरी आँटिमा उक्लिँदै खानेकुरा माग्न ऊ डराइन, लजाइन । हामी रमाउँदै खाँदै खेलिरह्यौँ ।
कपाल खौरिएका, पहेँलो लुगा लगाएका केटाहरू थिए जग्गेमा । दिउँसो सबैले तिनलाई डालोमा भीख दिए । भरे भजन गाए, नाचे । खुब रमाइलो भयो । त्यो परिवारका प्राय: सबैले हाम्री आमालाई खुब खातिर गरे । आमाले गर्दा कार्जेमा खानेकुरा फारु भएको भन्दै फेरि फेरि पनि आइरहन आग्रह गरे । त्यसको भोलिपल्ट हामी आफ्नो घर फर्कियौँ ।
म भने बैनीसित छुट्न परेको अमिलो मन लिएर फर्किएँ ।
यसै पनि घरमा आफू नै सबैभन्दा सानी भएकोमा म खिन्न हुन्थेँ । मभन्दा सानो पनि भैदिएको भए म कति खेल्थेँ होला ऊसित ! घरमा मसित खेल्ने कोही हुन्थेन । दाइ दिदीहरू मभन्दा धेरै ठूला थिए । उनीहरूको ध्याउन्नै अर्कै हुन्थ्यो, मेरो अर्कै ।
बैनीसित भेटिएर छुटेपछि मेरो खिन्नता झन् बढ्यो । गाउँ छिमेकमा प्रशस्त केटाकेटी थिए । मेरा दौँतर र मभन्दा साना पनि । तर त्यो बैनीको तिर्सना अरू कसैले कहाँ मेट्थ्यो! घरनजिकै एकचोटि एउटी फुच्चीलाई बोक्ने हुँदा मेरो पिठ्युँबाट भुइँमा खसेकी थिई । उसलाई खसालेकोमा मैले नराम्रोसित खप्की खानुपरेको थियो । त्यो खप्किले मेरो बालखा मन कसरी चिरिएको थियो ! मलाई त्यतिखेरैको तर्साइ काफी थियो । अब म कसैका छोराछोरीलाई बोक्न र तीसित खेल्न हच्किन्थेँ ।
बा आफ्ना बाआमाका एक्ला छोरा । आमा पनि एक्लै । मामा, सानीमा, ठूलाबा, काका, फुपू आदिको अभाव । यो अभावले मनोवैज्ञानिक रूपमा नमिठो खालीपन अनुभव हुँदोरहेछ, खासगरी बाल्यकालमा ।
तर टाढा नै किन नहोस्, हाम्रा पनि आफन्त रहेछन्, मन खाम्ने दाजुभाइ र इष्टमित्र रहेछन् । कति रमाइलो कुरा !
आमा भन्नुहुन्थ्यो, पहाड घरमा भएका एकजना काकापछि हाम्रो बाका सबभन्दा नजिकका दाजुभाइ यिनै हुन् ।
त्यसपछि पनि आउजाउ भइरह्यो । बीचमा नारायणी नदी भए पनि हार्दिकता र आदानप्रदानको चितवन–नवलपुर एक्सप्रेस चलिरह्यो । यताका दाइहरू डुङ्गामा तरेर पनि हाम्रामा पुग्थे ।
…..
एसएलसी सकेपछि निस्फिक्री हुन पाइने दिन आउँथे । प्राय: सबै कतै न कतै घुम्न जान्थे । रिजल्ट कुर्न लाग्थ्यो छ महिना । फेल भए अर्को छ महिनापछि हुने पुन:परीक्षाको तयारी । पास भए क्याम्पस ।
घुम्नु भन्या पनि कि मामाघर कि सानीमा, ठूलीआमाको घर जानु त थियो ! हाम्रो त मामाघर नै घर थियो । हामी मावली हजुरामासितै बसेका । कहाँ जानु ?
