रातो–रातो आलो रगतको निस्सासिँदो दुर्गन्धले भरिएर
मध्यपूर्वीय तातो हावा
सारा ब्रह्माण्डभरि बहिरहेछ
बमको विष्फोट
तोपको गर्जन
र बारुदको धुँवाले
सारा बेरुत सहर खण्डहरजस्तै कुरुप र निर्जन हुँदै गइरहेछ
गाउँका गाउँ बस्तीका बस्ती
उजाड मसानघाटझैं भएका छन्
बाँच्नु र मर्नुको दोसाँधमा
लाखौंलाख निरीह जिन्दगीहरु
आक्रमणकारीहरुको घेराभित्र निसास्सिइरहेछन्
लासमाथि लास ढलिरहेछ
रगतमाथि रगत बगिरहेछ
तुँवालो उडेजस्तो यी रक्तरञ्जित दिनहरुमा
मेरा मित्र तिमीहरु
दिउँसोको काम
रातिको निन्द्रा
र भान्साको छाक छोडेर
कि त आत्मसम्मानले लड्न विवश छौ
कि त असंख्य लासहरुको थुप्रोमाथि
अर्को एउटा लास थपिएर मर्न विवश छौ ।
पवित्र शहिदस्थलजस्तो
सुन्दर–सुन्दर तिम्रो जन्मथलोबाट
जबर्जस्ती बर्बरहरुद्वारा
निष्काशित गरिएका मेरा मित्र तिमीहरुले
आफ्नै खोसिएको देश खोज्नु
तिम्रो कुनै अपराध थिएन
प्यारो–प्यारो तिम्रो घर–दैलो र आँगनबाट खेदिएर
बलजफ्ती लुटेराहरुद्वारा
विस्थापित पारिएका मेरा मित्र तिमीहरुले
आफ्नै गुमेको राष्ट्र खोज्नु
तिम्रो कुनै अपराध थिएन
नाङ्गेझारजस्तै बनाई
देशहीन र राष्ट्रविहीन पार्न खोजे पनि बैरीले
तिनका अघि ज्युँदो स्वाभिमानले
सिङ्गो– सिङ्गो राष्ट्र भएर बाँच्न खोज्नु
तिम्रो कुनै अपराध थिएन
बरु धुरीमाथि पाप चढेको बैरीलाई
तिमीहरुप्रति गरेको आफ्नै अपराधदेखि
रत्तिभर पनि पश्चाताप थिएन ।
विश्वजनमतको घोर उपेक्षा गरेर
ब्वाँसाको धापले निर्दोष जनहरुको नृशंस हत्या गरेर
तिमीमाथि युद्ध थोपरी आक्रमण गर्ने
बौलाएका अटेरी फ्याउराहरुसित
बमको मूस्लो र गोलीका पर्राहरुबीच
आत्मरक्षाका लागि मेरा मित्र तिमीहरु
निर्णायक युद्ध लडिरहेको बेला
शान्तिका नाममा
यहाँबाट आकाशमा परेवा उडाउनुको कुनै अर्थ छैन
पहरा दिएजस्तो चारैतिरबाट अत्याचारीहरुले घेरिएर
आत्मनिर्णयका लागि मेरा मित्र तिमीहरु
न्यायपूर्ण युद्धमा शहीद भइरहेको बेला
फूलपाती सेलाएजस्तै
सदा–सदालाई युद्धबाजहरुको अवसान र
युद्धकै विसर्जन नगरिएसम्म
शान्तिका नाममा
फेरि अर्को युद्धविरामको कुनै अर्थ छैन ।
प्यारा–प्यारा मित्रहरु
हजारौं पर्वत र लाखौं गज परबाट
तिमीहरुसँग युद्धको भूमिमा
बन्दुक बोकेर सामेल हुन नसके पनि
पापीलाई माफी दिनै नसकिने
यो भीषण नरसंहार र
जघन्य रक्तपातका विरुद्धमा
पाँचै औंलाले दह्रो मुठ्ठी कसेर
आहत तर क्षुब्ध मनले
चुनौतीभरि बैरीलाई घृणाहरु अफालेर
र म मेरो एउटा हात
तिम्रो समर्थनमा माथि–माथि उठाइरहेछु
र म मेरो अर्को हात
शान्तिका लागि
नीलो ध्वजा बाँधेर हावामा लहराइरहेछु
हामी शान्ति चाहन्छौं
त्यसैले यो अशान्तिका विरुद्ध
लड मेरा बहादुर मित्रहरु, निर्भीक भएर लड
हामी न्याय चाहन्छौं
त्यसैले यो अन्यायका विरुद्ध
लड मेरा बीर मित्रहरु, निर्भीक भएर लड
मर्नैपर्ने जिन्दगीमा मर्नु भनेको केही पनि होइन
वीरहरुको आहुतिले धर्ती शून्य हुने छैन
न त धर्ती बाँझो नै हुनेछ
र तिम्रो त्याग–आत्मबलिदानको गौरवपूर्ण गाथाले
तिम्रो लक्ष्यको पवित्रतालाई अझ चम्किलो पार्नेछ
र यो निश्चित छ
अन्तिम विजय तिम्रै हो
त्यसैले, लड मेरा सङ्ग्रामी योद्धाहरु
अन्तिम घडीसम्म निर्भीक भएर लड
यो अन्यायपूर्ण युद्धको छिनोफानो गरेर
फेरि यहाँ दानवताले लादेको
यो युद्ध नदोहोरिने
यो विध्वंश र यो संहार नदोहोरिने
शान्ति स्थापनाको ब्रत लिएर
मानवताको जीतको घोषणा गर ।
(बि.सं. २०४० मा पहिलोपल्ट प्रकाशित)
(स्रोत : साहित्य संग्रहालय )