संस्मरण : उधारो भाइटिका

~सागर बस्नेत~Sagar Basnet

हामि तीनजना दाजुभाई लगालग जन्मेका हौँ । शुरुमा दाजु जन्मिदा स्वाभाविकै परिवारजन खुसि हुनुभयो । ममीले बताए अनुसार बुबाममिले म जन्मिनेबेलामा यो चै छोरी होस् अनि अरु नपाउने भनेर सल्लाह गर्नुभयो । तर म पनि छोरै भएछु । अझै हिम्मत नहारी लक्ष्मी भित्र्याउने ध्याउन्न । त्यति बेला मात्रै टुट्यो जब भाइ पनि छोरी भन्दाभन्दै छोरो नै भयो । धैर्यताको बाँध भत्कियो र दैवले हामीलाई चेलीको मायाले टुहुरो बनायो । मलाई दशबर्षको हुन्जेलसम्म तिहारमा भाइटिका पनि लगाउछन भन्ने थाहै थिएन । देउसी खेल्ने, पिङ खेल्ने, डाइस खेल्ने र पटका पड्काउने मात्रै होला भन्ने लाग्थ्यो । एउटा तिहारमा संगैको साथीले निधारको मध्यभागमा लामो सेतो धर्सोको माथि रंगीबिरंगी टिका र सयपत्री फूलको माला लगाएको देखेर मैले ममीलाई भनेको थिएँ मलाइ पनि यस्तै टिका लगाईदिनु ।

हुनत हाम्रा काकाबडाउका छोरीहरु प्रसस्तै थिए तर सानै भएको र हाम्रो खास आउजाउ नभएकोले त्योखाले प्रक्रिया पुग्न पाएको थिएन । ममीले मैले भनेको कुरा रुन्चे मुख लाउँदै हाम्रो छिमेकमा हुने हाम्रै थरिको दिदीलाई भन्नुभएछ । हामि घर अगाडिको पिङ खेल्दै थियौं । दिदीले भर्खरै आफ्ना दाजुभाइलाई टिका लगाइसक्नु भएको थियो र हामि पनि सोहि आसनमा लामबद्द भएर बस्यौं । जेठो र ठुलो हुनु भनेको सबैठाउँमा अगाडी हुन पाउनु हैन रहेछ । भाइ टिका लगाउनलाई कान्छो अगाडी बस्न पाईने रहेछ । आँफु त माइलो जसरि पनि बिचमै ।

मलाई दिदी नभएको कहिल्यै गुनासो लागेन । बरु बहिनी भए हुन्थ्यो जस्तो लाग्थ्यो । हाम्रो छिमेकमा साथीको बहिनी थिई । उमेरले त्यस्तै दुई बर्षको फरक भएका तिनीहरु अनेक निहुँमा झगडा गरिरहन्थें । दाजुले बहिनीलाई कुट्थ्यो । म सोच्थें किन कुटेको होला ? मेरो बहिनी भएको भए कहिल्यै कुट्नेथिइन् होला । घरमा हामिलाई खान बस्न खासै दुख थिएन, दुख मलाइ बहिनी नभएको मात्रै लाग्थ्यो । अरु कसैका दाजुबहिनी मिलेको देख्दा आरिस लाग्थ्यो र झगडा गरेभने रिस उठ्थ्यो । बहिनीसँग झगडा गर्नेलाई मुर्ख भन्थें म । एकपटक एउटा साथीको फुपुको बिहेमा गाउँकै एकजना साथीको बहिनी कोहि केटासंग खेततिर गई भनेको खबर पाएर त्यो साथीले हामिलाई पनि लिएर खोज्न गयो । खेतको बिचमा परालको माचमा चिनेकै केटासंग आपत्तिजनक अवस्थामा भेट्यौ । साथीले धेरै दुखमनाउ गर्यो, रोयो । अनि मेरो बहिनिमोह केहि हदसम्म भंग भयो । तरपनि मनमा कहीं न कहीं मेरो बहिनी हुन्थी भने यति खराब हुन्नथी भन्ने लागिरह्यो ।

तीनचार सालसम्म तिनै दिदीले टिका लगाइदिनु भयो हामिलाई । धेरै खुसि लाग्थ्यो, अलिक पछी मेरो ठुलोबुबाकी छोरीले बोलाउन थाल्नुभयो र त्यता लागियो । झन् पछी काकाका छोरीहरु पनि बढे त्यतापनी जान थालियो । हिजोआज इन्टरनेटमा धेरै दिदीबहिनी बनाएको छु । धेरै महिला साथीहरुसंग चिनजान हुनेबित्तिकै चेली माइतीको साइनो जोड्न मन लाग्छ । कति आँफै हराउदै जान्छन कति संधैभरी सम्पर्कमा रहिरहन्छन ।

सानो छँदा घुमेको रोटीको खुब रहर लाग्थ्यो । पहिले तिहारको एउटा बिशेषता नै सेलरोटी हुने गर्दथ्यो । मासुको उतिसारो चलन थिएन तिहारमा । अचेल त हामि यति मासुप्रेमी भईसक्यौ कि, दशैं त छँदैछ तिहार, माघेसक्रान्ति, होलि, नयाबर्ष देखि लिएर केटाकेटीका जन्मदिन र सत्यनारायानको पुजामा पनि अनिवार्य भईसकेको छ मासु । पाठ सकेर ब्राह्मण बाटो लागेपछि मासु खान मिल्छ भन्न थालिसकेका छौं । टन्न सेलरोटी खाएर पटका पड्काउदै हिड्न खुब रमाइलो हुन्थ्यो । झन देउसी र भैलोमा हुने रमाइलोको चर्चा नै गरिसाध्य छैन ।