‘चितुन जानी भए जा के रे !’ एक दिन हजुराँले भन्नुभो । हजुराँले यसो भन्नु भनेको अनुमति र रकम दुवैको सुर्ताबाट मुक्त हुनु भन्ने हुन्थ्यो । बरा, हजुराँसित कसले दिएर हुन्थ्यो होला पैसो ? तर थैलीको मुख खोलेपछि बूढीमाउका हातबाट धेरथोर पाइन्थ्यो नै । कहिलेकाहीं गर्जो टार्नै गाह्रो हुँदा आमा पनि हजुराँलाई नै गुहार्नुहुन्थ्यो ।
यता हजुराँको थैली खुल्नु के थियो, म हिँड्ने भइहालेँ ।
अमरापुरीबाट नारनघाट, नारनघाटबाट चौबीसकोठी हुँदै पश्चिम चितवनको यात्रा । दुइटा लोकल गाडी फेरेर ।
‘बसस्टपमा झरेर दस मिनेट हिँड्नु ।’ आमाले भन्नुभएझैँ गाडीबाट झरेर अलिकति हिँडेपछि दाइहरूका घर देखिए । खरले छाएका ससाना चितौने घर ।
स्यानी बैनीको तिर्सना पहिलेजस्तो थिएन तर कस्ती भइहोली भन्ने स्वाभाविक उत्सुकता थियो ।
त्यो बैनी त हुर्केर आठ कक्षामा पढ्ने भइसकिछ ! हलक्क बढेकी, बान्की मिलेकी, आँखै तिर्मिराउने गरी राम्री भइछ । क्रिम, पाउडर, गाजल लगाएर सिँगारिन सिपालु भएकी ऊ अब बकैनाको बोटमा चढेर हाँगो हल्लाउँदै चिच्याउने फुच्ची थिइन । म पनि आफ्नै उमेर मिल्दासँग बढी गफ गर्ने भएँ । सिँगारिने कुरा मेरो प्राथमिकतामा थिएन । उसको र मेरो रुचिमा ठूलो परिवर्तन आएको थियो । तैपनि हाम्रोमै बस्नुपर्छ, खानुपर्छ भन्ने कुरामा भने ऊ बदलिएकी थिइन । उस्तै थिई ।
एक साँझ उसको घरको पालो आयो । त्यहीँ बस्ने, खाने । हामी सामान्य ज्ञान सोध्दै र हाजिरीजवाफ खेल्दै खुब गफियौं । उसको दाजु गणित र विज्ञानमा सिपालु रहेछ, म साहित्य, राजनीति र भूगोलसम्बन्धी प्रश्नका प्राय: उत्तरहरू जान्दथेँ । रमाइलो भयो । उसले इन्जिनियर बन्ने लक्ष्य छ भन्यो, मैले वकिल बन्छु भनेँ । यसपालि बैनीसित होइन दाजुसित नजिक भएँ ।
‘ओहो, कान्छी बैनी पनि टाठी रैछ त हँ !’ दाइले मेरो प्रशंसा गरे ।
तिनी गाउँकै प्राइमरी स्कुलका मास्टर थिए । त्यही मास्टरी र खेतीपातीको बनिबुतो गर्दै छोराछोरी पढाउन कस्सिएका मेहनती मानिस थिए ।
भाउजू उस्तै गाजली थिइन् । पूरापूर उस्तै । अनुहारमा नजानिँदो चाउरिपन सुरु भएको थियो तर जीउको ढङ्ग–ढप उहीँ । भाउजू हामी सबैलाई खाना पस्केर बसेकी थिइन् ।
हामी सबै एकैचोटि खाना खान बस्यौँ ।
दुई गाँस मात्र पनि खाइसक्या थिएँ कि नाइँ, भाउजूले सोधिन्, ‘तपइँ कुन चाइँ हुनुहुन्च, अलि मेसो पाइन । माइली कि कान्छी अरे ?’
‘म कान्छी । परारै बर्तमन हुँदा आथेँ नि !’ मैले सहज भएरै भनेँ ।
‘ए…,’ केही गहिरो कुरा सम्झेझैँ तिनले भनिन्, ‘हाम्री नानीको जामा चोरेर लानी चाइँ पो हुनुहुन्च तपईं ?’
… … …! ?
तिनको कुरा सुनेर पूरै चेतना शून्य भएँ म । सननन…मानौँ, कुनै बाण, तीर या कुनै बन्दुकको मुखबाट छुटेको गोली आएर मलाई निसाना बनाएर गयो, उभिएको उभियै वारको पार छेडेर घाइते पारेर गयो ।
यो सामान्य आरोप थिएन । मेरो सोच, समझ र बाल्यकालदेखि प्राप्त गरेको शिक्षामाथिकै प्रहार थियो । शरीर रगरगाउन थाल्यो । मन छट्पटाउन थाल्यो । मलाई यस्तो के भन्यौ गाजली भाउजू ! कसरी भन्न सक्यौ ?
मेरो मुखभित्र परिसकेको गाँस मुखबाट भित्र जान मानेन । भातका सितासितासँगको संघर्ष जुगौँ लामो लडाइँजस्तो कष्टकर भयो । एकछिनअघिसम्म उत्पात सुकिलो र सुघ्घर लागेको तिनको भान्सा छिनभरिमै अब झ्यालखानाभन्दा कुरूप भयो ।
दाइतिर हेरेँ, तिनी चुकभन्दा अमिलो अनुहारमा थिए । मेरो पृथिवी प्रतिमिनेट सयौँ चक्करको दरले घुमिरह्यो । घुमिरह्यो…। म त्यही चक्करसितै फन्फनिइरहेँ ।
मैले केही भन्न सकिनँ । किन सकिनँ ? मैले नगरेको कृत्यको प्रतिवाद किन गरिनँ ? अझै पनि जब त्यो दिन सम्झिन्छु, आफ्नो अकर्मण्यता सम्झिएर आफैँसित रिस उठ्छ ।
भान्साबाट उठेपछि रातभर सुत्न उस्तै सकस भयो । कैयौंपटक पिसाबले च्याप्यो । कैयौँपटक ऐंठनले छोप्यो । गिन्ती छैन । यो ऐंठन कुनै अगोचर वस्तुको थिएन । वचनको थियो । मैले गर्न त के सोच्नसम्म नसक्ने अनर्गल आरोपको थियो ।
उबेला त्यो फुच्चीले कस्तो लुगा लाएकी थिई ? सम्झन कोसिस गरेँ । सम्झिँदा सम्झिँदा दिमागका रेशाहरू नै चुँडिएलान्जस्तो भयो । तर अहँ, सम्झन्नँ ! पछि कुन्नि कुन तन्द्राजस्तो क्षणमा त्यो जामा सम्झिएँ मानौँ, त्यो आफ्नो दिव्यस्वरूपमा पदार्पण हुँदै मेरा आँखा अघि नाचिरहेको छ ।
…..
त्यो हरियो जामा, स–साना फूलको प्रिन्ट भएको ! पूजा हुने रात उसले लाएरै सुतेकी थिई । भोलिपल्ट हामी हिँड्ने बेलासम्म ऊ त्यही जामासँगै थिई । आँखा मिच्दै मिच्दै हामीलाई बिदा गरिरहेकी ।
मैले सम्झिएँ । मैले सम्झिएँ !!
‘ए भाउजू, त्यो जामा मैले चोरेको होइन । म चोर होइन । होइन म चोर । मैले चोर्न जानेको छैन, चोर्न सिकेको छैन । चोर्नु अरूको लागि जति अपराध हो, आफ्नै लागि पनि भयानक आत्मघात हो । म यस्तो काम गर्न सक्तिनँ भाउजू ! तिमीले कसरी ठान्यौ, म यस्तो गर्ने केटी हुँ भनेर ?’
मलाई चिच्याई चिच्याई भन्न मन लाग्यो । तर सकिनँ । म कसैगरी चिच्याएर यसो भन्न सकिनँ ।
पक्कै पनि उसको जामा त्यहीताका हराएको हुनुपर्छ । तर चोर ठहरिएँ म ! म नै किन ? चोरीको योग्यताका लागि मेरा अरू के के अवगुण थिए ?
भोलिपल्टको उज्यालो पर्खनु थियो । उज्यालो हुन्जेल मसित परेलासम्म बेस्सरी बिझाइरहेका गरुङ्गा आँखा थिए । र, छातीमा थियो अमर्खको कालो मैलो बादल मडारिइरहेको !
मलाई चोर सावित हुनु थिएन । असल मानिस बन्नु थियो ।
एक रातमै म नयाँ भएकी थिएँ । त्यही नयाँ केटीलाई लिएर म त्यहाँबाट निस्किएँ । त्यही यात्रा हो यहाँसम्म आइपुगेको । र त्यो हरियो जामा अझै पनि मेरो संकल्पको आलम्ब बनेर सँगसँगै हिँडिरहेको छ ।
सरिता तिवारी, काठमाडौं
प्रकाशित: आश्विन १७, २०७२
(स्रोत : Kosheli – Kantipur)