मलाइ सानैदेखि भाग्यमा बिश्वास लागेन । शायद यहि कारण म कहिल्यै डाइस खेल्न मन गरिनँ । ठुलोबाको छोरीले टिका लगाइदिन थालेको दोश्रो बर्ष थियो । टिकाको दिन नुवाइधुवाई गरेर दिदीको घरतिर लागियो । बाटोमा बजार पर्थ्यो । बजारमा धेरै साथिभाइहरु भेटिए । साथीहरुले धेरै कर गरे, मसँग बुबाममिले ठुलिदिदिलाई यति दिनु, माइलीलाई यति र कान्छीलाई यति भनेर तोकेर दिएको पैसा बाहेक केहि थिएन । डाइस नखेली जान दिएनन् र हारेको खण्डमा आफुहरुले तिरिदिने बताए र खेल्न बाध्य पारे ।

शुरुमा जहाँ मनलाग्छ त्यहा राख पर्छ भने, मलाइ पाना मनपर्थ्यो राखें । पर्यो पैसा चारगुना बढी पाएँ । यस्तै यस्तै गरेर पर्दै गयो । मनपनि बढ्दै गयो र झन् साथीहरुले बढाएर राख्न उकास्दै गए । घरि जाँदै र पर्दै गर्दा मेरो खल्ती नै पुरै रित्तियो । डाइसवाला ठुल्ठुलो स्वरले कराउँदै थियो “रोपे फल्छ घोचे मर्छ” मैले त रोपेकै थिएँ तरपनि फलेन बरु जिली नै मासियो । साथीहरुले दिने कुरै भएन उनीहरु त झन् अघिदेखि टाट पल्टेर बसेका थिए । बुबा खुब जुवामा च्याँखे थाप्नु हुन्थ्यो । आँफुसँग भएको पैसा सबै ममीलाई राख्न दिएर थोरै पैसा बोकेर घरदेखि निस्किनुहुन्थ्यो र फर्किदा धेरै सामान ल्याउनु हुन्थ्यो । धेरैपटक हामिलाई ब्याडमिन्टन, फुटबल र कपडाहरु ल्याउनु हुन्थ्यो । बुबाले जुवामा च्याँखे थापेको हेर्न जाँदा धेरै पैसा पाईन्थ्यो कहिलेकाहीं गालि खाएर पनि फर्किनु पर्थ्यो । त्यहाँ जुवाका गेडा भुईमा पछार्नेले सधैं भन्थ्यो “झर है बत्तीका पुतलीहरु” मैले त्यो भनेको कहिल्यै बुझेको थिइनँ । आज डाइस खेल्ने भएर मज्जाले बुझें म बत्तिको पुतली भइसकेको थिएँ ।

टिकामा दिनलाइ दिएको पैसा हारेपछि म लडाई हारेको सिपाही र दिनभरी लुंडीमा जोतेको गोरुजस्तै खुट्टा घिसार्दै दिदीको घर पुगें । टिका लगाउन नजाउँ भने आँफुलाइ यो दिन कहिले आउला भन्ने लागेको थियो । जाउँ भने पैसा न सैसा टिकी ट्यासट्यास भनेजस्तो । घरमा गएर वृतान्त भन्ने हिम्मत पनि थिएन । बाटोभरि सोचें दिदीहरुले के भन्लान मलाइ । पक्कै नराम्रो मान्छन होला । मनमनै कान समातें डाइस खेल्न । एक त काकाको छोरा त्यहीमाथि पैसा नलिई आउने । भारि मन लिएर पुगें । रित शुरु भयो । पालै शान्ति मेरो पनि निधार रंगियो । अरुले जे जति भएपनि पैसा दिंदै ढोगे । तर मैले त्यसै ढोगे । दिदीहरुले केहिजस्तो मान्नु भएन । रोटि, अनारस, अचार, छोकड़ा, अनि अरु के हो के के खाइयो । अन्तमा पान पनि दिनुभयो । तरपनि मेरो मन भतभती पोलि नै राखेको थियो । दिदीहरु एकान्तमा भएको मौका पाएर मनका सबै कुरा भनें । रुंला रुंला गर्दै भनेका कुराहरु सुनेर दिदीहरु त हाँस्नु पो भयो र हातमा पैसा राखिदिदै भन्नु भयो ‘जा तिहारको दिन चेलीका पैसाले खेलिस भने जित्छस् |’ म के भनौं के भनौं भएँ | मैले के सोचेको थिएँ र दिदीहरु के हुनुहुँदो रहेछ । दिदीहरुले करबल गर्नुभयो हारिस भने हाम्रै जान्छ तँलाई के जा । एकजना दिदीसँगै गएँ नभन्दै जित्दै गएँ । अघि हारेको पैसा सबै उकासें । अनि घर आयौं । तर दिदीहरुले पैसा लिन मान्नुभएन । आज धेरै साल भयो दिदिहरुसंग टाढा छु परदेशमा । तर लाग्छ दिदीहरुले मेरोलागि यमराज रुपी ओखरलाई फोडेर नै म सकुसल छु ।

(स्रोत : Nepalplus)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.